कांग्रेस सुधारका ७ सुत्र

पछिल्लो निर्वाचनमा पराजय भएपछि कांग्रेसको भावी रणनीतिका विषयमा धेरै क्षेत्रको चासो र चिन्ता देखिएको छ। विषेशगरी दुई ठूला कम्युनिष्ट पार्टीको एकताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बलियो कम्युनिष्ट पार्टीको रुपमा उदाएको र सरकारमा दुई तिहाइको अंक गणित पुगेकाले प्रतिपक्षी कांग्रेस बलियो र सशक्त हुन जरुरी छ भन्ने चिन्ता एउटा तप्कामा बढ्न थालेको छ।

लोकतान्त्रिक शासन पद्धतिमा प्रतिपक्षी सरकारको ‘वाचडग’ को भूमिकामा हुन्छ। सरकारका कमी कमजोरी जनता समक्ष पुर्‍याउने प्रतिपक्षीले नै हो। त्यसैले पनि अहिलेको प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो भूमिकामा सशक्त हुनुपर्छ भनेर आएका आवाज पार्टीका लागि एक खालको ऊर्जा नै हो। यो चासो र चिन्तालाई कांग्रेस नेतृत्वले पार्टीको ऊर्जाकै रुपमा लिएको छ र लिनुपर्छ।

कांग्रेसलाई कमजोर प्रतिपक्षीको रुपमा जुन रुपमा विश्लेषण गरिएको छ, त्यसलाई पार्टीले सकारात्मक रुपमा लिए पनि त्यसको सही विश्लेषण हुनु पनि उत्तिकै जरुरी छ। दुई ठूला कम्युनिष्ट पार्टीहरु (जो यस अघिको संसदमा पनि बहुमतमै थिए) मिलेर चुनाव लडेको र पार्टी एकीकरण घोषणा गरेको अवस्थामा भएको चुनावमा कांग्रेसको हार हुन राजनीति शास्त्रीय दृष्टिकोणबाट स्वभाविक हो।

यद्यपि राजनीतिक दलले अरु मिलेर आफू कमजोर भएँ भन्नुभन्दा पनि सबै मिल्दा पनि म बलियो छु भन्ने उच्च मनोबल राख्नैपर्छ। तर यथार्थ स्वीकार गर्ने हो भने कांग्रेसले चुनाव हार्नुको मुख्य कारण दुई ठूला कम्युनिष्ट पार्टीको एकता नै हो। यो तर्कलाई अस्वीकार गर्न सक्ने कुनै ‘स्पेस’ नै छैन।

के तत्कालीन एमाले र माओवादी केन्द्र एक्ला एक्लै चुनाव लडेको भए पनि परिणाम अहिलेकै आउँथ्यो त ? पक्कै आउँदैन थियो। त्यसैले चुनाव हारको प्रधान कारण दुई ठूलो कम्युनिष्ट पार्टीको एकता हो। यो प्रधान कारणभित्र केही सहायक कारण अवश्य छन्। तिनै सहायक कारणहरुलाई सुधार गरेर कांग्रेसलाई बलियो बनाउन जरुरी छ। के गर्नुपर्छ त कांग्रेसलाई सशक्त बनाउन?

१. अनुशासन कायम
कांग्रेसको सबैभन्दा ठूलो सरुवा रोगको रुपमा अहिले देखिएको विषय अनुशासनहीनता हो। यस विषयमा कांग्रेस महामन्त्री सशांक कोइरालाले भन्दै आएको एउटा विषय अत्यन्त मार्मिक छ। उनी उम्मेदबार बनेको नवलपरासीको एउटा गाउँमा पार्टीका क्रियाशील सदस्य (साधारण सदस्य होइन) १२ सय जना रहेछन्, तर उनलाई चुनावमा मत २ सय मात्रै आएको छ। १२ सय क्रियाशील सदस्यमा कम्तिमा आधाले त कांग्रेसलाई मत दिनु पर्ने हो नि । यसको एउटै कारण के हो भने पार्टीभित्र अनुशासन भन्ने नै छैन। पार्टीको सदस्य लिनुस्, क्रियाशील सदस्य बन्नुस् तर भोट जता हाले पनि हाल्नुस्, भने जस्तो देखिएको छ। क्रियाशील सदस्यले नै आफ्नो पार्टीलाई भोट हाल्दैन भने त्यो भन्दा ठूलो अनुशासनहीनता अरु के हुन्छ?

