मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २८)

मबिरुद्ध षड्यन्त्रकारीहरुले ठूलो षड्यन्त्र गरे

नेपालमा न्यूरोलोजिकल सार्क कन्फ्रेन्स गर्ने एउटा धोको पूरा भयो। यसबारे मैले यसअघि नै वर्णन गरेको छु। अर्को मेरो धोको न्युरोसाइन्स, न्यूरो सर्जरी, न्यूरोलोजीको छुट्टै अस्पताल बनाउने। त्यसमा म १९८९ देखि लागिपरेँ। लाग्यालाग्यै, लाग्यालाग्यै। जहाँ सरकारी जग्गा देख्यो, अप्लाई गर्‍यो, तर पाउँदै नपाउने। मैले थाहा नपाएको जग्गा नै छैन काठमाडौँमा। तिलगंगा आँखा अस्पताल बन्नुभन्दा पहिलादेखि नै हेरेको मैले। यसो हेर्‍यो, एक्प्लोर गर्‍यो, मिल्ला मिल्लाजस्तो हुन्छ, अनि अर्कैले उछिट्याइदिन्छ। छुट्टै अस्पताल बनाउने योजना पार लगाउन निकै कठिन भो। सरकारी क्षेत्रमा झेलेको यो कठिनाइपछि एनजिओ मार्फत गर्छु भन्ने सोचेँ। त्यो पनि झन्झटिलो देखियो।

दुईओटा काम मेरो बाँकी रह्यो, एउटा अस्पताल बनाउने। त्यसपछि पोष्ट ग्राजुएट ट्रेनिङ सुरु गर्ने, पोस्ट ग्राजुयट ट्रेनिङ सुरु गर्नलाई वीर हस्पिटलमा सम्भव थिएन। आफू युनिभर्सिटीको पार्ट पनि भइएन। अन्तत: मैले धेरै मेहनत र घुमाउरो बाटोबाट काठमाडौँ युनिभर्सिटीबाट अफिलिएसन लिएर वीर हस्पिटलमा प्रोगाम सुरु गरेँ। अनौठो लाग्ला सबैलाई। त्रिभुवन युनिभर्सिटीले एक वर्षसम्म त्यो फाइलमाथि बस्याबस्यै गर्‍यो। फाइल माथि उक्लिन दिएन। त्रिभुवन युनिभर्सिटीसँग अफिलियसन लिएर वीर हस्पिटलमा प्रोगाम सुरु गर्छु भनेको दिँदै दिएनन्। स्वास्थ्य मन्त्रालयले पनि सरकारी अस्पताल कहाँ प्राइभेट युनिभर्सिटीको प्रोगाम चलाउने भनेर रोक्यो। अन्त्यमा घुमाउरो पाराले मैले देशको जुनसुकै युनिभर्सिटीको अफिलियसन भए पनि हुन्छ भनेर चिठी फुस्काएँ। काठमाडौँ युनिभर्सिटीमा अप्रोच गरेर अफिलियसन लिइहालेँ। त्यो धेरै ठूलो उपलब्धि भयो। १९९९ मा मैले पोस्ट ग्राजुयट प्रोगाम पनि सुरु गरिहालेँ, न्यूरो सर्जरी तालिम गर्ने। यसरी सर्भिस विकास भयो। तालिम सुरु भयो तर छुट्टै अस्पताल सुरु गर्ने सपना चाँहि बाँकी रह्यो।

न्यूरो सर्जरी नेपालमा ल्याउनुको तीनओटा पाटो थियो। तीनओटै लक्ष्य पूरा गर्न मैले त्यही किसिमको ट्रेनिङ बेलायतमा गरेको थिएँ। ती तीन उद्देश्यहरु थिए,
१. न्यूरो सर्जरी सेवा स्थापित गर्ने,

२. न्यूरो सर्जरीको तालिम देशभित्र नै सञ्चालन गर्ने र न्यूरो सर्जन देशभित्र नै उत्पादन गर्ने,

३. न्यूरो सर्जरी र न्यूरोलोजीको विशाल इन्स्टिच्यूट तयार गर्ने। इस्टिच्युट अफ न्यूरो साइन्स स्थापना गर्ने।

यसका पछाडि मैले आफूले देखेको, भोगेको अनुभवले ठूलो भूमिका खेलेको थियो। मैले बेलायतमा जुनजुन ठाउँमा काम गरेँ, त्यो सबै न्यूरोलोजिकल इन्स्टिच्युट नै थिए। त्यो कुनै जनरल हस्पिटलभित्रको २०, ३० वेडको डिपार्टमेन्ट मात्र थिएन। ग्लास्गो ठूलो इन्स्टिच्यूट हो, सबैभन्दा अत्याधुनिक थियो त्यो बेलामा। त्यसपछि एट्किन्सन्स मोर्ली पनि न्यूरो साइन्सेस मात्र थियो। अरु जनरल हस्पिटल केही थिएन। क्विन्स स्क्वायर त संसारकै सबैभन्दा पुरानो न्यूरोलोजिकल इन्स्टिच्यूट थियो। यसरी न्यूरोलोजिकल इन्स्टिच्यूटमा काम गरेपछि जे देखियो, जे सिकियो, त्यही गर्न मन लाग्ने नै भयो। नेपालमा त्यसको फाइदा पनि मैले प्रचूर देखेको थिएँ।

