मन पर्ने खेलाडी रोनाल्डो, पक्ष भने ब्राजिलको

मिस नेपाल शृङ्खला खतिवडाका बुवा, सांसद विरोध खतिवडाको फुटबलप्रतिको क्रेज

फाइल फोटो।

काठमाडौँ – विश्वकपको कुम्भ मेला आउन मात्र एक दिन बाँकी छ । रसियामा यसको तयारी अन्तिम चरणमा पुगेका बेला नेपालमा पनि उत्साह छाएको छ खासगरी युवामाझ । विश्वकपले नेपाली खेलाडी मात्रै होइन सांसदलाई पनि तताएको छ।

फुटबल प्रेमी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले यसै साताको संसद बैठकमा नेपालले विश्वकपमा सहभागिता जनाउन नपाए पनि मैदान बाहिरबाटै सहभागिता जनाउन सक्ने उपाय बताएर सांसदहरुको ध्यान आफूतिर अकर्षित गरे ।

संसद परिसरमै फुटवल जस्तै गोलो र चिटिक्क परेको अग्लो पानी टयांकी रहेको र त्यसलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकप २०१८लाई नेपाल स्वागत गर्दछ भन्ने लेखेर प्रचारप्रसार गर्न सकिने सुझाव उनले दिए ।

मिस नेपाल शृङ्खला खतियडाको बुवा सांसद खतिवडाको फुटबलप्रति यतिधेरै प्रेम किन त ? आगामी विश्वकप हेर्ने तयारी उनको कस्तो छ ? यस्तै प्रश्नहरुको जवाफ उनले देशसञ्चारकी वरिष्ठ संवाददात दीपा दाहाललाई दिएका छन् ।

१) तपाईँले केही दिनअघि संसदको समेत ध्यान विश्वकपतर्फ मोड्नु भयो ? आफै बुटवल प्रेमी भएर हो या अरु कुनै कारणले त्यसो गर्नु भयो ?

वास्तवमा म बुटवल प्रेमी हो । बाल्यकालदेखिनै फुटवलप्रति मेरो चासो, माया र सम्मान सबै थियो । र त्यो अहिले पनि घटेको छैन । त्यो बेला फुटवलसँगै अन्य धेरै खेलहरु पनि खेलियो । तर फुटबल सहज भएकाले बुझ्न धेरै सजिलो र रमाइलो लाग्ने । विस्तारै अन्य खेल भन्दा यो नै धेरै मन पर्न थाल्यो ।

मकवानपुर जिल्लाबाट पनि फुटवलको राष्ट्रिय खेलाडीहरु निस्किएका थिए । उनीहरुको पनि खेल हेर्ने गरिन्थ्यो। त्यसैले पनि यसमा मेरो धेरै चासो छ । सन् १९८२ को आसपासबाट मैले विश्वकप हेर्दै आएको छु । त्यो बेला त्यति धेरै खेलाडीको नाम जानिदैन थियो ।

खाली जित या हारलाई लिएर हामी उत्साहित र दुखी हुने गथ्र्यौ । विस्तारै विश्वकपको महत्व पनि बुझियो र त्यसमा आवद्ध हुने खेलाडीहरुको बारेमा पनि जानकारी पाउने मौका मिल्यो । पछि टेलिभिजनको संख्या बढ्दै जाँदा विश्वकप हेर्नलाई पनि सहज भयो ।  र निरन्तर हेर्दै आएको छु ।

कतिपय महादेशको समय नमिल्दा कहिलेकाँही विश्वकप हेर्न छुटेको पनि छ । त्यतिबेला धेरै जिज्ञास हुन्थ्यो के भयो होला भनेर ।

कहिलेकाहीँ त विश्वकप कुरेर बसिन्थ्यो तर १५ वा १० मिनेट बाँकी हुँदा भुसुक्क निदाइन्थ्यो । पछि पछुतो हुन्थ्यो। अहिले भने हेर्नलाई अनकुल समय मिलिरहेको छ ।

२) व्यस्तता धेरै होला, फुटबल हेर्नलाई कसरी समय व्यवस्थापन गर्नु हुन्छ ?

