अवैधरुपमा गिटीबालुटा उत्खनन् गर्ने ९ सवारी नियन्त्रणमा

खदम खोलाको बीचमा गिटीबालुवा भर्दै गरेको जेभीसी लोडर, २ वटा हाइवा र ५ वटा टिपर। तस्बिर- अभयकुमार राई/देश सञ्‍चार

मोरङ- मोरङगको केराबारी गाउपालिकास्थित इलाका प्रहरी कार्यालयले खोलाबाट अवैधरुपमा गिटीबालुटा उत्खनन् गर्दै गरेको अवस्थामा ९ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

कार्यालयका प्रहरी नायब निरिक्षक दीपक यादवका अनुसार अपरान्ह केराबारीकै खदम खोलाको बीचमा गिटीबालुवा भर्दै गरेको अवस्थामा दुइ वटा जेभीसी लोडर, २ वटा हाइवा र ५ वटा टिपरलाई नियन्त्रणमा लिइएको हो।

मंगलवार स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरीको सुरक्षाटोली घटनास्थलमा पुगेको थियो।खोलामा ठेक्का रोक्का भएको अवस्थामा बीच भागबाट अन्धाधुुन्ध वालुवा झिकिरहेको भेटिएपछि स्थानीयको सहयोगमा चारै तिरबाट घेरा हाली साधन नियन्त्रणमा यादवले बताए।

नियन्त्रणमा लिइएका साधानहरुको संचालकको खोजी भइरहेको र घटनास्थलबाट चालकहरु समेत भाग्न सफल भएको प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उक्त खोलामा बालुवा गिटी उत्खनन् कार्य बन्द रहेको छ।

यद्धपि विभिन्न क्रसर ब्यवसायीले बन्दको अवज्ञा गर्दै अवैध रुपमा निर्माण सामाग्री उत्खनन् गर्दै आएका हुन्। अवैध रुपमा खोला उत्खनन् गरिरहेका साधनले १५ मिटरसम्म गहिरो बनाइ स्थानीय क्रसरमा लग्ने गरेको स्थनीयले जानकारी दिएका छन्।

पछिल्लोसमय मोरङको खदम, चिसाङ, लोहन्द्रा, गछियालगायतका खोलामा अन्धाधुन्ध रुपमा गिटी वालुवा झिक्ने काम हुदै आएको छ। नदी खोलामा हुने अवैध उत्खनन्ले भु-क्षयीकरण बढेको भन्दै प्रदेश एकको संसदमा समेत यस्ता प्रवृत्तिमा नियन्त्रण गरिनुपर्ने कुरा उठिरहेको छ।

प्रदेश एकको सरकारले प्रदेश भित्र संचालनमा रहेको करिब ५ सय क्रसर उद्योगमध्ये ६० वटा मात्र कानुनबमोजिम मापदण्डमा रहेर संचालनमा आएको जानकारी दिएको छ भने बाकीलाइ तुरन्त रोक्ने प्रतिवद्धता व्यक्त गरेको छ।

जेठ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्