न्यूरोलोजीको बिरामीको लागि स्थापित डेडिकेटेड न्यूरोलोजिकल इन्स्टिच्यूटमा जति राम्रो सेवा अन्त कतै पाइँदैन। त्यो देखेको भएर अन्तिममा न्यूरोलोजिकल इन्स्टिच्यूट स्थापित गरेर त्यो इन्स्टिच्यूटभित्र तालिम/ सेवा सबै कुरा सञ्चालन गर्ने लक्ष्य राखेको थिएँ। यी तीनओटा या तीनखुट्टे उद्देश्य लिएर म नेपाल फर्केको। भनिन्छ, जे देखिन्छ, त्यही गरिन्छ। बेलायतमा आफूले तालिम लिएका संस्थाहरु विशाल, त्यही लेबलका भएको भएर मैले चाहिँ वीर अस्पतालको एउटा डिपार्टमेन्ट बनेर बस्ने चाहना राखेँ, शुरुमा त्यो उद्देश्यको लागि मैले वीर अस्पतालमा पोस्ट ग्राजुयट गर्नेसम्मको कुराकानी पहिला पनि गरिसकेँ।

सेवा स्थापित गरेँ, वीर हस्पिटलमा। तर सबैभन्दा ठूलो न्यूरोलोजिकल इन्स्टिच्यूट बनाउने मेरो धोको चाहिँ बाँकी नै रह्यो। त्यसमा म सुरुदेखि नै काम गर्न लागेको हो। जसले जे सुकै भने पनि चारओटा विषयको लागि केन्द्रीय स्तरमा नेसनल इन्स्टिच्यूट चाहिन्छ भनेर मैले एड्भोकेट गरेको हो। त्यसमा न्यूरोलोजिकल साइन्सेसको चाहिन्छ, कार्डियोलोजीको चाहिन्छ, पिडियाट्रिक्सको चाहिन्छ, अनि क्यान्सरको चाहिन्छ। यिनीहरुलाई विकेन्द्रीकृत रुपमा राखिने कुरा पनि होइन। यिनीहरु केन्द्रीकृत हुन्छन्।

मैले एड्भोकेट गर्दा चारओटै विषयको गरेँ। त्यो विषयमा पहिला आइडिया नै थिएन।

तर न्यूरोलोजीलाई, न्यूरोसर्जरीलाई कसरी बाइपास गर्ने भनेर धेरै तल्लो लेबलको पोलिटिक्स खेलियो। म पछि पनि आउँछु त्यसमा, त्यो मेरो लागि एकदमै तितो अनुभव हो। त्यसलाई म मिठो बनाएर भन्न सक्दिनँ। किनभने मेरो जिन्दगीको धेरै बहुमूल्य समय बर्बाद भएको छ। अन्तिममा ठूलो षडयन्त्रमूलक तरिकाले न्यूरो सर्जरी, न्यूरोलोजीलाई त्यो दौडबाट आउट गरियो। त्यसलाई मैले धेरै सहज तरिकाले लिएको छैन। एउटा मान्छेको जिन्दगी त्यहाँ व्यतीत गर्न लगाइयो। मेरो कन्सेप्ट पहिलादेखि नै क्लियर थियो।

यी ४ ओटा विषयमा केन्द्रीय लेबलमा ठूला इन्स्टिच्यूट चाहिन्छ। अनि त्यसका शाखा प्रशाखाहरु अन्त लैजाने हो। यिनीहरु हरेक अस्पतालमा खोल्न सकिँदैन। बेलायत सरकारले सकेन, अमेरिकाले सकेन भने नेपालले सक्दैन। अहिले जे भइरहेको छ, हरेक नर्सिङ होममा एउटा एउटा डिपार्टमेन्ट सबै विषयको, त्यो गलत हो। उनीहरुले स्तरीय सेवा दिन सक्दैनन्। यी चार ओटा विशेषज्ञ सेवाहरु केन्द्रीय स्तरमा या केन्द्रीकृत रुपमा हुन्छ। अरु सेवाहरु विकेन्द्रीकृत गरिन्छ। तर हाइलिस्पेसलाइज अथवा कार्डियोलोजी, न्यूरो सर्जरी, न्यूरोलोजीको, क्यान्सर र बच्चाहरुको सेवा जहिले पनि केन्द्रीकृत हुन्छन्।

