मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २७)

त्यो एेतिहासिक कन्फ्रेन्सले नेपाललाई चिनायो

म बनारस प्रसंगमा छु। पहिलो यात्रा मेरो। अन्दाज चाहिँ गरे म को हो भन्ने, मेरो लुगा लगाउने तरिका पनि अलि बेग्लै भो। म त्यो बेलामा ब्लेजर र टाइ लगाउने गर्थेँ। सेप्टेम्बरको महिनामा ब्लेजर र टाइ लगाउने बनारसमा कमै हुन्छन्। बिहान मेरो फस्ट गेस्ट लेक्चर सुरु भयो। मैले आधा घण्टा/पैँतालीस मिनेट जति बोलेँ। राम्रो भयो। त्यसपछि टीब्रेक थियो। लेक्चर सिद्धाउने बित्तिकै त्यो टीब्रेकमा एक जना, म त चिन्थे उहाँलाई, असाध्यै भद्र डाक्टरले आएर हात मिलाउनुभयो, ‘डाक्टर देवकोटा, दिस वाज एक्सिलेन्ट प्रिजेन्टेसन। म हिजो साँझै हिँड्नुपर्ने मान्छे, तपाईँको लेक्चर सुन्नलाई बसेको आज। तपाईँले कस्तो काम गर्दै हुनुहुन्छ त्यो नेपालबाट, बिरामीहरु आउँदाखेरि मैले बीचबीचमा थाहा पाएको छु। तपाईले राम्रो काम गर्दै हुनुहुन्छ। मलाई थाहा थियो। तर तपाईँको लेक्चर पनि सुन्न बसेको म। अब अहिले ट्रेन स्टेसन जादैँ छु, फर्कँदैछु दिल्ली’ भन्नुभयो। उहाँ हुनुहुन्थ्यो, अल इन्डिया इन्स्टिच्यूटको न्यूरो सर्जरीको डाइरेक्टर प्रोफेसर पी एन टण्डन, प्रकाशनारायण टण्डन।

त्यसपछि मलाई लाग्यो, त्यति ठूलो अनर त कसैले पनि पाउँदैनन्। पीएन टण्डनले मेरो लेक्चर सुन्न अघिल्लो दिनको यात्रा रद्द गर्नु चानचुने कुरा हैन। साँझ फर्कने मान्छे भोलिपल्ट जानुभयो। उहाँको लेक्चर त अघिल्लो दिन नै सक्किसकेको थियो। मेरै लागि बसेर, सुनेर अनि मलाई धन्यवाद दिएर जानुभयो। इन्डियामा कोही यस्ता भद्र भलादमी पनि छन्, जसले इन्डियामा मात्र होइन, क्षेत्रकै विषयमा चासो राख्छन्। पीएन टण्डनसँग मेरो पछिसम्म सम्बन्ध रह्यो। अहिले पनि राम्रो छ। उहाँले मलाई माया गर्नुहुन्छ, स्नेह गर्नुहुन्छ। मैले पनि उहाँलाई त्यही लेबलको सम्मान गर्छु, मेरो गुरुहरु सरह मान्छु। म अल इन्डियामा पढ्न जान पाइन, तर मैले उहाँलाई ‘म तपाईले प्रत्यक्ष नपढाको चेलो हो, तपाईँको सबै व्यवहारबाट म प्रेरित छु’ भन्थेँ। पछि पनि यो विषयमा कुरा आउनेछ। पीएन टण्डनले यस्तो भनेपछि म अत्यन्तै भावुक भए। यो लेबलका मानिसहरु एशियामा छन् है। मैले अरुले भन्दा राम्रो काम गरेको छु, अरुले त केही पनि गरेको छैन भनेर आफ्नै प्रशंसा गरेर हिँड्ने मानिस धेरै छन्। तर त्यहाँ हाम्रा गार्जियनहरु धेरै असल छन् भन्ने पनि मलाई लाग्यो।

बनारसको मिटिङपछि इन्डियामा मेरो प्रोजेक्सन धेरै माथि गयो। गेस्ट लेक्चर पनि राम्रो भयो। फेरि म बेलायतमा पढेको भएर लेक्चर दिने स्टाइल मलाई कसैले सिकाउनु पर्दैनथ्यो र मेटेरियल पनि राम्रो थियो। मेरो दुईओटा पेपर थियो त्यो बेलामा। मैले दुईओटा गेस्ट लेक्चर दिएँ। हेड इन्जुरीको बारेमा मेरो विद्यार्थीले प्रस्तुति गरेपछि मेरो तीनओटा पेपर भयो।

त्यसपछि हामीलाई निम्ता आउन थाल्यो। म अर्को वर्ष कन्फ्रेन्स गर्दैछु, तपाईँ आइदिनुपर्‍यो, गेस्ट लेक्चर दिनुपर्‍यो भनेर ४, ५ ओटा निम्तो पनि उत्तिखेर नै दिए। यसरी १९९७ मा मैले इन्डियन मार्केट प्रवेश गरेँ। बिग वे, बनारसबाट त्यो सुरु भयो।

