सगरमाथा जित्ने छोरीहरु भाग – २

जसले सगरमाथा चुम्‍ने बिउ रोपिन् र पूरा गरिन् त्यो अद्‌भूत यात्रा

काठमाडौँ– ‘नराम्रो नदेख्नु, नराम्रो नसुन्‍नु र नराम्रो नबोल्नु।’ भित्तामा बुद्धले इसारा गरेका तीन चित्र टाँगिएका थिए। प्रश्‍न– तपाईँले बनाउनु भएको हो?

‘हैन, एक जना साथीले उपहार दिएको’, तस्बिर झुण्डाएको डोरी किलोमा बस्दा एक तिर लामो र अर्कोतिर छोटो भएछन्, उनी मिलाउन थालिन्। भित्तामा अरु पनि हातले बनाएका पेन्टिङ् थिए, ‘तपाई पेन्टिङ् पनि गर्नुहुन्छ?’

‘हाहा, म के के गर्छु गर्छु….’

नामः रोशा बस्नेत

कामः पत्रकारिता

कार्यालय: राष्ट्रिय समाचार समिति

गहुँगोरो वर्ण, ५ फिट भन्दा अलि बढी हाइट, थाइकट कपाल छ। पातली नै हैन मोटी पनि छैन। आँखामा मोटा गोला फ्रेमको चस्मा, बाटोमा भेटघाट भएका र चिनजानमा भएकासँग लाज नमानी बोल्छिन्। चिनजानका मानिसलाई ठिकै छिन्। झ्वाट्ट हेर्दा ‘एभरेज गर्ल’।

तर भन्छन् नी स्टेजमा देखिएका चिजमात्र हुन्‍न, ‘पर्दा पछाडि’ धेरै कुराहरु हुन्छन्। कति देखिन्छन् कति ‘गुमसुम’। हामीले कुरा गर्दै गरेकी पात्र रोसा बस्नेतले आफ्नो परिचयमा एउटा ‘एभरेज’ शब्द हटाएकी छन्। गएको वैशाख ९ गते अगाडिसम्म यो उनी मात्र रोशा थिइन्, अब उनी सगरमाथा आरोही रोशा बस्‍नेत भएकी छन्।

ए, साहसी रैछिन् त। किन चढिछन् सगरमाथा? खुईखुई राम्रोसँग आफ्नो काम नगरेर। तर उनी उक्लिइन् सेताम्मे हिउँले ढाकेको डाडाँ, ‘मलाई सगरमाथा महशुस गर्नुथियो, गरेँ।’ उनले समुन्द्र सतहबाट ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा उक्लेरै छोडिन्। तर सगरमाथा उक्लने भन्ने बित्तिकै कामीरिता शेर्पाले २२ पटक सगरमाथा आरोहण गरेको रेकर्ड तोड्ने लक्ष्य चाहिँ थिएन।

सन् २०१६ को अक्टोबरमा जब पहिलो महिला सगरमाथा आरोहि जुनको तावेईको निधन भयो, उनी त्यति बेला उनलाई धेरै चिन्दिनथिइन् तर अलि पिडा पनि भयो। त्यसपछि हिमालसँग नाता गाँस्ने मनमनै अठोट बन्यो। यो निर्णय एक वर्ष अगाडि उनले गरेकी हुन्, जब हिमाल सम्बन्धी रिपोटिङ् गरेर फर्केकी पत्रकार सृष्टि काफ्लेले आफ्नो अनुभव सुनाइन्। रहर मुकुरिएर आयो, ‘सगरमाथा नै चढ्ने भएपछि नयाँ कीर्तिमान नै कायम गरौँ भनेर पत्रकार महिला टोली जमघट गर्ने निर्णय गरेँ।’

२०७५ साल वैशाख ९ – अनलाइनको हेडलाइन, फेसबुकको भित्ताभरी पाँच युवतीको फोटो सहित शुभकामनाका सन्देशहरु छ्यापछ्याप्ती छरिए, ‘सगरमाथा आरोहणमा नयाँ कीर्तिमान, महिला पत्रकारको टोलिले सगरमाथाको चुचुरोमा पाइला टेके।’ चुचुरोमा पाँचमध्येका ४ जना पुगेका थिए। एक जनालाई स्वास्थ्य समस्याले क्याम्प ३ बाटै फर्कनुप¥यो।

