राज्य र राज्यका प्रणालीबारे नेकपा कार्यकर्ताकै यस्तो बकपत्र!

प्रणाली नभएको देशमा बाँच्नमात्र होइन, मर्न पनि कति गाह्रो!

साथीभाइहरुले आलोचनात्मक भएकोमा रचनात्मक हुन सल्लाह पनि दिन्छन्। मनन पनि गर्दै छु। नजान्दैदेखि संगठित हुनु पनि अजिबको अनुभव हो। जानिनजानी परिवर्तनका लागि सडक नाप्नुको मज्जा, परिवर्तनको लागि मुठ्ठी उचालेर गगनभेदी नारा लगाउनुको रोमाञ्चकता सम्झँदा पनि आन्नद लाग्छ। अझ त्यो दुर्गम मानिने रोल्पा र रुकुम लगायतका किशोर – किशोरीहरुले बन्दुकै बोके!?

म भने बन्दुक मन पराउँदैनथे, मूलत: हिंसा मन पर्दैनथ्यो. आज ठ्याक्कै उनीहरु र मजस्ता जो निम्न मध्यमवर्गीय परिवारमा हुर्के र जस्तो सपना देखे,  समाज त आफूले चाहेको जस्तो पो बनाउने हो कहाँ हामी समाजले भने हुन्छौँ भन्ने कुरालाई आत्मसात गर्दै संगठित भए।

नेतृत्व कर्ता कस्ता थिए? को थिए ? मतलब नै गरिएन। गर्न सक्ने कुरा पनि भएन। उमेर , चेतना र अवसरमा पक्कै पनि सीमितता थियो। तर तिनै जो हामी (म) सम्म संगठित गर्न पुगे, तिनीहरु कम क्रान्तिकारी थिएनन्। परिवर्तनका कुराले भित्रैदेखि जुरुक्क पार्थे। मैले संगठित भएको त्यत्तिबेलादेखिको पार्टी अहिले भीमकाय भएको छ। सरकारमा छ। म जतिजति बुझ्दै र जान्दै गएँ, त्यत्ति नै बुझेको छु, दलीय व्यवस्थामा कुनै पनि देश देश बन्न, समृद्ध हुन, सुखी हुन त्यहाँको पार्टी वा दल बलियो बन्नु पर्छ, पारदर्शी बन्नु पर्छ। जवाफदेही हुनुपर्छ।

यो सानो मुलुकले परिवर्तनका नाममा चलेका अनेकौँ राजनीतिक आँधीहुरी बेहोर्‍यो। त्यो ब्यवस्था परिवर्तनका लागि अनेकौँ आन्दोलनहरु भए, प्राय सफलतामा टुंगिएका आन्दोलनहरुले समाजलाई किन एउटा स्तरमा पुर्‍याउन सकेन? आजको मुख्य संकट र प्रश्न यही हो।

सन् १९८८ मा इकोनोमिस्टमा नोबेल पुररस्कार विजेता प्राध्यापक अमर्त्य सेनले विकासलाई परिभाषा गर्ने क्रममा भनेका छन्, ‘राजनीतिक स्वतन्त्रतासँगै आर्थिक र सामाजिक अवसर, पारदर्शिता र सामाजिक सुरक्षा नभएको अबस्थालाई विकास मान्न सकिँदैन।’ प्रोफेसर सेनको दृष्टिकोणबाट नेपालको सन्दर्भमा हेर्ने हो भने हाम्रो अबस्था कस्तो देखिएला? न सामाजिक सुरक्षा छ, न आर्थिक अवसर? न पारदर्शिता? न जवाफदेहीता? केही छैन भन्यो भने निराशावादी भइएला! तर, दलको जिम्मेवार कार्यकर्ता भएर हेर्दा, समाजशास्त्र को कखरा सिक्दै गरेको बिद्यार्थी भएर हेर्दा आशावादी हुन अप्ठ्यारो महसुस हुन्छ।

