हजारौंको भिडमा आँसु नझार्ने कोही भएनन्!

डा. उपेन्द्र देवकोटाका दाइले सोधे, ‘अब को बन्ला अर्को उपेन्द्र?’

डा. देवकोटाका दाइ वाचस्पति देवकोटा। तस्बिरहरु: झरना राई

काठमाडौं – सार्वजनिक श्रद्धान्जलीका लागि डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई बाँसबारीस्थित आफ्नै अस्पतालको प्रांगणमा राख्नु पहिले नै उनले लगभग टुंगिसकेको जीवनको बाटो लम्व्याइदिएका बिरामी र स्वास्थ्य जगतका व्यक्ति मात्र होइनन् उनले भेट्दै नभेटेका शुभेच्छुकहरुको ताँती लाग्यो।


फूलैफूलले सजाएर राखिएको डा. देवकोटाको पार्थिव शरीरको सामुन्ने झुण्ड्याइएको थियो, उनको मुस्कान सहितको फोटो। त्यो फोटो र डा. देवकोटाको मृत अनुहार देखेपछि मन थामेर डा. देवकोटालाई श्राद्धान्जली दिन पुगेका पनि भक्कानिए।

कतिपयले भने आफुलाई सम्हाल्ने कोसिसमा रहेका पत्नी डा. मधु देवकोटा, छोरीहरु डा. मेधा, मञ्जरी र वशुदा लगायत परिवारिक सदस्यहरुलाई सान्त्वना दिन भ्याएका थिए।

डा. देवकोटाको पित्त नलीमा क्यान्सर पुष्टि भएपछि छुट्टी लिएर निरन्तर हेरचाहमा खटिरहेकी पत्नी मधु, विदेशमा अध्ययन गरिरहेका र केही समय बुवा डा. देवकोटासँगै रहेका तीन छोरीहरुले एकअर्कालाई ढाढस दिँदै आगन्तुकको समवेदना स्वीकार गरिरहेका थिए।


लण्डनमा पाँच महिना लामो उपचारपछि डा. देवकोटालाई गत वैशाख १५ गते नेपाल ल्याइएको थियो। उपचार सम्भव नभएको पत्तो पाएपछि बाँकी जीवन आफ्नै माटोमा बिताउने प्रण गदै डा. देवकोटा स्वदेश फर्केका थिए। र, आफ्नै अस्पतालमा उपचारार्थ रहेका बेला उनको प्राण गएको थियो।


सबैका नजरमा नेपाली चिकित्सा क्षेत्रको एउटा धरोहर र राष्ट्रप्रति प्रतिवद्धता बोकेका डा. देवकोटाको जीवन लिला समय भन्दा अगावै चुँडिएको थियो।

त्यसको चोट सबैभन्दा धेरै परिवारका सदस्यलाई नै परेको थियो । डा. देवकोटालाई लेख्न सिकाएका जेठा दाई बाचस्पतीले आफु भन्दा १० वर्ष कान्छो भाइको मृत्यु सहनुको पीडा भाव विवहल हुँदै व्यक्त गरे ।


यसो त डा. देवकोटाले बिरामीलाई पनि आफ्नै परिवारका सदस्य बनाउथे उपचारका क्रममा । उनको निधनको चोट ती बिरामीलाई पनि नराम्ररी परेको छ । श्राद्धान्जली दिन पुगेका पूर्व सभामुख तारानाथ रानाभाटले आफु दुई पटक मुर्दा भइसकेपनि डा. देवकोटाले प्राण भरेको बताए।
डा. देवकोटाले तीन पटकसम्म शल्यक्रिया गरेर जीवन दिएका पुतलीसडकका सुरेन्द्र महर्जन उनको मृत्यु सहन नसकी एक्लै भक्कानिदैै थिए ।

