मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २५)

जनताको अधिकार कहाँ छ? राजा गए, रजौटा आए

त्यो बेलामा म स्पेशलाइजेसन गरिसेकपछि अरु छ वर्ष तालिम गरेर सब स्पेशलाइजेसन गरेको डाक्टर। मैले मेरो फिस २०० रुपैयाँ भनेको भए पनि मान्छेहरु तिर्न तयार हुन्थे। मैले अरुले जति लिन्थेँ, त्यत्ति ५० रुपैयाँ नै लिएर बिरामी हेर्न थालेँ। त्यसलाई कताकता नेपालीले ‘विकनेस’ को रुपमा लिए कि जस्तो लाग्छ। हाम्रो तालिम चाहिँ अरुको भन्दा धेरै लामो, त्यसकारणले दुई सय रुपैयाँभन्दा धेरै लिन पाउनु अधिकार हो हाम्रो तर त्यो चाहिँ मैले छोडेँ।

‘दुध कहाँ पोख्खियोे भागमा।’ नेपाली जनताकै सेवा भयो भनेर अरु सरह नै फिस लिएर बिरामी हेर्थेँ। दिनमा १० जनाभन्दा बढी पनि हेर्दिनथेँ। यसरी मैले अलिअलि प्राक्टिस गरेर आफ्नो आयस्रोत बढाएँ। तीन वर्षजति काम गरिसकेपछि म एक किसिमले वर्न आउट जस्तै भएँ। थाकेँ किनभने असाध्यै धेरै काम भयो। हेडइन्जुरीको बिरामी म्यानेज गर्न राति पनि जानुपर्ने, हप्ताको दुई दिन सर्जरी गर्नुपर्ने। त्यो हुँदाखेरि म थाकेजस्तो भएँ। त्यही बेला मेरो हङकङको साथीले एउटा अनौठो अफर पठायो। हामीसँग सँगै तालिम लिएको ग्लास्गोमा, उसले मलाई ‘तपाई आएर एक वर्ष सहयोग गरिदिनुस् न’ भनेर चिठी पठायो।

उसलाई मेरो तालिमको लेबल थाहा थियो। ओभरसिजका मान्छेहरु हत्तपत्त सिनियर रजिस्ट्रार तालिम पाउँदैनन् बेलायतमा। सिनियर रजिस्ट्रारको तालिम पाउने धेरै कममध्येमा म पर्छु। अनि मैले त्यो स्वीकार गरेँ। ‘धेरै लामो हैन, एक वर्षका लागि आउँछुुु’ भनेँ। त्यो बेलासम्म हाम्रो छोरी जन्मिसकेकी थिइन्। छ महिना भएको थियो। माइक त्यो बेलामा हामीसँग काम गरिरहेका थिए। माइकले कताकता ‘बोस एक वर्षको लागि हङकङ कम्युनिटीमा जाँदै छ भनेर जर्मन कम्युनिटीमा’ भनेछ। त्यसपछि अनौठो कुरा भयो, एक जना जर्मन मलाई भेट्न आउनुभयो। मैले किन भेट्न आउनुभयो भन्दाखेरि, ‘माइकले तपाईँ एक वर्षको लागि हङकङ जाँदै हुनुहुन्छ भन्यो। हामीलाई थाहा छ नेपालमा के हुन्छ, तपाई एकदम कम स्यालरीमा काम गरिरहनुभएको छ। फाइनान्सियल सपोर्टको लागि हङ्कङ जानु नाजायज होइन, तर तपाईले यति धेरै काम गरिराख्नुभएको छ अहिले कि तपाईको एक वर्षको ग्याप यो देशमा धेरैँ महंगो पर्छ। त्यसोभएर यसलाई अन्यथा नलिनुहोस्। तपाईले हङकङमा पाउनेजति हामीले तिर्न सक्दैनौँ तर हामी जर्मन कम्युनिटीबाट पैसा उठाएर इन्कम सप्लिमेन्ट गर्न तयार छौँ। नेपालमै बस्नुस्’ भने।