त्यसैले कांग्रेसले अब केन्द्रदेखि वडा तहसम्मका आफ्ना संगठन संरचनाको ‘र्‍यांक एन्ड फायल’ बनाएर पार्टीको अनुशासन पालना नगर्नेलाई दण्डको व्यवस्था गर्नुपर्छ। यो वडादेखि केन्द्रीय नेतृत्वसम्मलाई लागू हुनेगरी मापदण्ड तयार गर्न आवश्यक छ। पार्टीको आचारसंहिता बनाएर क्रियाशील सदस्यदेखि नै सपथ खुवाउने र पार्टी मर्यादा विपरीत काम गरे तत्काल निष्कासन गर्ने नीति लागू गर्नुपर्छ।

लाखौँ अनुशासनहीन कार्यकर्ताभन्दा हजारौँ अनु साशित कार्यकर्ता पार्टीको लागि उर्जा हुन्छ। त्यसैले अब अनुशासन कायम भएर कांग्रेसले कांग्रेसलाई भोट हाल्ने वातावरण बनाउन सके मात्रै पनि लाख भोट बढाउन सकिन्छ। यसका लागि सबैभन्दा पहिला कांग्रेसले कांग्रेसलाई नै बिनाआधार र प्रमाण गाली गर्ने प्रवृत्तिलाई अनुशासनको दायरामा ल्याएर निषेध गर्नुपर्छ। लोकतान्त्रिक पार्टीमा विरोधको पनि आवाज सुन्नु पर्छ र कुनै पनि विषयको पक्ष र विपक्षमा तर्क गर्ने छुट हुन्छ। तर यसको अर्थ एउटा नेता वा कार्यकर्ताले अर्को नेता वा कार्यकर्तालाई अनावश्यक आरोप लगाउने अधिकार हुँदैन। सिर्जनात्मक बहश सधैँ सहयोग गर्दै अनावश्यक प्रोपोगाण्डा निषेध गर्ने रणनीति पार्टीले तत्काल गर्नुपर्छ।

२. केन्द्रीय विभाग अर्थात थिङक ट्यांक गठन
विगत तीन दशकदेखि कांग्रेसमा अभ्यास हुँदै आएको परिपाटी के हो भने विभिन्न नेताहरुले ‘आफ्ना मान्छे’लाई केन्द्रीय विभागमा ‘एडजस्ट’ गर्ने। यो परिपाटीले नेताहरुका मान्छे त एड्जस्ट भए तर कांग्रेस एडजस्ट भएन। त्यसैले अव कांग्रेसलाई नेताहरुको पार्टी होइन, जनताको पार्टी बनाउन विभिन्न विषयका केन्द्रीय विभागमा विषय विज्ञहरुलाई समावेश गर्नुपर्छ। पार्टीको केन्द्रीय विभागले संगठन विस्तार गर्ने होईन, पार्टीलाई खुराक उत्पादन गर्नुपर्छ। त्यसका लागि विज्ञ समुहको रोष्टर तयार गरेर उनीहरुलाई समेटेर केन्द्रीय विभाग तत्काल गठन गर्नुपर्छ।

ती विज्ञ समुह सहभागी विभागहरुले कम्तिमा हप्तामा एक पटक नेतृत्व र पदाधिकारीलाई आफ्नो विषयको ब्रिफिङ र त्यस विषयमा पार्टीले लिनु पर्ने अडान वा धारणाहरु सुल्झाउनु पर्छ । त्यसरी आएका सुझावहरुलाई पार्टीको माथिल्लो तहमा छलफल गरी पार्टीले तल्लो निकायसम्म पुर्‍याउने संयन्त्र खडा गर्नुपर्छ । यसले कांग्रेस हरेक विषयमा भएका नयाँ खोज, अनुसन्धान र विकासका विषयमा जानकार हुदै जुनसुकै विषयमा पनि परिपक्व बन्न सक्छ ।

विगत तीन दशकदेखि कांग्रेसमा अभ्यास हुँदै आएको परिपाटी के हो भने विभिन्न नेताहरुले ‘आफ्ना मान्छे’लाई केन्द्रीय विभागमा ‘एडजस्ट’ गर्ने। यो परिपाटीले नेताहरुका मान्छे त एड्जस्ट भए तर कांग्रेस एडजस्ट भएन। त्यसैले अव कांग्रेसलाई नेताहरुको पार्टी होईन, जनताको पार्टी बनाउन विभिन्न विषयका केन्द्रीय विभागमा विषय विज्ञहरुलाई समावेश गर्नुपर्छ।