कुनै काम गर्न वा कुनै कार्यक्रममा सहभागि हुन मन भएपछि समय त व्यवस्था गर्न सकिन्छ नै । यसपाली त संसद बैठक वा अन्य क्रियाकलपलाई बाधा नपुग्ने खालको विश्वकपको खेलतालिका सार्वजनिक भएको छ ।

त्यसैले समय मिल्दैन की भन्ने चिन्ता छैन । धेरैजसो खेल पौने नौ बजेबाट सुरु हुँदै छन्। साँझको खेल अरु सबै काम सकेर पनि हेर्न पाइयो । संसदको काम सक्यो अनि बाँकी समय फुटबललाई दियो । रमाइलो नै छ ।

३) तपाईँलाई मन पर्ने खेलाडी र टिम कुन कुन हुन?

यो आआफ्नो रोजाईमा पर्ने र मतका कुरा हुन । मलाई पोर्चुगलका रोनाल्डो सबैभन्दा मन पर्ने खेलाडी हुन् । उनको मलाई खेल मात्र उनको हाउभाउ पनि धेरै नै मन पर्छ ।

तर अहिलेको विश्वकपमा पोर्चुगल सहभागि भएपनि उसले जित हात पार्छ भन्नेमा त्यति धेरै ढुक्क भने छैन । त्यसैले खेलाडीमा रोनाल्डो मन पर्ने भएपनि ब्राजिको टिमको पक्षमा यसपाली उभिएको छु। र त्यसमा मेरो पुरै ध्यान मोडिएको छ । ब्राजिलप्रति जितको अपेक्षा पनि बढेको छ।

४) ब्राजिल टिमको पक्षमा धेरै नेपाली उभिएको पाइन्छ । तपाईँ पनि त्यही लहरमा हो की अरु कुनै कारण छ ?

मलाई लाग्छ पछिल्लो समय अन्य मुलुकका टिम मन पराउनेको संख्या नेपालमा बढ्दै गएको छ । जर्मनी, इंग्ल्याण्ड, स्पेन, नेरल्याण्डलाई मन पराउने पनि धेरै छन् ।

त्यो आआफ्नो बुझाईमा पनि भर पर्छ जस्तो मलाई लाग्छ । मेरो भने रोजाई भने त्यति फेरिएको छैन । खेलाडी रोनाल्डो नै हो मन पर्ने तर समग्र टिम हेर्ने हो भने ब्राजिल मन पर्छ।

५) विश्वकप हेर्ने तयारी तपाईँको कस्तो हुँदैछ?

तयारी पक्कै गरिन्छ तर सुरुवाति चरणका ८ वटा लिग चरणका खेलहरुमा त्यति धेरै रमाइलो लाग्दैन या भनौ त्यति उत्साहित बनिदैन । त्यसमा कुनै खेल छुटिहाल्यो भने पनि त्यति धेरै पछुतो पनि लाग्दैन ।

तर जब १६ तारिकबाट नक आउट सुरु हुन्छ तव भने ती खेलले मलाई तताउँछन् । अनि मैले त संभवत कुनै खेल हेर्न छुटाउने छैन । अघिल्लो पटक मैले हिमालय होटलमा गएर हेरेको थिए।

त्यस्तै केही खेल दरबारमार्गको शेर्पा महलमा गएर हेरेको थिएँ। त्यतिनै विभिन्न होटल र रेस्टुरेन्टले विश्वकपलाई लिएर अफर पनि गरेका हुन्छन् । कसैले खाजा , कसैले डिनर त्यस्तै त्यस्तै । अफर हेरे कतै होटलमा वा रेस्टुरेन्टमा गएर विश्वकप हेर्ने तयारी छ ।

६) विश्वकप हेर्नका लागि कत्तिको साथीभाई जम्मा गर्नु हुन्छ ?

