योगीराज अमरज्योति।

जन्मबाट न कोही मित्र जन्मिन्छ, न कुनै दुश्मन। ती त हाम्रो घमन्ड, ताकत र व्यवहारले बन्छन्।

जिन्दगीलाई यदि खुलेर बाँच्नु छ भने अलिकति झुकेर बाँच। अनि देख्नेछौ- यो ईश्वर (परमात्मा) ले तिमीलाई कति उच्च बनाइदिन्छन्।

केही मानिस भेटेर बदलिन्छन् र केही मानिसलाई भेटेर जिन्दगी बदलिन्छ। जिन्दगी कुल्फीजस्तै हो। टेस्ट गर या वेस्ट गर, पग्लि त रहेकै छ। यसैले जिन्दगीलाई टेस्ट गर्न सिक। वेस्ट त यसै पनि भइरहेकै छ।

अप्ठ्यारा यति ठूला पनि छैनन्- जति हामी तिनलाई सोचिसोची ठूलो बनाइदिन्छौँ। परमात्माको साथले हरेक अप्ठ्यारा सहज बनाइदिन्छ।

काँचमा पारा राखिदियो भने एेना बन्छ भने कसैलाई एेना देखाइदियो भने पारा चढ्छ।

मानिस तल बसेर सम्पत्ति गन्छ- हिजो यति थियो, आज यति बढ्यो। माथि बस्ने हाँस्छ र मानिसको सास गन्छ-  हिजो यति थियो, आज यति कम भयो।

दुनियाँको आश्रममा थाहा छैन कति दिन रहने हो

जित सबैको हृदय यही नै जीवनको गहना हो

हिजोलाई आजका लागि हराइदियौ। आज भोलिका लागि हराइदिन्छौ। कहिल्यै हामी आजका लागि बाँच्न सकेनौँ।

बितिरहेको छ जिन्दगी, हिजो, आज र भोलिका लागि।

हामी जीवनमा के चाहन्छौँ? दुखबाट छुटकारा र सुखसँग जीवनयापन। यही चाहनामा लागिरहन्छौँ हामी दिनरात।

यसमै बिताइदिन्छौँ हामी सारा जीवन। तर सबैको सोच फरक छ, मान्यता फरक छ, सुखका पर्याय फरक छ।

कोही धन कमाउनमा सुखको अभिलाषा गर्छ, कोही नाममा आफ्नो सुख खोज्छ, कोही परिवार नातेदार साथीभाइको सान्निध्यमा सुख पाउन चाहन्छ।

तर के यति नै पर्याप्त छ? के यही अन्तिम सुख हो?

होइन, हामी देख्छौँ- धनमा सुखको प्राप्ति अशास्वत हो। नामप्रसिद्धिको नशा क्षणभंगुर हो। पारिवारिक मिलनमा प्राप्त हुने सुखको पनि एउटा सीमा छ।

हामी सुखप्रति आश्वस्त हुन्छौँ, लुब्ध हुन्छौँ। जे मनलाई प्रिय लाग्छ राम्रो लाग्छ, त्यसैको लालसा र कामनामा लिप्त रहन्छौँ। यसमै डुबिरहन्छौँ। यस्तोमा दुखको सानो झोँकाले पनि हामीलाई अस्तव्यस्त बनाउँछ।

फेरि हामी दुखबाट भाग्ने बाटो खोज्छौँ। पलायनको बाटो खोज्छौँ। दुखद स्थितिबारे अप्रीतिकर भावना मनमा जाग्न थाल्छ।

यसले हाम्रो नकारात्मकता बढ्दै जान्छ।

परिणामत: हाम्रो मानसिक स्थिति डावाँडोल हुन्छ। अविवेकको साम्राज्य बढ्न थाल्छ। हामी अनैतिकताको खाडलमा चिप्लिँदै जान थाल्छौँ।

सुखदुख त जीवनका दुई अभिन्न पाटो हुन्। हामी यो भुल्छौँ। सुखदुखको गति निरन्तर छ। कहिले माथि, कहिले तल भन्ने हामी बिर्सिदिन्छौँ।