त्यसपछि इन्डियाका धेरै साथीहरुले मलाई चिन्नुभयो, प्रत्यक्ष भेटघाट हुन थाल्यो। यसरी एकेडेमिक रिसर्च अघि बढ्न थाल्यो र त्यसले गति लिँदै गएपछि १९९८ मा अर्को वर्ष हामीले कराँचीमा कन्फ्रेन्स गर्‍यौँ। मलाई पनि बोलाइयो, पाकिस्तानको साथीले गर्नुभएको। इन्डियाबाट पनि प्रमुख-प्रमुख मान्छेहरु बोलाइएका थिए।

त्यो कराँचीको कन्फ्रेन्स सकिएपछि हामीले अब साउथ एसियन सोसाइटी बनाउने भयौँ। पोलिटिकल सार्क जस्तै न्यूरो सार्क सोसाइटी बनाउनुपर्छ भनेर प्रस्ताव पास गर्‍यौँ। इन्डिया-पाकिस्तानबीच सधैँ टेन्सन। त्यहाँ बंगलादेशका साथीहरु पनि हुनुहुन्थ्यो। नेपाल न्यूट्रल ग्राउण्ड भएको भएर नेपालबाट सुरु गर्ने भन्नुभयो उहाँहरुले। त्यसको अर्गनाइज गर्ने जिम्मा मैले लिएँ। सन् १९९७ को डिसेम्बरमा मैले त्यो कन्फ्रेन्स गर्ने जिम्मा लिएँ र १९९९ को मार्चमा त्यसको आयोजना गर्ने निर्णय भयो। मसँग एक वर्ष दुई तीन महिना भन्दा धेरै समय थिएन अर्गनाइज गर्न।

मैले त्यसलाई ठूलो मौकाको रुपमा लिएँ। त्यो बेलामा डिपार्टमेन्टमा मसँग काम गर्ने ८, १० जना धेरै राम्रा जुनियरहरु थिए। सरकारी सेवामा प्रवेश नगरेका, एफआरसीएस गर्न ट्रेनीको रिक्वायरमेन्ट पुर्‍याउन मसँग काम गर्न आएका केटाहरु थिए। उहाँहरुलाई मैले रिटेन गर्न पाइन, सकिन। अन्तअन्ततिर नै जानुभयो। ती सबै जुनजुन क्षेत्रमा छन्, अहिले धेरै नै ख्याति कमाएका डाक्टरहरु छन् नेपालमा। नाम लिनुपर्दा अहिले अर्थोपेडिक सर्जरीमा नाम कमाएको बिनोद बिजुक्छे, त्यो बेलामा मसँग काम गर्नुहुन्थ्यो। अर्को सर्जरीको धनबिक्रम कार्की, जो बिएण्डबीमा धेरै लामो समयसम्म काम गरेर अहिले आफ्नै काम सुरु गर्नुभएको छ। धन पनि मसँग काम गर्नुहुन्थ्यो। अहिले किड्नी ट्रान्सप्लान्ट सेन्टरमा काम गर्ने पुकारचन्द्र श्रेष्ठ पनि मसँग काम गरेको मान्छे हो। यसरी अहिले धेरै ठाउँको लिडरसिपमा भएका डाक्टरहरु मेरो टिममा हुनुहुन्थ्यो। राम्रो टिम थियो। उनीहरु सबैलाई मोबिलाइज गरेर म कन्फ्रेन्स राम्रोसँग गर्न सक्छु भन्ने मलाई थाहा थियो।

त्यो कन्फ्रेन्सलाई नेपालको प्रतिष्ठाको विषय पनि बनायौँ हामीले। राम्रो कन्फ्रेन्स गरेर देखाएपछि अरुलाई पनि चिनिन्छ। सन् १९९७ पछिको वर्षका लागि मेरो एजेन्डा सार्कको कन्फ्रेन्स कसरी सिद्याउने भन्नेमै केन्द्रित भयो। यतातिर अरु रिसर्च पेपर भइरहको थियो। त्यो बेलामा दुई ओटा पेपर ब्रिटिश जर्नल न्यूरो सर्जरीमा निकाल्यौँ हामीले। डिभलपिङ्ग कन्ट्रीको लागि त्यसले ठूलो अर्थ राख्थ्यो। किनकि हाम्रो मटरियल स्यान्डर्डको हुँदैन। दोस्रो कुरा ब्रिटिस जर्नल, अमेरिकन जर्नलमा सामान्यतया: छापिने लेख लेख्न हामी सक्दैनौँ। त्यसैले हामी स्थानीय जर्नलमा निकाल्ने, नेशनल जर्नलमा निकाल्ने, मख्ख पर्ने बस्ने गर्छौ, त्यही नै हाम्रो नियति हुन्छ। हामी अन्तर्राष्ट्रिय मार्केटमा आफ्नो पब्लिकेसन लिएर जान सक्दैनौँ। दुईओटा पेपर निकालेपछि मेरो उत्साह पनि बढ्यो। त्यसपछि अर्को एउटा बल्ल निस्कियो। यो वर्ष पनि निस्कँदैछ हाम्रो, छानिइसकेको छ। अन्तर्राष्ट्रिय जर्नलमा पेपर निकाल्नु ठूलो कुरा हो। त्यो लेबलको रिसर्च र लेख्ने स्किल चाहियो। त्यसलाई विकसित गर्नुपर्‍यो। मेरो सम्पूर्ण ध्यान कन्फ्रेन्समा थियो। सबैतिरको देखिने नदेखिने तयारी गर्न थालेँ। मैले पहिला के निर्णय गरेँ भने यो कन्फ्रेन्स अरुभन्दा नयाँ हुनपर्छ। सबैलाई समेट्नुपर्छ र आफ्नो किसिमको हुनुपर्छ। त्यसको लागि मैले पहिला तयारी गरेँ, कस्ताकस्ता खालका वक्ताहरुलाई बोलाउने, धेरै माथिल्लो लेबलको वक्तालाई बोलाएन भने अट्राक्सन हुँदैन। मान्छे आउँदैन भनेर मैले करेस्पोन्डेन्स सुरु गरेँ, एक डेढ वर्ष अगाडिदेखि। बेलायत गएँ। व्यक्तिगत रुपमा सबैलाई भेट्दै, पोटेन्सियल आउन सक्ने व्यक्तिलाई भेट्दै निम्ता गर्दै हिँडेँ। ‘म यसरी कन्फ्रेन्स गर्दैछु, तपाईँ आएर यो विषयमा पेपर पढ्नु पर्‍यो’ भनेँ विषय नै तोकेरै।

