ट्रम्प–किम वार्ता : सिंगापुर पुगे दुवै नेता, फरक–फरक होटलमा अन्तिम तयारी

बहुप्रतिक्षित तथा ऐतिहासिक अमेरिका–उत्तर कोरिया वार्ताका लागि दुवै देशका शीर्ष नेता सिंगापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उन मंगलबार हुने ऐतिहासिक वार्ताका लागि सिंगापुर पुगेका हुन् ।
दुई नेताबिच सिंगापुरको सेन्तोसा आइल्याण्डको एक पाँच तारे होटलमा वार्ता हुँदैछ । ट्रम्पसँग किमले स्थायी शान्ती कायम गर्ने उपायका बारेमा छलफल गर्ने तयारी रहेको उत्तर कोरियाले बताएको छ ।
वार्ता हुने भन्दा अघि नै त्यसको तयारीका लागि दुवै देशका नेता सिंगापुर पुगेका हुन् । सिंगापुर पुगेका उत्तर कोरियाका नेता किमले भने, ‘यो वार्तालाई सम्पूर्ण विश्वले चासोका साथ हरेको छ ।’
यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले आफूलाई वार्ताका बारेमा राम्रो विश्वास रहेको र यो फलदायी हुने अपेक्षा पनि गरेको बताएका छन् । अमेरिका उत्तर कोरियाले परमाणु हतियार पूर्णरुपमा त्याग गरेको हेर्न चाहन्छ ।
तर उत्तर कोरिया त्यसको बदलामा के चाहन्छ भन्ने अहिलेसम्म खुलेको छैन । सिंगापुर पुगे पनि दुवै नेता फरक फरक होटलमा बसेका छन् । किम सिंगापुरको पाँच तारे होटल सेन्ट रिगिसमा बसेका छन् ।
यस्तै ट्रम्प त्यसबाट आधा माइल पर रहेको शांग्री ला होटलमा बसेका छन् ।