मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २६)

मेरो इमान्दारी र चातुर्यले सत्रुमात्र कमाएँ

हङकङ एक वर्षका लागि गएकोमा मलाई असाध्यै खिन्नताभास हुन थाल्यो। विशेषत: जब बिरामीहरुले फोन गरेर ‘मलाई जाँच्न डा.साब कहिले फर्कनुहुन्छ?’ भनेर उतै फोन गर्न थाले, कति कष्ट भयो होला यो गर्न, मैले बुझ्न सक्थेँ। त्यो बेलामा अहिले जस्तो मोबाइल छ्यासछ्यास्ती थिएन। फ्ल्याटको नम्बर खोजेर दिनमा ३, ४ ओटा फोन आउन थाल्यो।

त्यो बेलामा अर्को दुखलाग्दो घटना। स्वर्गीय मदन भण्डारीको बहिनी हुनुहुन्थ्यो एक जना, बिचराको त्यो बेलामा ब्रेन ह्यामरेज भएछ, नेपालमा भर्ना गरेको। म उहाँको परिवारको धेरै नजिक थिएँ। मलाई दिनको २ पटक, ३ पटकसम्म फोन आउन थाल्यो। मैले केही गर्नसक्ने अवस्था थिएन, अन्तिममा उहाँलाई गुमायौँ। सायद म भएको भए त्यो ब्रेन ह्यामरेजको कारण पत्ता लगाएर अप्रेसन गर्न सक्थेँ। मलाई नरमाइलो लाग्यो। यस्तो थुप्रै घटना हुन थालेपछि हङकङमा के अल्मलिने म, बाहिर बस्ने भए बेलायतमा नै बस्थेँ जस्ता सोच प्रबल हुन थाल्यो।

बेलायतमा पनि के बस्ने भनेर आम्दानी राम्रै हुने भएपनि नेपाल आएको मान्छे म। त्यो बेला हङकङमा काम गर्ने डाक्टरलाई बेलायत, अमेरिकाका डाक्टरहरु महिनाको एक दिन खुसी हुन्छ भन्थे। त्यो ‘पे स्लिप’ पाएको दिन हुन्थ्यो। अरु दिन चाहिँ विरक्त भएर बस्यो, त्यो ‘पे स्लिप’ पाएपछि त्यसले मुड एक्टिभेट गर्थ्यो। असाध्यै राम्रो हुन्थ्यो, तलब सुविधा। त्यो बेलामा सकेसम्म हस्पिटलको क्वार्टर दिइन्थ्यो। क्वार्टर भयो भने क्वार्टरमा बस्ने, भएन भने हाम्रो लेबलको डाक्टरलाई महिनाको ३० हजार डलर घरभाडा भनेर दिइन्थ्यो।  ३० हजार डलर घरभाडा दिने तर वास्तवमा महिनाको ५ हजार हङकङ डलर तिरे पुग्थ्यो। त्यो ठूलो रकम, घरभाडाको पैसा पनि जोगिने, तलब पनि राम्रो। हङकङको ट्याक्स धेरै कम। सबै फ्ल्याट ट्याक्स, १५ प्रतिशत तिर्‍यो भने हुने। तर ट्याक्स नतिर्ने मानिसलाई कडा कारवाही हुन्थ्यो। त्यसले ट्याक्स डिफाई हत्तपत्त गर्दैनथे। त्यति हुँदा पनि बदमासहरु त जहाँ पनि हुन्छन्।

