प्रशिक्षक मेघराज केसीको नजरमा विश्वकप

अब हामीले पनि विश्वकपका लागि तयारी सुरु गर्नु पर्छ !

फुटबल प्रशिक्षक मेघराज केसी । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – रोनाल्डोले कस्तो कपाल काट्छन्, अथवा गोल गरेपछि कसरी सेलिब्रेसन गर्छन् भन्ने कुरा धेरैलाई थाहा छ । तर उनले गोल गर्नु पूर्व के के तयारी गरे त्यो सायदैलाई थाहा होला !

थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसी भन्छन्, ‘हो नेपालीले पनि यहि सिके, जे नजान्दा पनि हुन्थ्यो । तर जे जान्नै पर्ने थियो त्यो सिकेनन् ।’ रसियामा विश्वकप फुटबल सुरु हुन अब केही घण्टामात्रै बाँकि छ ।

ती घण्टा बिताउने हतार धेरैलाई छ । त्यसमा पनि फुटबल खेलाडी र प्रशिक्षकलाई त नहुने कुरै भएन । हुन त मेघराज केसीले विश्वकप फुटबल हेर्न थालेको ३२ वर्ष भयो । यो बिचमा उनले ८ वटा विश्वकप हेरिसके । सुरुमा रहर पूरा गर्न हेर्ने केसीले अहिले हरेक स्टेपलाई सुस्म अध्ययन गर्दै हेर्नुछ र सिक्नु छ, त्यहाँबाट धेरै कुरा ।

पहिले उनको लागि फुटबल मनोरञ्जन लिने माध्यम मात्रै थियो । पढेर बचेको समयमा फुटबल खेल्थे । तर आज केसीको जिम्मामा आफ्नो रहर पूरा गर्नु मात्रै छैन । टिमलाई अगाडि बढाउनु पनि छ, प्रशिक्षकको भूमिकाले ।

‘यो वर्ल्डकप हेरेर केहि कुरा प्रयोगमा ल्याइयो भने मात्रै पनि हेरेको सार्थक हुन्छ’, केसी भन्छन्, ‘हामीले सिक्नु पर्छ कस्ता राष्ट्र कसरी वर्ल्डकपमा पुगेका छन् । त्यसका लागि उनीहरुले कस्तो मेहनत गरेका छन् ।’

सन् १९८६ बाट वर्ल्डकप हेर्न थाल्दा उनले सिक्न जरुरी ठानेनन् । तर घरमा टेलिभिजन नहुँदा पनि छिमेकीकोमा गएर मध्यरातमा टेलिभिजन हेर्थे ।

दाइहरुले हेरेका बेला कुनामा उभिन पुग्थे मेघराज । सानैदेखि फुटबलमा लिप्त मेघराजलाई सुरुकै वर्ल्डकपमा म्याराडोनाको गेम मन पर्थ्यो । तर आफू भने मनोरन्जनका अरु साधान नभएकै कारण फुटबलमा रमाएको बताउँछन् मेघराज ।

‘स्कुल गयो, आयो । साथीभाइ जम्मा भयो, ग्राउण्ड पनि राम्रो नचाहिने थालिहाल्यो फुटबल हान्न’, मेघराज सम्झन्छन्, ‘त्यो बलले एक महिना धान्थ्यो । फुटेपछि २/४ दिन गाह्रो हुन्थ्यो । तर घरतिर हारगुहार गरेर कहिले त कहिले टिफिनको पैसा बचाएर पनि फुटबल किन्थ्यौं।’

एसएलसी दिएपछि जावलाखेल मैदानमा फुटबल खेल्न जान थाले । त्यतिबेला जावलाखेल युथ क्लब ए डिभिजन लिग खेल्थ्यो । चर्चित फुटबलर राजुकाजी शाक्य, किशोर केसी, सुनिल श्रेष्ठहरु त्यहिँ टे«निङ्ग गर्थे । त्यतिबेला कोचले तालिम गराउँदैनथे । सिनियरहरुले सिकाउँथे, मेघराजले पनि त्यहिँ सिके ।

२०४६ सालदेखि २०६३ सालसम्म जावलाखेलमै खेले । ए डिभिजन लिग खेल्ने खेलाडी पनि आफ्नै खर्चमा खेल्थे । मेघराज भन्छन्, ‘जावला खेलमा खेलुन्जेल मैले क्लबबाट एक जोर जुत्ता पनि किनाइन ।’

२०५७ सालमा एन्फामा प्रशिक्षक नियुक्त भए । उनको मासिक तलब तीन हजार थियो । त्यतिबेला थाहा पाए फुटबल खेल्दा पनि पैसा पाइँदो रहेछ । फुटबल खेलेर कमाउँछु भनेर लागेका थिएनन् । ‘फुटबल नखेलेको भएपनि फुटबलमा समय बिताउँथे, आफ्नो स्वास्थ्यका लागि खेल्नु पर्ने फुटबल नै आफ्नो व्यवसाय हुँदा खुशी लाग्छ’ केसी भन्छन् ।

मेघराज प्रशिक्षक रहेको थ्रीस्टार क्लब यो सिजन उत्कृष्ट लयमा छ । सहभागी भएका १४ मध्ये ११ वटा प्रतियोगितामा फाइनल पुगेको छ । ७ वटा उपाधि जितिसकेको छ । अबको केही दिन घरेलु प्रतियोगिता हुने छैनन् । सबैको ध्यान विश्वकपमै हुनेछ । विश्वकपबाट प्रशिक्षकले के सिक्छन् त ?

