विश्वकप २०१८

एउटै व्यक्तिले विश्वकप जिताउन सक्छ ?

म्यानचेस्टर युनाइटेडका पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होले बारम्बार भन्ने गरेका छन्, ‘ पोर्चुगल र अर्जेन्टिनाले विश्वकप जित्छन् भने त्यसको कारण क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी नै हुनेछन् ।

यदी यी दुई खेलाडी नहुने हो भने विश्वकप उपाधि दाबेदारका रुपमा दुवै टोलीलाई मान्न सकिन्न ।’

मेस्सी र रोनाल्डोलाई यी प्रशिक्षकले किन जोड दिए भने पछिल्ला १० वर्षमा विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड यी दुईबाहेक अरुले पाएका छैनन् ।

दुवैले पाँच पाँच पटक फिफा वर्ष खेलाडी अवार्ड जितेका छन् । तर पनि, यी दुवै खेलाडीले राष्ट्रिय टोलीबाट विश्वकपको त्यो चम्किलो ट्रफी उचाल्न पाएका छैनन् ।

दुवै खेलाडीलाई विश्वकप जित्ने यो अन्तिम अवसर हुन सक्छ, उमेरका कारण । त्यसैले समकालिन फुटबलका यी दुई महान खेलाडीमाथि रुस विश्वकपमा दबाब र अवसर छ ।

विश्वको नजर पनि उनीहरुमाथि नै छ । तर प्रश्न उठिरहेको छ ‘के रोनाल्डो वा मेस्सीले विश्वकप जित्न सक्छन् ? एउटै खेलाडीको भरमा यो सफलता सम्भव छ ?’

मेस्सीको बलमा अर्जेन्टिना


तस्बिर : गेट्टी इमेज

अर्जेन्टिना पछिल्ला तीन ठूला प्रतियोगितामा लगातार फाइनल पुग्दा मेस्सीकै भूमिका महत्वपूर्ण थियो । २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिली विरुद्ध मेस्सीले टाइब्रेकरको पहिलो प्रहार नै ‘मिस’ गरे ।

अन्ततः अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय उपाधि जित्ने मेस्सीको सपना अधुरै बन्यो । घर भित्रै र बाहिरबाट पनि राष्ट्रिय टिमका लागि केही गर्न नसकेको आरोप खेपिरहेका मेस्सीका लागि त्यो हार सहन नसक्ने बन्यो ।

उनले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे । सन्यास घोषणा गर्दैगर्दा उनले भनेका थिए ‘मेरो भागमा अर्जेन्टिनाका लागि उपाधि जित्न लेखेको रहेनछ ।’

तर अर्जेन्टिना विश्वकप छनौटका लागि प्रतिस्पर्धामा थियो र समस्यामा पनि । मेस्सीले सन्यास फिर्ता लिए र मैदान फर्किए । विश्वकपमा छनौट हुन अर्जेन्टिनाले अन्तिम खेलमा इक्वेडरलाई हराउनै पर्ने थियो ।

खेल सुरु भएको एक मिनेट पनि बित्न नपाउँदा खेलमा पछि परेको अर्जेन्टिनाका लागि मेसीले ह्याट्रिक गरे । अर्जेन्टिनी समर्थकमा खुशीको बहार आयो । मेसीले सन्यास फिर्ता नलिएको भए अर्जेन्टिना विश्वकपमा छानिन्थ्यो ? पक्कै पनि गाह्रो हुने थियो ।

पोर्चुगललाई रोनाल्डोको भर


तस्बिर : गेट्टी इमेज

दुई वर्षअघि पोर्चुगल युरोकपको फाइनलमा पुग्दा रोनाल्डोको प्रदर्शन निर्णायक थियो । तर रोनाल्डो फाइनल खेल्नेक्रममा सुरुवातमै घाइते भए । पटक पटक मैदान फर्कने प्रयास गरे पनि सफल भएनन् ।

अन्तिम पटक मैदान छाड्दा उनको आँखाबाट आँसुको भल नै बगेको थियो । उनी नमिठो मान्दै बाहिरिए । तर उनले आश मारेनन् । उनलाई थाहा थियो–राष्ट्रिय टोलीका लागि उपाधि जित्ने यो भन्दा गतिलो अवसर अरु आउन सक्दैन ।

खुट्टा खोच्याउँदै टेक्निकल लाइनमा आएर उनले खेलभर साथीहरुको हौसला बढाए । खेलमा फ्रान्सको दबाब देखिए पनि नतिजा पोर्चुगलको पक्षमा देखियो । रोनाल्डो पोर्चुगलका लागि पहिलो पटक च्याम्पियन बन्न सफल भए ।

खेलमा पोर्चुगलका डिफेन्डर पेपेले भनेका थिए ‘हामीले यो उपाधि रोनाल्डोका लागि जितेका हौँ ।’ के रोनाल्डो थिएनन् भने पोर्चुगलले युरोकप जित्ने थियो ? बहस हुन सक्ने विषय भए पनि रोनाल्डो बिनाको पोर्चुगलले उपाधि जित्न नसक्ने अनुमान गर्ने समूह ठूलो छ ।