दुर्भाग्यवश त्यो बेलामा प्रोफेसर टिजडेल, जो हेड इन्जुरीको सबैभन्दा ठूलो अथोरिटी हो, उहाँलाई मैले ल्याउन सकिन। उहाँ त्यही बेलामा हेड इन्जुरीको इनागोरेसन प्रिन्सेस रोयलले गर्ने भएको भएर बेलायतमा नै बस्नुपर्ने भयो। त्यही क्षेत्रमा काम गरेको बेलायती डाक्टर, साउथ ह्याम्पटनको प्रोफेसरलाई उहाँले सजेस्ट गर्नुभयो। ‘म आउन नपाउने भए, यो हेड इन्जुरीमा धेरै वर्ष काम गरेको फलानो छ, उसलाई बोलाउनु’ भनेर। हामीले उहाँलाई बोलायौँ। यसरी १२, १३ जना बेलायती डाक्टरलाई बोलायौँ। उनीहरु आउँने बित्तिकै कन्फ्रेन्सको स्तर बढ्छ।

त्यसैगरी बाहिरतिर जर्मनीमा पनि लेखेँ। अमेरिकामा पनि लेखेँ। जापानतिर पनि डाक्टरहरुलाई बोलाएँ। जापानिजहरुलाई त बोलाउने फेसन नै छ, किनभने, जापानिजहरुसँग टाइम छ, पैसा छ। जहाँ पनि बोलाउने बित्तिकै आउँछन्। दुई चारजना जापानिज नभएको आजभोलि कन्फ्रेन्स नै हुँदैन। उनीहरु उपस्थित नभए कन्फ्रेन्स खल्लो हुने, नुन नहालेको खानाजस्तै। जापानिजहरु जहाँ पनि पुग्छन्, जापानिजहरुले तालिम गरेको डाक्टरहरु यहाँ पनि छन्। जापानिजहरुको पनि राम्रै उपस्थिति थियो।

त्यसपछि तीनपटक गएँ इन्डिया, पाकिस्तानमा दुईपटक। कन्फ्रेन्स प्रमोट गर्न, व्यक्तिगत रुपमा मैलै मेरो पकेटको ८ लाख रुपैयाँ खर्च गरेको छु। टपिक दिएर यो विषयमा बोल्नु भनियो। इन्डियाका सबै ठूला डाक्टरहरुलाई व्यक्तिगत रुपमा एप्रोच गरेँ। तिनीहरुमा अल इन्डिया इस्टिच्युटका दुईओटै प्रोफेसरहरु, पीएन टण्डन र एके बेनर्जी पनि। व्यक्तिगत रुपमा भेटेँ, बोलाएँ, ‘तपाईहरु आउनुपर्छ’ भनेँ, मख्ख पर्नुभयो। धेरै राम्रो कन्ट्रिब्युट गर्नुभयो। त्यसपछि केरला पनि पुगेँ। केभी मथाइलाई पनि बोलाएँ। उहाँको सेन्टिमेन्टल अट्याचमेन्ट छ नेपालमा, नेपालको युनिट सुरु गर्न सहयोग गर्नुभएको थियो उहाँले। उहाँ पनि सहर्ष आउँछु भन्नुभयो। पछि उहाँले सोध्नुभयो, ‘मेरो के के सहयोग चाहिन्छ?’ मैले आउन हिच्किचाइरहेका डाक्टरहरुलाई भन्न अनुरोध गरेँ नामै दिएर, ‘आउन मानेका छैनन्, तपाईँले एकपल्ट भनिदिन पर्‍यो’ भनेँ। त्यसपछि उहाँले अर्डर नै दिनुभयो, धेरै उहाँका विद्यार्थी नै थिए।