म भावुक भएँ। नेपालमा त्यति कोअपरेसन थिएन, नेपालीहरुबाट त्यस्तो रेस्पोन्स आएको थिएन, जर्मनले मेरो कन्ट्रिब्युसनलाई कदर गरेर मलाई यहाँ राख्नको लागि ‘बरु पैसा खर्च गर्छौ’ भने। मैले भनेँ, यो मैले लिनु हुँदैन। मैले निर्णय गरिसकेको छु। म हङकङ बसेर आउँछु, एक वर्ष भन्दा धेरै बस्दिन।

हङकङ गए, त्यहाँको स्यालरी चाहिँ यति मनग्य थियो कि, मेरो लागि पर्याप्त। त्यही बेलामा श्रीमतीको जर्मनीमा पब्लिक हेल्थ गर्ने अफर पनि आयो। उनी गइन्। उनी त विद्यार्थी भएर जाने, होस्टलको एउटा कोठा पाउने। अनि छोरी ६ महिनाकी। मैले भनेँ, ‘पैसा केको लागि हो र? फ्ल्याट लेऊ, छोरी पनि लैजाऊ। भतिजी पनि लैजाऊ, बैनी हेर्छे। उसले पनि जर्मनी देख्छे, म पैसा पठाइदिन्छु।’ मैले हङकङमा काम गर्दाखेरीको पैसा पठाएर प्राइभेट फ्ल्याट लिएर जर्मनीमा पढिन्। छोरीलाई पनि सँगै राखेर। थाहा पाउनुभन्दा पहिला नै जर्मनीमा बसेकी हुन् मेरी छोरी मेधा। जर्मनीमा बसेर आए उनीहरु।

एक वर्ष हङकङमा बस्दाखेरि मैले त्यहाँ पनि दुईचार ओटा नयाँ सर्जरीमा हेल्प गरेँ साथीहरुलाई। टेक्निकल सर्जरी धेरै गरिदिन्थेँ म। उनीहरुले पनि एप्रिसियट गरेँ। छ महिना नाघ्नेबित्तिकै बिरामीहरुले नेपालबाट फोन गर्न थाले। कहाँकहाँबाट पत्ता लगाएर फोन आउन थाल्यो, ‘तपाईँ कहिले आउने डाक्टर साप’ भनेर। मलाई लाग्यो, बाहिर बस्ने भएको भए बेलायतमा नै बस्थेँ। बेलायत छोडेर आएर हङकङमा बस्ने कुरै भएन। मलाई कता कता नकाम गरेछुजस्तो लाग्यो। गिल्टी फिल गरायो। अनि मैले पाउने बिदा जति सबै सञ्चय गरेर अन्तिममा एक वर्ष नभईकन ११ महिनामा नै हङकङबाट नेपाल फर्किहालेँ।

त्यो बेलामा घर बनाउन पुग्ने जग्गाका लागि प्रशस्त पैसा जम्मा गरिसकेको थिए। त्यति भएपछि फर्केर आएर काम गर्न थालेँ। यही बीचमा २०४६ सालको इन्डियाले गरेको ब्लकेडपछिको जनआन्दोलन पनि रोचक खालको छ। त्यो बेलामा हामी धेरै नै एक्टिभ भएर लागेको। व्यवस्थामा परिवर्तन चाहिन्छ भन्ने महसुस गरेका थियौँ हामीले। पञ्चायत व्यवस्थाको तीन दशकको शासनले मानिसलाई असाध्यै त्रस्त बनाएको, खुलेर प्रजातन्त्रको पक्षमा उभिन सक्ने कम मान्छेमात्र भएको अवस्था थियो।

पहिलो आन्दोलन हामीले डाक्टरहरुको तर्फबाट टिचिङ हस्पिटलमा र्‍याली निकालेर गरेका थियौँ। त्यसको फोटो न्युजविकमा छापिएको थियो। ब्यानर एकातिर मेरो श्रीमतीले समातेकी छन्, अर्कोतिर मैले। वीर हस्पिटलको स्टाफ, टिचिङमा उभिएका छौँ। मैले पहेँलो स्वीटर लगाएको छुजस्तो लाग्छ। एकातिर मेरो श्रीमती अर्कोतिर म, हामी त्यत्ति कमिटेड थियौँ। त्यति बेलामा व्यवस्था परिवर्तन हुनुपर्छ भनेर।