मलाई त्यहाँ बस्ने डाक्टरहरुले सल्लाह दिन्थे, अष्ट्रेलिया, बेलायतबाट आएकाहरु त ‘ट्याक्स नतिरेर गएपनि हुन्छ, अहिले खोज्दैन पछि खोज्ने हो’ भनेर कोहीकोही नतिरी हिँड्दा रहेछन्। एक पटक कस्तो घटना भएछ, एकजना अष्ट्रेलियन डाक्टरले अब फर्कने हैन,  किन तिर्ने भनेर ट्याक्स नतिरी गएछन्। त्यसको दुई चारवर्ष पछि उनी जापान जान लाग्दा मौसम बिग्रेको कारणले प्लेन डाइभर्ट भएर हङकङमा ल्याण्ड भएछ। ओभर नाइट बस्नुपर्ने भएपछि एयरपोर्टबाट बाहिर होटलमा राख्ने भयो एयरलाइन्सले। तिनीहरुको रेकर्ड सिस्टम यति राम्रो कि त्यो एयरपोर्टबाट निस्कने बित्तिकै उसलाई समात्यो, ‘ट्याक्स डिफाई’ गर्‍यो भनेर। कानुन कडा त्यहाँको।

त्यो सबै थाहा थियो मलाई, म ट्याक्स तिर्नुपर्छ भन्ने मान्यता राख्दै आएको व्यक्ति हुँ। मैले भन्न खोजेको के हो भने, १५ प्रतिशत ट्याक्स पनि छल्ने मानिस थिए। हाम्रो यहाँ ट्याक्स तिर्नु नै पाप हो खालको व्यवहार गर्छन्। नेपाल कसरी विकास हुने? हङकङको रमाइलो त्यही हो, राम्रो तलब, कम ट्याक्स। तलबमाथि सुविधा प्रशस्त। यति हुँदाहुँदै पनि मेरो मन खिन्न भयो, नेपाल फर्कने निर्णय गरेँ।

म फर्कन्छु भन्दा मेरो साथी फेरि नयाँ अफर लिएर आउँछ। किनभने उसको डिपार्टमेन्टमा मैले एउटा ठाउँ बनाइसकेको थिएँ, मेरो अभाव उनीहरुले महसुस गर्ने तरिकाले। सर्जरीको लेबल बढी थियो मेरो। म चाँडै सिद्याइदिन्थेँ, उनीहरुको सर्जरी टेकओभर गरिदिन्थेँ। उसले आएर ‘यो वर्ष हामी तलब डबल बनाउँछौँ’ भन्न थाल्यो। अनि मैले पैसाको पछाडि लाग्यो भने म अगाडि बढ्न सक्दिनँ भनेर ‘सरी अब म जे भएपनि बस्दिन’ भनेँ।

‘छ महिना त बस न।’

‘सरी अब छ महिना पनि बस्न सक्दिनँ’ भनेर सन् १९९४ को मार्चमा म नेपाल फर्किएँ। यो पटक पहिलाको भन्दा बढी प्रतिबद्धताका साथ। पहिला म बेलायतबाट फर्कने बित्तिकै देशको माटो निधारमा टिका लगाएको मान्छे, हङकङबाट फर्कने बित्तिकै अझ प्रतिबद्ध भएर ‘यही देशको माटो मेरो लागि प्यारो छ, यसैमा आफ्नो जीवन अर्पण गर्नु छ’ भनेर फेरि टिका लगाएँ। प्रण दोहोर्‍याएँ।

फर्केर आएपछि नयाँ धारमा काम सुरु गरेँ। डिपार्टमेन्ट छँदैथियो, डिपार्टमेन्ट डा. गंगोलले माइकलाई लिएर चलाउनुभएको थियो। म आएको भोलिपल्टदेखि उहाँ जनरल सर्जरीमा फर्कनुभयो, मैले टेकओभर गरेँ। तर दुर्भाग्य के भनेदेखि व्युरोक्रेसी यति खराब, उता सेकेण्ड क्लासको न्युरो सर्जरी पोष्ट छ, मलाई थर्ड क्लास मेडिकल अफिसर बनाएर राखिराखेको छ, १९९४ सम्म। नेपाल आएको पाँच वर्ष भइसक्यो।