केरलामा एउटा कन्फ्रेन्स भएको थियो। त्यसमा म गएँ। डाक्टर मथाइ पनि हुनुहुन्थ्यो। लञ्च हावरको बेलामा ‘ल देवकोटा, अब कन्फ्रेन्स प्रमोट गरौँ’ भनेर झोला बोकेर भेट्नेजति सबैलाई केभी मथाइले त्यहीँ भन्नुभयो। फस्ट नामले बोलाउनुहुन्थ्यो, ठूलोठूलो प्रोफेसरलाई पनि। अल इन्डिया रेडियो इस्टिच्युटका एके ब्यानर्जीलाई ‘अजित’, उहाँको विद्यार्थी हो, एके ब्यानर्जी। ‘अजित, देवकोटा इज होस्टिङ इपिक कन्फ्रेन्स इन काठमान्डू, वी सुड गो टु सपोर्ट हिम’ बस्। यसरी इन्डियाका सबै मै हुँ भन्नेलाई एक दिन दिउँसो उहाँले क्यानभास गरिदिनुभयो।

यसरी इन्डियाबाट पनि लुँडिएर आउने भए। योसँगै कन्फ्रेन्सको सबै एजेन्डा सेट गरेँ। आफ्नो युनिटको पेपर भएन भने चिन्दैनन् कसैले पनि। त्यसैले आफ्नो युनिटको जुनियरहरुलाई हरेकलाई एउटा एउटा पेपर लेख भन्दाखेरि होस्ट यूनिटको १५ ओटा पेपर हुने भयो। तीन दिनको कन्फ्रेन्स त्यसमा ३ सय ५० ओटाजति पेपर पढिएको थियो। त्यसमा १५ ओटा हाम्रोमात्रै भयो। टिचिङबाट अलिकति पेपरहरु थियो। त्यसले गर्दा २०, २२ ओटा पेपरहरु आए। त्यो राम्रो हो एकदमै। भर्खर सुरु भएको ठाउँमा।

अब फाइनान्सिङको कुरा आयो। केही मान्छेहरुलाई चाँहि ट्राभलिङ एक्सपेन्सेस पनि दिनुपर्ने। होटलमा राख्नुपर्ने। मैले सबै पत्र लेखेँ व्यक्तिगत रुपमा, यस्तो यस्तो कन्फ्रेन्स गर्दै छौँ, सहयोग गर्नुहोला भनेर। त्यो बेला नेपाललाई टुरिजम बोर्डबाट प्रमोट गर्ने वर्ष पनि थियो। भिजिट नेपाल इयर जस्तो पनि लाग्छ। टुरिजम बोर्डबाट पनि अलिअलि सहयोग पाइयो। सबै होटलहरुले पुल गर्दाखेरि मेरो विचारमा ५० ओटा रुमहरुको व्यवस्था भयो। ५० ओटा फेमिलीलाई मैले एकोमोडेसनमा राख्न सक्ने भएँ। तिनीहरुमध्ये द्वारिकादेखि लिएर याक एण्ड यति, त्यो बेलामा शेर्पा होटल पनि थियो, एम्बासेडर। सबै गर्दाखेरी ५० ओटा रुमहरु कम्प्लिमेन्ट्री लिएँ। ठूलो तयारी गरेँ, जुनियरहरुलाई दौडाउँथेँ। म फोन गर्थेँ, जाउँ फलानो ठाउँमा चन्दा लिन जाउँ भन्थे, मोटरसाइकलमा दौडाउन्थे।

अर्को इन्ट्रेस्टिङ पाटो पनि सोचेँ, हरेक मान्छेलाई कन्फ्रेन्स अटेन्ड गर्न आउँदाखेरि आफ्नो देश रिप्रेजेन्ट गरे जस्तो लाग्छ नि, त्यसैले मैले कुन कुन देशका डाक्टरहरु आउँछन् भन्ने थाहा पाएपछि, त्यही त्यही देशको एम्बेसीमा गएर तिम्रो देशको झण्डा देऊ भनेर मागेँ। इनागोरेसनको बेलामा टाँग्यौँ। सबै देशको झण्डा। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गएर इनागोरेसन गर्ने, विभिन्न झण्डा टाँग्ने। ब्रिटिस एम्बेसीमा गएर कुरा गरेँ, राजदूतसँग। ‘धेरै बेलायतका डाक्टर आउँदैछन्, बेलायती डाक्टरलाई पनि खुसी बनाउनको लागि कन्फ्रेन्सको अघिल्लो दिन एउटा रिसेप्सन देऊ’ भनेँ, ब्रिटिश राजदूत मानिहाल्नुभयो। अर्को इन्डिया, नेपाल, श्रीलंका, बंगलादेशका मानिसहरुलाई ब्रिटिस एम्बेसीमा गएर रिसेप्सन अटेन्ड गर्नुको अलि विशेष महत्व राख्छ।

नेपाल अपवाद भएपनि ब्रिटिशले याे क्षेत्रका अन्य मुलुकमा शासन गरेकाले उसलाई हेर्ने तरिका अहिले पनि फरक छ। ब्रिटिसले शासन गर्‍यो। यसरी झ्याम्म ब्रिटिस एम्बेसीमा रिसेप्सन, पछि त्यसको वारिपट्टि शंकर होटलमा त्यो दिनको डिनरबाट सुरु गरेँ। कन्फ्रेन्स उद्घाटन कोबाट गराउने भन्दा राजा वीरेन्द्रबाट नै गराउनुपर्छ भन्ने हाम्रो निर्णय बन्यो। ‘हेड अफ द स्टेट’ दरबारमा चिठी लेखेँ, मुभ नहुने फाइल। अन्त्यमा धेरै प्रेसर लगाएपछि सरकारबाट उद्घाटन हुन्छ भन्ने चाहिँ आयो। समय माग्दाखेरि ११ बजेभन्दा अगाडि हुँदैन भन्ने आयो। ११ बजे भने ११ बजे नै सही, हामी अलि छिटो चाहन्थ्यौँ, समय बचतको लागि।