त्यहाँबाट सुरु भएको आन्दोलन त्यसको भोलिपल्ट पर्सिपल्टदेखि वीरमा सुरु गर्‍यौँ। वीरमा सुरु गर्दाखेरि धेरै जसो डाक्टरसाबहरु आन्दोलनको विरोधमा नै हुनुहुन्थ्यो त्यो बेलामा। पछि रातारात परिवर्तन हुनुभयो, त्यो आफ्नै ठाउँमा छ। त्यो बेलामा पहिलोपटक ३५ जना बेतलबी काम गरिरहेका डाक्टरहरु निस्किए, कालो पट्टी बाँधेर। त्यो पङ्तिमा विशेषज्ञ भइसकेको सुट टाई लगाउने म गएर उभिएँ। मैले पनि कालो पट्टिी बाँधेर ३५ जनाको त्यो टोलीमा लागेँ।

त्यो बेलामा हामीमाथि जासुसी गर्ने डाक्टरहरु, फलानो फलानो हुन् भनेर कुरा लगाउने डाक्टरहरु सबैभन्दा प्रजातन्त्रवादी भएर निस्किएपछि अवसरवादी चरित्र मैले त्यो बेलामा देखेँ, असाध्यै, चरम अवसरवादी। पहिला आन्दोलन सफल हुन्छ भन्नेमा उनीहरुलाई विश्वास भएन। पञ्चायतको पक्षमा उनीहरु उभिए। आन्दोलनले अर्कोतिर पल्टा खान थालेपछि, सफल हुने देखेँपछि रातारात व्यवस्थालाई गाली गरेर उहाँहरु भोक हड्तालमा पनि उभिन थाल्नुभयो, आफूलाई सफा गर्नलाई। त्यसरी सुरु भएको आन्दोलन पिकअफ गर्दै, पिकअफ गर्दै गएर अन्तिममा चैत २४ गतेचाहिँ गोली चल्यो।

गोली चलेको दिन मैले ३ जनाको अप्रेसन गरेको छु। त्यो दिन मैले देखेँको छुँ, नेपालीहरुमा भएको काम गर्ने क्षमता। तीनओटा अप्रेसन गर्दाखेरि त्यहाँको नर्सिङ स्टाफ यति इफिसिएन्ट। सबै कुराको म्यानेज गरे, मैले त्यो लेबलको इफिसेन्सी पछि फेरि कहिल्यै देखिन। म त्यो बेलामा असाध्यै आशावादी थिए। जरुरत पर्‍यो भने नेपालीहरु त्यो स्तरको काम गर्ने रहेछन्। राति कर्फ्यू लाग्यो। म जसरी पनि घर जानुपर्छ भनेर गएँ, साथीहरुचाहिँ अस्पतालमा नै सुत्नुभयो। अन्त्यमा नेगोसियसन भयो । व्यवस्था परिवर्तन भयो। रमाइलो भयो, राम्रो भयो, त्यसले अपेक्षित उपलब्धि पायो।

त्यो बेलामा एउटा बाम घटकचाहिँ आन्दोलनमा सम्मिलित भइसकेको थिएन, ‘मसाल’। मेरो दाइ वाचस्पति त्यही समूहमा हुनुहुन्थ्यो। दाइ जेलबाट छुट्नुभएको थियो। उहाँहरु त्योभन्दा ठूलो आमूल परिवर्तनको पक्षमा उभिनुभएको। यसले पुग्दैन भन्ने, बाबुरामजी पनि त्यही खेमामा हुनहुन्थ्यो। मलाई याद छ, एकदिन मैले एक घण्टा टेलिफोनमा कुरा गरेको छु।

हामीले प्रजातन्त्र, लोकतन्त्र आएपछि मान्छेले योग्यता अनुुसारको अवसर पाउँछन्, जुनसुकै दलको भएपनि पाउँछन् भन्ने विश्वास गरेका थियौँ। तर त्यो रहेन, त्यसको उल्टो भयो।

‘यो आन्दोलनलाई त्यति अपर्याप्त नसम्झनुस्। यसले धेरै उपलब्धि ल्याउँछ। यसले रिफर्मको ढोका खोल्यो भनेदेखि अलिकति पाएको अधिकारमाथि टेकेर अझ बढी अधिकार लिने हो। एकैचोटि सबै कुरा पाइएन भनेर आन्दोलन बहिष्कार गर्न हुँदैन’ भनेँ। यति भनेपछि, मेरो कारणले मात्र होइन, अरु कारणले पनि त्यो समूह पनि आन्दोलनमा समेटियो।

