धेरै वर्ष बाँचेको सुमात्री ओराङ्गटान पुएनको मृत्यु

इन्डोनेसियाको सुमात्रा टापुमा मात्रै पाइनले दुलर्भ सुमात्री ओराङ्गटान मध्ये सबैभन्दा धेरै उमेर बाँचेको ओराङ्गटानको मृत्यु भएको छ । ‘ग्र्याण्ड ओल्ड लेडी’ को रुपमा लिइएको पुएन नाम गरेको सुमात्री ओराङ्गटानको ६२ वर्षमा मृत्यु भएको हो ।

अस्ट्रेलियामा रहेको चिडियाखानामा पुएनको मृत्यु भएको हो । पुएनलाई सन् १९६८ मा अस्ट्रेलियाको पर्थमा रहेको चिडियाखानालाई हस्तान्तरण गरिएको थियो ।

पुएनको सोमबार बढ्दो उमेरसँगै देखिने समस्याका कारण मृत्यु भएको चिडियाखानाले जनाएको छ । सन् २०१६ मा पुएनलाई सुमात्री ओराङ्गटान मध्ये सबैभन्दा बढी उमेरको रहेको घोषणा गरिएको थियो ।

दुर्लभ प्रजातिको रुपमा रहेको सुमात्री ओराङ्गटान मुस्किलले ५० वर्षको हाराहारीसम्म मात्रै जीवित रहन्छन् । पुएनको जन्म सन् १९५६ मा इन्डोनेसियाको सुमात्राको जंगलमा भएको मानिन्छ ।

पुएनका ११ सन्तान छन् । उनका ५४ वंशजहरु अमेरिका, युरोप तथा अरु ठाउँमा छन् । विश्व वन्यजन्तु कोषका अनुसार अहिले १४ हजार ६ सयको हाराहारीमा सुमात्री ओराङ्गटान रहेका छन् ।

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्