दुखलाई स्वीकार गरेर त्योसँगको सम्झौताले हामीलाई सुखको द्वारमा ल्याएर खडा गर्छ। अनि बल्ल सुरु हुन्छ यो क्षणभंगुर जीवनमा त्यो शास्वत अविनाशी अनादि सुखको। सालभन्दा मिनट बढी महत्वपूर्ण हुन्छ। यदि तिमीले जीवनका क्षणहरुलाई प्रभुचिन्तनमा लगाउन सकेनौ भने साल पनि यत्तिकै बितिहाल्छ।

जब तिमीलाई उनको धेरै जरुरत हुन्छ तिमी उनको उपस्थिति अनुभव गर्न सक्दैनौँ। तर यदि तिमीले जीवनका क्षणहरुलाई ईश्वरको स्नेहले भरिदियौ भने साल पनि आफैँ त्यसमा भरिन्छ।

भगवानको आसनलाई तारामा, धरतीमा र आफ्ना अनुभूतिहरुको धड्कनमा चिन। हामीले उपेक्षा गरेको त्यो चरम सत्य हरेक ठाउँमा लुकेको छ।

यदि तिमी पथमा दृढ छौ र नियमित ध्यान गर्छौ भने तिमी उनलाई त्यो प्रकाशमा पाउँछौँ जो सधैँ फैलिरहन्छ। हरेक विचारपछि उनको आनन्ददायक उपस्थितिको अनुभव गर्छौँ।

ईश्वर चर्चा गर्ने विषय होइन। धेरै उनका बारेमा भनेका छन्। धेरैले उनका बारेमा पढेका छन्। तर केहीले मात्र उनको आनन्दको रस लिन पाएका छन्।

ती केहीले नै उनलाई जानेका छन्। जब तिमी उनलाई जान्दछौ, उसबाट अलग रहेर उसको पूजा गर्दैनौ। बरु ऊसँग एकाकार हुन्छौ। जो आफ्नो भक्ति र गहिरो ध्यानको प्रक्रियाबाट जोडिएका छन्, उसलाई ईश्वरीय स्पन्दन अवश्य मिल्छ।

ब्रम्हाण्ड नै परमात्माको शरीर हो। यसको भित्रबाहिर, चारैतिर त्यो सनातन चैतन्य विराजमान छ। आफ्नो चेतनालाई फैलाऊ अनि सारा विश्वलाई आफ्नै शरीर मान।

जब तिमी बन्द आँखाको अँध्यारोको पछाडि दिव्य ब्रम्हाण्डीय प्रकाशको झलक भेट्न थाल्छौ, तिम्रो सारा अज्ञानता नष्ट हुन्छ।

यदि तिमी गहिरो ध्यान गर्छौ भने तिम्रो मन निरन्तर परमात्मातर्फ झुक्दै जान्छ। तर आफ्नो सांसारिक कर्तव्यको अवहेलना नगर्नू।

जतिजति तिमी आफ्नो काम शान्तभावले गर्न सिक्दै जानेछौ, त्यत्ति त्यत्ति तिम्रो काम छिटो र बढी मन तथा कुशलताले हुँदै जान्छ।

त्यसपछि तिमी जे पनि गर्छौ, तिम्रो कर्ममा त्यो अदभूत ईश्वरीय चेतना उत्रिँदै जान्छ। यो स्थिति तिमीले गहिरो ध्यानको अभ्यास गरेपछि र आफ्नो मनलाई ईश्वरतर्फ लैजाने पाठ पढाएपछि आउँछ। त्यत्तिखेर के विचार रहन्छ भने जे पनि काम गर्छौ, त्यो भगवानका लागि मात्र र  उनकै सेवामा अर्पित हुन्छ।

प्रत्येक वस्तुको कुनै न कुनै उद्गम स्थान हुन्छ। अग्निको उदगमस्थान सूर्य हो। यही कारण हो जब अग्नि जल्छ, त्यो माथि उठेर सूर्यलाई भेट्ने प्रयास गर्छ।

यसैगरी पानीको स्रोत समुद्र हो, जबसम्म नदीको पानी समुद्रमा मिसिँदैन, त्यो ससाना नदीनालाहरुमा झर्दै जान्छ। जब त्यो पानी समुद्रमा मिसिन्छ. त्यत्तिखेरसम्म त्यो पानी स्थीर भइसक्छ। शान्त भइसक्छ र समुद्रको रुप बनिसक्छ।