त्यो इन्स्टलमेन्टमा हुन्छ, पहिला रिसर्च हुन्छ, तालिम हुन्छ अनि सेवा पनि उपल्लो स्तरको हुन्छ। त्यो उद्देश्य लिएर आएको म केही महिनापछि देखि नै अब इन्स्टिच्यूट खोल्नु पर्‍यो भनेर दौडिन थालेँ। त्यो बेलामा अहिले कार्डियोलोजी इन्स्टिच्यूटका डाइरेक्टर हुने व्यक्तिले मेडिसिन पनि पढ्न थाल्नु भएको थिएन होला। क्यान्सरका विशेषज्ञ यो देशमा जन्मेका पनि थिएनन्। उनीहरु भन्दा पहिला म इन्स्टिच्यूट चाहिन्छ भनेको मान्छे। नबुझेर होइन बुझेर।

तर दुर्भाग्य के भने मैले मित्रभन्दा धेरै शत्रु या एडभर्सरीहरु कमाएको रहेछु। पेशागत रुपमा मलाई सहयोग गर्न धेरै मान्छेहरु अगाडि आउनुभएन। तर कहिलेकाहिँ आपत् पनि अवसर लिएर आउँछ। पूर्वमन्त्री रविन्द्रनाथ शर्माजी को छोराको एक्सिडेन्ट भएर वीर हस्पिटलमा भर्ना भएको बिहान ५ बजे फोन आयो।

मैले बिहान ५ बजे नै गएर तत्काल अप्रेसन गरेँ। टाउकोमा रगत जमेको रहेछ। राति कतै दुर्घटना भएर सडकमा लडिरहेको। नाजुक अवस्था थियो। मैले बिहान साढे ८ बजे अप्रेसन गरी सकेँ र बल्लबल्ल उहाँलाई बचाएँ। त्यो बेलामा मैले गरेको काम देखेर, त्यहाँको शैली देखेर रविन्द्रनाथ शर्माजी असाध्यै प्रभावित पनि हुनु भएछ। मैले केही गरौँ भन्दा उहाँ प्रतिबद्ध पनि हुनुभयो। मैले मेरो सपना बताएँ।

मेरो यस्तो न्यूरोलोजीकल इन्स्टिच्यूट बनाउने उद्देश्य छ, देशको लागि राम्रो हुन्छ। ‘ल सुरु गरिहालौँ। सरकारले गर्दैन, पैसा छैन भने यसलाई हामीले एउटा नन गभर्मेन्टल अर्गनाइजेसन मार्फत चलाउँ’ भन्नुभयो उहाँले। एउटा कमिटी पनि बनाउँ भनेर कमिटी पनि बनाइयो। त्यो चाहिँ म फर्केर आएको वर्ष नै हो, २०४६/४७ सालतिर।

कमिटी बनाइयो धेरै सोचेर। डाक्टर भेषबहादुर थापालाई पनि राखियो। उहाँ भएमा अन्तर्राष्ट्रिय सहयोग उठाउन पनि सजिलो हुन्छ। अमेरिकामा राजदूत भइसक्नु भएको मान्छे। यसपछि बिजनेस कम्युनिटीलाई मोबिलाइज गर्न पियूसबहादुर अमात्यलाई राखियो कमिटीमा। उहाँ आफू पनि बस्नुभयो। यसरी प्रतिष्ठित मान्छेहरु राखेर हामीले कमिटी बनायौँ। उहाँको प्योर उद्देश्य यो प्रोजेक्टले टेकअफ गरोस् भन्ने नै थियो। अनि मैले आर्किटेक्चर लगाएर नक्सासक्सा बनाएर आफ्नो रिक्वायरमेन्टहरुको विवरणसहित राखेर एउटा ठूलो ढड्डा बोकेर हिँड्न पनि थालेँ झोलामा।

