विश्वकप फुटबल

जर्मनी र मेक्सिकोबीचको खेल सुरु

काठमाडौं- विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’को पहिलो चरणको खेल सुरु भएको छ। समुह ‘एफ’ को पहिलो खेलमा जर्मनी र मेक्सिको प्रतिस्पर्धा गरिरहेका छन्।

जर्मनीले रुस विश्वकपमा यात्रा तय गर्ने क्रममा युरोपियन क्षेत्रको छनौटमा १० मा १० खेलमा मै जित निकालेको हो ।

यसक्रममा उनसले कीर्तिमानी ४३ गोल गरेको थियो । तर उसले ६ मैत्रीपूर्ण खेलमा एकमा मात्रै जित निकाल्यो । उनले मैत्रीपूर्ण खेलमा पछिल्लो पटक जित निकालेको भनेको साउदी अरेबियामाथि २–१ को हो ।

जर्मनी सन् १९६२ पछि लगातार दोस्रो पटक विश्वकप जित्ने पहिलो टिम बन्ने लक्ष्यका साथ रुस पुगेको छ ।

जर्मनी मेक्सिकोका लागि निकै बलियो प्रतिस्पर्धी हो । गएको वर्ष फिफा कनफेडेरेशन कपको सेमिफाइनलमा मेक्सिको जर्मनीसँग ४–१ ले पराजित भएको थियो ।

तर कोलम्बियन प्रशिक्षक आन कार्लोस आसोरिओको रणनीतिले मेक्सिकोलाई बलियो बनाउने देखिन्छ । यस्तै टिममा रहेका अनुभवी खेलाडी पनि मेक्सिकोको बलियो पक्ष हो । मेक्सिकोको टिममा रहेका मध्ये १३ खेलाडीले ५० भन्दा धेरै खेलमा राष्ट्रिय टिमबाट खेलेका छन् ।

यी दुई टोलीबिच अहिलेसम्म ११ पटक भेट भएको छ । यसमा मेक्सिको एकपटक मात्रै विजयी भएको छ । जर्मनी पाँच खेलमा विजयी भएको छ भने पाँच खेल बराबरीमा सकिएको छ ।

मेक्सिकोले जर्मनीलाई हराएको ३३ वर्ष भइसक्यो । उसले सन् १९८५ मा भएको मैत्रीपूर्ण खेलमा जर्मनीमाथि जित निकालेको थियो ।

यी दुई टोलीबिच विश्वकपमा यसअघि तीनपटक भेट भएको छ र यो चौथो भेट हो । विश्वकपमा भएका यसअघिका भेटमा जर्मनी दुई खेलमा विजयी भएको छ भने एक खेलमा पेनाल्टीमा जर्मनीले नतिजा आफ्नो पक्षमा पारेको छ ।

विश्वकपमा जर्मनीले मेक्सिकोमाथि पहिलो पटक सन् १९७८ मा समूह चरणमा ६–० को जित निकाल्यो । त्यसपछि सन् १९९८ को विश्वकपमा अन्तिम १६ मा मेक्सिको जर्मनीसँग २–१ ले पराजित भयो ।

यस्तै सन् १९८६ को विश्वकपको क्वाटरफाइनलमा मेक्सिकोले गोलरहित बराबरी खेल्यो । तर खेल पेनाल्टीमा धकेलिएपछि जर्मनी ४–१ को जित निकाल्दै अघिल्लो चरण पुग्यो ।

असार ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्