अमेरिकामा नेपाली राजदूतका लागि ८१ करोड रुपैयाँको आवास

काठमाडौं- झण्डै ३ वर्षको निरन्तरको प्रयास र खुसामदपछि अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीले राजदूत निवासकालागि नयाँ भवन किन्ने अनुमति पाएका छन्।

अमेरिकास्थित जानकार स्रोतका अनुसार राजदूत कार्कीको अथक प्रयत्न र  प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको  हस्तक्षेपपछि परराष्ट्र मन्त्रालय नेपाली ८१ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।

राजदूत कार्कीले यसअघि पुष्पकमल दाहाल मन्त्रिपरिषद्‌मा परराष्ट्रमन्त्री रहेका डा. प्रकाशशरण महतको समर्थन हासिल गर्न सफल भए पनि उक्त खरिदमा पारदर्शिता र नियमितता सुनिश्चित गर्न आवश्यक रहेको भन्दै परराष्ट्र मन्त्रालयले राष्ट्रसंघस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन लगायतको समिति गठन गरेको थियो। उक्त समितिकै परामर्शमा गत वर्ष प्रस्तावित घर खरिद रोक्का गरिएको थियो।

यसअघि प्रस्तावित घर र त्यसका लागि माग गरिएको रकमबारे प्रश्न उठेपछि स्थानीय (अमेरिकी) कानुन र प्रविधिसमेत अध्ययन गरी सुझाव दिन उक्त समिति गठन गरिएको थियो।

यसपल्ट ओली सरकारले परराष्ट्रबाट रकम निकासाको निर्णय गरेसँगै घरको स्तरीयता र रकमबारे आशंकाको ठाउँ नराख्न  पनि राजदूत कार्कीलाई भनिएको स्रोतले बतायो।

जेष्ठ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्