विश्वकप २०१८

रुसको शानदार जितपछिका केही तथ्य र कीर्तिमानहरु

विश्व फुटबलको महामेला चार वर्षको पर्खाई र त्यो भन्दा धेरै अघिदेखिको तयारीपछि बिहीबारदेखि रुसमा औपचारिक रुपमाले सुरु भएको छ ।

रुसका ११ शहरमा रहेका १२ रंगशालमा एक महिनासम्म हुने महामेलाको सुरुवात बिहीबार बेलुका औपचारिक कार्यक्रम र त्यसपछि उद्घाटन खेलबाट भयो ।

उद्घाटन खेलमा आयोजक रुसले एसियाली देश साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको थियो । बिहीबार राति भएको खेलमा आयोजक रुसले आफ्नो पछिल्लो खराब लयलाई यसरी बिर्सायो कि मानौँ उसले सबै उर्जा विश्वकपका लागि साँचेको थियो ।

घरेलु मैदानमा घरेलु समर्थकको साथ पाएको रुसले साउदी अरेबियामाथि ५-० को जित निकाल्यो ।

विश्वकपको उद्घाटन खेल पछिका केही तथ्यहरु


रुसको जितले फिफा विश्वकपको त्यो परम्परालाई जोगायो, जो पहिलो विश्वकपदेखि कायम थियो । अहिलेसम्म कुनै पनि विश्वकपको उद्घाटन खेलमा आयोजक देश पराजित भएका छैनन् । यो विश्वकपको २१ औँ संस्करण हो र अहिलेसम्मक कुनै पनि विश्वकपमा पहिलो खेलमा आयोजक देश हारेका छैनन् ।

रुसले त्यसलाई निरन्तरता दियो । अहिलेसम्म १६ उद्घाटन खेलमा आयोजक देश विजयी भएका छन् र ६ खेलमा बराबरी भएको छ । सन् २००२ मा दुई देश आयोजक हुँदा पनि यो क्रम जोगिएको थियो ।

रुसले सन् १९३४ पछि उद्घाटन खेलमा सबैभन्दा फराकिलो जित निकाल्ने आयोजक देशको कीर्तिमान बनाएको छ । रुसले साउदी अरेबियालाई ५ ० ले हरायो । सन् १९३४ मा इटालीले अमेरिकालाई ७ १ ले हराएको थियो ।

साउदी अरेबियाले विश्वकपका उसका पछिल्ला ११ खेलमा जित निकाल्न सकेको छैन । उले ९ खेल गुमाएको छ भने दुई खेलमा बराबरी गरेको छ । उसले विश्वकपमा जित निकालेको भनेको २४ वर्षअघि हो । उसले सन् १९९४ मा बेजिल्यममाथि समूह चरणमा १ ० को जित निकालेको थियो ।

यो साउदी अरेबियाको विश्वकपका पाँचौँ सहभागिता हो र उसले कुनै पनि सहभागितामा पहिलो खेलमा जित निकाल्न सकेको छैन । उसले अहिलेसम्म विश्वकपका आफ्नो पहिलो खेलमा एक खेलमा बराबरी गरेको छ भने चार खेल गुमाएको छ ।

साउदी अरेबियाले सन् १९९४ मा विश्वकपमा डेब्यु गरेयता हेड मार्फत गरिएका १४ गोल आएको छ । यो त्यहाँदेखि अहिलेसम्मको अवधिमा अरु कुनै टिमले खाएको हेड गोल भन्दा पाँच बढी हो । अमेरिकाले हेड मार्फत भएका ९ गोल खाएको छ ।

रुसका युरी जाजिन्स्कियले गरेको गोल विश्वकप २०१८ को पहिलो गोल बन्यो । उनको हेडर गोल विश्वकपमा गोलको सुरुवात गर्ने सन् १९९० पछिको पहिलो हेडर गोल बन्यो । सन् १९९० मा क्यामरुनका फ्रान्कोइस ओमाम बियीकले अर्जेन्टिनासँगको उद्घाटन खेलमा पहिलो गोल गरेका थिए र त्यो पनि हेड मार्फत ।

यो खेलमा मैदानमा रहेका रुसका सर्गेइ इग्नाशेभिच विश्वकप खेल्ने सबैभन्दा बढी उमेरको खेलाडी बने । उनी ३८ वर्ष ३३५ दिनका थिए ।

असार १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्