३. तालिम वा स्कुलिङ
कांग्रेसमा देखिएको अर्को एउटा कमजोरी भनेको यसका कार्यकर्ता तहमा कुनै पनि घोषित तालिम नहुनु पनि हो । सरकार चलाउने पार्टीले आफ्ना कुन तहका कार्यकर्ताले कतिसम्म ज्ञान, सिप वा कला जान्नु पर्छ भन्ने एकीन गरेर लागु गर्नुपर्छ ।

कांग्रेसको सदस्यता लिएर मात्रै कांग्रेस हुँदैन । नयाँ सदस्यले कम्तिमा कांग्रेसको संक्षिप्त इतिहास, कांग्रेसले सात दशकमा गरेका महत्वूर्ण योगदान र संघर्ष, लोकतन्त्र प्राप्तिमा कांग्रेसको नेतृत्वदायि भुमिका, कांग्रेस सरकारमा हुँदा गरेका मुख्य सुधारका कामहरुको जानकारी हुनै पर्छ । कांग्रेसकै बारेमा थाहा नहुने कसरी कांग्रेसको सदस्य हुनसक्छ ? त्यसैले पढ्न सक्नेलाई पढ्ने सामाग्री दिएर र पढ्न नसक्नेले अन्य माध्यामबाट कांग्रेसका विषयमा जानकार बनाउन आवश्यक छ ।

त्यसको लागि कांग्रेसले तत्कालै केन्द्रीय प्रशिक्षण प्रतिष्ठान मार्फत विभिन्न क्षेत्रका विज्ञहरु रहनेगरी स्रोत व्यक्ति पहिचान गर्नुपर्छ । र, ति केन्द्रीय स्रोत व्यक्ति मार्फत जिल्लादेखि १ सय ५६ निर्वाचन क्षेत्रसम्म तालिम वा अभिमुखिकरण दिएर स्थानीय तहमा प्रशिक्षक बनाउन जरुरी छ । र, पार्टीको प्रशिक्षणको लागि केन्द्रलेनै पाठ्यक्रम तयार गर्नुपर्छ । अहिले कांग्रेसमा हुने गरेजस्तो प्रशिक्षण चलाउने हो भने त्यसले झनै कांग्रेसमा भ्रम सृजना गर्छ ।

कांग्रेसको पाठ्यक्रममा पार्टीको विदेश नीति के हो ? शिक्षा नीति के हो ? युवाका विषयमा कांग्रेसको नीति के हो ? दलित, जनजाति, महिला लगायत सिमान्तकृत समुदायका विषयमा कांग्रेसको दृष्टिकोण कस्तो छ ? वातावरणीय विषयमा पार्टीको औपचारिक धारणा के हो ? विद्यार्थीका विषयमा, तरुणका विषयमा, खेलकुदका विषयमा कांग्रेसले लिने नीति कस्तो हो ? कांग्रेसको छिमेकी मुलुक भारत र चीनसँगको सम्वन्ध कस्तो छ ?अन्य विकास साझेदार मुलुकहरुसँगको कांग्रेसको सम्वन्ध के छ ? समग्र राष्ट्र विकासमा कांग्रेसको खाका के हो ? लगायतका विषय तालिमको पाठ्यक्रम भित्र समेटिनु पर्छ । यस्ता तालिमले कार्यकर्तामा पार्टीप्रतिको एउटा दृष्टिकोणा बनाउन सहज हुन्छ। यसले मतदाताबीच सच्चा कांग्रेसको पहिचान दिन्छ ।