मन्त्रालयमा गयो, खुसुखुसु न्युरो सर्जरीको सिटमा कोही फिजिसियन, कोहि सर्जन, काठमाडौँ बस्न चाहने पहुँचवालाहरु आसिन। यतिसम्म कि कुनैबेला फिजिसियन डाक्टरसाबले पनि त्यो सिट अकुपाई गर्नुभयो। काठमाडौँ बस्नलाई सजिलो। मेरो पोस्ट कहिल्यै एड्भर्टाइज गर्दैन। धेरै कठोर चाकडी भनसुन यताउती गरिसकेपछि, प्रधानमन्त्रीसम्मको सोर्स लगाउनुपर्‍यो। त्यो बेला प्रधानमन्त्री गिरिजाबाबु हुनुहुन्थ्यो। त्यहाँसम्म पुगेर कम्प्लेन गरिसकेपछि बल्लबल्ल न्युरो सर्जरीको पद एड्भर्टाइज गरे।

सायद १९९६ तिर मैले न्यूरो सर्जरीको सेकेण्ड क्लासको पदमा जान पाएँ। त्यो बेलासम्म जनरल सर्जरीमा गएको भए फस्ट क्लास भइसक्थेँ। जाँच पास गरेको १० वर्ष भइसकेको थियो। एफआरसीएस गरेको, डिग्री पुगेको। सेकेण्ड क्लास भएँ बल्लबल्ल, त्यसैमा ठूलो संघर्ष गर्नुपर्‍यो। धेरैले मलाई भन्थे, त त्यस्तो हुँदा पनि किन बस्नुपर्‍यो। न प्रमोसन दिन्छन्, न तँलाई हेड अफ द डिपार्टमेन्ट बनाएको छ। तर, मलाई कुनै कम्प्लेक्स थिएन। किनभने डाक्टर गंगोल हेड अफ द डिपार्टमेन्ट हुनुहुन्थ्यो, उहाँ भएसम्म कन्फ्लिक्ट हुने कुरा भएन, उहाँ मेरो गुरु नै, उहाँको अन्डरमा मलाई काम गर्न कम्प्लेक्स थिएन। तर अरु आए भने त्यो अवस्था नरहला भन्ने पीर पनि थियो मनमा।

सेकेण्ड क्लास हुन नपाएकोमा दुख थियो मनमा। त्यसमाथि डिपार्टमेन्टमा कोअपरेट नगर्ने बाढी नै चल्यो। सबैतिरबाट यो डाक्टर अलि अरुले भन्या नटेर्ने निस्कियो, यसलाई कुनै तरिकाले रोक्नुपर्छ भन्ने अभियान देखा पर्न थाल्यो। एक किसिमको वातावरण भयो। म सम्मान गर्थेँ अरुलाई, तर मेरो सम्मान गर्ने तरिका फरक थियो। म नमस्कार गर्थे उहाँहरुलाई, दुई हात जोडेर होइन, झुकेर मात्र। धेरै जसोले त्यो थाहा पाउनुहुँदो रहेनछ। डाक्टर गंगोलले बुझ्नु हुन्थ्यो तर अरुले नबुझ्दा रहेछन्।

त्यो फलानो डाक्टर जुनियर भएपनि हामीलाई सम्मान गर्दैन, नमस्कार पनि गर्दैन, अलि मात्तिएको छ, त्यसलाई कारबाही गर्न पर्‍यो हजुर भन्न पुगेछन्।

एकपटक कस्तो गज्जब घटना भएछ, त्यसबारे पछि, स्वास्थ्य सचिव मुकुन्दशमशेर थापाले भन्नुभयो मलाई। त्यो बेलामा रामवरण यादव स्वास्थ्य मन्त्री, मुकुन्द शमशेर थापा सचिव। ६/७ जना डाक्टरहरुको टोली गएछन् मन्त्रालयमा मेरो विरुद्ध उजुरी गर्न। बडा इन्ट्रेस्ट्रिङ। उजुरी के त भन्दा त्यो फलानो डाक्टर जुनियर भएपनि हामीलाई सम्मान गर्दैन, नमस्कार पनि गर्दैन, अलि मात्तिएको छ, त्यसलाई कारबाही गर्न पर्‍यो हजुर भन्न पुगेछन्। एक पटक गए, मन्त्रीले वास्ता गर्नु भएन। रामवरण यादवसँग मेरो राम्रै चिनजान थियो। व्यक्तिगत रुपमा मलाई पनि चिन्नुहुन्थ्यो। त्यस्तै समस्या पर्दा मलाई सोध्नु पनि हुन्थ्यो। म त्यति रुड भएको भए उहाँलाई पनि थाहा हुन्थ्यो नि।