त्यहाँ पनि कोही डाक्टर पछाडि परेको महशुस नगरुन् भनेर मैले सबैभन्दा सिनियर इन्डियाका डाक्टरलाई महाराजधिराजलाई रिसिभ गर्न पठाइदिएँ, आफै नगईकन। चेन्नईको राममूर्ति एकदमै ठूलो डाक्टर। प्रोफेसर राममूर्ति एपीजे अबदुल कलामको एकदमै मिल्ने साथी। राममूर्तिले ठक्क राजालाई बुके दिएर रिसिभ गर्नुभयो। उहाँले लेखेको उहाँको मेमोयरमा पनि त्यो फोटो छ। यति ठूलो अनर मैले पाएको थिइन भनेर लेख्नुभाछ। यसरी सबैको क्षमता अनुसार कहाँनिर राख्दा ठीक हुन्छ भनेर सबैलाई सम्मान दिने तरिकाले प्रोग्राम सेट गरेको थिएँ। म भने आफूलाई किन प्रोजेक्ट गर्नु भनेर सम्मेलनको सफलता सुनिश्चित गर्न लागिपरेको थिएँ।

प्रोगाम सुरु भयो। कन्फ्रेन्सको प्रोगाम यसरी सेट गरेको थिएँ कि त्यो हल रित्तो हुँदै नहोस्। हरेक प्रोगाममा हरेक रुममा पहिलो दुईओटा गेस्ट लेक्चर राखेको राम्रो। गेस्ट लेक्चर सकिने बित्तिकै ब्रेक नदिइकन फ्रीपेपर राखिदिएँ। गेस्ट लेक्चर सुनेका मान्छे फ्रीपेपर सुन्न बाध्य। नत्र गेस्ट लेक्चर छुट्टै, फ्रीपेपर छुट्टै गर्‍यो भने गेस्ट लेक्चर सकिने बित्तिकै बाहिर घाम ताप्न जान्छन्। चिया खान थाल्छन्। हल पनि पूरा भरिने, मान्छे पनि मिस नहुने गरेर प्रोगाम फिक्स गरेका थियौँ। तीनओटा प्यारलल सेसन गर्ने, अनि प्लेनरी चाहिँ पहिला नै गर्दिने योजना तय गरेका थियौँ। इनागोरेसनको दिन पहिलो कन्फ्रेन्स सबै पहिला नै सोचेर गरेको मैलेँ।

पहिलो सेसनमा कि–नोट एड्रेस दिनलाई प्रो. केएम मथाइलाई लगाए। सबैभन्दा सिनियर प्राक्टिसनर मध्येमा। फेरी उहाँ नेपालप्रति चासो राख्ने। उहाँले यस्तो तयारी गरेर आउनुभएको रहेछ कि केही पनि मटरियल नलिई आधा घण्टा खुरुरु बोल्नुभयो, ननस्टप। अलिकति फिलोसोफी, अलिकति थियोलोजी, अलिकति न्यूरो सायन्स मिलाएर मजासँग बोल्नुभयो। त्यो सक्किने बित्तिकै साइन्टिफिक सेसन सुरु गर्दाखेरि राम्रो ठाउँ त दिनुपर्‍यो, साइन्टिफिक सेसनको पहिलो पेपर अल इन्डिया इस्टिच्युटको पीएन टण्डनलाई पढ्न लगाएँ। त्यो सेसन असाध्यै हाइटेक। हेड इन्जुरीबारे असाध्यै राम्रो प्रस्तुति।

पीएन टण्डनले सिद्धाउने बित्तिकै ब्रिटिसहरुको असाध्यै टेक्नीकल पेपर दुई/तीनओटा आए। अनि मेरो हङकङको साथीले हेड इन्जुरीको बारेमा गरेको काम ‘माइक्रो डाएलासिस’, किड्नीको डायलासिस गरेजस्तै ब्रेन इन्जुरीमा पनि डायलासिस गरेर हेर्ने चलन छ, उसले त्यसमा रिसर्च गरेको थियो। उसलाई पढ्न लगाएँ।

त्यो पहिलो सेसन एटेण्ड गर्ने बित्तिकै मानिसहरुलाई महशुस भयो, यो कन्फ्रेन्स फरक छ। गफ लगाउने मान्छे छैनन् यहाँ, सिरियस मान्छेहरु छन्। कन्फ्रेन्सको थिम र लेबल अफ प्रेजेन्टेसन हेर्ने बित्तिकै आश्चर्य भयो त्यहाँ। मानिसले मिस गर्न नखोज्ने खालको। १० बजे सेसन सकिएपछि, ११ बजे उद्घाटनको लागि छुट्टी दियौँ। म बिहान सुट लगाएर गएको थिएँ, त्यै हलमा गएर दौरा सुरुवालमा चेन्ज गरेँ। अनि कसकसलाई के के रोल दिने, विशेषगरी विदेशीहरुलाई! राजालाई पस्दापस्दै भेट्ने मौका हुन्छ भनेर व्यवस्था गरेको थिएँ। हरेक देशको एक एक जना रिप्रेजेन्टिटिभलाई पाँच मिनेट बोल्ने व्यवस्था गर्‍यौँ कन्फ्रेन्समा।