गतवर्ष पानी बर्सिएको दिन स्कुलबाट फर्किँदै गरेकी नानी ढलले बगायो भनेर हल्ला फैलियो। र, एकैछिनपछि सामाजिक सञ्जालमा भिडियो देखियो। मुख्य सडकमै ठूलो भंगालोमा फसेकी नानीको कसैले समातेर तानेर उद्धार गरे। तिनी र तिनका बाआमाको खुशी र सपना खोसिएन। तर, मेरो टोलको हल्ला गलत भएन। त्यही समयमा अर्की स्कूलबाट फर्किँदै गरेकी नानीलाई भलले बगायो। ४ किमी तल तिनको शव भेटियो। त्यस दिन मेरो टोलका थुप्रै बाआमाहरु आफ्ना नानीहरु च्यापेर रोए। धिक्कारे नियतिलाई। काल्पनिक जस्ता लाग्ने यस्ता विनाश के हामीले निर्माण गरेको होइन? हाम्रो प्रणालीले गरेको होईन? ती कलिलो नानीको हत्यारा हामी नै होइनौँ र?

हिजो चिनजानको दिदी स्कुटर दुर्घटनामा परेर बित्नुभयो। नयाँबजार मुख्य सडकमा दिउँसो ११.३० बजे। स्कुटर चालक एवम् तिनै दिदीका श्रीमान सामान्य घाइते हुनुभएको रहेछ। उहाँलाई शव राखिएनजिकैको बेडमा उपचार गरिँदै थियो। उहाँको मानवीय भावनाको वेवास्ता गरिएको थियो, हस्पिटलमा कता लाश राख्ने? कहाँ बिरामीको उपचार गर्ने समेत निश्चित ठाउँ थिएन। बिरामीलाई पर्ने मानसिक चोटको केही मतलब नै थिएन, त्यो थियो एउटा निजी मेडिकल कलेज।

आफन्त र पुलिस भेला हुन केही समय लाग्ने नै भयो। ३.०० बजेतिर पुलिसमा जाहेरी दिउँ, पोस्टमार्टम गरौँ र अन्तिम संस्कार गरौँ भन्ने कुरा भयो। तर ३.०० बजेपछि त पोस्टमार्टम नहुने रैछ। देश धन्न चलेको छ। एक त दुर्घटनामा उमेरदार मान्छे मारियो, तिनका छोराछोरी, बच्चाबच्चीको हालत सम्झिसाध्य छैन। अर्को ३.०० बजेपछि राजधानीमा एउटा शवको पोस्टमार्टम हुन्न? प्रणाली नभएको देशमा बाँच्न मात्र होइन, मर्न पनि कति अप्ठ्यारो हुने रैछ।

सम्झिएँ- मैले विश्वविद्यालयमा पढेकाे अमर्त्य सेनको डेभलमेन्ट याज फ्रिडम र मेरै दलको चुनावी घोषणा पत्र। नेकपाको मात्र होइन, अहिले संसदमा प्रतिपक्ष कांग्रेसको घोषणापत्र पनि नेकपाको जस्तै छ। जसले स- साना मानिने र मानवीय जीवनका अत्यावश्यक कुरा छोडेर धरातलभन्दा माथिको कुरा गरेको छ। हाम्रो आधार र धर्ती छोडेर गरेको कुराले के हामीलाई डोर्‍याउला? दलहरुको घोषणापत्र, सरकार, स्थानीय तहको कार्यशैली, हामीले अहिले भोगिरहेको बास्तविकता, नेता र मन्त्रीहरुले गर्ने मिठो भाषण, मन्त्रीहरुको असीमित लोकप्रियताको भोक र समाजको तल्लो तहका मान्छेहरुले बाँचेको समस्याग्रस्त जीवनबीच कहीँ तालमेल देखिँदैन। एउटा लक्ष्य भएको देशमा यस्तो हुन्छ र?

असार ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्