स्विडेन र दक्षिण कोरियाबीचको खेल सुरु

मस्को- विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ अन्तर्गत स्विडेन र दक्षिण कोरियाबीचको खेल सुरु भएको छ।

समूह ‘एफ’मा स्विडेन र दक्षिण कोरियाका खेलाडिहरु प्रतिस्पर्धा गरिरहेका छन्।

यसअघि विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’को पहिलो चरणको खेलमा जर्मनी र मेक्सिको खेलिसकेका छन्।

समूह ‘एफ’ अन्तर्गत आईतबार राति भएको खेलमा मेक्सिकोले जर्मनीलाई १-० गोलले हराएको थियो।

स्वीडेन १२ वर्षपछि विश्वकपमा छनोट भएको हो। उसले अन्तिम पटक सन् २००६ मा विश्वकप खेलेको थियो।

करिब डेढ दशक स्विडेनको फुटबलका आकर्षण बनेका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको अभाव टोलीमा देखिन थालेको छ।

इब्राहिमोभिचले सन् २०१६ मा सन्याश लिएका थिए। त्यसअघि उनले राष्ट्रिय टोलीका लागि एक सय १६ खेल खेल्दै ६२ गोल गरेका थिए।

स्वीडेनले पछिल्ला नौ खेलमा केवल चार गोलमात्र गरेको छ। उसले पछिल्ला सात खेलमा चार बराबरी,दुई हार र एक जितको नतिजा निकालेको छ।

सन् १९५८ को विश्वकपमा फाइनल पुगेको स्वीडेन त्यसपछि सन् १९९४ को विश्वकपमा मात्र सेमिफाइनलसम्म पुगेको थियो। त्यसयता विश्व फुटबलमा उसको उपस्थिती बलियो रहन सकेको छैन।

यता दक्षिण कोरिया लगातार नवौं पटक विश्वकप खेल्दै छ। सन् २००२ मा घरेलु मैदानमा आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेर सनसनी मच्चाएको दक्षिण कोरियाले त्यसयता यो प्रतियोगितामा प्रभावशाली देखिन सकेको छैन।

दक्षिण कोरियाले पछिल्ला ८ वटा विश्वकप सहभागितामा केवल दुई पटक मात्र समूहगत चरण पार गर्न सकेको छ। उसले सन् २०१० को विश्वकपमा प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो।

दक्षिण कोरिया र स्वीडेन पहिलो पटक विश्वकपमा भिड्न लागेका हुन्। यसअघि यी दुई टोलीबीच दुई पटक प्रतिस्पर्धा भएकामा दुवै खेल बराबरीमा सकिएका थिए।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्