४. सांगठनिक सुधार
कांग्रेसको पुरै संगठनात्मक संरचनाहरु अहिले क्रियाशील छैनन् । कतिपय पार्टी संरचनाका बैठक समेत नबसेको महिनौ भयो होला । पार्टीको मेरुदण्ड अर्थात मतदातासँग घुलमिल हुने केन्द्रदेखि वडा तहका संगठनहरुनै निश्क्रिय भएपछि पार्टी क्रियाशिल बनाउन सम्भव हुँदैन । त्यसैले तत्काल संगठन विस्तार अभियान संचालन गरेर पार्टीको नयाँ सदस्यता वितरण सुरु गर्नुपर्छ । नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ लगायत सबै भातृ संस्थाहरुले सदस्यता विस्तार अभियान संचालन गरी ‘टार्गेट’ तोकेर टिम परिचालन गर्नुपर्छ । र, संगसंगै नयाँ र पुरान दुवै सदस्यहरुलाई पार्टीको समग्र विषयमा कम्तिमा एक दिने तालिमको व्यवस्था गर्नुपर्छ । अहिले करिव ५ लाखको हाराहारीमा रहेको कांग्रेसको क्रियाशिल सदस्यलाई कम्तिमा दोब्बर बनाउने अभियान कांग्रेस सुधारको पहिलो खुड्किलोको रुपमा चलाउनु पर्छ । राजनीतिक ‘कार्टेलिङ’का कारण क्रियाशिल सदस्यता वितरणलाई खुला गरिएको छैन । यस्तो प्रबृद्धि तत्काल हटाएर क्रियाशिल सदस्यताको मापदण्ड बनाई धमाधम वितरण सुरु गर्नुपर्छ ।

मुलुकमा संघीय सरकारले शासन गर्न सुरु गरिसकेकाले पार्टीले तत्कालका लागि सातै प्रदेशमा प्रदेश कांग्रेसको तदर्थ समिति गठन गर्नुपर्छ । र, ति प्रदेश कमिटिलाई अधिकार प्रत्यायोजन गरी आफ्नो प्रदेशको संगठन विस्तारको जिम्मेवारी दिनुपर्छ । कांग्रेसले संघीयतालाई व्यवहारिक रुपमा प्रयोग गरेर संगठन संरचना पनि सोही अनुसार तत्काल तयार पार्नुपर्छ । प्रदेश कांग्रेससँगै पार्टीका सबै भातृ संस्थालाई पनि प्रदेश ईकाईमा तत्काल लैजानु पर्छ । यसले पार्टीमा २०/३० हजारले नयाँ अवसर पाउनुका साथै संगठन विस्तारमा सकरात्मक सन्देश दिन्छ । पार्टीको जिम्मेवारी दिंदा कस्का व्यक्ति भन्ने होइन, योग्यता र क्षमता भएका व्यक्ति नेतृत्वले पहिचान गरेर अवसर दिनु पर्छ । नयाँ संरचनाहरुमा युवालाई प्राथमिकता दिने सन्देश केन्द्रबाटै दिन पनि सक्नु पर्छ । ५ बर्षपछि हुने चुनावमा नयाँ मतदाता को हो ? त्यता लक्षित कार्यक्रम कांग्रेसले सुरु गर्नुपर्छ ।

५. विधान संशोधन
नेतृत्वले आफ्नो योजना अनुसार पार्टी चलाउन सक्नेगरी विधान संशोधन गर्नुपर्छ । सभापतिलाई एउटा महामन्त्री मनोनित गर्न नदिनेगरी विधानमा व्यवस्था गर्ने हो भने फेरि पनि पार्टी गुटैगुट र दिशाविहिन हुन्छ । तसर्थ जो नेतृत्वमा पुग्छ, उसले आफ्नो ‘भिजन’ र योजना अनुसार पार्टी चलाउने र अन्यले नेतृत्वको योजनालाई सहयोग गर्दै कार्यन्वयन गर्नेगरी बैधानिक व्यवस्था गरिनु पर्छ । तव मात्रै चुनाव हारको दोष वा गुण नेतृत्व मात्रैले लिने अवस्था हुन्छ । तसर्थ आगामी महासमिति बैठकले पार्टीको विधानमा नेतृत्वलाई वलियो हुनेगरी संशोधन गर्न आवश्यक छ ।

अर्को कांग्रेसमा चौतर्फि आलोचना भएको विषय समावेशी कोटा पटक पटक एउटै व्यक्तिले उपयोग गरे भन्ने पनि हो । अव समावेशीतर्फ जुनसकै पनि ‘क्लष्टर’मा एक पटकभन्दा दोहोर्‍याउन नपाउने व्यवस्था विधानमै गर्नुपर्छ । अहिले कांग्रेसमा अभ्यास भएको समावेशिता समावेशि सिद्धान्त विपरित एउटै व्यक्तिले एउटै पद कोटाको नाममा पटक पटक लिदै आएको छ । यसले एकातिर नयाँलाई अवसरमा अवरोध गरेको छ भने अर्कोतिर समावेशिताकै नकरात्मक सन्देश दिएको छ । त्यसैले कांग्रेसले व्यवहारिक र बैज्ञानिक समावेशिता आफ्ना संगठन संरचनाहरुमा लागु गर्न कुनै पनि कोटो एक पटकभन्दा बढि प्रयोग गर्न नपाउने प्रावधान सहित विधान संशोधन गर्न आवस्यक छ ।