योजनाको  वीऊ रोप्दा उनले आफूजस्तै बहिनीहरुलाई एक साथ जम्मा गरिन्, सुरुमा १३ जना भए, तयारी गर्दैगर्दा ७ अनि हिमाल चढ्ने सहयात्री बन्‍ने बेलासम्म जम्मा ५ जना भए। रोशा बस्नेतसँगै देउराली चामलिङ, कल्पना महर्जन र रोजिता बुद्धाचार्य र प्रियालक्ष्मी कार्की। हिँडे हातमा हात मिलाएर विश्वकै सबैभन्दा अग्लो पहाड चढ्न।

सुरुमा जसजसले थाहा पाए उनीहरुलाई के गर्न लागेका होलान् यी महिला पत्रकारले भन्‍ने लाग्यो। यात्रा गर्ने बेलाको कुरा सम्झना आउँछ बस्‍नेतलाई। सगमाथा नामैमा गर्‍हौँ छ, त्यसमाथि टेक्ने साहस गर्न शारीरिक, मानसिक रुपमा मात्र सबल भएर भएन। अर्थको पाटो पनि आउँछ, जसलाई पूरा गर्नू अर्को सगरमाथाको यात्रा थियो उनको लागि। तर टोलिको साथले उनी सफल भइन् नयाँ किर्तिमानी बनाउन।

फेरि उनको कोठमा, बुद्धको पेन्टिङ भन्दा तल अलि अलि मिलाएको बेड। बेडको  खुट्टा पट्टि किताब मिलाएर राखिएको र्‍याक। बेडको सिरानपट्टिबाट लस्करै राखिएका बस्ने मेचहरु, मेचको तल एउटा निगालोले बुनेको ढक्कीमा रातो मुख हुने गरी कातेर राखिएको थियो। हामीले अन्तर्वार्ता लिने भनेपछि रोशाको आमा चिया लिएर आउनुभयो र ओछ्यान तन्काउन थाल्नुभयो। ‘कति धेरै बत्ती, केही पूजा हुँदैछ?’

‘छोरीको सगरमाथाको यात्रा सफल होस् भनेर मैले भाकल गरेको थिएँ। पूरा भयो, अब लाख बत्ती बाल्छु।’ रोशाले आमालाई सगरमाथा चढ्छु भन्दा छोरीलाई भन्ने थाहा भएन। ‘छोरी, भनेको कुरा पूरा गर्ने क्षमता भएकी हुन् तर हिमाल चढ्छु भन्दा अलि पीर लागेको थियो, छोरी हिँडेदेखि भगवानलाई पुकारेँ, दियो बालिरहेँ।’ छोरी सगरमाथा चढेको बेलामा सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले रोशाको आमालाई छोरी हिँडेको, चुचुरोमा पुगेको सबै अपडेट गराइरहेका थिए। रोशा शिखरमा पुगेको खबर बिहान ८ बजे थाहा पाउनुभएको थियो आमाले, त्यतिबेला उहाँ जीवनविज्ञान आश्रममा हुनुहुन्थ्यो।

‘छोरीले हिमाल चढेको दिन मलाई प्रेसर हाइ भएर हस्पिटल नै जानुपर्‍यो’ आफ्नो शरीरलाई अफ्ठेरो परेको कुरा बताइरहँदा पनि आमाको अनुहारमा खुसीको रंग झल्किएको थियो। ‘त्यो दिन डाक्टरले पनि खुसीले होला आमा भने, अस्पतालमा १० हजार खर्च पनि भयो।’ छोरी सगरमाथामा पुगेको खबर सुनेर खाना खाएर ढल्केपछि उहाँलाई यस्तो समस्या भएको हो। हाँस्दै  भन्नुभयो, ‘निहुँ पर्‍यो छोरी सगरमाथा पुगेको।’

