मेक्सिकोसँगको हारले जर्मनीमा भूकम्प !

चार वर्षअघिको विश्व विजेता जर्मनीलाई रुस विश्वकप फुटबलको सुरुवात निकै खिन्न बनाउने खालको भयो । समूह एफ मा रहेको जर्मनीले आइतबार बेलुका आफ्नो पहिलो खेलमा मस्कोमा मेक्सिकोको सामना गरेको थियो ।

तर त्यो खेलमा जर्मनीलाई मेक्सिकोले स्तब्ध बनायो १–० को जित निकालेर । २२ वर्षका हिरभिङ्ग लोजानोले ३५ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई पहिलो खेलमै जिल्ल पारे ।

यो हारलाई जर्मनीका सञ्चारमाध्यमले ‘लाजमर्दो’ हारको रुपमा व्याख्या गरेका छन् । यस्तै केही मिडियाले त जर्मनीको हार भूकम्प जस्तै रहेको पनि उल्लेख गरेका छन् । तर मेक्सिकोमा भने उत्सवको अवस्था छ ।

जर्मनीले विश्वकपमा आफ्नो पहिलो खेलमा हार बेहोरेको यो सन् १९८२ यताकै पहिलो हो । तर प्रशिक्षक योआखिम लो भने आफ्नो टिम अघिल्लो चरण पुग्ने भने ढुक्क रहेका छन् ।

उनले भने, ‘हामी अघिल्लो चरण नै नपुग्ने गरी हारेका छैनौँ । हामीले त्यो यात्रा पक्कै तय गर्ने छौँ ।’

उनले हारको विषयमा भने, ‘खेलमा जित–हार भइरहन्छ र यसलाई स्वीकार गर्नु पर्छ । हामीले अघि हेर्न छोड्नु हुँदैन । दुःखी भएर बस्नु पर्ने कुनै कारण नै छैन ।’

पहिलो खेलमा भएको गल्ती सुधार गर्ने अवसर र त्यसका लागि खेल बाँकी नै रहेको उनको भनाई छ । विश्वकपको इतिहासमा पहिलो खेल गुमाएर पनि उपाधि उचाल्ने एक मात्र टिम स्पेन हो ।

स्पेनले सन् २०१० को विश्वकपमा पहिलो खेलमा स्वीट्जरल्याण्डसँग हार बेहोरेको थियो । तर उसले विश्वकपको उपाधि उचाल्यो । जर्मनीले पनि त्यो इतिहास दोहोर्‍याउन भने सक्नेछ ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्