विश्वकप २०१८ : अर्जेन्टिनाको हार र मेस्सीको चिन्ता

मेस्सीलाई धेरै भयो अर्जेन्टिनाको आशको भारी

मस्को-विश्वकप फुटबल अन्तर्गत बिहीबार राति क्रोएसियासँगको खेल सुरु हुनुअघि स्टार खेलाडी लियोनल मेस्सीको अनुहारमा चमक थिएन, चिन्ता थियो । उनी निकै तनावमा देखिन्थे । सायद पूरै देशको दबाब एक खेलाडीको काँधमा हुनुको परिणाम थियो त्यो ।

अर्जेन्टिनाका मेस्सीले देशका ४ करोड ४० लाख मानिसको आश बोकेका थिए, यो कुराको चिन्ता र भारी उनी मैदान छिर्नका लागि लाइनमा रहेका बेला अनुहारमा झल्किन्थ्यो ।

पहिलो खेलमा आइसल्याण्डसँग १ १ को बराबरीमा रोकिएकाले अर्जेन्टिनाका लागि बिहीबार रातिको क्रोएसियासँगको खेल निकै महत्वपूर्ण थियो ।

खेल पूर्व कप्तान मेस्सीले आँखा बन्द गरेर निधार रगडेका थिए । सायद त्यो जितको चाह र दबाबलाई शक्तिमा बदल्ने तरिका थियो ।
मेस्सीमाथि अर्को दबाब यो पनि हुन सक्छ, उनका सर्वकालीन प्रतिस्पर्धी पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले दुई खेलमा चार गोल गरिसके ।

मेस्सीले पहिलो खेलमा पेनाल्टी पनि मिस गरेका थिए । तर रोनाल्डोले पहिलो खेलमा ह्याट्रिक तथा दोस्रो खेलमा एक गोल गरेर प्रतियोगितामा अहिलेसम्म चार गोल गरिसकेका छन् । रोनाल्डोको यो प्रदर्शन पनि उनका लागि दबाबको अर्को कारण बन्न सक्यो ।

खेल सुरु हुँदाको चिन्ता र क्रोएसियासँगको खेल सकिँदासम्मको चिन्ताको स्वरुप नै फेरिएको छ । समूह डी मा रहेको अर्जेन्टिना क्रोएसियासँगको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशका लागि बलियो सम्भावना बनाउने लक्ष्यसहित आएको थियो ।

तर खेलमा मेस्सीको टिम ३ ० ले पराजित हुन पुग्यो । यसको अर्थ अब उसको हातबाट लगभग सबै छुटेको छ र समूहको एक खेल मात्रै बाँकी हुँदा अर्जेन्टिना समूह चरणबाटै बाहिरिने सम्भावना धेरै देखिएको छ । अघि जानका लागि अब अन्तिम खेलमा उसको प्रदर्शन र समूहमा रहेका अरु टिमको नतिजामा भर पर्नु पर्छ ।

मेस्सी किन यस्तो कमजोर देखिएका छन् ? वा उनले कठिन प्रयास धेरै गरेका हुन् ? वा उनको गल्ती के ?


यो हप्ताभर यस्ता खबरहरु आए कि मेस्सी निकै निराश छन्, गएको शनिबारको खेलपछि । मेस्सीले नमिठो महसुस गरे । अर्जेन्टिनाको टिमका सदस्यले आयोजना गरेका बारबिक्युबमा पनि मेस्सी गएनन् । उनी एक्लै होटलमा आफ्नो कोठामा बसे ।

बिहीबार राति मेस्सीले खेल पूर्व गरेको व्यवहारले उनको टाउको दुखेकोजस्तो पनि देखिन्छ । तर चेल्सीका गोलरक्षक विली काबालेरोको गल्तीका कारण क्रोएसियासँगको खेलमा अर्जेन्टिनाले गोल खान सुरु गर्यो । त्यो क्रम रोकिएन र अर्जेन्टिनाले सन् १९५८ पछि विश्वकपको समूह चरणमा खराब हार भोग्न बाध्य भयो ।

बार्सिलोनामा मेस्सीका पूर्व साथी खेलाडी सेस फाब्रिगासले अर्जेन्टिनाको टिम विभाजित रहेको र टिम स्प्रिट भएका कारण समस्या आउने गरेको दाबी गरे । अर्जेन्टिनाका खेलाडी एक अर्कासँग भन्दा पनि एक अर्का विरुद्ध खेलेको उनले बताए ।

