लाभकर छल्नखोजेको आशंकामा दुई ब्रोकर कम्पनीको सेयर बिक्री रोकियो

काठमाडौं- दुई स्टक ब्रोकर कम्पनीको सेयर बिक्री प्रक्रिया धितोपत्र बोर्डले रोकेको छ।

साउथ एसियन बुल  र  सेक्योर्ड सेक्युरिटीजले सेयर कारोबारका लागि स्विकृति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको ३ साता बित्दा पनि बोर्डले अनुमति दिएको छैन।

सेयर खरिद बिक्री गरेको बास्तविक मुल्य र बोर्डमा पेस गरेको मूल्य फरक भएको आशंकामा बोर्डले उनीहरुलाई अनुमति नदिएको हो।

ब्रोकर कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा सेयर कारोबार गरेको विवरण पेस गरेपछि बोर्डले अनुमति नदिएको स्रोतले जनाएको छ।

कम्पनीको नेटवर्थ भन्दा सस्तोमा सेयर बिक्री हुनु संकास्पद रहेको भन्दै बोर्डले अनुसन्धान गरिरहेको छ।

कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने रकमलाई नेटवर्थ भनिन्छ।

कुल नेटवर्थलाई कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिसेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ ।

सेयर बिक्री गर्न खोजेका दुबै कम्पनीको नेटवर्थ प्रतिसेयर २ सय रुपैयाँ भन्दा बढी रहेको बोर्ड स्रोतले जनाएको छ।

ब्रोकरहरुले पुँजीगत लाभ कर छली गर्न एक सय रुपैयाँमा सेयर बिक्री गरेको विवरण पेस गरेको हुन सक्ने धितोपत्र बोर्डको आशंका छ।

सेयरको अंकित मूल्य एक सय रुपैयाँ भएकाले एक सय रुपैयाँ भन्दा बढीमा बिक्रि भएको रकममा पुँजिगत लाभ कर लाग्ने गर्छ।

कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका तर सेयर बजारमा सूचीकृत नभएका जुन सुकै कम्पनीको सेयर एक व्यक्तिले अर्कोलाई बिक्री गर्दा हुने नाफामा १५ प्रतिशत पुँजीगत लाभ कर तिर्नु पर्छ।

ब्रोकरले पनि त्यही १५ प्रतिशत कर छल्न कारोबार मूल्य घटाएको हुनु पर्ने बोर्डमा अधिकारी बताउँछन्।

सेयर बजारमा सूचीकृत भएका कम्पनीको हकमा भने व्यक्तिले सेयर बिक्रीमा कमाएको नाफामा ७.५ प्रतिशत पुँजीगत लाभ कर तिर्नु पर्छ।

२ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकर कम्पनी पनि ७-८ करोड रुपैयाँ भन्दा कममा बिक्री नहुने ब्रोकरहरु नै बताउँछन्। यसरी हेर्दा पनि ती दुई ब्रोकर कम्पनीले प्रतिकित्ता करिब ४ सय रुपैयाँको हाराहारीमा सेयर बेचेको हुन सक्ने देखिन्छ।

पुँजीगत लाभ करछली गर्न नेप्सेमा सुचिकृत नभएका प्रायः कम्पनीले सेयरको कारोबार मुल्य घटाउने गरेको कम्पनी रजिष्ट्रार कार्यालय उच्च स्रोत बताउँछ।

स्रोतमा अनुसार धेरै नाफा कमाउने प्राईभेट कम्पनीले पनि प्रति सेयर एक सय रुपैयाँमा सेयर बिक्री गर्ने गरेका छन्।

कम्पनी ऐनले बास्तविक कारोबार मूल्य जाँच गर्ने अधिकार नदिएकाले कारोबार मुल्य घटाएको आशंका हुदाँ पनि कम्पनी रजिष्ट्रार कार्यालयले केही गर्न नसक्ने स्रोतको भनाइ छ।

सेयर कारोबारको बास्तबिक थाहा पाउने संयन्त्र बनाउन सके सरकारले प्राईभेट र नेप्सेमा सुचिकृत नभएका पब्लिक कम्पनी बिक्री गर्दा हुने नाफामा ठलो परिणाममा पुँजिगत लाभ कर  संकलन गर्न सक्ने धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालयका उच्च अधिकारी बताउँछन्।

आन्तरिक राजस्व विभागले प्रभावकारी काम गर्न नसक्दा कारोबार मुल्य लुकाउने प्रवृति घट्न नसकेको उनिहरुको आरोप छ।

कुनै पनि कम्पनीको खातापाता हेर्न सक्ने अधिकार आन्तरिक राजस्व विभागलाई  रहेको छ।

यता आन्तरिक राजस्व विभागमा प्रवक्ता यज्ञ ढुंगाना कतै त्यसरी कर छलि भएको छ भने विभागले अनुगमन गर्ने बताउँछन्।

असार ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्