तस्बिर : अर्जुन पोख्रेलको ट्वीटरबाट

काठमाडौँ – केही दिनदेखि वायुमण्डलमा रहेको धुलोको कणका कारण वर्षाको पानी लेदो जस्तो परेको थियो । तर अहिले वायुमण्डलमा धुलोको कण निकै कम भएकाले अब पर्ने पानीमा त्यस्तो समस्या कम मात्रै देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको राजस्थान तथा उत्तर प्रदेशमा आएको धुले आँधीका कारण त्यतैबाट आएको वायुले नेपालको आकाशमाथि बालुवा तथा धुलोका कण ल्याएको थियो । अहिले नेपालमाथिको उच्च वायुमण्डलमा धुलोको कण कम भएको र अब पानी लेदो जस्तो आउने सम्भावना कम रहेको मौसमविद राजु प्रधानाङ्गले बताएका छन् ।

यसअघि काठमाडौँ उपत्यकासहितका क्षेत्रमा परेको पानी लेदो जस्तो देखिएको थियो । यस्तै पश्चिम तराईका क्षेत्रमा धुलोकै कारण मौसम धुम्मिएको थियो । तर अहिले अवस्था सामान्यतिर फर्किन लागेको मौसमविद प्रधानाङ्गले बताए ।

यस्तै मंगलबारको मौसमको कुरा गर्दा पूर्वमा सामान्यतया बदली भइ पार्नी पर्ने सम्भावना रहेको उनले बताए । मध्य तथा पश्चिमका क्षेत्रमा भने आंशिक बदली हुने र बेलुका तिर केही ठाउँमा मात्रै हल्का पानी पर्ने सम्भावना छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ ।

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्