यौनका जीर्ण मान्यताहरु अब कतिञ्जेल टिक्लान्?

– उपनिषद्कालीन समाज –

एउटा दृष्टान्त खोजे पाइन्छ उपनिषदीय साहित्यमा, जसले त्यसबेलाको समाजमा व्याप्त यौनप्रतिको दृष्टिकोण प्रतिबिम्बित गर्छ।
एकजना ऋषिको कुटीमा केही अतिथि आइपुग्छन्। ऋषिले सपत्निक स्वागत गर्छन्। रात्रीभोजन पश्चात अतिथिका लागि अतिथि कक्षमा शयनको सबै तारतम्य व्यवस्थित गरेर ऋषिपत्नी आफ्नो कक्षमा फर्किँदा ऋषिले सोध्छन्— हाम्रा अतिथिदेवलाई केही असहज त अनुभव भएन सौभाग्ये?

उहाँ प्रसन्न चित्त नै हुनुहुन्छ। मैले उहाँको आवभगतमा सकेसम्म कुनै त्रुटि वा अभाव हुन दिइन।

अतिथि सत्कार शास्त्र निर्देशित हाम्रो धर्म हो। तिमीले यो उत्तरदायित्व मन वचन र कर्मले वहन गरेर उत्तम धर्म आचरण सतत् यथावत राखेकी छौ। तर अतिथि सत्कारमा एउटा अभाव भएको अनुभव भइरहेको छ मलाई… ।

के अभाव हुन गयो स्वामी? ऋषिपत्नीले सोधिन्।

प्रिय! अतिथि यायावर हुन्। कति समयदेखि यिनले यौन सुख प्राप्त गरेको छैन होला? मानवशरीरलाई प्रकृतिले यौन सुख भोग गर्ने क्षमता प्रदान गरेको छ। कति कालदेखि यस सुखभोगबाट बञ्चित रहेका यी यायावरलाई (तिमीलाई विदित नै छ, यायावरी जीवनमा स्त्रीदेह प्राप्तिको संयोग जुर्न दुर्लभ नै हुन्छ।) हामीले यो उपलव्ध गराउन सके उत्तम हुन्थ्यो। म तिमीलाई आजको रात्री अतिथि कक्षमा गएर हाम्रो अतिथिलाई स्त्रीदेह सुखभोग प्रदान गरीदिन आग्रह गर्दछु।

स्वामी म तपाईंको धर्मपरायणतालाई नमन गर्दछु भनी ऋषिपत्नी अतिथिकक्षतिर प्रस्थान गरिन्।

– रामायणकालीन –

रामायुगीन देशकालमा यौन मनोविज्ञानको विश्लेषण गर्ने हो भने यौन सामाजिक भन्दा प्रकृतिगत रहेको थियो भन्नुमा अत्युक्ति नहोला। बाली र सुग्रीवको एक अर्काको पत्नी स्ववरण होस् वा रावणको सीता प्रतिको व्यवहार- रावणले हरण गरेर लगे पनि सीताको वरण बलजफ्ती गरेन, रावणले आफ्नो सुखभन्दा सीताको स्वीकृतिलाई प्रधानता प्रदान गरे। हुन त रामायण अनुसार रामको जन्म नै रावणको संहार निमित्त भएको थियो। तर दुबै बीच शत्रुताको बीउ सुर्पनखाको कामपिपासाले रोपिएको रामायणले इंगित गर्छ। रामलाई हेर्नासाथ मोहित भएकी सुर्पनखा प्रणय निवेदन गर्छे, रामले स्वीकार गर्दैनन्। मान्न सकिन्छ, यस कालसम्म स्त्रीका लागि प्रणय निवेदन हेतु आफूलाई प्रस्तुत गर्नु सामाजिक मान्यतामा स्वीकृत थियो। बरु राम अप्राकृतिक देखिन्छन्। प्रणय अस्वीकृति मात्र गर्दैनन्, प्रणयकर्ताको अपमान पनि गर्छन् जुन कालान्तरमा गएर युद्धमा परिणत हुन्छ। रावण पत्नी मन्दोदरी सती हुनु सट्टा रावण भ्राता विभीषणसँग बिहे गर्छिन्। यस युगका तीन स्त्रीलाई हिन्दु धर्मले सर्वोच्च स्थान प्रदान गरेको छ र ती तीनजना स्त्रीको यौन सम्बन्ध भने एक भन्दा बढी पुरुषसँग रहेको स्पष्ट नै छ, ती हुन् अहिल्या, तारा र मन्दोदरी।

