विश्वकप २०१८ : बच्चा र फुटबल

ब्राजिलियन टिममा बच्चा खेलाडी र विश्वकपमा उनीहरुको प्रभाव !

विश्वकप फुटबलमा उपाधि दाबेदारको रुपमा हेरिएको ब्राजिल पहिलो खेलमा १–१ को बराबरी भएपछि समूह चरणको आफ्नो दोस्रो खेलको तयारीमा छ ।

त्यसका लागि टिमका खेलाडीहरु प्रशिक्षणमा छन् । स्टार खेलाडी नेइमार दायाँ खुट्टाको गोलीगाँठोमा समस्या देखिएका कारण उपचारमा छन् । टिमका अरु खेलाडी भने पहिलो खेलमा स्वीट्जल्याण्डसँग बराबरी भएको भन्दा आँदा खेलमा राम्रो गर्नका लागि अभ्यासमा छन् ।

रुसको सोचीमा उनीहरुले प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई प्रशिक्षणमा साथ दिएका छन्, साना बच्चाहरुले । टिमका केही खेलाडीका छोराछारी प्रशिक्षण भइरहेको मैदानमै गएर फुटबल खेलेका छन् । टिमका खेलाडीका परिवारका सदस्य प्रशिक्षण हेर्नका लागि गएका बेला बालबालिकाले विश्वका स्टार खेलाडीसँग फुटबल खेलेका हुन् ।

यसमा मार्सेलोका दुई वर्षे छोरा लिएम, कासेमिरोकी दुई वर्षकै छोरी सारा र डानिलोका तीन वर्षे छोरा मिगुएल रहेका छन् । उनीहरुले प्रशिक्षणको अन्त्यतिर सोमबार ब्राजिलियन टिमका खेलाडीसँग फुटबल खेलेका छन् ।

उनीहरुका आमाले साइडमा बसेर यो रमाइलो हेरिरहेका थिए । खेलाडीहरु पनि आफ्ना सन्तान र परिवारसँग केही समय रमाइलो गरेर बिताउन पाउँदा खुशी देखिन्थे । समूह ई मा रहेको ब्राजिलले शुक्रबार कोस्टारिकासँग खेल्दैछ ।

असार ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्