काठमाडौँ उपत्यकामा हाइकिङ गर्न आयो सचित्र पुस्तक

काठमाडौं- काठमाडौं उपत्यकाको हाइकिङ पर्यटनमा सुपरिचित नाउँ हो रामदेवी महर्जन। निरन्तर हाइकिङ र लेखन मार्फत हाइकिङ जागरणमा योगदान पुर्‍याउँदै आएकी महर्जनले हाइकर्सहरुका लागि एउटा उपहार पस्केकी छिन्– हाइकिङ काठमाडौं।

हाइकिङ काठमाडौंले हाइकिङ गर्न सिकाउनुका साथै काठमाडौं खाल्डोका सबै डाँडाको चिनारी दिन्छ। यो पुस्तक नेपालको हाइकिङको विषयमा लेखिएको पहिलो पुस्तक हो।

हिमालयन म्याप हाउसले प्रकाशन गरेको पुस्तकमा ६४ वटा हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँहरुको सचित्र वर्णन गरिएको छ। हरेक हाइकिङ रुटको जानकारी, नक्सा, तस्बिर र हाइकर्सहरुको तस्बिर समेटिएको छ। सबै ३२० पेज नै रंगीन कलेवरमा प्रकाशित पुस्तकको मूल्य ७०० रुपैयाँ राखिएको छ।

पुस्तक आकर्षक र जानकारी मुलक भएकाले शनिबार विमोचन कार्यक्रममै २५० वटा पुस्तक विक्री भएको प्रकाशकले जनाएको छ। नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, प्रकृतिप्रेमी समूहका संस्थापक डा. उमेश श्रेष्ठ, समूहका अध्यक्ष रमेश चित्रकार, म्याप हाउसका निर्देशक पवन शाक्य र पुस्तक लेखक रामदेवी महर्जनले पुस्तक विमोचन गरेका हुन्।

हाइकिङ काठमाडौं पुस्तकमा हाइकिङ गन्तव्यको चिनारीका साथै हाइकिङ गर्ने तरिका, विश्व सम्पदा क्षेत्र र स्वास्थ्यका विभिन्न शीर्षक समेटिएको छ। यो पुस्तक हाइकिङका साथै साइक्लिङ, बाइकिङ, ड्राइभिङ गर्नेहरुका लागि समेत उपयोगी हुने विश्वास गरिएको छ।

‘हाइकिङ काठमाडौं पुस्तक पर्यटन इतिहासमा एउटा ठूलो उपलब्धि हो’, पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि बोर्डका सिइओ जोशीले भने, ‘यो किताब आफन्त र इष्टमित्रलाई उपहार दिन समेत उपयोगी छ।’

पुस्तक लेखक रामदेवी प्रकृतिप्रेमी समूहकी सदस्य हुन्। समूहले ०६३ सालदेखि हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। उसले वर्षमा दुई पटक लामो दुरीको पदयात्रा पनि गराउँछ।

महर्जनले स्वस्थ पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउन पुस्तक लेखेको बताइन्। कार्यक्रममा समूहका संस्थापक डा. उमेश श्रेष्ठ, अध्यक्ष रमेश चित्रकार, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र पत्रकार अमृत भादगाउँलेले ‘हाइकिङ काठमाडौं’ पुस्तक पर्यटन इतिहासमा कोशेढुंगा भएको टिप्पणी गरे।

हिमालयन म्याप हाउसले नेपाली भाषामा प्रकाशन गरेको पहिलो पुस्तक हो हाइकिङ काठमाडौं। उसले यसको अ‍ेँग्रेजी संस्करण पनि प्रकाशन गर्ने घोषणा गरेको छ।

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्