– महाभारतकाल–

महाभारतको कालसम्म पनि यौन सामाजिक प्रतिष्ठा भन्दा पृथक रहेको अनेकौं प्रसंगबाट बुझ्न सकिन्छ। कुन्तिले भिन्न भिन्न पुरुषबाट नियोगले ६ ओटा सन्तान जन्माउनु, द्रौपदीले पाँच भाइको पत्नी हुनु सहज स्वीकार्य थियो तात्कालीन समाजलाई। अर्जुनले उर्वशीबाहेक सबै स्त्रीसँग संसर्ग गरेपनि उनलाई ब्रम्हचर्यमा प्रतिष्ठित भएकै माने श्रीकृष्णले। राजमहिषी द्रौपदीको राजसभामै यौनिक शोषण गर्ने प्रयत्न भयो भने अन्य सामान्य स्त्रीवर्गको अवस्था के रहेको थियो होला तात्कालीन समाजमा। हिन्दुधर्मले यस युगका पनि दुइटा स्त्रीलाई सर्वोच्च स्थानमा राखेको छ कुन्ती र द्रौपदी। यिनै पाँच स्त्री हुन्, पञ्चकन्या पदमा प्रतिष्ठित अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी। कुनै गणमान्यको स्वागतार्थ आज जुन पञ्चकन्या अघि राखेर गर्ने प्रचलन छ भने त्यो अहिल्या द्रौपदी तारा कुन्ती र मन्दोदरीको प्रारुप हो ।

– भोल्गादेखि गंगासम्म–

महापंडित राहुल सांस्कृत्यायनको अतुलनीय कृति भोल्गादेखि गंगासम्मलाई मानव सभ्यता एवम् संस्कृतिको उन्नयनबारे अद्भूत कल्पनाको ‘रसो व: स:’ मान्नुमा किमार्थ पनि अतिरञ्जना हुन्न। सभ्यता विकासक्रममा एउटा सोपानको नायिकालाई निशाका रुपमा प्रस्तुत गरेका छन् महापंडितले। मातृसत्तात्मक युगको त्यस कथाकी नायिका निशा यौन स्वच्छन्द पात्र हुन्। उनी प्रत्येक साँझ उपलव्ध पुरुष मध्ये आफ्नो चाहना अनुसारको रात्रिकालीन प्रेमी चयन गर्थिन्। कथाअनुसार यस काल परिवेशमा पनि यौन सामाजिक प्रतिष्ठाको विषय अथवा यौन अनुशासन व्याप्त थिएन तत्कालीन समाजमा।

– तिष्यरक्षिता –

आधुनिक युगका मनस्वीले इतिहासका दुइटा पात्रलाई मात्र महानको अंलकरण दिएको पाइन्छ। अलेक्जेण्डर द ग्रेट एवम् अशोक द ग्रेट।
तिष्यरक्षिता हिन्दुस्थानका सम्राट अशोक द ग्रेटको पाँचौं पत्नी थिइन्। देबी, कौरवाकी, पद्य्मावती, असंधिमित्रा र तिष्यरक्षिता। बौद्ध साहित्यमा यिनैलाई तिस्सरखा संबोधित गरिएको छ। आफ्नो कामुकताको कारण यिनले बौद्ध साहित्यमा अतिशय स्थान ओागटेकी छन्। समाजमा शील संयम र नैतिकताका रुपकलाई आफ्नो औचित्य निर्वाह हेतु क्लेश, कषाय र कलुषित दृष्टान्तको नितान्त आवश्यकता रहन्छ। तिष्यरक्षिता र अशोकको आयुमा ठूलै असमानता थियो। उनी सम्राटको चतुर्थ पत्नी असंधिमित्राको परिचारिका थिइन्। कामुक सम्राटको संयम तिष्यरक्षिताको रुपले विचलित भयो। तिष्यरक्षितासँग आफ्नो यौवनलाई वृद्ध सम्राटको कामपिपासाबाट अक्षुण्ण राख्ने कुनै उपाय थिएन। उनले सम्राटको शयनकक्षको शोभा बन्नु नै पर्‍यो।

सम्राटको काम पिपासा त शान्त भयो तर तिष्यरक्षिताको … ??? कामपिपासाले उद्धिग्न तिष्यरक्षिताले बृद्ध सम्राटको विकल्प खोज्नु सामाजिक/सांस्कृतिक मान्यतामा निन्दनीय भए पनि प्राकृतिक संरचना अनुसार न्यायोचित नै होइन र? र के ती सबै सामाजिक/सांस्कृतिक मान्यता नै निन्दनीय होइनन् जसले यौन सम्बन्धका विषयमा (एकपक्षलाई चाहे स्त्री होस् वा पुरुष प्रश्रय प्रदान गर्छ) द्वैध चरित्र प्रदर्शित गर्छ?

