डा. उपेन्द्र देवकोटा: श्रद्धाञ्जली

जसले आफ्नै सर्तमा जीवन बाँचे

कमै मान्छेमा जीवन आफ्नो शर्तमा जिउने क्षमता, साहस र चरित्र हुन्छ। यदि त्यसरी बाँच्नु र पारिवारिक विरासतबिना नै प्रसिद्धिको शिखरमा खुट्टा राख्नु सफलता हो भने डा. उपेन्द्र देवकोटाको जीवनलाई इर्ष्यालाग्दो हिसाबले सफल मान्नुपर्छ।

जीवनका अनेक संर्घषका उकालीओराली मुस्कानसहित र थकावट नदेखाई पार गरी उनले आफ्नै सर्तमा मृत्यु स्वीकार गरे सोमबार। उनी भन्थे, ‘म नेपालमै प्राण विसर्जन गर्छु, आफन्तहरुकै बिचमा र गंगाजल हैन आमासँग बाल्यकालमा पछ्याउँदै गएको सिस्नेधाराको पानी जिब्रोमा नहाली म मर्दिन।’

२०१० साल पुस ४ गते गोरखाको पण्डितगाउँमा जन्मेका उपेन्द्रप्रसाद देवकोटा त्यहीँ पढे, बढे। सानैदेखि खेतमा पसिना बगाउन अभ्यस्त देवकोटाले पसिनामा सधैँ आत्मसम्मान र शक्ति देखे। आफ्नो बौद्धिक क्षमता निखार्दै मेहनतलाई पसिनामा परिणत गर्दै उनी गोरखाको  अमरज्योति स्कुलबाट अमृत साइन्स कलेज, आसामको डिब्रुगढ मेडिकल कलेज अनि फर्केर वीर अस्पताल हुँदै बेलायतको प्रसिद्ध न्युरो सेन्टरहरु ग्लास्गो, एट्किन्सन मोर्ली र क्विन्स स्क्यायर पुगे। आफ्नो अद्भुत क्षमता प्रदर्शनबाट त्यहाँको प्रारम्भिक तीन वर्षमा एएआरसीएस डिग्री कमाए र त्यहाँ बितेका पछिल्ला तीन वर्षमा अब्बल सर्जनका रुपमा आफूलाई स्थापित गरे।

पारिवारिक पृष्ठभूमि या मुलुकको पछौटेपनले हैन, स्पष्ट लक्ष्यसहित अघि बढेका कदममा कसैले ब्रेक लगाउन सक्दैन भन्ने सन्देश देवकोटाको जीवनयात्राले दिएको छ। नेपालीका लागि वर्षौैदेखि वर्जित एफआरसीएस परीक्षामा सामेल भई एकैपटकमा पास गरेर नेपालीहरु बौद्धिक रुपमा हिन जाति हैनन् भन्ने उदाहरण मात्र प्रस्तुत गरेनन् उनले, नेपालीहरुका लागि बन्द गरिएको त्यो ढोकामा लागेको भोटेताल्चा खोल्न देवकोटाले बेलायत सरकारलाई बाध्य बनाए।

संघर्ष गरेको मान्छेले समाज बुझ्दछ, त्यसका जटिलता र सम्वेदनशील पक्षसहित। बेलायतमा स्थापित भई त्यहाँ आफ्ना लागि ठूलो भविष्य बनाउनुको सट्टा नेपालमै फर्की सरकारी क्षेत्रमा त्यहाँको जस्तै न्यू्रो सर्जरीको संस्था खोल्ने उनको प्रयास धराशायी भयो, दलीय राजनीति र षड्यन्त्रका कारण। सपना पछाडि दौडिँदा उनको ऊर्जाशील जीवनका १० वर्ष नष्ट भए। पलायन या अठोटसाथ अर्को विकल्प?

