हिले पानी पर्न रोकिएन, पश्चिम तराईमा राजस्थानबाट आएको धुलोको प्रभाव बढी

तस्बिर : अर्जुन पोख्रेलको ट्वीटरबाट

काठमाडौँ – भारतको राजस्थानबाट आएको बालुवा तथा धुलोको असर अहिले पनि कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राजस्थानमा धुले आँधी चल्ने क्रमम केही कम भए पनि त्यहाँबाट पश्चिमी वायुले ल्याएको बालुवाका कण तथा धुलो नेपालमाथिको वायुमण्डलमा रहेकाले प्रभाव अझै केही दिन रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा केही दिनदेखि बालुवाका कण र धुलो मिसिएको फोहोर पानी परेको छ । अहिले पनि यो क्रम जारी रहेको मौसमविद श्रेष्ठले जानकारी दिए ।

नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायुका कारण आएको धुलो अझै केही दिन बाँकी रहने उनले बताएका छन् । काठमाडौँ उपत्यकासहित मध्य तथा पूर्वका क्षेत्रमा आइतबार दिनभर बदली हुने र पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै पश्चिमका पहाडी क्षेत्रमा पनि बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए । पश्चिम तराईमा बदली तथा पानी पर्ने सम्भावना कम छ । तर त्यहाँको मौसम भने खुलेको छैन ।

पश्चिमी वायुले ल्याएको धुलोका कारण त्यहाँको मौसम धुम्मिएको छ । पश्चिम तराईमा भारतको राजस्थानमा आएको धुले आँधीको प्रभाव बढी देखिएको मौसमविद श्रेष्ठले बताए ।

मनसुन अहिले निकै कमजोर रहेको र वायुमण्डलमा रहेको धुलो पखाल्ने गरी पानी पर्न नसकेकाले पनि यस्तो समस्या देखिएको हो ।

असार ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्