बिरामी हुँदा पनि शल्यक्रिया नरोकेका डा. देवकोटालाई गुमाउनु पर्दा बिरामीमात्रै होइन उनलाई कहिल्यै नभेटेका शुभेच्छुक पनि भक्कानिरहेका थिए छुट्टाछुट्टै। न्युरो अस्पताल नजिकै बस्ने चन्द्रा आले मगर पनि विक्षिप्त थिइन्।

डा. देवकोटाका गुरु डा. दिनेशमान गंगोल देवकोटाको पार्थिव शरीरर हेरेर धेरै बेर टोलाए र सँगै चुपचाप बसे। बिमारी पहिलो प्राथमिकतामा भन्ने सिद्धान्त आफुले बोकेको र त्यसलाई नै डा. देवकोटाले जीवनभर आत्मसात गरेको निस्कर्ष डा. गंगोलको छ।

वि.सं २०१० साल पुस ४ गते गोरखामा जन्मेका डा देवकोटाले ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया अनि १० लाख भन्दा बढी बिरामी जाँच गरेका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ डा. देवकोटा आफ्नो एउटा ठूलो प्रेरक रहेको बताए।

डा. देवकोटाले वीर अस्पतालमा पहिलो पटक न्युरो सेवा विस्तारमा मात्रै योगदान पुर्‍याएका छैनन् स्वास्थ्य मन्त्री बनेका बेला पनि धेरै राम्रा काम गरेका छन् । जसले गर्दा उनलाई मनमा राख्ने पनि बाख्लै छन् । डा. देवकोटा स्वास्थ्य मन्त्री बन्दासँगै काम गरेका डा. बिडी चटौतले डा. देवकोटालाई एउटा ठूलो मिसनका साथ आफ्नौ कार्यशैली अघि बढाएका व्यक्तिका रुपमा लिन्छन् ।

डा. देवकोटाले बिरामीको मात्रै उपचार गरेनन आफुले सिकेको ज्ञान बाढ्न पनि सँधैव तत्पर रहे । त्यसमा सहमत छन् अर्थोपेडिक सर्जन डा. कैलाश भण्डारी ।

सोमबार साँझ डा. देवकोटाको निधनको खवर सार्वजनिक भए लगत्तै प्रधानमन्त्री केपी ओली न्युरो अस्पताल पुगेका थिए।

मंगलबार चीन भ्रमणमा उनी निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका रक्षामन्त्री इश्वर पोखरेल उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रयसभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका अन्य शीर्ष नेताहरु डा. देवकोटालाई श्रद्धान्जली दिन अस्पताल पुगेका थिए।

डा. देवकोटाको श्रद्धान्जलीका लागि पुगेकी प्रदेश नम्बर तीनकी प्रमुख अनुराधा कोइराला धेरै बेर डा. देवकोटाको परिवारका सदस्यसँग समय विताइन्।


डा. देवकोटालाई श्रद्धान्जली दिन प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत सुरक्षा निकायका प्रमुखहरु पनि त्यहाँ पुगे ।

पूर्व राजा ज्ञानेन्द्रको संवेदनाको सन्देश बोकेर उनका प्रमुख सल्लाहाकार पशुपती महर्जन पनि अस्पताल पुगे ।

कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेका तर राजाको शासनमा स्वास्थ्यमन्त्री बनेका देवकोटालाई स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै राजकीय सम्मान दिएको छ।

उनको शव यात्रामा हजारौं सहभागि भएका छन् । पारिवारिक निर्णय अनुसार उनको अत्येष्टि पशुपतीस्थित विद्युत शव गृहमा गरिएको छ। डा. देवकोटाको शव विद्युतीय शव गृहमा उनका छोरीहरुले बोकेर लगेका थिए।

तस्बिर: बर्षा शाह

तीनै छोरीहरुले डा. देवकोटाको सात दिनको काजकिरिया गर्ने छन् । डा. देवकोटाको शव विद्युतीय शव गृहमा राखिरहँदा आँसु बगाउने झनै धेरै भए ।

 

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्