वीरेन्द्र सरकारलाई रिसिभ गर्‍यौँ। रिसिभ गरेर हामी हिँड्दै थियौँ। राजा वीरेन्द्रबाट हुकुम भयो, ‘कन्फ्रेन्स कहिले सुरु हुँदैछ।’ मैले भनेँ, ‘सरकार, कन्फ्रेन्स त सुरु भइसक्यो।’

‘हँ, कहिले सुरु भयो?’

‘साढे ८ बजे बिहान।’

‘किन’ भनेर राजाले सोध्दा मैले भनेँ, ‘मैले दरबारमा सोध्दाखेरि ११ बजेभन्दा अगाडि सरकारलाई आउन, अफ्ठेरो हुन्छ, गाह्रो हुन्छ, उद्घाटन ११ बजेभन्दा अगाडि नराख्नुस् भनेर उहँहरुले रिक्वेस्ट गर्नुभयो। मेरा यत्रा ३०० गेस्ट छन्, धेरै पेपरहरु छन्। इनागोरेसनपछि पेपर पढ्दा नभ्याउने भएको भएर मैले प्रोग्राम बिहान साढे ८ मा नै सुरु गरेँ, अहिले इनागोरेसनको लागि ब्रेक लिएको।’ मैले भनेपछि सरकारबाट हुकुम भयो, ‘त्यो कुरा थाहा भएको भए म ८ बजे नै आउँथे नि।’

यसले एउटा कुरा स्पष्ट भन्छ- दरबारका वरिपरिका मान्छेहरु राजालाई प्रोटेक्ट गर्ने नाममा, जे पायो त्यही गर्छन्। त्यसले इम्प्रेसन बिग्रने राजाको। राजा अल्छी रहेछन्, ११ बजेसम्म सुत्दा रहेछन् भन्ने भो बाहिर, त्यो होइन। यदि राजा साढे ८ बजे नै उद्घाटन गर्न तयार भए तिनीहरुले मलाई किन नभन्या? मैले कति भनेँ, ‘हैन अफ्ठेरो हुन्छ डाक्टरसाब, सरकारलाई बिहान कष्ट नदिउँ।’ मार्चको महिनामा धेरै जाडो पनि थिएन। ८ बजे उठ्नलाई राजालाई के गाह्रो? तैपनि राजा ११ बजेसम्म सुत्ने मानिस, अल्छी मान्छे हुन् भन्ने इम्प्रेसन दिने खालेले दरबारियाहरुले ह्याण्डल गरे। मैले बुझिहालेँ राजाले त्यसो भन्ने बित्तिकै।

त्यसपछि, त्यहाँ राम्रो, वेल अकस्ट्रेटेड इनागोरेसन भयो। पाँच मिनेटभन्दा बढी कसैले बोलेन। ठक ठक ठक, सबै कुरा टाइममा नै सकियो। उनीहरुले एक घण्टामा सिद्धाउनु डाक्टरसाब भनेका थिए, मैले सिद्धाए पनि। त्यसपछि चिया खाएर बिदा गर्नुपर्‍यो राजालाई, बिशेष कोठामा लगेर। भित्रपट्टि लगेर चिया सर्ब गरेर अलि विशेष छानिएका डाक्टरसाबलाई बोलाएको थिएँ। उनीहरु भित्र पस्नेबित्तिकै ‘द किङ स्टार्टेड स्पनटिनियोस्लि’ कस्तो राम्रोसँग।  सार्कका सबै थिए, ठूलाबडा डाक्टरहरु। राजाबाट के हुकुम भयो भनेँ, ‘अघि कन्फ्रेन्समा इनागोरेसनको बेला तपाईँहरु सबैले बोल्ने मौका पाउनुभयो, म मात्र हो बोल्न नपाएको।’ राजालाई बोल्न दिने चलन हुँदैन, सुन्ने मात्रै हो। ‘म मात्र हो बोल्न नपाएको, नाउ लेट मी से समथिङ’ भनेर एकैचोटि राजाबाट हुकुम भयो। यस्तो राम्रो सार्कको फिलोसोफी र रिजनल ग्रुपिङको महत्वको विषयमा। ही क्ल्यारिफाइड अ लट अफ इन्ट्रेस्ट्रिङ थिङ्स।

त्यो सकेर बाहिर निस्किएपछि मेरा इन्डिया- पाकिस्तानको साथीले भने, ‘तिमीहरुको राजा त राजा हैन, स्टेटम्यान रहेछन्। हि इज नट लाइक अ किङ्, हि इज लाइक स्टेटस् म्यान।’ यो त पोलिटिकल लिडरको जस्तो भाषण सुनेँ। हुन पनि राम्रो, सार्कको फिलोसोफि, रिजनल ग्रुपिङको महत्व ‘ही स्पोक भेरी नाइस्ली। ओभरअल ही गेभ अ भेरी गुड इम्प्रेसन टु द डेलिगेट्स।’ राजालाई बिदा गर्‍यौँ। अनि हाम्रो कन्फ्रेन्स चल्यो, साँझको डिनर, दिउँसोको लञ्च। हरेकलाई गिफ्ट पनि दियौँ। जाने बेलामा। धेरै प्रशंसा पायो त्यसले र फर्किएँ।

