रोनाल्डोको ह्याट्रिकले मेस्सीमाथि पर्‍यो दबाब

तस्बिर : गेट्टी इमेज

रुसमा जारी विश्वकपमा यो शताब्दीकै दुई उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी सम्भवतः विश्वकप जित्ने आफ्नो अन्तिम प्रयासमा छन् ।

दुवै खेलाडी गएको एक दशकदेखि आलोपालो जस्तै गरी वर्ष खेलाडी बन्दै आएका छन् । तर उनीहरुले देशका लागि विश्वकप जित्न सकेका छैनन् ।

रोनाल्डोले दुई वर्षअघि युरोकपको उपाधि जितेर केही उपलब्धी त हात पारेका छन् तर विश्वकप अझै अपूरो छ । यस्तै मेस्सीले ओलम्पिकमा मेडल बाहेक जित्न सकेका छैनन्, राष्ट्रिय टिमबाट ।

विश्वकप अन्तर्गत क्रिष्टियानो रोनाल्डोले शुक्रबार राति भएको खेलमा ह्याट्रिक गरे । उनकै ह्याट्रिकको सहयोगमा पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोक्न सफल भयो ।

अब दबाब अर्का स्टार खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सीमाथि आएको फुटबल पण्डितले बताएका छन् । रोनाल्डोको ह्याट्रिकले अब मेस्सीमाथि दबाब परेको म्याच अफ द डेका फुटबल पण्डित रिओ फरडिनान्डले बताएका हुन् ।

उनले भने, ‘रोनाल्डोले जस्तै पूरै टिमको जिम्मेवारी आफूमा लिन सक्ने क्षमता भएका अर्का खेलाडी हुन्, लियोनल मेस्सी । रोनाल्डोको उत्कृष्टताको चाह जहिले पनि चाहेर वा नचाहेर मेस्सीसँग जोडिएको हुन्छ र मेस्सीको रोनाल्डोसँग । अब मेस्सीमाथि दबाब परेको छ ।’

मेस्सीको टिम अर्जेन्टिनाले शनिबार राति पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । रोनाल्डोको प्रदर्शन हेरेपछि मेस्सीमा पक्कै दबाब परेको हुनुपर्छ ।

असार २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्