मेस्सीको उत्कृष्टतामा अर्जेन्टिनी टिमको बादल, हारको कारण

लियोनल मेस्सीको उत्कृष्ट क्षमतामा अर्जेन्टिनाको टिमले बादल लगाइदिएको प्रशिक्षक जर्ज साम्पाओलीले बताएका छन् ।

विश्वकप फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा क्रोएसियासँग ३ ० ले पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षकले यस्तो बताएका हुन् ।

प्रशिक्षक साम्पाओलीले मेस्सीले अर्जेन्टिनालाई जिताउन नसक्नुको कारण उप्काउँदै भने, ‘अर्जेन्टिनाको टिमले मेस्सीको क्षमतामा बादल लगाइदियो ।’

खेलपछि प्रशिक्षक साम्पाओलीको आलोचना भएको छ । उनले भने, ‘मेस्सी सीमित भए, किनकी टिमले उनीसँग जसरी सहकार्य गर्नु पर्थ्यो त्यसरी गरेन ।’

उनले हारको जिम्मेवारी आफूले लिने पनि बताए । उनले भने, ‘म फ्यानसँग माफीका लागि भिख माग्छु, हारका लागि म जिम्मेवार छु ।’

गोलरक्षक विली काबालेरोलाई रोजेको, सर्जियो अग्युरोलाई मैदानबाट फिर्ता बोलाएको तथा खेल फरम्याट ३-४-३ बनाएकोमा प्रशिक्षक साम्पाओलीको आलोचना भएको छ ।

साम्पाओलीले भनेका छन्, ‘सबै फ्यानमा जस्तै मेरा आँखामा पनि सपना थियो र निकै दुःखी भएको छु । मेस्सी हाम्रा कप्तान हुन् । उनले हामीलाई लिड गरे तर हामीले उनलाई बल पास गर्न सकेनौँ । बल पास गरेको भए गोलका लागि अवसर बन्ने थियो । तर त्यसो भएन ।’

उनले आफ्नो रणनीतिक गल्ती स्वीकार गर्दै भने, ‘केही खेलाडीले मेरो प्रणालीमा खेल्न सकेनन् । सायद मैले टिम राम्रोसँग सेटअप गर्न सकिन ।’

साम्पाओलीले गोलरक्षक बाबालेरोको पनि बचाउ गरेका छन् ।

 

असार ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्