अझै पनि एउटै व्यक्ति बाँचुन्जेल समावेशी कोटाको एउटै पद खाईरहने हो भने त्यसले पार्टीलाई थप क्षति पुर्‍याउँछ।  समावेशिताको सर्वमान्य र न्यायोचित परिभाषा के हो भने, आरक्षण एउटा व्यक्तिले एउटा पदमा एक पटक मात्रै लिने हो । पटक पटक लिने हो भने त्यो कार्टेलिङ वा सिण्डीकेट हुन्छ । कांग्रेसमा अहिले त्यही भैरहेको छ, त्यसलाई तत्कालिन विधान संशोधन मार्फत परिवर्तन गरेर पार्टीका सबै संरचनामा भएका आरक्षणको व्यवस्था एक पटक भन्दा बढि उपयोग गर्न नपाउने बनाउनु पर्छ । यसले पार्टीभित्रको कार्टेलिङको अन्त्य गर्दै समन्वयकाे ढोका खोल्छ । र, पार्टीप्रति सबै समुहको आकर्षण बढ्छ ।

६. भातृ संस्था प्रभावकारी
पछिल्लो केही बर्षदेखि कांग्रेसका कुनै पनि भातृ संस्था प्रभावकारी देखिएका छैनन् । पहिला पहिला चुनावमा मूख्य भुमिका भातृ संस्थाहरुले खेलेका हुन्थे । तर पछिल्लो समय भातृ संस्थाहरु एकातिर आन्तरिक कलहमा रुमलिएका छन् भने त्यसलाई समय सान्दर्भिक बनाउन आफुलाई परिमार्जन गर्न पनि सकेका छैनन् । पार्टीका भातृ संस्था कांग्रेसका नर्सरी हुन् । भातृ संस्थाको नेतृत्व कस्तो छ, त्यो हेरेर पार्टीको भावि नेतृत्व संकेत हुन्छ । तर अहिले अधिकांशमा भातृ संस्थाले कांग्रेस बनाउने भिजन दिन सकेका छैनन् ।

नेविसंघले शिक्षा र विद्यार्थीका विषयमा आफ्ना भिजनहरु ति समूहमा लोकप्रिय हुनेगरी अघि सार्न सक्नु पर्छ । तरुण दलले युवाहरुका विषयमा लोकप्रिय हुनेगरी कार्यक्रम दिन सक्नुपर्छ । महिला संघले महिलाका विषयमा तात्कालिक र दिर्घकालिन भिजन दिन सक्नुपर्छ । तर यतातिर नेतृत्वहरु अग्रसर भएको देखिदैन । खाली परम्परागत शैलीमा गतिविधि देखाउने बाहेक अन्य विषयमा ध्यान देखिदैन । तसर्थ भातृ संस्थाहरुमा पनि आमुल परिवर्तन गरेर विषयगत विज्ञता हुनेगरी त्यसका पदाधिकारी, नेता तथा कार्यकर्तामा तिखार ल्याउन जरुरी छ । नेविसंघको अध्यक्ष बोल्दा शिक्षा र विद्यार्थीका विषयमा कांग्रेसको समग्र धारणा आउने गरी प्रशिक्षित गर्न आवस्यक छ । संगठनको संख्या मात्रै होईन, गुणस्तर पनि सुधार गरेर प्रतिस्पर्धामा श्रेयष्कर हुनेगरी भातृ संस्थाहरुलाई प्रभावकारी बनाउनु अपरिहार्य छ ।

७. मिडिया रणनीति
नेपालमा राजनीतिक दलहरुमा योगदान, सघर्ष, त्याग र जनताप्रतिको प्रतिवद्धता हेर्ने हो भने कांग्रेससँग अरु कुनै पनि दलको तुलना हुँदैन । राणा शासन हटाउनदेखि, पंञ्चायती व्यवस्थाको अन्त्य, त्यसपछिका ठूला आन्दोलन सबैको नेतृत्व कांग्रेसले गरेको हो । कांग्रेस राजनीतिक शास्त्रको एउटा विश्वविद्यालय नै हो । मुलुकका अनेक कठिन समयमा पनि पार्टीलाई चलायनमान बनाउने क्षमता यसका विगतका नेताहरुमा थिए । तर अहिले पछिल्लो समय पार्टीले गरेका कामहरु पनि प्रचार गर्न नसक्ने वा नजान्ने अवस्थामा कांग्रेस देखिएको छ । सरकारमा हुँदा होस् वा बाहिर । राम्रा काम ओझेलमा पर्ने र केही झिना मसिना गल्तिहरु तिलको पहाड भएर मिडियामा आउने गरेका छन् ।