पहिला हामीले संस्था दर्ता गर्‍यौँ, त्यसपछि जग्गा खोज्नेतिर लाग्यौँ। मैले विभिन्न क्षेत्रको विशेषज्ञ चाहिन्छ भनेर मेरो साथी तथा भागवत नेपाल (आँखाको डाक्टर) लाई पनि राखेको थिएँ कमिटीमा। ऊ पनि असाध्यै कटिबद्ध मान्छे। अवनिभूषण डाक्टरसाब् पनि लाग्नुभो। रवीन्द्रनाथ शर्माजीको छोरा उहाँको ज्वाइँ। उहाँसहित हामी तीन जना डाक्टर कहिले पनि शनिबार घर बसेनौँ। काठमाडौँ भ्यालीभित्र कहाँ जग्गा छ, खोज्दै हिँड्यौँ। सार्वजनिक जग्गा फेला पर्ने बित्तिकै ‘ल यसमा न्यूरोलोजीकल सेन्टर बनाउने’ भन्थ्यौँ। भ्यालीभित्र मैले नहेरेको जग्गा छैन। ५० रोपनीभन्दा बढी भएको जग्गा सबै मेरो रेकर्डमा थियो। तीलगंगा आँखा प्रतिष्ठान भएको ठाउँमा पनि अस्पताल बन्नुभन्दा अगाडि नै हामीले आँखा लगाएको हो। टोखामा सबै ठाउँमा हामीले जग्गा हेरेका थियौँ। अहिले क्रिकेटको मैदान बनिरहेको गोठाटारमा हेर्‍यौँ, हामीलाई लिन पनि आए। यहाँ हुन्छ भनेर गोठाटारको जनताले हामीलाई अफर गरेका हुन्।

तर नेपाल अनौठो ठाउँ रहेछ। पहिला यहाँ हुन्छ भनेर बोलाउने र पछि के देख्छन् कुन्नि, एउटा एउटा झ्याङ्ग्रो थाप्ने। जग्गा पाउन हामीलाई असाध्यै गार्‍हो भो। अन्तिममा टोखामा ७० रोपनी जग्गामा आँखा लाग्यो। धेरै अगाडि गयौँ। पाउने भयौँ। र, मन्त्रालयमा हामीले त्यसको लागि दरखास्त दिँदाखेरि मन्त्रालयका एकजना त्यस्तै बुझक्कडले ७० रोपनीलाई काटेर १५ रोपनी बनाइदिनुभयो।

अब यहाँदेखि टोखा पुग्नु छ, स्टाफ क्वाटर पनि बनाउनु पर्‍यो, बिशाल अस्पताल बनाउनु छ। इन्स्टिच्यूट बनाउनु छ। १५ रोपनी जग्गा दिएर डेढ मिटर कपडामा सुट सिलाऊ भनेजस्तो भयो। यो सबै मन्त्रालयले कोअपरेट गर्न नखोज्या भन्ने बुझ्यौँ। त्यो पनि काम लागेन। मनमोहन अधिकारीजी मेरो छिमेकी। उहाँले मैले दौडधूप गरिरहको देखिरहनुभएको थियो। उहाँ अपोजिसनको नेता हुनुहुन्थ्यो। मैले घर बनाउन थालेदेखि नै शनिबार उहाँ आउनुहुन्थ्यो। हामी कहिले कहिले मेरो घर बनाउने साइडमा मासुचिउरा खाजा खाने गर्थ्यौँ। मेरो सपनाको अस्पतालको जग्गाको लागि म दौडधूप गरेको उहाँलाई थाहा थियो। मलाई डाक्टर भन्नुहुन्थ्यो उहाँ। अनि भन्नुहुन्थ्यो, ‘पख डाक्टर’ भन्नुभयो। उहाँले राम्रो अंग्रेजीमा भन्नुभयो, उहाँले जति राम्रो अंग्रेजी बोल्ने नेपाली नेता मैले भेटेको छैन।

‘पर्ख डाक्टर, हाम्रो एमालेको सरकार बनेपछि तिम्लाई बजेट पनि निकासा गराउँछु। तिमीले मेहनत गरेको पनि देखेको छु। र हामी राम्रो जग्गा पनि दिलाउँछौँ।’ त्यसको केहि समयपछि मध्यावधि चुनाव भयो, सबैभन्दा पहिले मनमोहनजीको नै रिजल्ट डिक्लियर भयो, उहाँले जित्नुभयो। उहाँले अघिल्लो दिन जित्नुभएको, म भोलिपल्ट बिहान बधाई दिन पसेँ उहाँको घरमा। म छिमेकी, अस्पताल जाने बेलामा पसेँ।
त्यो बेलामा धेरै रिजल्ट आएको थिएन। मनमोहनजी राति अबिर यात्रा गरेर आएर सुत्नुभएको रहेछ। अबिरको धुलोले उहाँको अलिअलि स्वाश बढेको, दम बढेको। कात्तिकको महिना नुहाउन नसकेर त्यत्तिकै सुत्नुभएको रहेछ। बिहान उठेर माटाको हिटरमा ‘डाक्टर म चिया बनाउँछु खाएर जाउँ’ भन्नुभयो। त्यो बडा स्नेहको आग्रह थियो। केही दिनपछि प्रधानमन्त्री हुने मान्छेले मलाई एउटा ससप्यानमा माटाको हिटरमा पानी उमालेर चिया बनाएर खुवाउँछ। त्यसमा आनन्द र आदर दुवै महसुस गरेँ मैले। हामी दुई जनाले खायौँ।

