आईसल्यान्डका गोलरक्षक भन्छन्-मेसीमाथि मेरो तयारी थियो

मस्को- विश्‍वका सर्वोत्कृष्ट खेलाडि लियोनल मेसीको पेनाल्टी प्रहार रोकेपछि यतिबेला आईसल्यान्डका गोलरक्षक हान्‍नेस थोर हाल्डरसन चर्चामा छन्।

विश्‍वकपअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा शनिबार साँझ साविक उपविजेता अर्जेन्टिनाविरुद्ध उत्रिएको आईसल्यान्डले १-१ गोलको बराबरी खेलेको थियो।

खेल १-१ गोलको बराब‍री भएको अवस्थामा दोस्रो हाफको मध्यतिर हाल्डरसनले मेसीको पेनाल्टी रोकेका थिए। त्यसबाहेक अन्य केही अवसरमा हाल्डरसनले टोलीको संकट टारेका थिए। पेनाल्टी चुकाएकोमा र टोलीलाई जिताउन नसकेकामा मेसीको आलोचना बढ्दो छ।

हाल्डरसनले खेलपछि मेसीमाथी आफुले विषेश तयारी गरेको बताएका छन्। उनले खेलपुर्व मेसीमाथि रिसर्च गरेको र त्यही कारण उनले कतातिर बल प्रहार गर्न सक्छन् भन्नेबारे थाहा पाउन सकेको बताएका छन्।

‘मेरा लागि,गोलरक्षकका रुपमा विश्वकपको पहिलो खेलमा आईसल्यान्डको प्रतिनिधित्व गर्न पाउनु र विश्वकै सर्बोत्कृष्ट खेलाडीको सामना गर्नु  विर्सन नसकिने क्षण हो’, हाल्डरसन भन्छन्, ‘ उक्त पेनाल्टी बचाउनु सपना पुरा भएजस्तै थियो। खासगरी हामीले एक अंक पाएका छौं र अघिल्लो चरण पुग्न यो सहयोगी हुने छ।’

आईसल्यान्ड पहिलो पटक विश्वकप खेलिरहेको छ। पहिलो पटक युरोकप खेल्नेक्रममा उसले दुई वर्षअघि आयोजित प्रतियोगितामा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो।

‘मैले केही गृहकार्य गरेको थिएँ। मलाई यस्तो अवस्था आउन सक्छ भनेर थाहा थियो। मैले मेसीका धेरै पेनाल्टी हेरेको थिएँ। मैले पनि आफुले सामाना गरेका पछिल्ला केही पेनाल्टीको अध्ययन गरेको थिएँ।

 

मेसीले पेनाल्टी प्रहार गर्दा मेरोबारे केही सोचिरहेका छन् भन्‍नेबारे अनुमान गरेँ र उनले प्रहार गर्ने दिशा थाहा पाउन सजिलो भयो’, हाल्डरसन भन्छन्। आईसल्यान्डले समूहगत चरणका अन्य खेलमा क्रोएसिया र नाइजेरियाको सामना गर्ने छ। अर्को खेलमा क्रोएसियाले नाइजेरियालाई हराएको थियो।

असार ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्