विश्वकपका लागि तयार हुन मोहम्मद सालहको यस्तो ‘इनटेन्स’ वर्कआउट

इजिप्ट २८ वर्षपछि फेरि विश्वकप फुटबल खेल्दैछ । स्टार खेलाडी मोहम्मद सालहको उत्कृष्ट प्रदर्शनको सहयोगमा इजिप्टले विश्वकप यात्रा तय गरेको हो । तर उनै सालह च्याम्पियन्स लिग फुटबलको फाइनल अन्तर्गत रियल मड्रिडसँगको खेलमा चोटग्रस्त भए ।

उनको काँधमा समस्या देखियो । लिभरपुलका सालह चोटका कारण मैदान बाहिर रहे । तर उनी विश्वकपका लागि तयार हुन अहिले निकै कडा मेहनतमा छन् । सालह इजिप्टको टिमसँगै रुस पुगिसेकेका छन् ।

तर उनको काँधको समस्या समाधान भइसकेको छैन । उनी आउँदो शुक्रबार हुने उरुग्वेसँगको पहिलो खेलका लागि तयार हुने प्रयासमा छन् । समूह ए मा रहेको इजिप्टले त्यसपछि रुस र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ ।


सालह अहिले रुसमा फिजिकल थेरापिस्टसँग एक्लै प्रशिक्षणमा छन् । २५ वर्षका सालहले फिट बल तथा रुबर ब्याण्डमा अभ्यास गरिरहेका छन् भने अरु प्रशिक्षण पनि सँगै गरिरहेका छन् ।

सालहले गएको सिजन लिभरपुलबाट प्रिमियर लिगमा ३६ खेलमा ३२ गोल गरे । उनलाई फिफा वर्ष खेलाडीका लागि क्रिष्टियोनो रोनाल्डो, लियोनल मेस्सी तथा नेइमारका प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

जेठ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्