‘तपाईँलाई रुघा लाग्न लागेको छ, अबिरको धुलोले दुख दिएको छ, घाम लागेपछि नुहाउनुस्। म अस्पताल जान्छु, भरे आएर भेट्छु’ भनेँ र म निस्किएँ। दिनभरि म अस्पतालमा। काम सक्दा धेरै रिजल्ट आइसकेको थिए। अनि साँझमा फर्कदाखेरि मेरो टोलमा ट्राफिक जाम। अब मनमोहन जीलाई घेर्न अरु नै मानिसहरु आइसकेका थिए। अब डाक्टरले एक्सेस पाउने कुनै सम्भावना थिएन। तर मलाई थाहा थियो, उहाँ त्यस्तो शक्तिले उन्माद हुने मानिस होइन। उहाँले त्यो प्रतिबद्धता बिर्सनुभएको थिएन। यतातिर हामी एनजीओ बनाएर लागि परिरहेको, मनमोहनजीले त्यो भन्नुभएको र मनमोहनजी प्रधानमन्त्री हुनुभएको अवस्था।

एकदिन उहाँले फोन गर्नुभयो। ‘डाक्टर मैले तपाईलाई भनेको बिर्सेको छैन, एउटा राम्रो सम्भावना यहाँ देखा पर्‍यो।’

मैले सोधेँ, ‘के हो?’

‘हामीले छाला जुत्ता कारखाना बन्द गर्दैछौँ बाँसबारीको। त्यो जग्गा तपाईँको अस्पतालको लागि म उपलब्ध गराउँछु। उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, माधवकुमार नेपाल उपप्रधानमन्त्री।

म जे भन्दैछु, रेकर्डमा जाओस्। यो इतिहासमा जानुपर्छ। नेपाल भनेको षडयन्त्रै षडयन्त्रले बनेको देश हो। त्यो बेलासम्म कार्डियाक इन्स्टिच्यूटको कुनै सम्भाव्यता, सम्भावना कसैले देखेकै थिएन। पछि आएका कुराहरु हुन् सबै। आउँदा त्यो सबैभन्दा चाँडै आयो। तर के हो भने, त्यो बेलासम्म कुनै पनि कार्डियाक सर्जन, थिँदै थिएनन् नेपालमा। कार्डियोलोजिस्ट थिए, तर काम नै गर्दैनथे। कार्डियोलोजिस्टहरुले इन्स्टिच्यूटको सपना देखेकै थिएनन्। उनीहरु वीर अस्पतालकै दुईचारओटा बेड, टिचिङ अस्पतालकै दुई चारओटा बेडमा मख्ख परेर बसिरहेका थिए।

मनमोहन जीले जुत्ता कारखानामा तपाईको अस्पताल बनाउनुपर्छ भन्नुभयो। मख्ख परेँ। तब न मनमोहन, आफूले गरेको कुरा नबिर्सने। अनि त्यहीअनुसार त्यहाँ म मुभ गर्दै थिएँ, दुई दिन भित्रमा यति ठूलो षड्यन्त्र भयो, अहिले पनि यो षड्यन्त्र गर्नेलाई फरगिभ गर्न सक्दिन म। म अहिले जुन अवस्थामा छु, स्वास्थ्यको दृष्टिले, मैले सबैलाई क्षमा दिनुपर्छ। तर दुई चार जना यस्ता व्यक्ति छन्, जसले यति ठूलो षड्यन्त्र गरे, उनीहरुलाई म क्षमा दिन सक्दिन। नाम भन्न चाहन्न, उनीहरुले बुझ्छन्, त्यति तल पुगेर षड्यन्त्र गरेको भनेर।

प्रधानमन्त्री मनमोहन अधिकारीले न्यूरोलोजिकल इन्स्टिच्युटको लागि तोकेको जग्गा हो त्यो। बाँसबारीको छालाजुत्ताको जमिन। त्यसपछि उहाँका पार्टीका लाउकेहरु निस्किएर कहाँ कहाँबाट कार्डियोलोजी इन्स्टिच्युटको योजना उफार्न थाले। भोलिपल्टदेखि त त्यही जमिनमा कार्डियो र न्यूरो दुबै बनाउने भन्न थाले। त्यसपछि म माधव कुमार नेपाललाई भेट्न गएँ। ‘यो त के षडयन्त्र भयो’ भन्दाखेरि उनले भने, ‘त्यसोभए दुईओटै बनाउने।’

‘कार्डियाक र न्यूरो’ दुईओटै बनाउने भन्ने भयो। चौथो दिनमा जाँदा त न्यूरो आउट, कार्डियाक मात्र। त्यसमा दुईचार जना खलनायकहरु छन्। तिनीहरुको नाम लिएर म तिनीहरुलाई ठूलो बनाउन चाहन्न। एमालेको कार्यकर्ता पनि हुने, उतातिर चाहिँ पूर्वाग्रही तरिकाले न्यूरो सर्जरीको बिरुद्धमा लाग्ने एक दुई जना डाक्टरहरु पनि छन्। तिनीहरुले पनि भूमिका खेलेका छन्।

