विश्वकप २०१८ : ब्राजिल १-१ स्वीट्जरल्याण्ड

ब्राजिलको विश्वकपमा पहिलो खेलसँग जोडिएको ४० वर्षदेखिको इतिहास जोगिएन

विश्वकपको उपाधि जित्न सक्ने प्रमुख दाबेदार टिमको रुपमा हेरिएको ब्राजिल पछिल्लो ४० वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेलमा जित निकाल्न असफल भएको छ ।

ब्राजिलले सन् १९७८ यताका सबै विश्वकपमा आफ्नो पहिलो खेलमा जित निकाल्दै आएको थियो । तर यसपटक रुपमा जारी विश्वकपमा समूह ई मा रहेको ब्राजिलले आफ्नो पहिलो खेलमा जित निकाल्ने लामोसमयदेखिको इतिहासलाई जोगाउन सकेन ।

रोस्तोभ अन डोनमा भएको खेलमा स्वीट्जरल्याण्डले विश्व विजेताको प्रमुख दाबेदारका रुपमा रहेको ब्राजिललाई १ १ को बराबरीमा रोक्यो । नेइमार, गाब्रियल जिसस, विलियन, फिलिप कोन्टिन्होसहितको टिटेको बलियो टिम स्वीट्जरल्याण्डसँग भरमजदुर प्रयासका बाबजुद पनि रोकिन पुग्यो ।

२० औँ मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट ब्राजिलले सुरुवाति अग्रता लियो । तर पहिलो हाफमा लिएको अग्रता उसले दोस्रो हाफमा जोगाउन सकेन । स्वीट्जरल्याण्डका लागि ५० औँ मिनेटमा स्टीभन जुबेरले बराबरी गोल फर्काए ।

त्यसपछि पनि ब्राजिलले गोल गर्ने राम्रा प्रयासहरु गरेको थियो । गाब्रियल जिसस, नेइमार, मार्सेलोसहितका खेलाडीले गोल गर्ने राम्रो प्रयास गरे ।

झण्डै तीन महिना चोटका कारण मैदान बाहिर रहेर मैदान फर्किएका नेइमारले यो खेलमा आफ्नो दिलोज्यान दिएर प्रदर्शन गरे । तर गोल भने गर्न सकेनन् ।

कोन्टिन्होले गरेको लंग रेन्जको सुन्दर गोलबाट लिइएको अग्रता जोगाउन सकेको भए ब्राजिलका लागि यो विश्वकपको सुरुवात राम्रो हुने थियो । जित निकाल्न नसके पनि ब्राजिल हारबाट जोगियो ।

यस्तै हेड गोल मार्फत स्वीट्जरल्याण्डका जुवेरले टिमलाई हारबाट जोगाए । फिफा बरियतामा छैटौँ स्थानमा रहेको स्वीट्जरल्याण्डले दोस्रो स्थानमा रहेको ब्राजिललाई रोकेको हो ।

यो खेलको निर्धारित समय मात्रै होइन इन्जुरी समयको अन्तिम सेकेण्डमा पनि नेइमारले गोल गर्ने राम्रो प्रयास गरेका थिए ।

समूह ई मा यसअघि सर्बियाले कोस्टारिकालाई हराएकाले उ समूहको शीर्ष स्थानमा छ । युवा टिमले भरिएको ब्राजिलले चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपको नमिठो अनुभव भुलाउने प्रयासमा छ ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्