विश्वकप २०१८ : इंग्ल्याण्ड भर्सेस ट्युनिसिया

अफ्रिकी देशमाथि इंग्ल्याण्डको अपराजित यात्रा, ट्युनिसियाले क्रम भंग गर्ला ?

हुन सक्छ धेरैले इंग्ल्याण्डलाई यो विश्वकपमा दाबेदारको रुपमा त्यति हेरेका छैनन् होला । तर युवा खेलाडी ह्यारी केनको कप्तानीमा रहेको टोलीले रुस विश्वकपमा आफ्नो यात्रा सोमबारदेखि सुरु गर्दैछ ।

समूह जी मा रहेको ग्यारेथ साउथ गेटको टिम इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा अफ्रिकी देश ट्युनिसियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजे भोल्गोग्राड एरिनामा हुनेछ ।

ट्युनिसियाका वाहबी खाज्री यो खेलका लागि उपलब्ध हुनेछन्, तर उनको फिटनेशमा भने अझै समस्या कायमै छ । उनी चोटका कारण गएको अप्रिलदेखि मैदानमा छैनन् । यस्तै अली मालोउल पनि फिट भएका छन् । तर प्रमुख फरवाडर युसेफ मसाक्नी भने घुँडाको चोटका कारण टिममा छैनन् ।

इंग्ल्याण्डको कुरा गर्दा टिममा रहेका सबै खेलाडी फिट छन् । प्रशिक्षक साउथगेटले ट्युनिसियासँगको खेलका लागि स्ट्राटिङ्ग लाइन–अप पनि सार्वजनिक गरिसकेका छन् ।

मिडफिल्डर जोर्डन हेन्डर्सन, सेन्टर–ब्याक ह्यारी मागुइरी तथा फरवाडर रहीम स्ट्रर्लिङग सबै खेल्दैछन् ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले विश्वकपअघि सार्वजनिक गरेको बरियता अनुसार इंग्ल्याण्ड र ट्युनिसियाको अवस्थामा ठूलो भिन्नता छैन । बरियतामा इंग्ल्याण्ड १२ औँ तथा ट्युनिसिया २१ औँ स्थानमा छ ।

हेड–टू–हेड


यी दुई टोलीबिच अहिलेसम्म दुईपटक मात्रै भेट भएको छ । पछिल्लो पटक विश्वकप पूर्वको अभ्यास खेलमा इंग्ल्याण्ड विजयी भएको छ । मार्सेइलीमा भएको खेलमा ट्युनिसिया २–० ले पराजित भएको थियो ।

त्यसअघि सन् १९९० मा भएको मैत्रीपूर्ण खेलमा भने १–१ को बराबरी भएको थियो । विश्वकपमा भने यी दुई टोली पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

ट्युनिसिया


विश्वकपमा ट्युनिसियाको यो पाँचौँ सहभागिता हो । यसअघिका चार सहभागितामा उसले समूह चरण पार गर्न सकेको छैन । पछिल्लो पटक उसले सन् २००६ मा विश्वकप खेलेको थियो ।

उसले विश्वकपमा खेलेका १२ मध्ये ११ खेलमा जित निकाल्न सकेको छैन । उसले जितेको भनेको सन् १९७८ मा मेक्सिको विरुद्ध हो । यो नै उसले अहिलेसम्म विश्वकपमा दर्ता गरेको जित हो । यो अफ्रिकी देशले विश्वकपमा निकालेको पहिलो जित पनि थियो ।

ट्युनिसियाले अहिलेसम्म खेलेका १२ खेलमा गोल नखाएको भनेको एउटा मात्रै खेल छ । उसले सन् १९७८ को विश्वकपमा पश्चिम जर्मनीसँग गोलरहित बराबरी खेलेको थियो ।

तर उसले यसपटकको विश्वकप छनौटमा कुनै पनि खेल हारेन र मात्रै चार गोल खायो । फिफा बरियतामा २१ औँ स्थानमा रहेको ट्युनिसिया अफ्रिकी देशमा सबैभन्दा अघि रहेको छ ।

इंग्ल्याण्ड


विश्वकपमा इंग्ल्याण्ड अहिलेसम्म कुनै पनि अफ्रिकी देशसँग पराजित भएको छ । अहिलेसम्म अफ्रिकी देशसँग भएका ६ खेलमा तीनमा जित निकालेको इंग्ल्याण्डले तीन खेलमा बराबरी खेलेको छ ।

इंग्ल्याण्डले अहिलेसम्म विश्वकपमा आफ्नो समूह एकपटक मात्रै टप गरेको छ । उसले सन् २००६ को विश्वकपमा समूह टप गरेको थियो । इंग्ल्याण्डले अहिलेसम्म विश्वकपमा ११ खेलमा गोलरहित बराबरी गरेको छ र यो कीर्तिमान हो ।

विश्वकप छनौटको क्रममा तीन गोलमात्रै खाएको इंग्ल्याण्डले युरोपमा कम गोल खानेका स्पेनसँग संयुक्त कीर्तिमान बनाएको छ । इंग्ल्याण्डको टिममा रहेका सबै खेलाडी इंग्ल्याण्डकै लिगको क्लबबाट खेल्ने छन् ।

लगातार छैटौँ पटक विश्वकप खेल्न लागेको इंग्ल्याण्डको यो समग्रमा १५ औँ सहभागिता हो । सन् १९६६ को विश्वविजेता इंग्ल्याण्ड दुई पटक सेमिफाइनलसम्म पुगेको छ । उ सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो । त्यसयता क्वाटरफाइनल पार गर्न सकेको छैन ।

इंग्ल्याण्डले विश्वकपमा पछिल्ला ९ खेलमा एक भन्दा धेरै गोल गर्न सकेको छैन ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्