युएईमा साउन १६ गतेबाट आममाफी दिइने, मलेसियामा भदौ १५ गतेसम्म

काठमाडौँ– अवैधानिक रुपमा युएईमा बसिरहेका आप्रवासी कामदारलाई आममाफीको लागि तीन महिनाको समय दिइने भएको छ ।

आगामी साउन १६ गतेबाट (अगस्ट १) लागु हुने गरी तीन महिनाभीत्रमा आफ्नो देश फर्किन अथवा जरिवाना तिरेर वैधानिक भएर त्यहिँ काम गर्न पाउने गल्फ न्युजले जनाएको छ । युएईको सरकारले श्रम ऐनमा भएको सुधारलाई गएको साता अनुमोदन गरेपछि आप्रवासीले त्यो अवसर पाएका हुन् ।

भिसा सकिएर बसेका कामदारलाई ६ महिना काम खोज्न समय समेत दिइएको छ । फर्किन चाहनेले पनि फेरि जान सक्ने गरि फर्किन पाउने छन् । मलेसियास्थित नेपाली दूतावासले भने यस विषयमा आधिकारीक जानकारी नआइसकेको जनाएको छ ।

मलेसियामा भदौ १५ गतेसम्म आममाफी

मलेसियाको अध्यागमन विभागले गैरकानूनी हैसियतमा बसेका प्रवासी कामदारलाई देश छाड्न थप भदौ १५ गते (अगष्ट ३०) सम्मको समय दिएको छ । यो अवधिमा त्यहाँका गैरकानुनी प्रवासी कामदार वैधानिक हुन पाउने छन् । वैधानिक भएर त्यहाँ काम गर्न नचाहनेले श्व्देश फर्किन पाउने छन् ।

तर यो अवसरलाई सदुपयोग नगर्ने कामदारमाथी भने मलेसिया कठोर बनेको छ । यस्ता कामदारलाई काम दिने रोजगारदातालाई समेत कारबाही गर्ने मलेसिया सरकारले चेतावनी दिएको छ ।

गैरकानुनी आप्रवासी कामदारलाई अघिल्लो वर्ष पनि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म समय दिएको थियो । यो वर्ष जनवरीदेखि जुन ३० सम्मका लागि समय थपिएकोमा फेरि अगष्टसम्म समय बढाइएको हो ।

मलेसियामा करिव १ लाख अवैधानिक कामदार रहेका अनुमान गरिएको छ । अवैधानिकरुपमा काम गरिरहेका नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्किन नेपाली दूतावासले आग्रह गरेको छ ।

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्