यौन सृष्टिको रचनाधर्मिता हो। सारा सृष्टि मैथुनीय छ। अमिबादेखि मनुष्यसम्म। मनुष्यभन्दा इतर कुनै पनि योनीमा यौन समस्या अथवा प्रतिष्ठाको विषय नै हौइन।

तिष्यरक्षिताको कामबासनाले अशोकपुत्र कुणाललाई रोज्छ, कुणाल अशोककी तेस्री रानी पद्मवतीबाट प्राप्त सन्तान थियो- अत्यन्त सुन्दर, बलिष्ठ र कुशाग्र। अशोकले कुणाललाई आफ्नो उत्तराधिकारीको रुपमा हेर्न थालेका थिए। कुणालको उमेर तिष्यरक्षिताकै वयसंधिमा रहेको थियो  तिष्यरक्षिताले यौन सन्तुष्टिका लागि कुणालको चयन गर्नु प्रकृतिजन्य नै थियो। तर कुणालले भने उनलाई माताश्रीको सम्बोधन गर्थे।

कामातुर तिष्यरक्षिताले कुणालसँग प्रणय निवेदन गरिन्, कुणालले अस्वीकार गरे। कामाशक्त स्त्रीले प्रणय निवेदनको तिरस्कारले आहत हुनु अपमानित अनुभव गर्नु स्वभाविक नै थियो। तिष्यरक्षिताले प्रतिशोधस्वरुप कुणालका आँखा झिक्ने राजाज्ञा दिएर कुणाललाई नेत्रहीन बनाइदिइन्। अशोकले घटनाचक्र थाहा पाए र तिक्ष्यरक्षितालाई जिउँदै जलाएर मार्ने दण्ड दिए। तर अशोकलाई दण्ड कसले दिने?

तिष्यरक्षिताबाट भएको अपराधको मूलमा के अशोकको उत्तरदायित्व छैन? शील र सम्यकका लागि जनप्रख्यात बौद्ध ग्रन्थले यस घटनाचक्रमा तिक्ष्यरक्षिताको यौनतृष्णालाई निन्दित गर्नु के सम्यक न्याय हुन सक्छ? उनलाई कुलटा भन्ने समाजले अशोकलाई कुन संज्ञा दिन्छ?

तिष्यरक्षिता कुणालका पिता अशोककी कान्छी पत्नी थिइन्। र, कुणाल तिष्यरक्षिताका पति अशोकको जेष्ठ पत्नीबाट उत्पन्न पुत्र। तिष्यरक्षिता र कुणालबीच सम्बन्ध मात्र सामाजिक थियो। यस सामाजिक सम्बन्धलाई तिष्यरक्षिताको अतृप्त यौन चाहनाले भंग गर्ने जुन कामातुर प्रयास गर्‍यो, त्यसका लागि उनलाई पुश्चंली चरित्रमा रुपान्तरित गर्ने सामाजिक सिद्वान्तको न्याय प्रणालीले अशोकलाई महान अलङ्करण दिनु हास्यास्पद होइन? अशोकले आफ्नी छोरीको उमेरको परिचारिकाप्रति मोहित हुनु न्याय! तिष्यरक्षिताले आफ्नै उमेरको आफ्नो पति पुत्रप्रति अशक्त हुनु अपराध!

-आधुनिक अशोक र तिष्यरक्षिता-

यौन सृष्टिको रचनाधर्मिता हो। सारा सृष्टि मैथुनीय छ। अमिबादेखि मनुष्यसम्म। मनुष्यभन्दा इतर कुनै पनि योनीमा यौन समस्या अथवा प्रतिष्ठाको विषय नै हौइन। सामाजिक संरचना विकास अन्तर्गत मनुष्यले यौनलाई व्यवस्थित, मर्यादित, अनुशासितका साथै अप्राकृतिक, उच्श्रृंखलित यहाँसम्म कि व्यवसायिक पनि बनायो। बुद्धिको यही त विडम्बना हो, स्वहित मात्र हैन, यसले आफ्नै अहित पनि उत्तिकै बुद्धिमत्तापुर्ण ढंगले सम्पन्न गर्छ। हिंस्रक जनावरबाट एवम् शिकार प्रयोजनका लागि बुद्धि प्रयोगले थालनी भएको अस्त्र, आयुध निर्माण प्रक्रिया आधुनिक बम र मिसाइलसम्म आइपुग्छ। अत्याधुनिक विकसित आयुध प्रणली मानव योनी इतरका शत्रुसंहारलाई नभएर आफ्नै जाति विनाश हेतु हो। मनुष्यले प्राकृतिक उपदान यौनलाई मर्यादित राख्यो, सफल भएको भ्रम राखे पनि समाजमा यसमा असफल भयो।  प्रकृति त विपरीतको नियमले सञ्चालित छ। न्युटनका गति विषयक नियम, थर्मोडायनामिक्स (उष्मा प्रवैगीकी सिद्वान्त) वा पार्टिकल फिजिक्सबारे न्यून ज्ञान हुनेलाई पनि विदित नै छ, प्रकृतिको आधारभूत गुणहरुमा विपरीतताको सिद्वान्तले तुरुन्तै प्रतिक्रियात्मक निष्पत्ति संप्रेषण गर्‍यो। मनुष्य जगतमा यौन विकृतिको उदय भयो।