स्वभावत: डा. देवकोटाले अर्को विकल्प खोजे र अथक प्रयासपछि बासँबारीमा इन्स्टिच्युट अफ न्यूरोसाइन्सेज जन्माए। निजी क्षेत्रमा १२ वर्षअघि मनमोहन अधिकारीले प्रधानमन्त्रीका रुपमा सरकारी अस्पताल बनाउन बाँसबारी छालाजुत्ताको ८० रोपनी जग्गा दिन दिएको आश्वासनलाई  उनकै तत्कालिन स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरले षड्यन्त्रपूर्ण तरिकाले पराजित गरिदिए। षड्यन्त्रबाट पराजित भई भाग्नु पलायनवाद हो। त्यो देवकोटाको शब्दकोषमा थिएन।

पारिवारिक पृष्ठभूमि या मुलुकको पछौटेपनले हैन, स्पष्ट लक्ष्यसहित अघि बढेका कदममा कसैले ब्रेक लगाउन सक्दैन भन्ने सन्देश देवकोटाको जीवनयात्राले दिएको छ।

डा. देवकोटाको चासो चिकित्सा क्षेत्रमा मात्र थिएन। कुनै राजनीतिक दलका सदस्य बनेनन् उनी, यद्यपि गत चुनावमा राष्ट्रियतालाई अँगालेको केपी ओली नेतृत्वको वाम गठबन्धनका उम्मेदवार र कुनै बेला इन्स्टिच्यूट अफ मेडिसिन महाराजगञ्जमा आफ्नौ विद्यार्थी रहेका नारायणकाजी श्रेष्ठको पक्षमा भाषण गर्न गृहजिल्ला गोर्खा पुगे उनी। संयोग, त्यहीँ अस्वस्थता महसुस भयो र त्यसलगत्तै ‘डाइग्नोज’ भएको ‘वाइल डक्ट’को क्यान्सर उनको मृत्युको कारण बन्यो।

२०५९ असोजमा राजा ज्ञानेन्द्रद्वारा गठित मन्त्रिपरिषद्‌मा स्वास्थ्यमन्त्री बनेका थिए उनी। मोटरसाइकलमा सवार हरेक व्यक्तिका लागि अनिवार्य हेल्मेट, वीर अस्पताललाई पोस्ट ग्र्याजुएट मेडिकल इन्स्टिच्यूटको हैसियत र पढाइ सञ्चारलन, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको विस्तार जस्ता निर्णय र कार्यान्वयन विभागीय मन्त्रीका रुपमा सुनिश्चित गर्नुका साथै उनले आफ्नो अन्तर्राष्ट्रिय हैसियतमार्फत वर्ल्ड बैंकसँग निगोसिएट गरे, स्ट्रक्चरल एडजस्टमेन्टका नाममा नेपालमाथि कठिन सर्त नलाद्न। त्योसँगै सरकारी ढुकुटीको दुरुपयोगविरुद्ध मन्त्रिपरिषद्भित्र उनले चर्को आवाज उठाइरहे। वीर अस्पतालमा छँदा नै उनी सार्क न्यूरो सोसाइटीका पहिलो अध्यक्ष बने। अत्यन्त सफलतासाथ विश्व स्तरको न्यूरो कन्फरेन्स आयोजना गरेर।

मावन जीवन ज्ञान आर्जनको प्रयोगशाला पनि हो। चिकित्सक भए पनि उनले राजनीतिको वृहतरुप बुझ्ने कोशिस गरिरहे, तर दलीय संकीर्णतामा आफूलाई खुम्चाउन चाहेनन्। दलहरुसँगको उनको विरक्तिका अनेक उदाहरण छन्। उनीसँग निकट र वाम पार्टीसँग कुनै समय आवद्ध त्रिभुवन विश्वविद्यालयका शिक्षक पदम गौतमले एकपटक पार्टी लिटरेचर दिँदा देवकोटाले जवाफ दिए, ‘यो लिटरेचर पढ्नुभन्दा मेडिकल जर्नल पढेँ भने मैले केही ज्ञान पाउँछु। यी दलले मुलुकका लागि केही गर्ने छाँट देखिएन।’

विवेकशील व्यक्तिले दल र नेतालाई बोलीबाट हैन कामबाट जाँच्छ। राजा वीरेन्द्र र ज्ञानेन्द्र, मनमोहन अधिकारी र मदन भण्डारीप्रतिको उनको आदर उनकै विवेक र अनुभवको कसीमा जाँचिएका अनि राष्ट्रियताका मान्यताबाट निर्देशित थिए। अरुले यो आदर नपाउनुमा डा. देवकोटाको पूर्वाग्रहभन्दा नेताहरुको अपूर्णता जिम्मेवार थियो।

नेपालको माटो र पानीप्रतिको उनको सम्मान के उनको राष्ट्रिय अखण्डता र प्राकृतिक श्रोतको सम्मान हैन र? वर्कोहोलिक मन्त्री हुँदा पनि अफिस टाइमपछि वीर अस्पतालमा गएर ‘अप्रेसन’ गर्ने मान्छेलाई आफ्नो राजनीतिक मान्यता र सोचबारे कसलाई सुनाउने?