उनले भने, ‘यो मेस्सीका लागि कठिन थियो । उनको पछाडी रहेकामा त्यस्तो गुणस्तर थिएन । उनले एभर बानेगा वा जिओभानी लो सेल्सोलाई मिस गरिरहेका थिए । उनी खेललाई थप बलियो बनाउने सहयोगी खेलाडी चाहन्थे । राम्रो खेलाडीलाई सकेसम्म बलबाट पर हैन साथमा राख्नु पर्छ ।’

सन् २०१४ को विश्वकप फुटबलमा अर्जेन्टिनाबाट विश्वकपको फाइनल खेलेका पाब्लो जाबालेटाका अनुसार अर्जेन्टिनाले तीब्र गतिको खेल खेल्न सकेन । यस्तै मेस्सीलाई एक्लै छोडिएका कारण पनि समस्या भएको उनको भनाई छ । उनले भने, ‘म यस्तो प्रदर्शन सम्झिन सक्दिन । टिम निकै कमजोर देखियो । उनीहरुले केही पनि सिर्जना गरेनन् ।’

इंग्ल्याण्डका पूर्व कप्तान एलन शिएररका अनुसार अर्जेन्टिनाको टिममा कुनै तयारी नै देखिएन ।


मेस्सी खेल सकिए लगत्तै मुन्टो निहुराउँदै मैदानबाट बाहिरिए । यसले उनी निकै पीडामा रहेको प्रष्ट हुन्थ्यो । मेस्सीले यो सेतो र निलो जर्सीमा यसअघि नै धेरै भोगी सकेका छन् ।

क्रोएसियासँगको खेलमा धेरै कुरा पहिले जस्तो रहेन । सर्जियो अग्युरोले त्यो लय समात्न सकेनन् । यस्तै मेस्सीले बार्सिलोनामा जस्तै खेलको लय समात्ने प्रयास निकै गरे तर त्यसो हुन सकेन । गोलरक्षकको गल्तीले गोल खायो होला तर उसले आफूले गोल गर्ने राम्रो अवसर नै बनाउन सकेन ।

मेस्सीले क्रोएसियासँगको खेलमा ४९ पटक बल टच गरे, त्यसमध्ये दुई वटा मात्रै विपक्षीको बक्समा थियो । मेस्सीले ६४ औँ मिनेटमा मात्रै सट प्रहार गरे । योसँगै उनले दुई खेलमा गरेर १२ सट प्रहार गरे तर गोल भएन । यो विश्वकपमा कीर्तिमान नै हो ।

प्रशिक्षक जर्ज साम्पाओलीको टिम छनौटमा यसअघि नै प्रश्न उठेको छ । उनले माउरो आइकार्डी जस्ता खेलाडीलाई टिममा पारेनन् । यस्तै युभेन्टसका पाउलो डिबाल टिममा त छन् तर दुवै खेलमा उनी देखिएनन् । बेन्चमा रहे । पाउलो डिबाल मेस्सीसँग जोडिन सक्थे तर उनले खेल्नै पाएनन् ।


मेस्सीले अर्जेन्टिनाका लागि १२६ खेलमा ६४ गोल गरेका छन् । बार्सिलोनाबाट क्लब प्रयोगितामा सबै उपाधि उचालेका मेस्सीले राष्ट्रिय टिमबाट मुख्य उपाधि उचाल्न सकेका छैनन् । चार वर्षअघि विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुनु र दुई पटक कोपा अमेरिकाको फाइनलमा हार बेहोर्नु मेस्सीका लागि घातक बनेको छ ।

मेस्सीले सन् २०१६ को जुनमा सन्यासको घोषणा गरे र त्यसको दुई महिनापछि फिर्ता लिए । सायद विश्वकप उचाल्ने सपना थियो उनको तर दोस्रो खेलमा पराजित भएपछि अर्जेन्टिना विश्वकपमा अघिल्लो चरण पुग्नेमै शंका छ ।

मेस्सीले अब फेरि एक पटक दुई वर्षअघि जुनमा गरेको निर्णय दोहोराउन सक्ने जाबालेटाले बताएका छन् ।

स्रोत : बिबिसी

असार ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्