इन्डियाको डेलिगेसन फर्किएको त्यो इन्डियन एयरलाइन्सको दिल्ली फ्लाइट त्यसैले मात्र भरिएको थियो, कन्फ्रेन्सको भोलिपल्ट। अनि मेरो एकजना साथी पनि दिल्ली भएर कलकत्ता जाँदै थिए, मेरो क्लासमेट। त्यो पनि न्यूरो सर्जन हो। त्यो प्लेनमा सबै न्यूरो सर्जन देखेपछि प्रोफेसर पीएन टण्डनले उठेर भाषण दिनुभएछ। लुक हेयर यू इन्डियन सर्जनस्, यू लर्न समथिङ फर्म द्याट योङ्ग म्यान। यु सुड लर्न हाउ टु होल्ड कन्फ्रेन्स। सबै आएका मान्छेले आफ्नो योग्यता अनुसारको भाग पनि पाए। एउटा शेसन पनि खाली गएन, हल पनि एम्टी थिएन। कल्चरल प्रोगाम पनि राम्रो थियो। दिस इज हाउ, यू होस्ट द कन्फ्रेन्स। मिक्स अफ एभ्रिथिङ्ग’ भनेर पीएन टण्डनले प्रशंसा गर्नुभयो भनेर मेरो साथीले भने।

यसरी १९९९ को मेरो उपलब्धि भनेको त्यो कन्फ्रेन्स बन्यो। त्यसले हामीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनायो। सार्क रिजनमा स्थापित गरायो। कन्फ्रेन्सको अन्तिम दिनमा हाम्रो बिजनेश मिटिङ थियो। षडयन्त्र जहाँ पनि हुन्छ, त्यहाँ पोलिटिक्स भइरहेको रहेछ भित्रभित्र। उनीहरुको विचार अब सार्क प्रेजिडेन्सी एकैचोटि बंगलादेशलाई दिने भनेर पाकिस्तानबाट प्रपोजल आयो। त्यो कन्फ्रेन्सको अर्गनाइजिङ चेयरम्यान भएको भएर म आफैँले केही कुरा बोल्ने कुरा भएन। हैन म हुनुपर्छ भन्ने कुरा आएन। म त्यो लेबलको मान्छे होइन। त्यसपछि म अकमक्क पर्दै थिएँ। त्यो अडियन्सको पहिलो ‘रो’बाट एउटा बडा जोडदार हात उठ्यो। त्यो मान्छे हुनुहुन्थ्यो, डा. प्रोफेसर पीएन टण्डन। उहाँले उठेर कति राम्रोसँग भन्नुभयो भने, ‘हिस्टोरीकल्ली द वान हु होस्ट्स द कन्फ्रेन्स विकम द फ्रस्ट प्रेजिडेन्ट। द्याट इज द ट्रेडिसन अल ओभर द वर्ल्ड। सो देवकोटा होस्टेड द फस्ट कन्फ्रेन्स, सो ही ह्याज द अनर अफ बिइङ द फस्ट प्रेजिडेन्ट अफ सार्क सोसाइटी। देर सुड बि नो अब्जेक्सन एण्ड बंगलादेश बिकम्स सेकेण्ड आफ्टर द्याट। बंगलादेश प्रेजिडेन्ट इज इलेक्ट नाउ, एण्ड इट विल टेक ओभर इन टु टुइयर्स टाइम।’ उहाँले डिक्लिएर गर्नुभयो।

इन्डियाबाट मलाई ताली पिटियो। पाकिस्तान र बंगलादेश अलि नाखुस भए। नेपालको त लबी नै थिएन। यसरी पीएन टण्डनको इन्टरभेनसनले म पहिलो सार्कको प्रेजिडेन्समा छानिए। नत्र भने हेल्प लेस। उहाँहरुको व्लेसिङ्सले गर्दाखेरी प्रेजिडेन्ट नि छानिए, कन्फ्रेन्स पनि राम्रो भयो। केटाहरुलाई पेपर पढ्न ट्रेनिङ पनि भयो। त्यो स्ट्यान्डर्ड रेप्लिकेट गर्न खोज्छन्, तर कता कता चिप्लन्छन्। त्यसले एउटा सानो स्ट्यान्डर्ड चाहिँ सेट गर्‍यो।

