सहमति नजुटेपछि चीन भ्रमणमा पारवाहन सम्झौता नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबारदेखि सुरु हुने ६ दिने चीन भ्रमणमा हस्ताक्षर गरिने भनिएको पारवाहन सम्झौताबारे पर्याप्त गृहकार्य नहुँदा त्‍यसले औपचारिक रुप नपाउने भएको छ।
अति उत्साहका साथ प्रतिक्षा गरिएको पारवहन सम्झौताका केही प्रावधानबारे दुई पक्षबीचका अनौपचारिक छलफलमा सहमति बन्‍न नसकेपछि ओली भ्रमणकै समयमा उक्त सम्झौतामा हस्ताक्षर हुन सम्भव नभएको  उच्च स्रोतले देशसञ्‍चारलाई बतायो। तर,  प्रस्तावित सम्झौताका कुनकुन बुँदामा अनौपचारिक सहमति हुन सकेन, स्रोतले खुलाउन चाहेन।
नेपालस्थित चिनियाँ राजदूत यू होङले पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, वाणिज्‍य सचिवलाई अलगअलग भेटी चीनको  ‘बटम लाइन’ बारे जानकारी दिएकी थिइन्। योसँगै अपेक्षित ‘ फ्री ट्रेड अग्रिमेन्ट’ ले पनि औपचारिकता नपाउने स्रोतले बतायो।
प्रधानमन्त्रीको ६ दिने भ्रमणमा केरुङ- रसुवागढी- काठमाडौं रेलवे निर्माण सम्‍बन्धी समझदारी पत्रसँगै नेपालले हस्ताक्षर गरेको चीनको ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ अन्तर्गत जलविद्युतलगायतका ५ परियोजना निर्माणमा सहमति हुने अपेक्षा नेपालले गरेको छ।
नेपाल-तिब्बत सीमा क्षेत्रका पाँच ‘चेक पोइन्ट’ अपरेसनल गर्न र नेपाल सरकारलाई प्रतिवर्ष एक अर्ब युअानको आर्थिक अनुदान दिन पनि चीन सकारात्मक बनेको स्रोतले जनायो।
असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्