त्यसपछि न्यूरो सर्जरी कम्प्लिटली आउट। उनीहरुले कार्डियाक इन्स्टिच्यूट बनाउने निर्णय गरेँ। त्यही बेलामा मनमोहनजी हेलिकप्टर क्र्यास भएर टिचिङमा भर्ना हुनुभएको थियो। उहाँको ढाडमा लागेको चोट मैले पनि हेर्‍या हो। अनि मैले गएर मनमोहनजी लाई त्यो सबै कुरा बताएँ। पद्मरत्न तुलाधरजी स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा। पद्म त्न तुलाधरजीलाई यसरी उहाँका वरिपरिका मान्छेहरुले दिमाग भुटेका थिए कि उहाँले अरुको कुरा सुन्दै सुन्नु भएन। उहाँले धेरै पछि रियलाइज गर्नुभयो, ममाथि अन्याय गरेको थिए भनेर। त्यसपछि उहाँले कहिले मतिर सिधा हेर्न सक्नुभएन। पछि मात्र आउनुभयो। स्वास्थ्यमन्त्रीको नाताले एकोहोरो कुरा सुन्नुभयो।

मनमोहनजीले अस्पतालको बेडबाट पद्मरत्न तुलाधरलाई फोन गर्नुभो, तर स्वास्थ्यमन्त्रीको आफ्नै राजनीति। सबै कुरा यति छिटो मुभ भयो कि, कार्डियाक सेन्टर बनाउने भनेर उद्घाटन गर्नेतिर लागे उनी। प्रधानमन्त्रीले न्यूरोलाई दिएको जग्गा जाने भो। म त तयार थिएँ, मास्टर प्लान लिएर बसिरहेको थिएँ। उनीहरुले डाक्टर देवकोटाले घर घडेरी बनाउँछ भन्ने सम्झे। व्यक्तिगत सम्पत्ति बनाउन लाग्या जस्तो गरे।
रातारात एकजुट भएर लागेका भोलि गएर न्यूरोलोजी इन्स्टिच्युट खोल्न भनी लागेका मेरा भाइहरुको पनि बुद्धि भुटियो। सायद उनीहरुलाई भनियो होला कि देवकोटा यति सिनियर छ, त्यहाँ तिमीहरुको केहि भूमिका हुँदैन। त्यसैले तिमी त्यसमा नलाग। कार्डियाक सर्जरी, कार्डियोलोजी मिलाउन सहयोग गर। पछि केही तरिकाले सहयोग गरौँला भनेर सायद त्यहाँ बार्गेनिङ भएको हुनुपर्छ। त्यो बेलामा न्यूरोलोजी, न्यूरो सर्जरीमा लागेका मान्छे पनि मेरो पक्षमा आएनन्, त्यो अफ्ठेरो घडीमा।

यो ठूलो षड्यन्त्रपछि मैले रियलाइज गरेँ, ‘अब केही गर्ने हो भने गैरसरकारी पनि होइन, सरकारी पनि होइन। गैरसरकारी बनाएर ट्याक्स छल्न मात्रै किन बनाउने त्यो। मजासँग ट्याक्स तिर्ने, लोन लिने, प्रोफिट धेरै नकमाउने, कमाएको प्रोफिटले संस्था नै अगाडि बढाउने। यो विवशता र परिस्थितिमा प्राइभेट संस्था खोल्ने’ निर्णय गरेँ।

न्यूरोलोजिकल सेन्टरको नाममा देवकोटाको घर नै बनाउने जस्तो सम्झे। मैले देशको लागि गर्न खोजेको। मसँग कन्सेप्ट पनि थियो। आइडिया थियो र एक्सपिरियन्स पनि। यो पेनफूल स्टोरी मैले भन्नैपर्छ। किनभने म यहाँबाट बिदा हुने बेलामा कसैसँग डराउनु छैन मैले। यो षडयन्त्रकारीहरुले गरेको षडयन्त्र मैले भन्नैपर्छ। हुन त तिनीहरु कोही पनि त्यहाँ काम गर्दैनन्। लेखनाथ पौडेलले पिँजडाको सुगामा भन्नुभएको जस्तै, ‘गुणको बैरी मानिस जाति।’ मेरो योग्यता र प्रतिबद्धता मेरो वैरी बन्यो।