हामीले प्रजातन्त्र, लोकतन्त्र आएपछि मान्छेले योग्यता अनुुसारको अवसर पाउँछन्, जुनसुकै दलको भएपनि पाउँछन् भन्ने विश्वास गरेका थियौँ। तर त्यो रहेन, त्यसको उल्टो भयो। प्रजातन्त्रको उपयोग हिजो राजाले गरेका थिए। अब हामीले पाउनुपर्छ भनेर जो जो ठूला भए, ‘राजाको ठाउँमा रजौटा’ को रुपमा शासन गर्न थाले। त्यसैको फलस्वरुप आन्दोलन पछि अवसरवाद भयो। अहिले पनि नेपालमा त्यो स्थिति कायमै छ। प्रजातन्त्र, लोकतन्त्रमा जनताको अधिकार स्थापित भएको नै छैन। मैले अनेस्ट भएर भन्नुपर्छ, त्यो बेलाको हाम्रो सपना त्यस्तो थिएन।’

मैले यूरोपमा बस्दा देखेको थिएँ, ऐतिहासिक तथ्य पनि हो, कार्ल मार्क्सले ‘क्यापिटल’ लेख्नुभयो, त्यसले अन्ततिर तहल्का मच्चायो। तर बेलायतमा परिवर्तनको सुरुवात त्यसले गरेको थिएन। त्यो बेलामा इन्ट्रेस्ट्रिङ घटना छ। कार्ल मार्क्सका सहयोगी मित्र फ्रेड्रिक एगेंल्स जर्मन उद्योगपतिका छोरा, उनले अलिकति मजदुर पक्षको कुरा गर्न थालेपछि यसले अब बर्बाद गर्छ भनेर उनको पिताले आफ्नो लगानी भएको म्यान्चेस्टरको कपडा फ्याक्ट्रीमा म्यानेजर बनाएर छोरालाई पठाउनुभएको थियो। त्यो बेलामा कार्ल मार्क्स लण्डनमा ब्रिटिस लाइब्रेरीमा बसेर किताब लेख्दै हुनुहुन्थ्यो। यो १८५० तिरको कुरा। एगेंल्सले म्यानचेस्टरमा गहन अध्ययन गरेर त्यहाँको फ्याक्ट्री वर्करहरुको अवस्था बारेको एउटा सोधपत्र प्रस्तुत गर्नुभएको थियो।

त्यसले फ्याक्ट्री वर्करमाथि भएको दमन बाहिर ल्याएको थियो। ‘कुनै बेला नेपालमा कार्पेट फ्याक्ट्रीका मजदुरलाई राखिन्थ्यो, त्यस्तै तरिकाले सानो ठाउँमा कोचेर राख्ने र खानेकुराको व्यवस्था नहुने।’ रोग व्याधिविरुद्ध केही पनि व्यवस्था छैन। बच्चाहरुलाई स्कूल जाने केही पनि व्यवस्था छैन। पेन्सनको केही व्यवस्था छैन। उनीहरुको तलब एकदम कम छ। फ्याक्ट्री वर्करमाथिको दमनको विषयमा र त्यो बेला कुनै पनि फ्याक्ट्रीको कामदारहरु ५० वर्ष नाघेको रेकर्ड छैन।

त्यो सबै अवस्थाको विषयमा उहाँले विस्तृत अध्ययन गरेर एउटा शोधपत्र प्रस्तुत गरेपछि बेलायतीहरुको आँखा खुल्यो। केही गरिएन भनेदेखि यसले रिभोलुसनको रुप लिन्छ बर्बाद हुन्छ भन्ने सोच पलायो, त्यसपछि उनीहरुले कानुन बनाउँदै सोसलिस्ट कार्यक्रम ल्याए। बेलायतमा निक्कै हदसम्म लागू भयो। राजसंस्था हुँदाहुँदै पनि सोसलिस्ट कन्ट्री भयो। वेलफेयर स्टेटमा त्यो भन्दा राम्रो कुनै पनि थिएन। यो सँगसँगै यूरोपका थुप्रै मुलुकहरु सोसलिस्ट भए। सशस्त्र आन्दोलन भएका मुलुकमा प्रतिक्रान्ति भएर फिर्ता भयो । सोभियत युनियनको व्यवस्था दिगो भएन । तर ब्रिटेनको दिगो भइरहेको छ। १०० वर्ष भयो र वेलफेयर कार्यक्रमको सफलताको सोसलिज्म। त्यो देखिसकेपछि म बन्दुक बोकेर क्रान्ति गर्नुपर्छ भन्ने पक्षमा उभिन सकिन।

