डा. देवकोटा, तिमी फेरि नेपाली भएरै जन्मिनू!

डम्बर अधिकारी।

वरिष्ठ न्यूरो सर्जन तथा पूर्व स्वास्थ्यमन्त्री डा. उपेन्द्र देवकोटा यो भौतिक संसारबाट सोमबार बिदा भएका छन्। बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका अवस्थामा यो भौतिक संसारबाट बिदा भएको देवकोटाको मंगलबार अन्तिम दाहसंस्कार समेत गरिएको छ।

यद्यपि भौतिक संसारबाट डा.देवकोटा बिदा हुँदै गर्दा लाखौंको नेपालीको मनमनमा भने बस्न सफल भएका छन् उनी। किनकि डा. देवकोटाले स्वास्थ्य क्षेत्रमा ३४ बर्षको अवधिमा २५ हजारभन्दा बढी व्यक्तिको शल्यक्रिया र १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य उपचार गरेका थिए जुन स्वास्थ्य क्षेत्रमा निकै दुर्लभ मानिन्छ। त्यतिमात्र होइन, सर्वसाधारणको उपचार गरिने वीर अस्पतालमा शल्य चिकित्सा विस्तारदेखि वीर अस्पताललाई नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा परिणत गर्ने काम समेत गरे। त्यस्तै सरकारी सेवाबाट निवृत भएलगत्तै डा. देवकोटा बाँसबारीमा निजी क्षेत्रको न्यूरो हस्पिटल स्थापना गरेर बिरामीहरुलाई सेवा उपलब्ध गराएका थिए। यी त भए डा. देवकोटाले गरेका केही कार्यहरु। यीबाहेक पनि स्वास्थ्य क्षेत्रमा डा. देवकोटाले थुप्रै कार्यहरु गरेका छन् जुन प्रशंसनीय छन्। यसको मूल्याङकन वर्तमानमा मात्र होइन, भविष्यमा समेत गरिनेछ। यो डा. देवकोटाको मानव जीवनको सबैभन्दा ठूलो उपलब्धि हो।

बि.स. २०१० साल पुस ४ गते गोरखामा जन्मिएका डा. देवकोटाले गोरखाकै अमरज्योति माध्यमिक विद्यालयबाट एस.एल.सी. उतीर्ण गरेका थिए। त्यसपछि अस्कल कलेजबाट प्रमाणपत्र अध्ययन गरेका थिए। यसबाट के प्रस्ट हुन्छ भने उनी मध्यम परिवारका व्यक्ति हुन्।आफ्नै सर्घषले जीवनमा यति ठूलो उपलब्धि हात पारेका हुन् जुन अरुका लागि समेत निकै प्रेरणादायी छ। किनकि डा. देवकोटाले हात पारेको सफलता हात पार्न उच्च घरानियाँ परिवारमा नै जन्मनु पर्छ भन्ने छैन।

जीवनका ६५ बसन्त पार गर्दाको अवधिमा डा. देवकोटालाई ज—जसले जसरी मूल्याङ्कन गरे पनि उनी सादा जीवन र उच्च विचारका धनी मानिन्छन्। करोडौं सम्पत्तिका धनी डा. देवकोटाले कहिल्यै सम्पत्तिको रवाफ लगाएको विषय बाहिर आएन। बरु डा. देवकोटाले सम्पत्ति नभएर मृत्युको मुखमा पुगेकाहरुलाई आफूले सक्दो सहयोग गरेको पाइयो। त्यो डा. देवकोटाको प्रशंसनीय पक्ष हो। त्यस्तै डा. देवकोटाले जीवनको अन्तिम अवस्थामा सम्म आफ्नो देश र जन्मभूमि प्रति जुन स्नेह देखाए, त्यो अन्य नेपालीका लागि निकै प्रेरणादायी छ।

वर्तमानमा हेर्ने हो भने हरेक दिन देश र आफ्नो जन्मभूमिप्रति गुनासो गर्दे सयौंको संख्यामा पछिल्लो पुस्ता विदेशिने क्रम निकै नै छ। तर, डा. देवकोटाले तत्कालीन समयमा युरोप र अमेरिका विकसित मुलुकमा बस्न पाएको अवसरलाई परित्याग गरी आफ्नै देशको माटोमा रगत र पसिना बगाए। यसका कारण नेपाली स्वास्थ्य क्षेत्र आजको अवस्थामा आइपुगेको छ। त्यस्तै डा. देवकोटाको अर्को प्रशंसनीय कार्य भनेको जीवन अन्तिम घडीसम्म बिरामीको उपचारमा खटिनु हो। यहाँसम्मकि डा. देवकोटाले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्दाको अवस्थामा समेत वीर अस्पतालमा गएर बिरामीको उपचार गरेका थिए। यस कार्यको नेपालका अन्य राजनेताहरुले समेत डा. देवकोटाबाट अनुशरण गर्न जरुरी छ।

तर दुर्भाग्य, जनआन्दोलन भाग २ पछि डा. देवकोटाले देखाएको पथ न नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नै देखाए, न अन्य नेताहरुले देखाउने संकेत देखाएका छन। अर्को कुरा भौतिक संसारबाट बिदा हुँदै गर्दा शीरमा नेपाली ढाका टोपी पहिरिएर डा. देवकोटाले जुन नेपाली राष्ट्रियता देखाएका छन्, त्यसले सरकार र राजनीतिक दलका नेताहरुलाई समेत सोच्न बाध्य बनाएको होला।

जीवनभर नेपाल र नेपालीको स्वास्थ्य लागि भनेर खटिएका डा. देवकोटा यो भौतिक संसारबाट बिदा हुँदै गर्दा विश्वभरि छरिएर रहेका नेपालीहरुको तर्फबाट श्रद्धा सुमन। अनि पुर्नजन्म लिन पाउने भए पनि पुनः नेपाली भएर जन्मनू।

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्