उहाँलाई रिस उठ्यो, हाम्रो क्षमतासँग रिस उठ्यो। राजधानीमा सरकारले वीर हस्पिटलभित्र पनि कार्डियाक सेन्टर बनाउँछ। टिचिङमा पनि कार्डियाक सेन्टर बनाउँछ, त्यसको एक किलोमिटर भित्र गंगालालमा पनि कार्डियाक सेन्टर। कसको लागि? देशको लागि एउटा कार्डियाक सेन्टर बनाए पुग्दैन? न्यूरो सेन्टर एउटा पनि छैन। मैले देशको आवश्यकता बुझेको थिएँ, दुईचारजना ठूलाबडा डाक्टरहरुले आफ्नो स्वार्थ हेरे।

एनिवे, त्यो घटना विस्तृत रुपमा भन्छु म। भोलिपल्ट उद्घाटन हुने वाला थियो। मनमोहनजी स्पाइनल फ्र्याक्चर भएर सुतिराख्नु भएको छ। उहाँको स्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरले बाँसबारी जुत्ता कारखानामा कार्डियाक सेन्टर बन्छ भनेर डिक्लियर गर्दै हुनुहुन्छ।

मनमोहनजीले अस्पतालको बेडबाटै भन्नुभयो, पद्म रत्न तुलाधरज्यूलाई। ‘त्यहाँ गएर केही पनि धेरै नबोल, त्यो कार्डियाक सेन्टरको लागि मात्रै हैन।’ उहाँले चेतावनी दिँदादिँदै उहाँको मातहतको स्वास्थ्यमन्त्रीले कसकसको उक्साहटमा उहाँको कोटरी क्लब र त्यसको सदस्यको बहकाउमा जानाजान प्रधानमन्त्रीको आदेशको उल्लंघन गरेर कार्डियाक सेन्टर बनाउने भनेर डिक्लियर गर्नुभयो।

यसरी हप्तादिन भित्रमा कम्प्लिट्ली न्यूरो सर्जरी, न्यूरो साइन्सलाई दिने भनेको जग्गामा केही दिन दुईओटै बनाउने भनियो, अन्तिममा कार्डियाक मात्र बनाउने घोषणा भयो। त्यसमा कार्डियोलोजीका डाक्टरहरु लागिपरेका थिए। मन्त्रालयको ठूलो तप्का, एमालेको स्वास्थ्य हेर्ने डाक्टरहरु र त्यो यतापट्टिका धेरै मान्छेहरु लागे। उहाँहरुको मप्रतिको के विरोध केको लागि हो थाहा छैन मलाई। अब न्यूरोको सम्भावना शून्य भयो।

तैपनि म लाग्दै थिएँ, रवीन्द्रनाथजी पनि लाग्दै हुनुहुन्थ्यो। अहिले मेडिकल काउन्सिल, भएको, नर्सिङ काउन्सिल भएको १२/१५ रोपनी जति जग्गा बाँकी थियो। त्यहाँ केही पनि थिएन। अनि त्यो मात्रै भए पनि हुन्छ भनेर त्यो जग्गा हाम्रो नाममा पास गर्‍यौँ हामीले न्यूरो सर्जरी, न्यूरो साइन्सको बिल्डिङ्ग बनाउनको लागि। त्यो काउन्सिल भएको जग्गा हामीले प्रपोज गर्‍यौँ। राधाकृष्ण मैनाली त्यो बेला स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो, राप्रपा एमाले गठबन्धन सरकारमा।

रवीन्द्रनाथ शर्माजी अर्थमन्त्री हुनुभयो। उहाँले लागि परेर त्यो १५ रोपनी जग्गाचाहिँ न्यूरो साइन्सको लागि चाहिन्छ भनेर लागि पर्नुभो। त्यो वर्ष उहाँले ५० लाख रुपैयाँ निकासा पनि गर्नुभयो। उता ८० रोपनी जग्गामा एकछत्र कार्डियाक बन्ने भयो। त्यो ठूलो लबीको विरुद्ध हामी लड्न नै सकेनौँ। हाम्रैभित्र न्यूरो साइन्सका मान्छेले पनि उतातिर सहयोग गरे, भित्रभित्र सहयोग गरे। कार्डियाक त एक ढिक्का भएर हाम्रो विरुद्धमा लागिहाल्यो।

म सफल नहुनुको पछाडि एउटै कुरा के थियो भने म कुनै पार्टी विशेषको कार्यकर्ता थिइन। म थिएँ, जनताको कार्यकर्ता। मलाई पार्टिको इन्ट्रेस्टमा मोड्न सक्ने कसैको पनि तागत थिएन। मलाई हेर्ने दृष्टि कि मनमोहन अधिकारीको जस्तो, मदन भण्डारीको जस्तो उपल्लो स्तरको चाहिन्थ्यो, होइन भने यसलाई कार्यकर्ताको रुपमा प्रयोग गर्छु, त्यहाँ आफ्नो मान्छेलाई जागिर खुवाउँछु ऊ मार्फत, आफ्नो छोरानातिलाई पढ्न पठाउँछु यसको सिफारिसमा भन्ने हिम्मत कसैमा थिएन। उहाँहरुलाई चाहिएको त्यही थियो। त्यसकारण पार्टीको ब्याकिङ मैले पाइन। यद्यपि म एमालेका नेताहरुको नजिक थिएँ। मैले पार्टी सदस्यता नलिए पनि मेरो दाइ वाचस्पति देवकोटा पनि त्यही पार्टीको हो। सिनियर नेता त्यस अर्थमा कांग्रेसभन्दा त्यतातिर नजिक थिए। त्यसले केही काम गरेन।