साथीभाई बिना खेल हेर्दा रमाइलो हुने कुरै भएन। कम्तीमा पनि चार पाँच जना साथीभाई जम्मा भएपनि खेल हेर्दा आनन्द आउँछ । जति धेरै साथीभाईसँग मत मिल्छ त्यतिनै रमाइलो हुन्छ यस्तो खेल हेर्दाखेरी ।

सकेसम्म दुई चार जनाले ताली बजाउने, कराउने साथी पनि चाहिन्छ । झगडा भने नपरोस । तर जसले हार्छ उसैले त्यो रेस्टुरेन्टमा खाएको बिल तिर्ने पनि गरेका छौं ।

७) जर्सी किन्नु भयो?

जर्सी नै किन्ने वा लगाउने चलन भने छैन मेरो । बरु छोरी (मिस नेपाल २०१८ श्रृंखला खतिवडा ) लगायत घरको अरु परिवारले भने लगाउँछन् रमाइलोका लागि ।

मलाई पनि लगाउनुहोस भन्छन तर मन लाग्दैन । वास्तवमा भन्ने हो भने म मनको फ्यान हो । खेल हेर्न पाउँदा नै मन आनन्दीत हुन्छ ।

८) विश्वकपका लागि अन्तर्राष्ट्रिय मुलुकमा क्षमतावान खेलाडी र टिम उदाएका छन् । त्यो हेर्दा हामी कहाँ छौं जस्तो लाग्छ ?

हामी त ग्राउन्ड लेवलमै छौं । त्यसमा कुनै शंका छैन । फुटवलको कुरा गर्दा सगरमाथाको आधार शिविरमा समेत पुग्न सकेका छैनौ । विश्वकपमा कहिले पुगिन्छ त्यो पनि थाहा छैन ।

राम्रो लिग चरणका खेल खेलाउने वा नियमित अभ्यास गराउने वा ठूल्ठूला प्रतिस्पर्धामा उतार्न पनि हामीले सकेका छैनौं नेपाली खेलाडीलाई । लिग चरणको खेल खेलाएर त्यहाँबाट राम्रा खेलाडी उत्पादन गर्ने काम नियमित भएको त्यो सबैभन्दा राम्रो हुन्थ्यो ।

अब नियमित १० वर्ष मेहेनेत गर्ने हो भने विश्वकपमा होइन एसियन खेलमा सहभागि हुने मौका सम्म मिल्थ्यो की भन्ने सपना बटुल्न सकिन्छ । त्यो पनि धेरै प्रयास भयो भने मात्रै संभव छ ।

९) नेपाल विश्वकपमा पुगेको सपना कहिले देख्ने ?

सपना त जहिले देखे पनि भयो तर त्यो पुरा गर्नलाई अथाह मेहेनेत गर्नु पर्छ । त्यसको सुरुवात भयो भने ५० हैन अवको ३० वर्षमा विश्वकपमा नेपाल सहभागि हुनसक्छ ।

तर त्यसका लागि बलियो प्रतिवद्धता र काम हुनु जरुरी छ । नेपाली फुटबल क्षेत्रको विकासका लागि बाल्यकालदेखिनै ठूलो संख्यामा फुटवल खेलाडीको उत्पादन गर्नु पर्ने आवश्यक छ ।

१०) तपाईँकै पार्टीको सरकार छ अव त केही होला नि ?

पक्कै पनि । अहिले सरकारले फुटवल लगायत सम्पूर्ण खेलको विकासका चासो दिन्छ भन्ने लागेको छ । त्यो हुनु पनि पर्छ । किनकी जनताले ठूलो आशा गरेका छन् ।

यतिबेला यो सरकारलाई काम गर्ने अवसर पनि प्राप्त भएको छ । सरकारको खेलकुद विकासको योजना कार्यान्वयमा जनताले पनि सहयोग गर्न जरुरी छ र झकझाउन पनि आवश्यक छ ।

जेठ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्