आफ्ना ‘अर्जुन’को बिदाइमा डा. गंगोल (कुर्सीमा)। तस्बिर: झरना राई

मृत्यु शैय्याबाटै गाँसिएको मित्रता छोटो हुन्छ कि लामो? त्यो दार्शनिक प्रश्न हुन सक्छ। डाक्टर देवकोटाको जीवन केही दिनमात्र शेष भएको पक्का भएपछि उनी केही बोल्न चाहन्थे, आफ्नो जीवनयात्रा बारे। म पात्र या माध्यम बनेँ, ‘मेरो माटो मेरो चन्दन’ श्रृंखलाको प्रकाशनमा। उनले नपोखेका कथा र व्यथा छन् त्यसमा। आँसुलाई दबाएर हाँसोहरुका साथ मृत्युशैय्याबाट जीवन ओकलेका छन् उनले शब्द शब्दमा। देवकोटालाई थाहा थियो, एउटा जमात उनलाई घमण्डी भन्छ। अर्को जमात उनको विशिष्टता र कर्तव्यप्रतिको समपर्णबाट तर्सिएको छ र त्यो अर्को अभियानमा तगारो बनिरह्यो। त्योभन्दा बाहिरको अत्यन्त ठूलो जमात उनलाई राष्ट्रिय हिरो मान्छ।

उनमा अर्जुन दृष्टि थियो। अर्जुन दृष्ट्रिको लागि उनले दक्ष, योग्य र चरित्रवान गुरु थापेका थिए- डा. दिनेश गंगोल, डा. टिज्डेल या उनलाई नपढाएका अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेसका डा. पीडी टण्डन। उनीहरुको सहयोग र आशिर्वाद सधैँ रहिरह्यो डा. देवकोटालाई। न्यूरो इन्स्टिच्यूटको जग डा. गंगोललाई हाल्न लगाएर उनले गुरुभक्ति र पूर्वीय दर्शन दुवैप्रति आफ्नो आदर देखाए।

लण्डनबाछ फर्की तत्काल अपरेशन सुरु गर्न आवश्यक उपकरणहरुको खरिदमा होस् या बाँसबारी स्थित न्यूरो केन्द्र स्थापनाको संघर्षमा होस्, उनकी पत्नी डा. मधु दीक्षित देवकोटाले आफ्ना सबै सञ्चित पुँजी, गहना र लालपूर्जा समेत समर्पण गरिन् डा. देवकोटालाई । उनी अदृश्य सारथी रहिरहिन् यो सम्पूर्ण संघर्षमा ।

रोग डाइग्नोज भएदेखि लगातार अभिभावकीय भूमिका खेलिन् उनले । जीवनसाथी डा. मधु दीक्षित देवकोटा र जीवनको सत्यलाई स्वीकार गर्न बाआमाबाट प्रेरित छोरीहरु मेधा, बसुधा र मञ्जरी अनि विस्तारित परिवार, आफन्तसँगै चिकित्सा जगतका प्रतिनिधि र डा. देवकोटाद्वारा जीवनदान पाएकाहरुको घुँइचोले उनलाई होस रहँदासम्म सुखद् अनुभूति गरायो पक्कै पनि। उनले मृत्युलाई आफ्नो सर्तमा स्वीकारेका थिए। यो सानिध्यले त्यसलाई सुखद् पनि बनायो।

उनले योगी नरहरिनाथको उपचार पनि गरेका थिए। सम्भवत योगीले आफ्नैबारे लेखेका यी पंक्ति डा. देवकोटाका लागि पनि थियो –

म यसै बोलीको लख छु,पछुतो छैन मनमा

हजारौँ बाधाले पछि नहट्ने योग मनमा ।।

थकाई मार्दैनौ सफल नगरी, जीवन भरि

मरी जन्मी फेरि उही पथ लिने सदव्रत छ यो।।

यो पनि पढ्नुहोस्

असार ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्