मेघराज भन्छन्, ‘प्रशिक्षकले मात्रै हैन सबैले । एउटा टिमले ९० मिनेटमा कस्तो खेल्छ त्यो मात्रै हेरेर हुँदैन । त्योबाट मात्रै सिकेर पुग्दैन । त्यो टिमले वर्ल्डकप खेल्नु अघि तयारी के के गरेर आयो । त्यो सिक्नु पर्छ । अखिल नेपाल फुटबल संघ एन्फाले पनि वर्ल्डकप हेर्न को को आफन्तलाई पठाउने मात्रै हैन । त्यो वर्ल्डकपमा पुग्ने देशको एसोसिएसनले के के गर्‍यो त्यो सिक्न जरुरी छ । एउटा प्रशिक्षकले के के गरेर त्यो टिमलाई विश्वकपमा पुर्‍यायो । पर्दा पछाडिका कुरा पनि सिक्नु पर्छ । ९० मिनेटमा हामीले सिक्ने भनेको १० प्रतिशत मात्रै हो ९० प्रतिशत पर्दा पछाडिका कुराहरु हुन्छन् ।’

वर्ल्डकप खेल्ने ३२ राष्ट्र नै कमजोर हुँदै हैनन् । तर ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन अरु देशभन्दा राम्रो देख्छन् मेघराज । त्यसो त अफ्रिकन देशहरु पावर गेम खेल्छन् । फुटबलमा ८० र २० पोजिसन भएका टिममा पनि २० ले जितेका पनि छ । कहिले काहिँ यस्तै अपत्यारिलो नतिजा पनि आउन सक्छ ।

मेघराज भन्छन्, ‘एउटा टिमले २० पटक एटम गर्ला, गोल नहोला र अर्को टिमले एक पटक एटम गर्ला र त्यहि गोल होला । त्यो खेल १–० ले भएपनि एक पटक एटम गर्ने टिमले जित्छ ।’

मेघराजलाई अर्जेन्टिनाका स्टार मेसीको खेल कौशल मन पर्छ । मैदानमा पनि बाहिर पनि । त्यसो त रोनाल्डोको मेहनत पनि कम लाग्दैन । तर एक जना मात्रै भन्दा मेसी नै मन पराउँछन् ।

नेपालीले नेपाल – नेपाल भन्दै विश्वकप हेर्ने दिन कहिले आउला ! ‘नेपालीको खुवि र मोह हेर्दा छिट्टै आउँछ । तर कुर्सीमा बसेर आउँदैन । राज्यले लगानी गर्नु पर्छ’, मेघराजलाई लाग्छ, ‘एन्फाले पनि सुरुवात गरेको छैन । विदेशबाट आउने पैसा चलाएर मात्रै हुन्न । विदेशमा जस्तो पैसा नभएपनि नेपालमा खेलाडीले पनि आफ्नो ठाउँबाट मेहनत गर्नु पर्छ । पैसा मात्रै हेर्नु हुँदैन त्यति पैसा पाउनका लागि कस्तो खेल खेलेका छन् भन्ने पनि हेर्नुपर्छ ।’

नेपालमा विश्वकपलाई टार्गेट गरेर तयारी सुरु नै नभएको बताउँछन् ।

विश्रामपछि लयमा थ्री–स्टार


फुटबल प्रशिक्षक मेघराज केसी । तस्बिर : बर्षा शाह/देश सञ्चार

जावलाखेल युथ क्ल्बबाट २०४८ सालबाट ए डिभिजन लिग खेल्न थालेका मेघराज २०५५ सालमा कप्तान भए । २०५७ सालमा एन्फाको प्रशिक्षकमा नियुक्त भएका केसीले २०६१ सालबाट फुटबल नखेल्ने निर्णय लिएका थिए तर ७ खेलमा विश्राम गरेका केसी त्यसपछि क्लबमै फर्किएर खेल्न थाले ।

२०६४ सालदेखि २०६६ सालसम्म तत्कालिन माओवादीको सेना पिएलएको टिमलाई प्रशिक्षण दिए । तर पिएलए खेलेका गेम सेनाले बहिस्कार गर्‍यो ।

त्यसपछि मछिन्द्रमा फर्किएका मेघराज दुई महिना मात्रै रहे त्यहाँ । हिमालय शेर्पामा ६ महिना र फ्रेण्ड्स क्लबमा १५ महिना प्रशिक्षकको भूमिका निर्वाह गरेका मेघराज २ वर्ष आर्मी क्लवमा रहे ।

त्यसपछि थ्रिस्टारको प्रशिक्षकमा पुनः नियुक्त भएका थिए । मेघराजले प्रशिक्षण सम्हालेको थ्रिस्टार क्लब अहिले राम्रो लयमा छ । एन्फासँगको टक्करका कारण थ्रिस्टारले डेढ वर्ष फुटबल खेलेन ।

तर विवाद मिलेपछि जब खेल्न थाल्यो उत्कृष्ट लय समात्यो । यसको जस क्लबको म्यानेजमेन्ट र खेलाडीको मेहनत ठान्छन् मेघराज । नेपालमा रोकिएको लिगको मिति तय भएको छ । यदि लिग भयो भने यहि लयले नपुग्ने मेघराज ठान्छन् ।

जेठ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्