विश्वकपमा खेल्न नमानेका खेलाडीलाई क्रोएसियाले फिर्ता पठायो

खेल्न नमानेपछि क्रोएसियाका फरवाडर निकोला कालिनिकलाई क्रोएसियाको फुटबल एसोसिएसनले उनलाई घर फिर्ता पठाएको छ । रुसमा जारी विश्वकप फुटबलका लागि उनी क्रोएसियाको टिममा थिए ।

तर नाइजेरियासँगको पहिलो खेलको क्रममा सबस्टिच्युड खेलाडीको रुपमा मैदानमा जान नमानेपछि कालिनिकलाई घर फिर्ता गरिएको हो । समूह डी मा रहेको क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २–० ले हरायो ।

३० वर्षका कालिनिकलाई घर पठाएपछि उनको ठाउँमा अर्को खेलाडी अब ल्याउन पाइने छैन । यसको अर्थ क्रोएसियाको टिममा अब २२ खेलाडी मात्रै छन् ।

एसी मिलानका कालिनिकले आफ्नो शरीरको पछाडिको भागमा समस्या रहेको भन्दै खेल्न अस्वीकार गरेका थिए । उनले ब्राजिलसँगको मैत्रीपूर्ण खेलमा पनि यस्तै समस्या रहेको भन्दै खेलेका थिएनन् । प्रशिक्षक जलाट्को डालिकले भने, ‘म मेरा खेलाडी फिट र खेल्नका लागि तयार रहेको अवस्थामा चाहन्छु ।’

कालिनिकले राष्ट्रिय टिमबाट ४१ खेलमा १५ गोल गरेका छन् । प्रशिक्षक डालिकले भने, ‘नाइजेरियासँगको प्रतिस्पर्धाका लागि कालिनिकले प्रशिक्षण लिएका थिए र उनी दोस्रो हाफमा खेल्ने तय थियो । तर उनले आफू खेल्न सक्ने अवस्थामा नरहेको र शरीरको पछाडीको भागमा समस्या रहेको बताए ।’

उनले इंग्ल्याण्डमा भएको ब्राजिलसँगको मैत्रीपूर्ण खेल तथा आइतबारको अभ्यास सेसन्समा पनि यस्तै भनेको प्रशिक्षकले बताए । उनले अघि भने, ‘मैले उनको कुरा शान्त भएर स्वीकार गरेँ । मलाई खेलाडी खेल्नका लागि फिट र तयार अवस्थामा चाहिन्छ । त्यसैले उनलाई घर पठाउने निर्णय लिएँ ।’

क्रोएसियाले दोस्रो खेलमा बिहीबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै उसले समूह चरणको अन्तिम खेलमा आउँदो मंगलबार आइसल्याण्डको सामना गर्नेछ ।

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्