त्यो बेलामा एउटा राम्रो घटना के भयो भने गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ पनि उद्घाटनमा आउनुभयो। उहाँले बोल्नुभयो पनि। त्यसको दुई दिनअगाडि भरतमोहन अर्थमन्त्री, अर्थमन्त्रालयबाट बजेट देऊ न हामीलाई भनेको, मरिगए नदिने। अन्तमा अर्थसचिव र अर्थमन्त्रीहरुसँग कुरा गर्दाखेरी पाँचलाख भन्दा बढी दिन सक्दैनौ भने। अनि मैले भनेँ, ‘५० ओटा कोठा होटलको बुक गर्नुपरेको छ, यो छ, ऊ छ। हाम्रो बजेट झण्डै ६० लाखको छ। गभर्मेन्टले मलाई नदिए कहाँबाट ल्याउने?’ त्यसपछि भरतमोहनजीले भन्नुभयो, डाक्टरसाब म तपाईँलाई एउटा उपाय बताउँछु। म सक्दिन यो गर्न। गिरिजाबाबु जहिले पनि अफिसबाट घर, बालुवाटार ५ बजे पुग्नुहुन्छ। १५ मिनेट चिया खान दिनुहोस्। अनि ५:२० अथवा २५ मा फोन गर्नुहोस्। उहाँले आफैँ आन्सर गर्नुहुन्छ। अनि गिरिजाबाबुले इन्टरभेन गर्नुभयो भने हुन्छ।’ भरतमोहनले सल्लाह दिनुभयो। कन्फ्रेन्स अर्गनाइज गरिरहेको मान्छे त्यो दिन म पनि अलि चाँडै नै घर आएँ।

अनि घडी हेरेर ५:२० मा फोन गरेँ बालुवाटार। ठ्याक्कै फोन उठाउनुभयो। उहाँले पनि गाइँगुइँ सुनिरहनुभएको। ‘भव्य कन्फ्रेन्स हुँदैछ, राजाबाट उद्घाटन हुँदै छ, यहाँ।’ प्रधानमन्त्री कार्यालय त इन्फर्मड हुने नै भयो। मैले आफ्नो कुरा स्पष्ट राखेपछि, ‘कति चाहिएको हो डाक्टर साब् तपाईलाई पैसा?’ भन्नुभयो।

‘चाहिन त धेरै चाहिएको हो हजुर, अहिलेलाई १५ लाख भए हुन्छ’, भनेँ। ‘ल हुन्छ भोलि बिहान म तोक लगाइदिन्छु। स्वास्थ्य मन्त्रालयबाट लिने अहिले, अनि स्वास्थ्य मन्त्रालयमा सोध भर्ना गराइदिउँला।’ प्रदिप नेपाल स्वास्थ्य मन्त्री, भोलिपल्ट हतारहतार गएर लिएँ त्यो १५ लाख रुपैयाँ। सोसाइटी अफ सर्जनको मिटिङ हुँदै थियो, दुई महिनापछि। उनीहरुले पनि स्वास्थ्य मन्त्रालयमा पैसा माग्न गए, उनीहरुलाई स्वास्थ्य मन्त्रालयले एक लाख दियो। अनि आक्रोशमा आएर कोही कोही सर्जनले पत्रिकामा चिठी पनि लेखे। ‘एउटा व्यक्तिले गरेकोमा १५ लाख रुपैयाँ दियो सरकारले, यत्रो सोसाइटी अफ सर्जनले गरेकोमा चाहिँ एक लाख मात्र दियो।’

तर जुन कनफ्रेन्सको आयोजना हामीले गर्‍यौँ, त्यो व्यक्तिले गरेको होइन, देशले गरेको हो। त्यसैले सरकारबाट पनि राम्रो समर्थन पायौँ। त्यो कनफ्रेन्सबाट हामीले कुनै पनि नाजायज खर्च नगरीकन बचेको नेट २८ लाख रुपैयाँ जोगाएर खातामा राखिदिए। त्यसको राम्रो उपयोग गर्ने आइडिया थियो। तर, न्यूरो सर्जरीका साथीहरुले त्यो स्रोतलाई त्यति ध्यान दिनुभएन। त्यो पैसा अहिले पनि ब्यांकमा नै छ। त्यो बेलामा एक रोपनी जग्गा किनेर सोसाइटीको लागि घर बनाउन पनि सकिन्थ्यो। सबै काम मलाई छोडिदिनुभयो। अलिअलि त अरुले पनि गर्नुपर्थ्यो। अब अहिले २५, २८ लाखले के हुन्छ केही पनि हुँदैन। त्यो बेलामा भएको भए, राम्रो एक रोपनी जग्गा किनेर घर बनाउन सकिन्थ्यो। त्यो त १९९९ को कुरा हो नि। त्यो बेलाको २८ लाख रुपैयाँ भन्या धेरै ठूलो रकम हो।

आजभोलि त कन्फ्रेन्स गर्छन्। हिसाबकिताब गर्ने बेलामा जति आम्दानी भएको त्यति नै खर्च हुन्छ। अरु पैसा कहाँ जान्छ थाहै हुँदैन। मैले त्यो कन्फ्रेन्स गर्दा उठाएको पैसा, स्पन्सरले दिएको सबै पैसा हिसाब गर्दा गभर्मेन्टका १५ र अरु पैसा जोगाएर २८ लाख जति जम्मा गरेको थिएँ। आफ्नो खर्च भएको आठ लाख जतिपैसा लिइन। मेरो लागि व्यक्तिगत रुपमा पनि उपलब्धि भयो। देशको लागि पनि उपलब्धि हो सार्क कन्फ्रेन्स। त्यसपछि हामी चिनियौँ।

जेष्ठ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्