शिवम् सिमेन्टलाई सेयर निष्कासन अनुमति, कति तोकियो प्रिमियम मूल्य?

काठमाडौं- नेपाल धितोपत्र बोर्डले शिवम् सिमेन्ट लिमिटेडलाई सेयर निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डका सह प्रवक्ता निरञ्जय घिमिरेले बोर्डले शिवम्‌लाई सेयर निष्कासनको अनुमति दिएको जानकारी दिए।

शिवम्‌ले जारी पूँजीको १२ प्रतिशत साधारण सेयर (आईपिओ) बिक्री गर्न लागेको छ ।

स्थानीय वासिन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशत आइपिओ बिक्री गर्ने लागेको बोर्डले जनाएको छ ।

घिमिरेले स्थानीय वासिन्दाका लागी प्रमियम मूल्य तिन सय रुपैयाँ र सर्वसाधारणका लागि प्रिमिएम मूल्य चार सय तोकिएको जानकारी दिए।

गत वर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेपछि शिवम्‌ले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको थियो।

आईपिओ जारी गर्न कम्पनीले चैत ६ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको थियो। आईपिओ निष्काशनमा विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

४ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको  रहेको शिवम् सिमेन्टले १२ प्रतिशत हुन आउने ५२ करोड ८० लाख रुपैयाँ बराबरको ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्न लागेको हो ।

जसमध्ये ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि तथा ४४ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ ।

गत पुस २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्