यसैगरी सारा ब्रम्हाण्डको आत्माहरु- जल, थल र नभ आत्माहरुको उद्गम परमात्मा हो। आत्मा यो संसारमा कर्मअनुसार तबसम्म भट्किरहन्छ तबसम्म यो आफ्नो उद्गमस्थान परमात्मासँग जोडिँदैन। यो त्यही बेलामात्र सम्भव हुन्छ जब जीवात्माले मोक्ष प्राप्त गर्छ।

जसरी पृथ्वीभित्र बहुमूल्य रत्न र हीराजवाहरात लुकेर रहेका छन् त्यसैगरी मनुष्यभित्र पनि अनेकौँ सम्पदा लुकेका छन्। मानिस ईश्वरीय र राक्षसी सम्पदाहरुको पुतला हो। उसले चाह्यो भने आफ्नो तपको बलले सूर्यभन्दा पनि अग्लो बन्नसक्छ र त्यही मानिसले आफ्नो दुष्कर्म र अवगुणले किराजस्तो निकृष्ट गति पनि प्राप्त गर्न सक्छ।

यदि ऊ माथि उठ्न चाह्यो भने त्यसको कुनै सीमाना हुँदैन। यदि खस्न चाह्यो भने पनि कुनै सीमाना हुँदैन।

यस संसारमा जति पनि प्राणी छन् ती सबै दुखबाट छुट्कारा पाउन चाहन्छन्। दुखको सर्वनाश भगवान साक्षात्कारबिना हुन सक्दैन।

परमात्माको साक्षात्कार श्रवण, मनन, निदिध्यासनबाट हुन्छ। गुरुबाट परमेश्वरको स्वरुपज्ञान, मनन तथा आफ्नो अन्त:  करणको भावनाबाट मनुष्यले आत्मसाक्षात्कार प्राप्त गर्नसक्छ।

प्रत्येक मानिसले आफ्नो वाणीमा संयम राखोस् र आफ्नो आचरणप्रति सजग रहोस्।

संसार एक प्रतिक्षालय हो। कामको सुरुवात मानिसमा निर्भर रहन्छ तर त्यो ईश्वरले पूरा गर्छन्।

केही समयलाई आफ्नो रिसलाई नियन्त्रण गरेर तिमी जीवनभरिका लागि बच्न सक्छौ।

जसरी तिमी अरुमा दोष देख्छौ, त्यसैगरी आफूमा पनि देख, देखाऊ। जसरी आफूलाई क्षमा गर्नसक्छौ त्यसैगरी अरुलाई पनि क्षमा गर। आनन्दको सूत्र हो-  अरुमा दोष नदेख्नू। अरुको निन्दा नगर्नू र नसुन्नू, नराम्रो नगर्नू।

मनुष्यको हृदय एेनाजस्तो हुनुपर्छ जसमा समस्त वस्तुको प्रतिविम्ब देखिन्छ। तर त्यसमा मैलापन आउँदैन।

कोलाहल न बजारमा छ,  न शान्ति जंगलमा। यो सबै मानिसको मनमा छ। हृदयमा छ।

जब तिमी जीवित प्राणीप्रति आफ्नो कर्तव्य गर्न असमर्थ हुन्छौ, मृत व्यक्तिप्रति आफ्नो कर्तव्यको पालना कसरी गर्छौ?

रावण जब मृत्यु शय्यामा थिए उनले रामलाई एक धेरै महत्वपूर्ण कुरा भने। ‘म तपाईँसँग हरेक मामलामा ठूलो छु- उमेर, बुद्धि, बल, मेरो कुटुम्ब पनि तपाईँका भन्दा ठूला छन्, मेरो लंका सुनको हो, मेरो राज्य पनि तपाईँका भन्दा ठूलो छ। यो सबै हुँदाहुँदै पनि मैले हारेँ। किन हो थाहा छ? किनभने तपाईँका दाजुभाइ तपाईँको साथ छन्, मेरा दाजुभाइ मेरो बिरुद्ध थिए।’

भित्री एकता कायम राख।

कुनै पनि रुख काट्ने किस्सा नै आउँदैन थियो यदि बञ्चरोमा काठको हिस्सा नै हुँदैन थियो।

समझदारी वफादारी र वचनदारी।

जेठ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्