मेस्सी चुके : अर्जेन्टिना १-१ आइसल्याण्ड

मेस्सीका लागि सायद यो खेल होइन रहेछ

सायद विश्वकप फुटबल अन्तर्गत आइसल्याण्डसँगको पहिलो खेल स्टार खेलाडी लियोनल मेस्सीका लागि होइन रहेछ ।

रुसमा भएको पहिलो खेलमा समूह डी को अर्जेन्टिना पहिलो पटक विश्वकप खेलेको आइसल्याण्डसँग १-१ को बराबरीमा रोकियो ।

खेलमा दबाब अर्जेन्टिनाको थियो । बलमा नियन्त्रण उसकै थियो । तर सानो देश आइसल्याण्डले विश्व फुटबलका महान खेलाडी रहेको टिम अर्जेन्टिनालाई ठूलो अवरोध खडा गर्यो ।

स्टार खेलाडी मेस्सीले आइसल्याण्डसँगको खेलमा पेनाल्टीमा गोल गर्न सकेनन् । खेलको ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सी चुकेका हुन् । आइसल्याण्डका खेलाडीले पेनाल्टी एरियामा लडाएपछि मेस्सीले पेनाल्टी पाएका थिए । तर उनले गोल गर्न सकेनन् ।

उनले गोल गरेको भए अर्जेन्टिनाले अग्रता लिने थियो । तर मेस्सीको पेनाल्टी प्रहार आइसल्याण्डका गोलरक्षक ह्यान्स थोर ह्यान्डोर्सनले सुन्दर बचाउ गरे ।

ह्यान्डोर्सनले यो विश्वकपको पहिलो सहभागितामै यो शताब्दीकै सर्वोत्कृष्त खेलाडीका रुपमा मान्ने गरिएका मेस्सीको पेनाल्टी प्रहार रोकेका हुन् । उनी आइसल्याण्डका अनुभवी खेलाडी हुन् ।

पेनाल्टीमा चुकेका मेस्सीले त्यस अघि र पछि पनि गोल गर्ने प्रयास गरे र बल प्रहार गरे । तर उनी सफल हुन सकेनन् । मेस्सीले यो खेलमा १० पटक पोस्ट प्रहार गरेर सबैमा असफल रहे ।

खेलको अन्तिम समयमा मेस्सीले फेरि फ्रि किकको मौका पाए । तर मेस्सीले त्यसमा पनि गोल गर्न सकेनन् ।

तर यो शताब्दीका उत्कृष्ट खेलाडीमा प्रतिस्पर्धा हुने पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले भने एक दिनअघि मात्रै यस्तै फ्रि किकमा गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए ।

रोनाल्डोले शुक्रबार स्पेनसँगको खेलमा ह्याट्रिक गरे । उनले पेनाल्टीमा गोल गरे, फ्रि किकमा गोल गरे । तर मेस्सी भने पेनाल्टीमा चुके, फ्रि किकमा पनि चुके ।

यस्तै गोल गर्ने अरु प्रयासमा पनि सफल हुन सकेनन् । यो खेल मेस्सीका लागि होइन रहेछ जस्तो देखियो । उनले गोल गर्ने राम्रा प्रयासहरु गरेका हुन् । तर काम लागेन । रोनाल्डोले जादुमयी प्रदर्शन गरेको भोलिपल्ट भएको खेलमा मेस्सी चुकेकाले तुलना झन भएको छ ।

मेस्सीलाई गोल गर्न नदिने माध्यम बनेका आइसल्यााण्डका गोल रक्षक ह्यान्डोर्सन म्यान अफ दि म्याच भए । उनी आइसल्याण्डको जित जस्तै बराबरीका हिरो हुन् ।

यस्तै २३ औँ मिनेटमा आइसल्याण्डका लागि पहिलो विश्वकप गोल गर्ने अल्फ्रेड फिनबोगासन पनि अर्का हिरो हुन् । उनले अर्जेन्टिनाका सर्जियो अग्युरोको गोलका लागि बराबरी गोल गरेका हुन्।

असार २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्