दोस्रोपटक पनि गएछ त्यो ग्रुप, कम्प्लेन गर्न, किन त्यसरी मेरो पछाडि लाग्नुभयो उहाँहरु, मलाई थाहा भएन। दोस्रो पटक गएपछि मन्त्रीले सचिवलाई बोलाउनुभएछ र भन्नुभएछ, ‘सचिवजी यति सिनियर डा. साबहरु कम्प्लेन नै लिएर आइपुग्नुभयो, हुन त डा. देवकोटालाई चिन्छु म व्यक्तिगत रुपमा। उहाँहरुले भनेजस्तो खराब त हुन नपर्ने हो, तैपनि सिनियर डा. साब दुईदुईपटक आएर भनिसक्नुभयो, एकपटक स्पष्टीकरणसम्म माग्दिने हो कि?’

मुकुन्दशमशेरले उत्तिनै खेर भनिहाल्नुभएछ, ‘काँ मन्त्रीज्यू, म सबै डाक्टरलाई चिन्छु, सिनियर डाक्टरलाई पनि, जुनियर डाक्टरलाई पनि। त्यो काम गर्ने डाक्टरलाई देखेर डाहा गरेका हुन् उनीहरुले। उसले काम गर्छ, अरुहरुको काम नदेखिने भो नि। त्यसैले पोल खुल्छ भनेर डाहा भएर उजुरी गर्न आएका हुन्। अब स्पष्टीकरण माग्यो भने त्यो डाक्टर निरुत्साहित हुन्छ, काम गर्न छोड्छ। म गर्दिन।’ सचिवले सोझै फड्कारिदिनु भएछ।

उहाँको श्रीमतीको मैले अप्रेशन गरेको छु। उहाँको श्रीमतीको मेरुदण्डमा समस्या थियो। मैले अप्रेशन गरेँ, ठीक हुनुभयो। पछि उहाँ पनि हाम्रै अस्पतालमा भर्ना हुनुभएको थियो। मेरो व्यक्तिगत सम्बन्ध पनि राम्रो थियो उहाँसँग। पछि मुकुन्द शमशेरले यो कुरा चुहाउनुभयो।

यस्तो किसिमको परिवेश बन्न थाल्यो। नेपालीमा कवि लेखनाथले, ‘गुणको वैरी, मानुस जाति’ भन्या जस्तै कहिलेकहिले आफ्नो क्षमता नै आफ्नो शत्रु भन्छ। त्यसैले मैले धेरै शत्रुहरु कमाए। रिसेन्टली मैले एकजना एट्किन्सन मोर्लीमा काम गर्दाखेरी चिनेको ठूलो फेसियोम्याग्जेटरी सर्जन, जो रोयल मास्टरको क्यान्सर सर्जन हो, उहाँले बेलायतमा हाम्रो विषयमा कुरा गरेको थाहा पाएँ। यसपटक म गएको बेलामा थाहा पाएको कुरा यो, वार्डमा मेरो बारेमा चिनाउँदाखेरि ३ वटा शब्द प्रयोग गर्नुभएछ, त्यहाँको नर्सहरुले मलाई आएर भने। ‘इनक्रेडिबली इन्टेलिजेन्ट, ब्रुटल्ली अनेस्ट एण्ड फेयर।’ तीन ओटै गुणले मलाई सताउने मात्रै काम गर्‍यो।

इन्टेलिजेन्ट हुने बित्तिकै डाहा गर्ने शत्रु कमाइन्छ, अनेष्ट र फेयर हुने बित्तिकै मान्छेले शोषण गर्छ। म त्यो तीनओटै कुराको भिक्टिम बनेँ।

