चौतर्फी विरोधपछि आफ्नै नीतिबाट पछि हटे ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अवैध रुपमा अमेरिका पसेका आप्रवासीका परिवारलाई छुट्याउने नीतिबाट पछि हटेका छन् ।

अवैध आप्रवासीमाथि शून्य सहनशीलता नीति अनुरुप ट्रम्प प्रशासनले आप्रवासीलाई बन्दी बनाउन थालेको थियो । त्यसअन्तर्गत धेरै बालबालिकाहरु उनीहरुका अभिभावकबाट विछोडिन बाध्य भएका थिए ।

ट्रम्पको यस्तो नीतिको विश्वव्यापी रुपमा विरोध भएको हो । विरोधपछि राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई हिरासतमा लिँदा परिवार एकै ठाउँमा राख्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पको नीति अनुसार कागजात पूरा नभएका आप्रवासीलाई बन्धक बनाउँदा उनीहरुका सन्तानलाई अन्तै लगिएको थयो । अभिभावकबाट विछोडिएका बालबालिकाको तस्बिर सार्वजनिक भएपछि विश्वव्यापी रुपमा विरोध सुरु भएको थियो ।

ट्रम्पले अभिभावकबाट टाढिएका बालबालिकाको तस्बिरकै कारण आफू आफ्नै नीतिबाट पछि हटेको बताएका छन् । तर ट्रम्पले हस्ताक्षर गरेको नयाँ निर्देशन कहिलेदेखि कार्यान्वय हुने भन्ने खुलाइएको छैन ।

ट्रम्पले परिवार विभाजित भएको आफूलाई पनि मन नपर्ने तर अवैध आप्रवासीमाथिको शून्य सहनशीलता नीति भने कायम रहने बताएका छन् ।

गएको मे ५ देखि जुन ९ सम्ममा २३ सय ४२ बालबालिका उनीहरुका अभिभावकबाट विछोडिएका छन् । ट्रम्पको नीति अनुसार २२ सय ६ अभिभावकलाई बन्दी बनाएपछि उनीहरु एक्लिएका हुन् ।

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्