नेपाल फर्केर आएपछि मैले २०४६ सालको आन्दोलनमा त्यही विश्वासको लगानी गरेको थिए। त्यो अन्दोलन उपयुक्त फोरम थियो। कतिले मलाई बेलायत गएपछि दक्षिणपन्थी भएछ पनि भने। तर म सोसलिस्ट हो। सोसलिज्मभन्दा बढी चाहिन्छ जस्तो लाग्दैन। तर अहिले आएर यो निर्वाचनमा मैले बाम गठबन्धनलाई समर्थन गर्नुको कारण पनि उनीहरु र्‍याडिकल कुरा छोडेर सोसलिज्ममा आइपुगेको भएर हो। चार जना मान्छे मारेर झापा बिद्रोह गर्ने माले र १८ हजार मान्छेको बलिदान दिएको माओवादी एकै ठाउँमा हामी अब सोसलिस्ट हौँ भनेर उभिनुलाई मैले त्यसरी नै हेरेको छु। ति हत्याहरु जरुरत नै थिएनन्। २०४६ सालको संविधानले दिएको अधिकारलाई प्रयोग गर्ने, जस्तो बेलायतमा मजदुरको अधिकारको विषयमा एकपछि अर्को यति ठूलो मजदूरको हकहितको सुरक्षा गरेको छ कि, त्यहाँ मजदूरले आन्दोलन गर्नुपर्ने जरुरत नै छैन। त्यो सोसलिजम अहिले पनि सस्टेन गरिरहेको छ।

त्यो देखेपछि यो प्रक्रिया पुर्‍याउन आन्दोलन नै गर्नुपर्छ, बम नै पड्काउनुपर्छ भनेर हामीजस्तो पढेलेखेको मान्छेले भन्नुचाहिँ उपयुक्त देखिनँ मैले। २०४६ सालको आन्दोलन मेरो विश्लेषणमा त्यही थियो। त्यसबाट हामीले समाजवादी समाज सिर्जना गर्न सक्थ्यौँ। संविधान आफू अनुुसार, आफूले चाहेअनुसार संसोधन पनि गर्न सक्थ्यौँ। आन्दोलन भयो आयो, अब राम्रो दिशा लेओस् भनेर शुभकामना व्यक्त गर्छु। हिंसा कति अनावश्यक भन्ने इतिहासले पछि त्यसलाई मूल्यांकन गर्ने छ। मेरो आफ्नो विचार त्यही हो।

२०४६ सालको आन्दोलन म धेरै रुपमा सफल मान्छु। त्यो बेलामा गणेशमानजी वीर हस्पिटलमा हुनुहुन्थ्यो। मैले गएर उहाँसँग कुरा गरेँ। मनमोहनजी पनि हुनुहुन्थ्यो, वीर हस्पिटलको बिरामीको बेडबाट नै उहाँले आन्दोलन हाँक्नुभएको हो। गणेशमानजी त्यही भन्नुहुन्थ्यो, ‘हामी अलिकति अधिकार लिएर त्यो अधिकारमाथि टेक्दै अरु अधिकार खोज्छौँ। अहिले यति पर्याप्त छ डाक्टर, यो भन्दा धेरै खोज्नै पर्दैन भन्नुहुन्थ्यो उहाँ।’ उहाँ ठीक हुनुहुन्थ्यो।

(बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका डा. उपेन्द्र देवकोटाले एक साताअघि देशसञ्चारका सम्पादक युवराज घिमिरेसँग गरेको कुराकानी) 

यो पनि पढ्नुहोस्

जेष्ठ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्