पहिलेदेखि नै स्कूलमा पनि म एकपटक भन्दाखेरि थाहा पाउने, याद गर्ने प्रवृत्तिले गर्दाखेरी टिचरहरु मेरो पक्षभन्दा विपक्षमा नै रहे। इन्टेलिजेन्ट भएकोले मैले शत्रुमात्र कमाएँ। अनेस्ट र फेयरलाई नेपालमा दुर्गणको रुपमा लिइन्छ। चतुर हुनुपर्छ, बाठो हुनुपर्छ, ठग्न जान्नुपर्छ भन्ने छ। मलाई आफ्नो अनेस्टी र इन्टेलिजेन्सले दुख मात्र दियो ।

यति गरेर म लड्दै थिएँ, डिपार्टमेन्ट बिस्तारै सेट हुन थाल्यो। त्यो सँगसँगै काम पनि धेरै गर्थे। म १९८९ मा फर्केको मान्छे,  मैले ६, ७ वर्ष बाहिर प्राक्टिस नगरी बिताएँ। म बेलायतमा मिटिङ अटेन्ड गर्न जान्थे, ब्रिटिस सोसाइटीको मिटिङ। केही शोअफ गर्ने कुरा भएन। इन्डिया/पाकिस्तानतिरको रिजनल मिटिङमा मैले कहिले पनि एटेन्ड गर्न पाइनँ। किनभने डाक्टरको मिटिङ अटेन्ड गर्न जानमेरो सिद्धान्त स्पष्ट छ। आफूले पेपर पढ्ने नभई म जान्नँ। आफूले पेपर तयार गर्न मसँग धेरै काम भएको रेकर्ड छैन, आफूले काम नगरेको विषयमा अरुले गरेको कामको के रेकर्ड पढ्ने? आफ्नो काम पेपर लेख्ने लेबलमा कुनै पनि सबजेक्टमा भएको थिएन। मैले विचार गरेँ पहिला काम गरौँ।

पहिला म बेलायतबाट फर्कने बित्तिकै देशको माटो निधारमा टिका लगाएको मान्छे, हङकङबाट फर्कने बित्तिकै अझ प्रतिबद्ध भएर ‘यही देशको माटो मेरो लागि प्यारो छ, यसैमा आफ्नो जीवन अर्पण गर्नु छ’ भनेर फेरि टिका लगाएँ। प्रण दोहोर्‍याएँ।

धेरै काम भइसकेपछि त्यही कामको बारेमा पेपर लेखेर प्रिजेन्टेसन गर्न जान्छु। त्यति गर्दा गर्दै ६, ७ वर्ष बितिसकेछ। तर मैले गरेको कामले प्रचार नपाएको होइन। नेपालीहरु यहाँ अप्रेसन गराइसकेपछि एकपल्ट दिल्ली जाउँ, बम्बई जाउँ, कलकत्ता जाउँ भन्ने नै भए। म चाहिँ गए जाऊन् भनेर छोडिदिन्थेँ। त्यहाँ पनि विवेक भएका डाक्टरहरु हुन्छन्। नेपालमा अप्रेसन गरेर आएको यस्तो छ भनेपछि मलाई नचिने पनि अप्रेसनको घाउ देखेपछि, बिरामीको नजिता हेरेपछि, ‘ए, त्यहाँ त राम्रो काम पो भएको छ।’ भनेर दिल्लीका विशेष गरेर अल इन्डियाका इस्टिच्युटका डाक्टरहरुले भन्ने गर्दा रहेछन्। प्राइभेट प्राक्टिस गरेर अरुभन्दा ठूलो हुनु छैन, उहाँहरुले खुले आम भन्न थाल्नुभएछ। ‘यस्तो राम्रो अप्रेसन गर्ने डाक्टर तिम्रो देशमा हुँदा हुँदै किन आको यहाँ?’ अनि बिरामी रिफ्यूज गर्न थाल्नुभयो, उहाँहरुले।

