पछि पर्‍यो पानामा, बेल्जियमले लियो १–० को अग्रता

विश्वकपमा पहिलो पटक सहभागीता जनाएको पानामाविरुद्ध बेल्जियमले अग्रता लिएको छ । पहिलोहाफ गोलरहित भएको खेलको दोश्रोहाफको सुरुमै बेल्जियमले अग्रता बनाएको हो । ४७ औं मिनेटमा मेर्टेन्सले गोल गरे । समूह जी मा रहेका यी टोलीको खेल रुसको सोचीमा चलिरहेको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपअघि निकालेको बरियतामा बेल्जियम तेस्रो स्थानमा छ । यस्तै पानामा ५५ औँ स्थानमा छ ।

यी दुई टोलीबिच यसअघि भेट भएको थिएन । बेल्जियमको यो विश्वकपमा १३ औँ सहभागिता हो । उसले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो ।

विश्वकपमा समूह चरणका पछिल्ला ९ खेलमा बेल्जियम अपराजित छ । त्यसमा पनि पछिल्ला चार खेलमा त उसले जित निकालेको छ । उसले पछिल्ला सात विश्वकपमा ६ पटक कम्तिमा अन्तिम १६ मा स्थान बनाएको छ । सन् १९९८ मा भने उ समूह चरणबाटै बाहिरिएको थियो ।

बेल्जियमले विश्वकपमा आफ्नो पहिलो खेलको कुरा गर्दा पछिल्ला ९ विश्वकप मध्ये उसले आफ्नो पहिलो खेलमा एक पटक मात्रै हार बेहोरेको छ । उसले अहिलेसम्म पहिलो खेल हारेको भनेको सन् १९८६ मा मेक्सिकोसँग हो ।

बेल्जियमले सन् १९७० यता विश्वकपको पहिलो खेलमा दुई भन्दा बढी गोल गरेको छैन । उसले सन् १९७० को पहिलो खेलमा एल साल्भाडोरलाई ३–० ले हराएको थियो ।

विश्वकप छनौटको क्रममा अपराजित रहने युरोपका चार देशमध्ये बेल्जियम पनि एक हो । यस्तै इंग्ल्याण्ड, जर्मनी र स्पेन पनि अपराजित थिए ।

असार ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्