अन्तिममा त्यो १५ रोपनी जग्गा न्यूरोलोजीको लागि भनेर छुट्याइएको थियो र ५० लाख रुपैयाँ निकासा पनि भएको थियो। उता कार्डियाक सेन्टरका लागि १० औँ करोड निकासा भएर बिल्डिङ रेनोभेसन हुन थालिसकेको थियो। सबैभन्दा पहिला इन्स्टिच्यूट खोल्नुपर्छ भन्ने म।
त्यो १५ रोपनी जग्गा पनि प्रधानमन्त्रीको स्पष्ट आदेश विपरीत बाँसबारीको जग्गा जसरी खोसियो, त्यसरी नै कांग्रेसको सरकार बन्नेबित्तिकै भित्रभित्रै खुसुक्क मेडिकल काउन्सिल बनाउने, यो बनाउने, ऊ बनाउने, नर्सिङ काउन्सिल बनाउने, विपीकेएसएसको एउटा ब्रान्च खोल्ने गरेर फेरि खोसियो।

बाँसबारीबाट हामी कम्प्लिटली आउट भयौँ। यसरी न्यूरोलोजिकल इन्स्टिच्यूट सरकारी र गैरसरकारी संस्थाबाट बनाउने मेरो सपना, अथवा मैले बोकेको सपना चकनाचुर भयो, ध्वस्त भयो। त्यसको लागि धेरै खलपात्रहरु जिम्मेवार छन्।

गैर सरकारीमा कोशिस गर्‍यो, मिल्ला जस्तो हुन्छ, अन्तमा जग्गा दिने बेलामा केके न हुन्छ, सुन फल्छ भनेर गाउँलेहरुले अपेक्षा गर्ने। सरकारी स्तरमा प्रधानमन्त्रीको प्रोमिसले समेत काम नगरे पछि मलाई सरकारी र गैर सरकारी तर्फबाट जग्गा लिएर इन्स्टिच्यूट बनाउन सक्छु भन्ने मुर्खता हो जस्तो लाग्न थाल्यो। अनि मैले सोचेँ, ‘अब यो सरकारी, गैरसरकारी क्षेत्रबाट न्यूरोलोजिकल इन्स्टिच्यूट बनाउने सम्भावना छैन।

त्यत्तातिर परिश्रम नगरौँ अब।’ रविन्द्रनाथ शर्माज्यूलाई पनि भनेँ। ‘तपाईँको अहिलेसम्मको सहयोगको लागि धन्यवाद, अब यसरी यिनीहरुले दिने देखिन मैले छाँट।’ जहाँ गयो, पहिला नै रातो झण्डा टाँगिदिएको छ। जग्गा हेर्‍यो कसैले म लिन्छु भन्या छ।

हुँदाहुँदा प्रधानमन्त्रीले हुन्छ दिन्छु भन्ने, स्वास्थ्यमन्त्री खोस्ने। स्वास्थ्य मन्त्रीको सहायक सल्लाहकारले खोसिदिन्छन्। मेरो अगाडि सब ठीक पार्छन्, पछाडि गएपछि यो डाक्टर हामीले भन्या मान्दैन, यसलाई भन्दा बरु कार्डियाकलाई गर्‍यो भने हाम्रो २०, ३० जना कार्यकर्ता घुसाउन पाइन्छ। आफ्नो चाहना अनुसार छात्रवृत्ति दिन पाइन्छ, यतातिर गरौँ भनेर सबै डाइबर्ट गर्ने।

यो ठूलो षड्यन्त्रपछि मैले रियलाइज गरेँ, ‘अब केही गर्ने हो भने गैरसरकारी पनि होइन, सरकारी पनि होइन। गैरसरकारी बनाएर ट्याक्स छल्न मात्रै किन बनाउने त्यो। मजासँग ट्याक्स तिर्ने, लोन लिने, प्रोफिट धेरै नकमाउने, कमाएको प्रोफिटले संस्था नै अगाडि बढाउने। यो विवशता र परिस्थितिमा प्राइभेट संस्था खोल्ने’ निर्णय गरेँ।

यो पनि पढ्नुहोस्

असार ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्