विश्वकपमा २४ वर्षपछि विजय प्राप्त गर्ने साउदी अरबको योजना, यस्तो छ पछिल्लो प्रदर्शन

१२ वर्षपछि विश्वकप खेल्न लागेको साउदी अरेबियाले रुसमा बिहीबार सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोलीको सामना गर्दैछ। समूह ‘ए’अन्तर्गतको यस भिडन्तमा एसियाली टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने प्रयाशमा छ।

साउदी अरेबियाले विश्वकपमा अन्तिम पटक सन् १९९४ को संस्करणमा जित हात पारेको थियो। त्यतिबेला साउदी अरब समूह चरणमा दुई जित हात पार्दै प्रिक्वाटरफाइनलसम्म पुगेको थियो। विश्वकपमा साउदी अरबको यो नै अहिलेसम्मकै सर्बोत्कृष्ट प्रदर्शन हो।

विश्वकपमा साउदी अरबको त्यो पहिलो सहभागीता थियो। समूह ‘एफ’मा रहेको साउदी अरेबियाले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-१ गोलले पराजित भए पनि त्यसपछिका खेलमा मोरक्कोलाई २-१ गोलले तथा बेल्जियमलाई १-० गोलले हराएको थियो।

प्रिक्वाटरफाइनलमा स्वीडेनसँग ३-१ गोलले पराजित भएको थियो। त्यसपछिका लगातार तीन विश्वकपमा सहभागी भए पनि समूह चरणबाटै बाहिरिएको थियो।

साउदी अरेबियाले सन् १९८४,१९८८ र १९९६ मा एसिया कप जितेको थियो भने १९९२, २००० र २००६ को संस्करणमा उपविजेतामा सीमित भएको थियो। उसले सन् १९९२ को अन्तरमहादेशीय प्रतियोगिता कन्फेडेरेसन कपमा फाइनलसम्मको यात्रा तय गरेको थियो।

साउदी अरेबियाले सन् २०१८ मा भने राम्रो प्रदर्शन गर्न सकेको छैन। उसले पछिल्ला तीन खेलमा जर्मनीसँग २-१ गोलले, पेरुसँग ३-० गोलले र इटालीसँग २-१ गोलले हार ब्यहोरेको थियो।

यो वर्ष खेलेका अन्य खेलमा बेल्जियमसँग ४-० गोलले र इराकसँग ४-१ गोलले निराश भएको थियो। मोल्डोभा, ग्रिस र अल्जेरियालाई भने हराएको थियो।

साउदी अरेबियामा युरोपियन क्लबहरु लेभान्ते,भिल्लारियल र लेगानेसमा खेल्ने तीन खेलाडी छन्। अन्य सबै साउदीकै प्रतियोगितामा खेल्ने खेलाडी छन्। रुस र साउदी अरेबिया अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका छैनन् ।

जेठ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्