गैरकानुनी धन्दामा नेपालीलाई उक्साउँदै विदेशी रियल स्टेट

दुबईमा घर किन्नुस् भन्दै काठमाडौँमै नवधनाढ्य भेट्दैछन् एजेन्टहरु

काठमाडौं- कानूनी रुपमा नेपालबाट २ हजार ५ सय डलरभन्दा बढी रकम नेपालीले विदेश लैजान नपाउने भए पनि काठमाडौंमा दुबईका रियल स्टेट कम्पनीले लाखौं डलरको घर बिक्रीका लागि मार्केटिङ गरिरहेका छन्।

कानुनले निषेध गरेभन्दा बढी रकम कसरी नेपाल बाहिर लैजाने भन्ने प्रश्नमा त्यो जिम्मा आफूले लिने भन्दै त्यहाँ रियल स्टेटमा लगानी गर्न उनीहरुले प्रोत्साहन गरिरहेका छन्।

काठमाडौंका तारे होटलमा दुबईको रियल स्टेट कम्पनी अजिजी डेभलपरदमास रियल स्टेटले नेपालीलाई घर बिक्री गर्न मार्केटिङ गरेका हुन्।

गत शनिबार र आइतबार बौद्धस्थित ह्यात होटलमा कार्यक्रम आयोजना गरेका उनीहरुले सोमबार र मंगलबार दरबारमार्गस्थित  होटेल अन्नपूर्णमा गाेप्य कार्यक्रम गरेका थिए। भेटघाट कार्यक्रममा आमन्त्रित व्यवसायीहरु मात्र सहभागी थिए। उनीहरुलाई सम्भावित ग्राहकका रुपमा चयन गरेर एजेन्टहरुले व्यक्तिगत सम्पर्कका आधारमा होटलमा बोलाएका थिए।

दुई दिन कार्यक्रम गर्ने भनेर आएका उनीहरुले दुबईमा घर किन्न नेपाली व्यवसायीको चाप र चासो बढेपछि दुई दिन समय थप गरेका थिए।

आमन्त्रित व्यवसायीको सिफारिसमा भेट गर्न खोज्ने नेपाली व्यवसायीको संख्या बढेपछि उनीहरुको नेपाल बसाइ लम्बिएको थियो।

मंगलबार दिउँसो होटेल अन्नपुर्णको दोस्रो तल्लामा पुग्दा दमास रियल स्टेट कम्पनीका प्रतिनिधि र नेपाली व्यवसायीबीच घर किन्ने बिषयमा कुराकानी भइरहेको थियो।

अबको केही वर्षमा दुबई विश्वकै ठूलो व्यापारिक हब बन्ने भन्दै दुबईको रियल स्टेटमा गरेको लगानी ५ वर्षमा दोब्बर हुने भन्दै कम्पनीमा प्रतिनिधिहरु घर किन्न उक्साइरहेका थिए।

नेपाली व्यवसायीले नेपालमा कमाएको पैसा विदेश लैजाने कानुनी व्यवस्था नभएको बताउँदा दमासका कर्मचारीले भने, ‘तपाईँ घर किन्ने निर्णय गर्नुस्, पैसा कसरी लैजाने हाम्रो जिम्मामा छोडिदिनुस्।’

मंगलबार दिउँसो करिब २ घण्टा होटल अन्नपुर्णमा रहँदा घरको विषयमै कुरा गर्न चार जना व्यवसायी पुगेका थिए।

केही समय पर्खेपछि उनीसँग कुरा गर्ने मेरो समय आयो। मैले पनि रकम लैजाने प्रक्रिया बिषयमा चासो राखे। उनले स्पष्ट जवाफ दिएनन्।

दुबईमा व्यवसाय भएका नेपालीलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको उनको भनाइ रह्यो। मैले दुबईमा कुनै व्यवसाय नरहेको तर दुबईमा घर किन्न चाहेको बताएपछि ती एजेन्ट खुल्दै गए।

भारतीय मूलका दमास रियल स्टेटका ती कर्मचारीलाई नेपाली विदेशमा लगानी गर्न पाउँदैन भन्ने राम्रो ज्ञान थियो। र, उनले भने, ‘तपाईँसँग भएको पैसा आतकंवादबाट कमाएको होइन होला, त्यसैले त्यो पैसा विदेश लैजान कुनै गाह्रो छैन। हामी सबै व्यवस्था मिलाउँछौं।’

उनले अगाडि थपे, ‘तपाईँले लुटेर ठगेर पैसा कमाउनु भएको होइन नि! नेपाल, भारतमा सरकारलाई कर नतिरेको पैसालाई पनि कालो धन भन्ने गरिन्छ। त्यो तपाईँले पसिना बगाएर कमाएको किन नहोस्। यहाँको भ्रष्ट सरकारले तपाईँले तिरेको करको सदुपयोग गरेका छन्? अनि किन धेरै सोच्नु हुन्छ। दुबई अबको १० वर्षमा संसारकै ठूलो सहर बन्छ र त्यहाँ तपाईको घर हुनु गर्वको कुरा हो।’