रमाइलो घटना कहिले भयो भने सन् १९९७ मा मैले पहिलो पटक इन्डियामा मिटिङ अटेन्ड गर्न जानुपर्‍यो। आफूले काम गरेको डेटा तयार भइसकेको थियो। मैले कतिपय चाहिँ नयाँ इनोभेटिभ सर्जरी पनि गर्थेँ। बनारसमा अल इन्डिया न्यूरो ट्रमा कन्फ्रेन्स भएको थियो। त्यहाचाहिँ मैले एकजना मेरो अन्डरमा थेसिस गरेका पोस्ट ग्राजुयट स्टुडेन्टलाई हेड इन्जुरीको पेपर प्रस्तुत गर्ने तयारी गर्दै थिएँ।

त्यो थेसिसको बडा राम्रो पाटो छ। हेड इन्जुरी मैले गाइड गरेँ, एम एसको केटालाई। उहाँको एक्जामको बेलामा श्रीलंकाको ठूलो एक्जामिनर आउनुभएको थियो, एक्ट्रर्नल एक्जामिनर भएर। किनभने त्यो नेपालको पहिलो ब्याच थियो। पहिलो ब्याच भएर गतिलो जाँच जसले पनि गर्न चाहने। हाम्रो यहाँको पोष्ट ग्राजुएट कमिटिले श्रीलंकाको प्रोफेसर अर्जुनलाई बोलाएको थियो। ब्रिटिस जर्नल अफ सर्जरीको एडिटोरियल बोर्डमा पनि हुनुहुन्थ्यो उहाँ। उहाँ बेलायतमा तालिम लिनुभएको धेरै नै अन्तराष्ट्रिय ख्याति र छवि भएको मान्छे हो।

अर्जुन आरुबिहारीले आएर हेर्दाखेरि नेपाली डाक्टर, म सँग थेसिस लेखेको, थेसिस हेरिसकेपछि यति राम्रो थेसिस मैले हेरेको थिइन भनेर उहाँले खुलेआम प्रशंसा गर्नुभयो। त्यो लेबलको थेसिस गाइड गरिसकेको थिएँ मैले। भन्न पनि नरमाइलो लाग्छ, अहिले  त्यो लेबलको एमसिएचको पनि थेसिस गर्दैनन् केटाहरुले। आजभोलि म गाली पनि गर्छु, एम एसको थेसिसको स्ट्याण्डर्ड भएन भनेर।

त्यो थेसिसको पार्ट पनि प्रिजेन्ट गर्नुथियो बनारसमा। मैले चाहिँ स्पाइनल इन्जुरीमा नयाँ खालको सर्जरी गर्न थालेको थिएँ। कम पैसामा धेरै खर्च नलाग्ने इम्प्लान्टहरु हालेर ढाड फिक्स गर्ने, फ्याक्चर भएका ढाड। त्यसमा मेरो आफ्नो पेपर थियो, दुई ओटा पेपर हामीले सबमिट गरेको एक्सेप्ट भएको थियो। मैले पोस्ट ग्राजुयट स्टुडेन्ट दीपकबाबुलाई सघाएको थिए। मसँग मेरो श्रीमती र चार वर्षकी छोरी थिइन्, मेधा। अनि हामी बनारस गयौँ।

श्रीमतीलाई सँगै लैजानुको कारण के हो भने उनी बनारसमा नै हुर्केकी, दुईचार दिन भएपनि माइत जान पाइन्। रमाइलो पनि भयो, कोही गाइड पनि चाहिएन। कहाँ लस्सी खाने, कहाँ कचौडी खाने, कहाँ जिलेबि खाने त्यो सबै बनासरको ट्रिक थाहा भएको मान्छे।