‘सिंगल माइन्ड फोकस थियो त्यो बेला, हिँड्ने मात्र हिड्ने, हिमाल चढ्नु छ, सुरक्षित फर्कनु छ।’ यो अप्रिल १८ पछिको कुरा हो। उनीहरु यति बेला काठमाडौँ छोडेर हिमालको काखमा छन्। सगरमाथाको यात्रामा दिमागलाई पहाड उक्लनु बाहेकको केही दबाव थिएन। खाने, हिँड्ने अनि सुत्ने, फेरि हिँड्ने। रोशा भन्छिन्, ‘खाना राम्रो रुचेन, सञ्चो नहोला जस्तो छ यस्तै हो पीर खान बनाइदिने अरु हुन्थे।’ सबै अरुले ठिक्क पारेको ठाउँमा जाने, खाने अनि सुत्ने। आनन्द थियो, पानीको बिल, बिजुली आएन, नेट टिपेन, केही थिएन। न तरकारी किन्ने ठाउँमा बार्गेनिङ गर्नुपर्ने, अफिस ढिला पुग्यौँ भन्ने पनि छैन।

रिपोर्टिङको क्रममा मलेशियन पत्रकार भेटिए,  सगरमाथा बेस क्याम्पसम्म ट्रेकिङको लागि आएका रहेछन्। पत्रकार, त्यो पनि विदेशी, उनीहरु त्यहाँ देखि हाम्रो देशमा आइपुगेका छन् भने हामी किन सक्दैनौँ। ‘कलम समाउने हातले आइस एक्स समाउन थालेपछि पेसा नै परिवर्तन हुने सम्भावना हुन्छ।’ हिमाल चढ्ने धुनले छोएपछि छोयो छोयो।

रोशा नेपालको साइडबाट सगरमाथाको चुचुरोमा पुगिन्। ‘सगरमाथा मेरो लागि स्पिरिच्युल जर्नी थियो, पुग्ने बित्तिकै मैले मेरो कर्मकाण्ड पूरा गरेँ।’ रोशाको लागि सगरमाथाको चुुचुरो भगवान थिए, पुगेर ढोग्न आयो। उनले व्यागमा शिवलिंग लगेकी थिइन्। त्यसलाई स्थापना गरिन्। सोचाइको भगवानलाई धन्यवाद दिइन् र आफूलाई त्यहाँ पुर्‍याउने शेर्पालाई धन्यवाद पनि।

यो सबै विचार शून्य अवस्था हो। यहाँ हुँदा धेरै कुरा गरौँला चुचुरोमा पुगेर भन्ने हुन्छ तर त्यहाँ पुग्दा सबै शून्य। यो कुरा सुनेको पनि हो, पढेको पनि हो। पुग्दा पुग्दै, धेरै उचाइमा जाँदा शरीरलाई दिमागले गाइड गरेको हुन्छ। टुप्पामा पुग्दा एउटै कुरा मात्र याद आएको थियो, ‘दिस इज द हाइएस्ट पोइन्ट अन अर्थ।’ उनी चुचुरोमा पुग्ने टोलि मध्येमा तेस्रो थिइन, उनीपछि पत्रकार टोलिकी अर्को एक जना आइपुगिन् र त्यसपछि पत्रकार महिला बाहेक अर्को एक जना आरोही अनि उनको शेर्पा। ‘ओहो कति साना साना हिमाल, साँच्चै यो भन्दा माथि आकाश मात्र होला है, आकाश अब कति माथि होला है जस्तो लाग्ने।’

१२ घण्टा लगाएर उचाइमा पुगेको, आफ्ना अगाडि भएका शेर्पाको बाहेक कसैको पनि खुट्टा देखिँदैथ्यो। उचाइबाट कसरी फर्कने भन्ने लाग्यो उनलाई किनभने, जान जति कठिन थियो, फर्केर आउँन त्यो भन्दा धेरै कठिन। मौसम अनुकूल भएको थियो, अक्सिजन पर्याप्त थियो भने उनीहरु असाध्यै उपयुक्त समयमा पुगेका थिए। माइनस ४० डिग्रीको तापक्रममा बिहान ७ बजेर ४५ मिनेट जाँदाको न्यायो घाम महशुस गर्ने मौका मिल्यो। ‘अक्सिजन माक्स निकालेर बोल्न पनि मिल्ने अवस्था थियो।’ आधा घण्टाजति बसेपछि उनीहरु फर्किए।

