विश्‍व फुटबलको महामेला सुरु, आयोजक रुस र साउदी अरेबियाबीच खेल सुरु

काठमाडौँ–लामो समयको प्रतिक्षापछि विश्व फुटबलको महामेला विश्वकप फुटबल २०१८ बिहीबारदेखि रुसमा सुरु भएको छ। नेपाली समय अनुसार बेलुका पौने ९ बजे रुस र साउदी अरेबियाबीचको खुल सुरु भएको हो।

रुसको राजधानी मस्कोमा औपचारिक उद्घाटन समारोहपछि बेलायतका पप गायक रोब्बी विलियम्‍सले गीत गाएका थिए। विश्वकपमा आयोजक रुससँगै ३२ देश सहभागी छन्। यसमा अघिल्लो पटकको विजेता जर्मनी पनि छ। ३२ दिनसम्म ६४ वटा खेल हुनेछन्।

विश्वकपको २१ औँ संस्करणका खेल रुसका ११ शहरका १२ रंगशालमा हुने छन्। यी १२ रंगशालाहरु १८ सय माइलको दूरीमा समेटिएका छन्।

चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० ले हराएर विश्व विजेता बनेको जर्मनी यो पटक पनि विश्व विजेता बन्दै सन् १९६२ पछि लगातार विश्वकप जित्ने पहिलो टिम बन्ने लक्ष्यमा छ।

यस्तै पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ पटक उपाधि उचाल्ने लक्ष्यसहित रुस पुगेको छ।

एक महिनासम्म चल्ने प्रतियोगिता हेर्न विश्वभरबाट १५ लाख भन्दा धेरै मानिस रुस जाने अनुमान छ। यस्तै विश्वभर ३ अर्ब भन्दा धेरै मानिसले टेलिभिजनमार्फत विश्वकप हेर्ने अनुमान गरिएको छ।

विश्वकपका लागि छनौट भएका ३२ देशलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा चार चार टिम छन्। हरेक समूहको शीर्ष दुईमा रहने टोली अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने छन्।

फाइनल खेल आउँदो जुलाई १५ मा उद्घाटन खेल भएकै ८१ हजार दर्शक क्षमता भएको लुज्निक रंगशालामा हुनेछ । विश्वकपमा ३२ देशका ७३६ खेलाडीले मैदानमा आफ्नो कला देखाउने छन्।

को होला विजेता ?

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले विश्वकप अघि सार्वजनिक गरेको बरियतामा साबिक विजेता जर्मनी, पाँच पटकको विजेता ब्राजिल, युरोकप २०१६ को विजेता पोर्चुगल, अघिल्लो पटकको उपविजेता अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड र सन् १९९८ को विजेता फ्रान्स शीर्ष ८ मा रहेका टिम हुन् ।

यी मध्ये कुनै एक टिम विजेता बन्ने आँकलन गर्न सकिन्छ । यस्तै ८ वर्षअघिको विश्व विजेता स्पेनलाई पनि बलियो दाबेदारको रुपमा हेरिएको छ ।

आयोजक राष्ट्र रुस विश्वकप खेल्ने मध्ये सबैभन्दा पुछारमा रहेको टिम हो । उ विश्व बरियताको ७० औँ स्थानमा छ । इंग्ल्याण्ड र स्पेन गएको विश्वकपमा समूह चरणबाटै बाहिरिए ।

जर्मनी पछिल्ला चार विश्वकपमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । जर्मनी युरोपको त्यस्तो एक मात्र टिम हो छनौट चरणमा सबै खेल जित्दै रुस यात्रा गर्न सफल भयो ।

उसले फेरि विश्वकपको उपाधि उचाल्ने सम्भावना छ । विश्वकपका लागि जर्मनी रहेको समूह एफ मा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया छन् ।

अहिलेसम्मका सबै विश्वकप खेल्ने एक मात्र देश हो, ब्राजिल । तर सन् २००२ यता उसले उपाधि जित्न सकेको छैन । ब्राजिलको टिममा विश्वका महँगा खेलाडी नेइमार छन्, र उसले जित्ने सम्भावना यो पटक छ ।

स्पेनको टिम निकै बलियो छ । त्यसमा च्याम्पियन्स लिग विजेता रियल मड्रिडका धेरै खेलाडी छन् । उनीहरुले यो पटक आफूहरुको पुरानो साख फर्काउने आश गरिएको छ । उसले ८ वर्षअघि विश्वकपको उपाधि जितेको थियो र सन् २००८ तथा २०१२ मा युरोकपको उपाधि उचालेको थियो ।

यस्तै क्रिष्टियानो रोनाल्डोले पहिलो विश्वकप जित्ने सपना सजाएका छन् । दुई वर्षअघि पोर्चुगलले युरोकपको उपाधि उचालेको थियो । अहिले रोनाल्डोको नेतृत्वमा पोर्चुगल विश्वकप सपनासहित रुस पुगेको छ । यस्तै लियोनल मेस्सी पनि अर्जेन्टिनाबाट पहिलो मुख्य उपाधि उचाल्ने लक्ष्यमा छन् ।

अधिकांश युवा खेलाडीले भरिएको फ्रान्समा निकै उर्जा छ । उ दुई वर्षअघि युरोकपमा घरेलु मैदानमा बेहोरेको फाइनल हारलाई भुलेर त्यो भन्दा ठूलो उपाधि उचाल्ने रहरमा छ । यसमा पउल पोग्बा, एन्टोनी ग्रिजम्यान, ओलिभर जिरउड, ह्युग लोरिस, केलियन एमबाप्पेसहितका खेलाडी छन् ।

जेठ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्