रवि लामिछाने, उनको अपराध र असहिष्णु हामी

मित्रहरु भन्छन्, नाममा के छ र? अहिले आएर लाग्छ, जे छ नाममै त छ। रवि लामिछाने- यो नामले अहिले सामाजिक सञ्जाल तातिएको छ। उनको नामको प्रशंसामा कुनै दिन एक शब्द खर्च नगर्ने नेपाली राष्ट्रवादीहरु अचानक उनको नागरिकतालाई लिएर चर्को आवाजसाथ कुर्लँदैछन्।

मेरो आशय यो हैन कि उनीमाथि प्रश्न उठाउने अधिकार कसैलाई छैन। अथवा उनी भगवान् हुन् सबैले मन्दिरमा पूजा गरेर राखून्। कानुनी प्रक्रिया आफ्नै ठाउँमा होला। तर, यत्रो समुदाय जसलाई रविले आफ्नो काममार्फत् चुनौती दिएर थर्कमान बनाएका रहेछन्, कहाँ थिए हिजो जब रवि खाडीमा अलपत्र युवतीको सहयोगमा कदम उठाउँदै थिए?

कहाँ थियो उनीहरुको राष्ट्रवाद जब रविले एयरपोर्टमा अलपत्र खाडी जाने युवतीलाई दलालले यौन शोषण गर्दै गरेका बेला उद्धार गरे। तिम्रो नागरिकतामा अडेको राष्ट्रवादलाई एकपटक फेरि सलाम!

मलाई अहिले महान कवि भूपि शेरचनको सम्झना आइरहेको छ। अरु बाटै सञ्चालित हामी। वास्तवमा अरुले नै भन्दिनुपर्ने- के गलत, के सही।

हामीलाई बस् राष्ट्रवाद भए पुग्यो। उनी दोषी भए पनि नेपालको कानुनमा विश्वास भए त कानुनलाई आफ्नो काम गर्न दिनुपर्ने हो नि हामीले? कानुन पनि भन्छ- दोषी नठहरिएसम्म सबै निर्दोष हुन्छन्। तर किन सामाजिक सञ्जालमा हामी यतिबिघ्न असामाजिक भयौँ? किन यति असहिष्णु भयौँ?

अहिले आएर रवि लामिछानेले अमेरिकी राहदानी त्यागिसकेको स्पष्ट भइसकेको छ। सामाजिक सञ्जालका ती प्रयोगकर्ताहरु के अब माफी माग्लान्?

के समाजमा भएका कुरीतिलाई अगाडि ल्याउनु प्रत्येक नागरिकको कर्तव्य होइन? सरकारले नगरेका काममा औँलो ठड्याउनु तपाईँहामी सबैको कर्तव्य होइन? त्यही काम रविले गर्दा किन टाउकोदुखाइ हामीलाई? नागरिकताको विषयमा हामी किन यति अराजक भयौँ?

विशेष गरी रविको लोकप्रियतामा केही व्यक्ति डराउनु स्वाभाविक हो। पहिलोपटक कामको जिम्मेवारी सम्हालेको दिन मलाई हाकिमले भन्नुभएको थियो, ‘जब सबै खुसी हुन्छन्, काम राम्रो सँग चलेको जस्तो लाग्छ, सम्झिनू तिमीले तिमीले आफ्नो कर्तव्य राम्रोसँग सम्हालेको छैनौ।’ यो कुरा रविमा पनि लागू हुन्छ।

अभिलाषा शर्मा

सामाजिक दायित्व जति रवि लामिछानेलाई सिकाउँदै छौँ हामी, एकपटक एेनाअगाडि उभिएर प्रश्न गरौँ न- हामी कति उत्तरदायी छौँ हाम्रो कर्तव्यमा। कतिले आफ्नो सीमापरिधिभित्र ररहेर समाजको भलो हुने काम गरेका छौँ? यदि सामाजिक परिधिले समाजको स्वास्थ्य र स्वतन्त्रतालाई व्याख्या गर्दैन भने त्यो परिधि फराकिलो पार्ने जिम्मा कसको हो ?

आवाजविहीनहरुको आवाज बन्नु, दृष्टिविहीनहरुको दृष्टि बन्नु हामी सबैको कर्तव्य होइन?

हामी आफ्नो मूल्यांकन गरौँ एकैछिन अनि सोचौँ रवि लामिछानेले सीधा कुरा मार्फत उठाएका समस्याले हामी कस्तो समाजमा बसेका छौँ भन्ने उजागर गर्छ कि गर्दैन?

हामी त सामाजिक सञ्जालमा यसरी प्रस्तुत भएका छौँ, लाग्छ कि हिटलरले ग्यास च्याम्बरमा हजारौँको ज्यान लिएपछिको यो विश्वको दोस्रो अपराध हो जुन क्षमायोग्य छँदै छैन।

हामी अति संवेदनशील छौँ। विशेष गरी जब प्रश्न राष्ट्रवादको आउँछ! हाम्रो राष्ट्रवाद नागरिकता, दौरासुरुवाल र टोपीमा अढेको छ भन्ने सम्झ्यौँ हामीले। कुनै पनि बेला आँधीबेरीले हाम्रो राष्ट्रियता नांगो बनाइदिन्छ। जुन आँधीबेरी अहिले रवि लामिछानेको कामबाट आइरहेको छ, हेरौँ त कति राष्ट्रवादीहरु नांगिएका छन् यसबाट?

रवि लामिछानेप्रति यस्तो वितृष्णा पोख्दा उच्च शिक्षा हासिल गरी आफ्नो देश फर्किएर केही गर्छु भन्ने भावना भएका हजारौँ मजस्तै नेपालीलाई कस्तो सन्देश दिन्छ?

म हजार रवि लामिछानेलाई समर्थन गर्छु जो प्रत्येक निमुखाको आवाज बनेर समाजका बेथितिलाई चुनौती दिने सामर्थ्य राख्छन्। उनका हरेक कदममा साथ मिलाएर हौसला दिन म तयार छु। तपाईँ नि?

असार ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्