उनको परिवारमा अहिले विवाह गरेर गएका दिदीहरु बाहेक एक भाइ र आमा छन्। यो बाहेक उनलाई उनको कार्यालय, पूर्व प्रधान सेनापछि रुक्माङ्द कटुवालले सहयोग गरे। ‘कटुवाल सरले भन्नुभएको थियो, यू गर्ल आर गोइङ्ग टु राइज एण्ड साइन। अनि फर्केपछि बधाई छ भन्नुभयो।’ अभिनेत्री मनीषा कोइरालाले पनि उनको टोलीलाई सहयोग गरिन्। उनका हजुरबुबा स्वर्गीय प्रधानमन्त्री विपी कोइरालाले चीनसँग कुटनीति रुपमा सगरमाथा नेपालमा परेको हो भनेको इतिहास छ।

उनीहरुले मनिषा कोइरालालाई उनले अभिनय गरेको गीतमा भिडियो बनाएर पनि पठाए, ‘आज मे उपर, आसमा निँचे’ बोलको गीतमा भिडियो बनाएर पनि पठाए।

‘सगरमाथाबाट तल झर्ने अनुभव अलि डर लाग्‍ने छ। सगरमाथाको आरोहण गर्दा १० हजार ‘क्यालोरी’ खपत हुन्छ भन्‍ने थियो, हामीले त्यत्रो खाएकै हुँदैनौँ। बल्ल बल्ल पाइला चाल्यो, खुट्टाले भर गर्दैन चिप्लियो। बल्ल अडिन्छ।’ यो बेलामा शेर्पाको डोरीले रोकेको थियो नत्र के हुन्थ्यो थाहै छ्रैन।। एकै रफ्तारमा हिँड्नु भनेको मानेर पनि उनीहरुलाई सजिलो भयो।

उनीहरुको साथीहरु मध्येको एक प्रियालक्ष्मी चुचुरोमा पुग्न सकिनन्। सुरुमा सबै सँगै चुचुरोमा पुगौँ भन्ने थियो, तर हिँडाइको गति, मौसमले सबै चुुचुरोमा एकैपल्ट पुगिन्छ भन्ने थिएन। ‘प्रियालाई अलिअलि लक्षण पहिला नै देखिएकोले पनि जे पनि हुन सक्छ, म जसरी नि चुुचुरोमा पुग्नुपर्छ भन्ने लाग्यो, मसँगै हिँड्न पनि खोजेको हो, तर शेर्पाले मलाई अगाडि बढ्न आदेश दिए।’ , ‘त्यो ठाउँ लिभ बिहाइन्ड, वाक फरवार्ड भन्ने थियो। हाम्रो समुहमा एक जनाले भएपनि समिट गर्नुपर्ने थियो, प्रिया शेर्पासँग सुरक्षित छ भन्ने थाहा पाएपछि म अगाडि बढेँ।उनी तल पुगेर फेरि आउँछ भन्ने थियो, तर उसलेआफ्नो स्वास्थ्य हेर्‍यो, राम्रो निर्णय लियो।’

हिमालसँग रोशालाई मोह छ। त्यसले नै तानेर हिमाल पुर्‍याएको हो। आएको एक सातापछि आफ्नै घरको बिछौनामा निदाएर बिउझिँदा पनि सगरमाथा बेस क्याम्पमै नै छु जस्तो लागेको थियो। ‘३६० डिग्रीमा हिमाल देखिन्छ, कम्तीमा जीवनमा एकपल्ट भए पनि एभरेष्ट बेस क्याम्पमा पुग्नुपर्छ।’ उनले भनिन्।

एक वर्षको तपस्या सकिएको छ। अब फर्केर आएपछि नयाँ जोश जाँगर छ, ‘अझ बढी डेडिकेशन, फोकस भएको छु, हामी आफैँ एउटा उदाहरण पनि भयौँ जस्तो सुकै च्यालेन्ज आएपनि हामी काम फत्ते गर्न सक्छौँ।’ अहिले उनको फिक्स जब छ, ९ देखि ५ बजेसम्म। अब आउने दिनमा दाल भातको लागि गर्ने मेहनत पछि अरुलाई च्यालेञ्जसँग लड्न सिकाउने योजना छ।

असार १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्