विश्वकप २०१८ : उत्कृष्टताको होड

मेस्सी र रोनाल्डोमय १० वर्ष–अबका लागि को ?

खेल मैदानमा होस् वा मैदान बाहिर पछिल्लो दशकमा विश्व फुटबलमा राज गरेका दुई खेलाडी हुन्, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो ।

पछिल्लो १० वर्षमा व्यक्तिगत स्तरमा फुटबलको सबैभन्दा ठूलो पुरस्कार फिफा वर्ष खेलाडीमा यी दुई खेलाडीको नै राज छ । १० वर्षमा दुवै खेलाडी पाँच पाँच पटक वर्ष खेलाडी बनेका छन् ।

विश्व फुटबलका ‘किङ्ग’ को रुपमा चिनिएका मेस्सी र रोनाल्डो अहिले फुटलबको महाकुम्भ मेला विश्वकपको तयारीमा छन् । दुवै खेलाडीका देश उनीहरुमाथि निकै भर परेका छन् ।

मेस्सीमाथि अर्जेन्टिनाको र रोनाल्डोमाथि पोर्चुगलको भर छ । १० वर्ष भइसक्दा पनि रोनाल्डो र मेस्सीले फिफा वर्ष खेलाडीमा आफ्नो दाबेदारी कमजोर हुन दिएका छैनन् ।

यो वर्षको सेप्टेम्बरमा लण्डनमा हुने अवार्डमा पनि यी दुई खेलाडी मनोनयनमा पर्ने सम्भावना छ । तर यो वर्ष रुसमा हुने विश्वकपमा गर्ने प्रदर्शनले अरु खेलाडीलाई अघि ल्याउने सम्भावना पनि छ ।

रोनाल्डो र मेस्सी बाहेक विश्वकपमा आफ्नो कला देखाएर फिफा वर्ष खेलाडी अवार्डमा आफूलाई दाबेदारको रुपमा उभ्याउन सक्ने केही खेलाडीका बारेमा आज हामी चर्चा गर्दैछौँ ।

द क्राउन प्रिन्स : नेइमार, ब्राजिल


यी स्टाइलिस अट्याकिङ्ग खेलाडी गएको सिजन विश्वमा सबैभन्दा महंगा खेलाडी बने । बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन, पिएसजी जाने क्रममा नेइमारले सबै कीर्तिमान तोडे र विश्वको सबैभन्दा महंगो खेलाडी बने ।

तस्बिर : गेट्टी इमेज

उनी मेस्सी र रोनाल्डोकै स्तरको खेलाडी रहेको धेरैले बताउने गरेका छन् । सुझबुझपूर्ण खेल, उत्कृष्ट फिनिसिङ्ग तथा लोभलाग्दो स्टाइलका कारण नेइमार पूर्ण देखिन्छन् । उनीसँग फिफा वर्ष खेलाडी बन्नका लागि सबै गुणले भरिएको खेलाडी हुन् भन्दा फरक पर्दैन ।

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा गम्भीर चोटका कारण नेइमार मैदान बाहिर भए र उनको टिमले विश्वकप इतिहासमै बिर्सन लायक प्रदर्शन ग¥यो । तर त्यसको दुई वर्षपछि उनले आफ्नो टिमलाई ओलम्पिकमा स्वर्ण पदक दिलाए ।

अहिले चोटका कारण तीन महिना मैदान बाहिर रहेर फर्किएका नेइमार रुसमा विश्वकप उचाल्ने एक ध्यान र एक लक्ष्यका साथ अघि बढेका छन् ।

द सुटिङ्ग स्टार : मोहम्मद सालह, इजिप्ट


सन् २०१७ को जनुमा इटालीयन क्लब रोमाबाट इंग्लिस क्लब लिभरपुल जानुअघिसम्म उनलाई राम्रो खेलाडीको रुपमा हेरिएको त थियो तर यस्तो प्रभावशाली होलान् भनेर आँकलन गरिएको थिए ।

तर इजिप्टका सालहको दाजुमयी प्रदर्शनका कारण लिभरपुलले प्रिमियर लिगमा राम्रो अवस्था कायम गर्न सक्यो भने च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गर्‍यो ।

तस्बिर : एएफपी

जर्गेन क्लोप्पको प्रशिक्षणमा उनले आफ्नो पूर्ण फिनिसिङ्ग सहितको खेल कौशल प्रदर्शन गरे । उनी भर्खरै सकिएको सिजनमा प्रिमियर लिगको सर्वाधिक गोलकर्ता हुन् । इंग्ल्याण्डमा उनले यो सिजनमा प्रायः सबै व्यक्तिगत उपाधिमा आफ्नो नाम लेखाएका छन् ।

उनले क्लबमा मात्रै होइन राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि उस्तै प्रदर्शन गर्दै आएका छन् । उनकै महत्वपूर्ण भूमिकाका कारण इजिप्टले २८ वर्षपछि फेरि विश्वकपमा स्थान बनाएको छ ।