जस्तै गत चुनावमा कांग्रेसमाथि प्रहार गरिएको विषय तत्कालिन प्रधानन्यायधीश सुशीला कार्की माथिको महाभियोग हो । यो विषयमा मिडियाले पनि नबुझेको वा बुझेर पनि पुर्वाग्रह भएको केही विषय छन् । पहिलो महाअभियोग दर्ता हुदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए । र उनको दलले महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेको थियो । तत्कालिन माओवादी केन्द्र र कांग्रेसले संयुक्त रुपमा ल्याएको महाअभियोगको दोषी माओवादी नहुने कांग्रेस मात्रै किन भयो ? माओवादीको नेतृत्वमा महाअभियोग आएपछि त्यसबाट उसले कुनै दोष लिन नपर्ने तर कांग्रेस जो सहयोगी दल मात्रै हो, त्यसको सबै दोष लिनु पर्ने ? महाअभियोग सहि थियो कि गलत ? महाअभियोगमा तत्कालिन प्रधानन्यायधीश कार्कीको कार्यक्षमता अभाव र अदालतभित्र गुटवन्दी गरेको आरोप लगाईएको थियो । वास्तवमा यी दुवै विषय पछि अदालतबाटै पुष्टि भैसकेका छन् । प्रहरी महानिरिक्षक नियुक्तिको विषयमा सर्वोच्चकै पूर्ण इजलासको अन्तिम फैसलामा तत्कालिन डिआईजी नवराज सिलवालले पेश गरेको कार्यसम्पादन मुल्यांकन नक्कली भएको प्रष्ट पारेको छ । नक्कली दस्तावेजको आधारमा आदेश गर्ने न्यायधीशको कार्यसम्पादन असक्षमता देखियो कि देखिएन ?

मैले यहाँ उठाउन खोजेको विषय के हो भने कांग्रेसले आफैले गरेका कामको पनि तर्क हुँदा हुँदै पनि त्यसलाई खण्डन गर्न सकेको छैन । अब आफ्ना विषयहरु जनताकोमा पुर्‍याउन सक्ने मिडिया रणनीति कांग्रेसले बनाउन जरुरी छ । कुनै पनि विषयमा तथ्य र प्रमाण के छ ?त्यसलाई अध्ययन गरेर मात्रै अघि बढ्नेगरी आम कार्यकर्तालाई प्रशिक्षीत गर्न आवस्यक छ । आफ्ना धारणाहरुलाई कसरी सहज रुपमा जनता अर्थात आम मतदाता समक्ष पुर्‍याउन सकिन्छ भन्ने विषयमा विकसित नयाँ टेक्नोलोजिमा पनि पार्टी अभ्यस्त हुन जरुरी छ । त्यसैले अब कांग्रेसले केन्द्र, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्र तह सम्म संचार र पव्लिक रिलेशनका विषयमा प्रशिक्षीत गराएर अभियानको रुपमा अघि बढाउन आवस्यक छ । सरकारको वाचडक गर्नका लागि पनि पार्टीको प्रचार संयन्त्र विगतमा जस्तो परम्परावादी होईन, अत्याआधुनिक बनाउन जरुरी छ ।

निष्कर्ष
कांग्रेसले भित्रैबाट मनन् गरेर केही सुधार गर्ने हो भने अझै पनि सबैभन्दा धेरै स्पेस कांग्रेसमै छ । अंकगणितिय रुपमा संसदमा नेकपा ठूलो पार्टी देखिएपनि विश्वास र भरोसाको रुपमा पहिलो पार्टी कांग्रेस नै हो । तर यसलाई अझ प्रभावकारी बनाउन केही सुधार आवस्यक छ । यसमा केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्वले सुधारको दृढ संकल्प गर्न जरुरी छ । लोकतन्त्रमा कांग्रेस बाहेकको अर्को विकल्प छैन ।

जेष्ठ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्