सन् २०१६ मै हो, वेल्स युरोकपको सेमिफाइनल पुगेको । युरोकपमा वेल्सको त्यो पहिलो सहभागिता थियो । वेल्सको यो सफलतामा स्टार स्ट्राइकर गारेथ बेल मुख्य प्रेरणा थिए ।

बेलले केही वर्षअघिदेखि विश्व फुटबलमा तहल्का पिटिरहेका छन् । बेल टोलीमा नभएको भए वेल्सले यो सफलता हात पार्न सक्थ्यो ? सायद निकै गाह्रो पथ्र्यो ।

कुरा सालहको


गएको मे २६ मा युक्रेनको किएभमा भएको युरोपियन च्याम्पियन्स लिगको फाइनलअघि लिभरपुलका मोहमद सालह निकै चर्चित भए ।

ङ्लिस प्रिमियर लिगको गएको सिजन सर्वाधिक गोलकर्ता बनेका सालहकै प्रेरणामा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

उनकै प्रेरणामा इजिप्ट २८ वर्षपछि विश्वकपमा छनौट भएको छ । तर फाइनलको सुरुवातमै सालह घाइते हुन पुगे । उनी मैदानबाट सीधै अस्पताल जान बाध्य भए ।

केही अघिसम्म रोनाल्डोको रियल म्याड्रिडविरुद्ध हाबी भएको लिभरपुल सालह घाइते भएपछि एकाएक दबाबमा देखियो । खेल रियलले ३–१ गोलले जित्यो । यद्धपी रोनाल्डोले सालहले फिफा वर्ष खेलाडी अवार्डमा दाबी गर्न सक्ने बताएका छन् ।

सन् २००२ को विश्वकपमा फ्रान्सका जिनेदिन जिदान घाइते थिए । त्यसअघि दुई पटक फिफा वर्ष खेलाडी घोषित जिदानमाथि विश्व फुटबलको नजर थियो ।

तर जिदानले अघिल्ला दुई खेल खेल्न सकेनन्, त्यतिबेला साबिक विजेता रहेको फ्रान्स समूह चरणबाटै बिदा भयो । सन् २००६ को विश्वकपमा पनि फ्रान्सलाई त्यस्तै भयो । फाइनलमा इटालीविरुद्ध अतिरिक्त समयमा जिदानले रातो कार्ड पाए ।

टाइब्रेकरमा इटालीले बाजी मार्‍यो । सन् २०१४ को विश्वकपमा उरुग्वेलाई बलियो टोली मानिएको थियो । तर समूह चरणको अन्तिम खेलमा उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले इटालीका जर्जियो चिलिनीलाई टोकेपछि लामो समय प्रतिबन्ध ब्यहोर्नु पर्‍यो ।

प्रिक्वाटरफाइनल पुगेको उरुग्वे भने कोलम्बियासँग २–० गोलले पराजित भयो । त्यसअघि समूह चरणमा स्वारेजको प्रदर्शन उरुग्वेका लागि निर्णायक थियो । के स्वारेज थिए भने उरुग्वेलाई चिलीले हराउन सक्थ्यो ? पक्कै सजिलो हुने थिएन ।


तस्बिर : एएफपी

सोही विश्वकपको सेमिफाइनलमा जर्मनीले घरेलु टोली ब्राजिललाई ७–१ गोलले हरायो । ब्राजिलको फुटबल इतिहासमा राष्ट्रिय टोलीले ब्यहोरेको यो करिब एक सय वर्षयताकै सबैभन्दा फराकिलो हार थियो ।

चोटका कारण स्टार स्ट्राइकर नेइमार यस खेलमा थिएनन् साथमा नियमित कप्तान थिएगो सिल्भा पनि । क्वाटरफाइनलमा कोलम्बियाविरुद्ध खेल्दा ढाडको हड्डी भाच्चिएपछि नेइमारले प्रतियोगिता नै गुमाउनु परेको थियो ।

त्यतिबेला धेरैको अनुमान थियो ‘नेईमारले ब्राजिललाई विश्वकप जिताउन सक्नेछन् ।’

सन् २०१७ मा स्पेनले मैत्रिपूर्ण खेलमा अर्जेन्टिनालाई ५–१ गोलले हराएको थियो । यस खेलमा मेस्सीले खेलेका थिएनन् ।

विश्व फुटबलमा पटक पटक बहस हुने गरेको छ ‘खासमा एउटै खेलाडीमा त्यस्तो के हुन्छ जसले नतिजालाई प्रभाव पार्छ, जसले अन्य खेलाडीको प्रदर्शन प्रभावित बनाउँछ, एउटै खेलाडी टोलीको खम्बाजस्तो भएर उभिएका हुन्छन् ।’

नेइमार, रोनाल्डो, मेसी, सालह पछिल्लो समय यस्तै खेलाडी बनेका छन्, जसको अनुपस्थितिमात्र टोलीका लागि महँगो बन्ने गरेको छ भने उपस्थिति ठूलो शक्ति । त्यसो त विगतमा ब्राजिलका पेले र अर्जेन्टिनाका म्याराडोनालाई पनि ‘वान म्यान आर्मी’ मानिन्थ्यो ।

जेष्ठ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू