
भन्न त उनले म मात्रै होइन पूरै टिमको खेल राम्रो छ र हरेक जितमा हामी सबैको भूमिका उस्तै छ भन्छन् । तर वास्तविकता यो हो कि उनको पूरै टिम उनीमै भर पर्छ । कुरा लियोनल मेस्सीको अर्जेन्टिनाको ।
चार वर्षअघि विश्वकपको नजिकै पुगेर चुकेको अर्जेन्टिना यसपटक फेरि मेस्सीको बलमा विश्वकप चुम्ने लक्ष्यसहित रुस यात्रामा छ ।
दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत टिम निकै समस्यामा रहेका बेला इक्वेडरसँगको खेलमा ह्याट्रिक गर्दै मेस्सीले अर्जेन्टिनालाई विश्वकपमा सहभागी गराउन सफल भए ।
विश्वकप छनौटको अन्तिम खेलमा मेस्सीकै कारण सफल भएपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले भनेका थिए, ‘यो मेस्सीको अर्जेन्टिना हो, मेरो होइन ।’ उनको यो भनाईले बार्सिलोनाबाट खेल्ने मेस्सी अर्जेन्टिनाका लागि कति महत्वपूर्ण छन् भन्ने प्रष्ट हुन्छ ।
विश्वकप छनौटमा मेस्सीले १० खेल खेले र अर्जेन्टिनाले २१ अंक जोड्यो । मेस्सी नखेलका खेलबाट अर्जेन्टिनाले मात्रै सात अंक जोडेको थियो । मेस्सीले खेलेका १० मध्ये ६ खेलमा अर्जेन्टिना विजयी भयो र तीन खेलमा बराबरी । एक खेलमा मात्रै मेस्सीको उपस्थितिमा अर्जेन्टिना हारेको थियो ।
मेस्सीले आफू टिम प्लेयर भन्ने गरे पनि उनको टिम उनीमाथि नै भर पर्छ । छनौट चरणमा उनले सात गेल गरे ।
मेस्सीका लागि राष्ट्रिय टिमबाट सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय उपाधि उचालेर आफूमा अपुरो रहेको पक्ष पूरा गर्ने मौका चार वर्षअघि गुम्यो, फाइनलमा जर्मनीसँग १–० ले पराजित भएर । तर फेरि चार वर्षपछि मेस्सीका लागि त्यो अवसर बन्न सक्छ रुस विश्वकप ।
१० नम्बर जर्सी लगाउने मेस्सीका लागि त्यस पछिको वर्ष पनि खासै राम्रो रहेन । महादेशीय प्रतिस्पर्धामा पनि अर्जेन्टिना अन्तिममा गएर चुक्यो । त्यसपछि उनले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरे र विश्वभरका फुटबल प्रेमीलाई गहिरो झड्का दिए ।
तर फेरि उनले सन्यासको घोषणा फिर्ता लिएर आफ्नो जिम्मेवारीमा फर्किए । त्यसपछि उनले आफू बाँकी रहेको केही चिज लिनकै लागि आएको भन्ने पनि देखाए ।
विश्वकपमा छनौट नहुने हो कि भन्ने जोखिममा रहेका बेला इक्वेडरसँगको खेलमा ह्याट्रिक गरेर मेस्सीले अर्जेन्टिनालाई विश्वकपको बाटो देखाए ।
मुख्यगरी मेस्सीकै बलबुतामा विश्वकपको यात्राका लागि छानिएको अर्जेन्टिनाले त्यो यात्राको सुरुवात पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्डसँगको खेलबाट गर्दैछ । समूह डी मा रहेको मेस्सीको कप्तानीको टिम अर्जेन्टिनाले क्रोएसिया र नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ ।
१७० मिटर अग्ला मेस्सी विश्वमा यो शताब्दीकै सबैभन्दा अग्ला फुटबलर हुन् भन्दा फरक नपर्ला । ३० वर्षअघि सन् १९८७ को जुन २४ मा जन्मिएका मेस्सीले यो विश्वकपकै क्रममा आफ्नो जन्मदिन पनि मनाउने छन् । उनका लागि आफ्नो उमेरको ३१ वर्ष विश्वकपको उपाधिसहित आउन सक्छ ।
राष्ट्रिय टिममा मेस्सी
मेस्सीले विश्वकपमा अहिलेसम्म १५ खेलमा पाँच गोल गरेका छन् । मेस्सीले राष्ट्रिय टिमबाट अहिलेसम्म १२४ खेल खेलेका छन् र ६४ गोल गरेका छन् । उनले ३८ गोलका लागि सहयोग गरेका छन् ।
उनी खेलेका ७६ खेलमा अर्जेन्टिना विजयी भएको छ । यस्तै २७ खेलमा बराबरी भएको छ भने २१ खेलमा मात्रै पराजित भएको छ ।