अमेरिकाले रोक्यो सैन्य अभ्यास, किमले स्वीकार गरे अमेरिकाको निम्तो

विश्व राजनीति र कूटनीतिक सम्बन्धमा मंगलबार निकै ठूलो घटना बन्यो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको ऐतिहासिक वार्ता ।
लामो तयारी र आशंकाका बिच मंगलबार सिंगापुरको सेन्तोसा आइल्याण्डमा दुई देशका नेताबिच इतिहासमै पहिलो पटक भेटवार्ता भयो ।
दुई नेताले चार बुँदे सम्झौतामा पनि हस्ताक्षर गरे । यसअघि एक अर्काका कटु आलोचक र घोर विरोधीका रुपमा रहेका ट्रिम्प–किम वा अमेरिका–उत्तर कोरियाले नयाँ सम्बन्धको सुरुवात गरे ।
अनि भने, ‘हामी विगतलाई पछाडि छोडेर अघि बढ्न तयार भएका छौँ ।’
यसले तनावमा रहँदै आएको कोरियाली प्रायद्विपसहित विश्व शान्तीमा सकारात्मक असर गर्ने पक्का छ । मंगलबार सिंगापुरमा भएको वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँग हुँदै आउको संयुक्त सैन्य अभ्यास रद्द गर्ने घोषणा गरे ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास आफ्नो सुरक्षाका लागि खतराको रुपमा रहेको भन्दै विरोध गर्ने गरेको थियो ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सैन्य अभ्यास रद्द भए पनि आफ्नो सबै सहयोगी र उत्तर कोरियाको पनि सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएको छ । सैन्य अभ्यास रद्द हुनु उत्तर कोरियाका लागि ठूलो राहतको रुपमा हेरिएको छ ।
किम अमेरिका जाने ?
यसैबिच उत्तर कोरियाको सरकारी समाचार संस्थाले नेता किमले ट्रम्पले दिएको अमेरिका भ्रमणको निम्तो स्वीकार गरेको उल्लेख गरेको छ ।
केसिएनए समाचार संस्थाका अनुसार किमले ट्रम्पलाई उत्तर कोरिया भ्रमणका लागि बोलाएका तथा ट्रम्पले किलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । दुवै नेताले एक अर्काको निम्तो स्वीकार गरेको केसिएनएले उल्लेख गरेको छ ।
वार्तापछिको आफ्नो पहिलो प्रतिक्रियामा उत्तर कोरियाका नेता किमले एक अर्काप्रतिको चिडचिड्याहट तथा सैन्य गतिविधि तत्काल बन्द गर्नु पर्ने बताएका छन् । दुवै देश एक अर्काको विरोध गर्न भन्दा साथ र सहयोगका लागि प्रतिबद्ध हुने पर्ने नेता किमले बताएको केसिएनएले उल्लेख गरेको छ ।
ट्रम्प र किमबिच मंगलबार भएको वार्तामा चार बुँदे सहमति भयो र अब चाँडै नै उत्तर कोरियाको परमाणु निशस्त्रिकरण सुरु हुने बताइएको छ ।