मेरो पेपर भोलि थियो, उद्घाटनका दिनमा साँझमा हामी पुग्यौँ। भव्य थियो, त्यहाँको भाइस चान्सलरले उद्घाटन गर्ने, बनारसको विएचयूको क्याम्पस, सायद एसियाको सबैभन्दा ठूलो क्याम्पस हो। हामीलाई अर्गनाइजरले कृपा गरेर एक जना परिवारको घरमा राखिदिनुभयो। पिलग्रिम बुक हाउसको ओनरको घरमा व्यवस्था गर्नुभएको रहेछ, हामी नेपाली त्यहीँ बस्यौँ। दीपकबाबु श्रेष्ठ र मेरो परिवार सबै, हाम्रो खानपिनको व्यवस्था त्यहीँ थियो। त्यो दुर्गाकुण्ड नजिकै रहेछ। श्रीमतीले सबै कुरा थाहा पाइहालिन्। मलाई लोकल गाइडको केही आवश्यकता परेन।

उद्घाटनको दिनमा बडा रमाइलो घटना भयो। उता इनागोरेसन सुरु भयो, म्युजिक बज्न थाल्यो। नाचगान सुरु भयो स्टेजमा, हाम्रो ४ वर्षकी छोरी फट्ट हाम्रो काखबाट उठेर तल गएर नाच्न थाली। चार वर्षको फुच्ची केटी, राम्री केटी, फ्रक लगाएकी माथिको म्युजिक सुनेर हात हल्लाउँदै, स्टेजको तलपट्टि प्यारलल्ली अर्को शो सुरु भयो। त्यहाँको सिस्टर्सहरुले ‘आ के गरेको’ पनि भनेनन्, हामीले पनि बच्चाबच्चीहरुलाई धेरै कडाइ नगर्ने, राम्रो मानिराखेको छ त के गर्नु भनेर छोडिदियौँ। छोरीले पनि रमाइलो मानिन्। यो घटना मैले भनेको किनभने, बच्चाहरुलाई उन्मुक्त वातावरणमा हुर्कायो भने मानसिक रुपले स्वस्थ्य भएर हुर्कन्छन्। नेगेटिभ कुरामात्र नगर, नगर भन्यो भने नेगेटिभ कुरामा चासो बढी लिन थाल्छन् र त्यही मात्र सिक्छन्। हामीले बच्चाहरुलाई कहिले पनि नेगेटिभ कुरा सिकाएनौँ। त्यति ठूलो सेरोमोनीमा बच्चा तल नाच्दाखेरि तानेर राखेनौँ।

त्यस्ता सेमिनारमा हाम्रो दुई तीन किसिमको पेपरहरु हुन्छ, एउटाचाहिँ फ्री पेपर, एउटा चाहिँ पोस्टर। पोस्टर भन्या सबैभन्दा कम छोटो समयमा प्रिजेन्ट गर्नुपर्ने। त्यसपछि फ्री पेपर चाहिँ ८, १० मिनेटको गर्नुपर्ने धेरै समय लिँदैन। त्यसपछि अर्को हुन्छ गेस्ट लेक्चर त्यो चाहिँ आधा घण्टा या धेरै समय लिएर कभर गर्न पाउने। त्यो चाहिँ इज्जतदार लेक्चर।

मलाई यिनीहरुले चिनेका छन् जस्तो लागेको थिएन। मैले आफूले पढ्ने पेपर पनि फ्री पेपर भनेर दिएको थिएँ। त्यहाँ हेर्छु त अघिल्लो दिन पोस्टर टाँसिसकेको रहेछ। मेरो गेस्ट लेक्चर फलानो दिन यति बजेदेखि यति बजेसम्म भनेर। मेरो फ्री पेपरलाई गेस्ट लेक्चरमा प्रोमोट गरेर राखिसकेको रहेछ। त्योचाहिँ इनागोरेशनको भोलिपल्ट। त्यहाँ नाम देख्ने बित्तिकै तयारी अर्कै तरिकाको हुनुपर्‍यो। स्लाइडहरु बनाइसकेको थियो। समय पाइने भयो एक्सप्लेन गर्न, रस हुने भएन। त्यहाँको कुनै पनि डाक्टरसँग मेरो व्यक्तिगत परिचय भएको थिएन।

क्रमश:

(राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. उपेन्द्र देवकोटासँग सम्पादक युवराज घिमिरेले एक साताअघि गरेको कुराकानी।)

यो पनि पढ्नुहोस्

जेष्ठ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्