अब उनी रुसमा आफ्नो सुन्दर खेल कौशलबाट विश्वलाई चकित पार्ने लाइनमा छन् । च्याम्पियन्स लिग फाइनलको क्रममा चोटग्रस्त भएका सालह प्रशिक्षणमा फर्किएका छन् । रुसमा गर्ने उनको प्रदर्शनले सालहलाई फिफा वर्ष खेलाडीको दौडमा अघि लैजाने छ ।

द एसिस्टिङ्ग किङ्ग : केविन डी ब्राउन, बेल्जियम


यो टाइटल इडन हर्जाडलाई सुहाउँछ । त्यो भन्दा पनि सुहाउने अर्को खेलाडी आएका छन्, जसले आफ्नो सहयोगमा धेरै गोल गराए र टिमलाई ऐतिहासिक उपलब्धीमा पुर्‍याए ।

तस्बिर : गेट्टी इमेज

केविन डी ब्राउनलाई गोलका लागि सहयोग गर्ने किङ्ग खेलाडीको रुपमा चिन्ने गरिन्छ । उनकै सहयोगमा धेरै खेलाडीले आफ्नो नाममा गोल लेखाए । म्यानचेस्टर सिटीले भर्खरै सकिएको सिजनमा इतिहासमै सबैभन्दा धेरै अंकसहित प्रिमियर लिगको उपाधि उचाल्यो ।

यस्तै बेल्जियमले विश्वकपको यात्रा तय गर्ने क्रममा पनि उनको भूमिका निकै महत्वपूर्ण छ । उनले टिमका खेलाडीलाई गोलका लागि अवसर बनाए र फुटबललाई यस्तो उत्कृष्ट रुपमा खेल्न सकिन्छ भन्ने देखाएका छन् ।

यदी विश्वकपमा बेल्जियमले आफूलाई डार्क हर्सको रुपमा स्थापित गर्न सक्यो भने डी ब्राउनको नाम यो वर्षको फिफा वर्ष खेलाडीको सूचिमा सबैभन्दा माथि हुनेछ ।

द मास्टर अफ अण्डरस्टेट्मेन्ट : ह्यारी केन, इंग्ल्याण्ड


ह्यारी केनमा इंग्ल्याण्डले एलन शिएरसपछि विश्वस्तरको स्ट्राइकर पाएको छ । रुस विश्वकपमा इंग्ल्याण्ड यी विश्वस्तरीय स्ट्राइकरको कप्तानीमा खेल्दैछ । शिएरर सन् १९९६ को फिफा वर्ष खेलाडीको सूचिमा तेस्रो स्थानमा आएका थिए ।

तस्बिर : गेट्टी इमेज

तर केन शीर्ष स्थानमा आउने सम्भावना नकार्न सकिँदैन । २४ वर्षका केनको माझिएको व्यवहार, कडा मेहनत र समयको राम्रो सेन्स र स्पेसका कारण उनलाई उत्कृष्ट बनाएको छ । उनमा खेललाई सही अर्थमा पढ्न सक्ने क्षमता देखिन्छ ।

उनकै बलमा टोटनह्यामले प्रिमियर लिगको राम्रो प्रदर्शन गर्दै आएको छ । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपको मुखैमा आएर ठूलो विश्वाससहित कप्तानको आर्मब्याण्ड केनलाई थमाएका छन् ।

केनलाई नेइमारकै स्तरको खेलाडीको रुपमा हेर्ने गरिएको छ । विश्वकपमा गर्ने प्रदर्शनले केनलाई पनि वर्ष खेलाडीको सूचिमा माथि लैजाने सम्भावना छ ।

द योङ्ग प्रोडिजी : केलियन एमबाप्पे, फ्रान्स


१९ वर्षका एमबाप्पे रुस विश्वकपका लागि टिममा रहेका कम उमेरका खेलाडी मध्ये एक हुन् । उनलाई यो विश्वकपमा मात्रै होइन अब आउँदा अरु केही विश्वकपमा पनि हेर्न पाइनेछ ।

तस्बिर : एएफपी

भलै उमेर कलिलो होला तर उनको खेल कौशल निकै परिपक्क देखिन्छ । उनी हरेक जसो खेलमा गोल गर्न सक्ने खेलाडीका रुपमा अघि आएका छन् । उनले मोनाकोमा रहँदा लिग वान र च्याम्पियन्स लिग दुवैमा आफूलाई प्रमाणित गरेका छन् ।

उनले अहिले पिएसजीमा आफूलाई प्रमाणित गर्दै आएका छन् । नेइमारको संगतमा उनले आफूलाई उनकै स्तरमा लगेका छन् । अब रुस विश्वकपमा उनी अर्को उचाई हाँसिल गर्ने बाटोमा छन् ।

स्रोत : फिफा डट कम

जेठ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्