भावनात्मक कुरा गर्दै फकाउन सिपालु उनले करिब एक घण्टा भन्दा बढीको कुराकानी दुबईमा घर किन्दा हुने फाइदाको बेलिविस्तार लगाए। उनको भनाइ थियो, ‘तपाईँले किनेको घर भाडामा लगाउन सक्नु हुन्छ। सरकारले कर लगाउँदैन। घर भाडाको कमाइ होस् या पछि घर बिक्री गर्दा हुने नाफामा कुनै कर लाग्दैन। तपाईँको परिवारका सदस्यले दुबईको आवासीय भिसा पाउनेछन्। र, चाहेको समयमा सजिलै घर बिक्री गरेर नेपालमा पैसा ल्याउन पनि सक्नु हुनेछ। दुबईमा भएको भौतिक विकास, शिक्षा, स्वास्थ्यमा भएको प्रगति र त्यहाँको वातावरण लगायतले युरोपबाट दुबई आई बस्नेको संख्या बढ्दो छ।’

दुबईमा बढ्दो सहरीकरणले अजिजी डेभलपर र दमास रियल स्टेटले मात्र २५ हजार भन्दा बढि फ्ल्याट निर्माण गरिरहेको उनको भनाइ थियो।

दुबई प्रोपर्टी सो नाम दिई आयोजना गरिएको कार्यक्रममा अजिजी डेभलपर र दमास रियल स्टेटले १ करोड ५० लाख रुपैयाँभन्दा माथिका  बनिबनाउ घर र प्रिबुकिङको विकल्प दिएका थिए।

कम्पनीका एक कर्मचारीले अहिले घर बुकिङ मात्र गर्दा पनि ३ वर्षपछि डेलिभरी दिँदा नै २०-२५ प्रतिशत सम्म मूल्य बढ्ने दाबी गरे।

अजिजी डेभलपर र दमास रियल स्टेट कानुन बमोजिम दर्ता भई अर्बौं डलर लगानी गरेको कम्पनी भएकाले घर किन्दा कानुनी रुपमा कुनै समस्या नहुने आश्वस्त ती एजेन्टहरुले पारेका थिए।

नेपालमा बैकिंङ प्रणालीभन्दा बाहिर ठूलो रकम रहेको सरकारले गरेको अध्ययनले देखाएको छ।

दुबईका कम्पनी नेपाली व्यवसायीसँग रहेको अवैध रकमलाई लक्षित गर्दै घर बिक्री गर्न नेपाल आएको हुन सक्ने एक व्यवसायीको भनाइ छ।

सरकारले हुण्डीमार्फत हुने कारोबारलाई नियन्त्रण गर्न नसक्दा यस्ता गतिबिधि बढेको नेपाल राष्ट्र बैंकका अधिकारी बताउँछन्।

सरकारले नेपालमै घर बिक्रिका लागि प्रचारप्रसार गर्न आउने समूहलाई नियन्त्रणसँगै हुण्डी कारोबार रोक्न नसक्ने हो भने पुँजी पलायनको खतरा बढ्दै जानेछ। यसअघि पनि थुप्रै नेपालीले अवैधानिक रुपमा विदेशमा घर किनेको आरोप लाग्ने गरे पनि यसरी नेपालमा आएर विदेशमा घर किन्न मार्केटिङ गरेको सम्भवत: यो पहिलोपटक हो।

गत शुक्रबार नेपाल आएका उनीहरुले आजै (मंगलबार) दुबई फर्किने उनीहरुले बताएका थिए।

फोनमा भन्दा भेटेरै कुरा गर्न चाहने उनीहरुले नेपाल बसाइमा भारतका टेलिकम कम्पनीको सिम प्रयोग गरेका थिए।

नेपालीले कति पैसा विदेश लैजान पाउँछन्?

विदेशी विनिमय ऐनको दफा ९ ‘ग’ ले नेपालीलाई विदेशमा लगानी गर्न पूर्ण रोक लगाएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय ऐनको आधारमा जारी गरेको एकीकृत परिपत्र अनुसार विदेश जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्म लैजान पाउँछन्।

यस्तै कुनै देशको डिभी/पिआर लिई विदेश जानेले र व्यापार प्रवर्द्धनका लागि विदेश जानेले ५ हजार अमेरिकी डलरसम्म विदेश लैजान पाउँछन्।

स्वास्थ्य उपचार र पढाइका लागि विदेश जानेले भने सम्बन्‍धित निकायको सिफारिसमा आवश्यकता अनुसार डलर लैजान पाउने कानुनी व्यवस्था छ।

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्