आजको उन्नत समाज जुन कामजन्य अपराधले सन्त्रस्त छ, के आदिम मानव समाजमा पनि यो समस्या व्याप्त थियो?

आधुनिक अशोक प्रकरणमा एकजना बृद्धले रुपसी नवयौवनासँग बिहे गर्छन्। केही अन्तरालमै बृद्धलाई अनुभव हुन्छ उनको समस्त गतिविधिले पनि नवयौवनालाई काम आनन्द र सन्तुष्टि भैरहेको छैन। उनले प्रकृतिगत न्याय गर्दै अत्यन्त साहसिक निर्णय गर्छन्। नवयौवनाको सहमतिमा काम प्रकरण हेतु एउटा युवाको सेवा उपलब्ध गराइदिन्छन्। केही वर्षसम्म सबै ठिकठाक रहन्छ तर समस्या तब उत्पन्न हुन्छ जब युवाले स्वयमको विबाह गर्ने घोषणा गर्छ। बेमेल दम्पतिको जीवनमा आशाको सञ्चार नै युवाले प्रदान गरिरहेको काम सेवाले सम्पन्न भैरहेको थियो। उसले अन्यत्र विवाह गर्दा दम्पतिको जीवनमा पूर्वकै समस्या आउने निश्चित थियो। वृद्ध आधुनिक अशोकले युवालाई धाकधम्की दिएर बिहे नगर्न र उसले प्रदान गरिराखेको सेवा यथावत राख्न दबाब दिन्छन्। अन्तत: यो प्रकरण न्यायलयमा पुग्छ, बेमेल दम्पतिलाई कानुनले दण्ड दिन्छ र युवा मुक्त हुन्छ।

– यौन अपराध–

मनुष्य जगतमा यौन अपराधको मूलमा कतै अत्याधिक व्यवस्थापन र अनुशासन त कारण होइन? बलात्कार आज चतुर्दिक समस्या हो। संसारभरिका कानुनवेत्ता, समाजवेत्ता, मनोविज्ञानवेत्ता बलात्कारको कारण र निवारण हेतु प्रयत्नरत छन, तर परिणाम शून्य छ। आजको उन्नत समाज जुन कामजन्य अपराधले सन्त्रस्त छ, के आदिम मानव समाजमा पनि यो समस्या व्याप्त थियो? उन्नत विज्ञान प्रविधिको यस युगमा (हातहातमा मोबाइल इन्टरनेट) ‘कनेक्टिभिटी’ देवऋषि नारदभन्दा पनि द्रुततर भैरहेको अवस्थामा यौन विषयक जीर्ण सामाजिक मूल्य मान्यता कति समय टिक्छन्?

अमेरिकाको एक युवतीको अंगवस्त्र ‘ब्रा’ बहिस्कार घटना निमेषमै संसारभरि व्याप्त हुन्छ। एउटा युरोपियन युवतीले आफ्नो कौमार्य लीलाम इन्टरनेटका माध्यमले गर्छिन् र हजारौं किमी टाढाबाट क्रेता उपलब्ध हुन्छन्।

समाजमा अहिलेसम्म परिवर्तन एक प्रतिशतको बौद्धिक जमातले गर्दै आएको छ, जनसमुदायले त्यसकै पालना। कतै अब परिवर्तनको नेतृत्व जनसमुदायले गर्ने युगमा प्रवेश गरिरहेका छौँ कि हामी? त्यो जनसमुदायमा हामी बाहेक हाम्रा सबै पारिवारिक सदस्यहरुको सहभागिता हुन सक्छ। अमृत प्रीतमको शब्द सापटी लिँदै सोध्ने बेला भएको छ– ‘सैडिस्टिक गार्जियन अफ अवर कल्चर’ आफ्नो सोच परिवर्तन गर्न तयार छ अथवा नयाँ पुस्ताले जे गर्छ/गरोस् हामी त डाँडाको घाम भइसक्यौँ भन्ने मानसिकता बोकेर परिवर्तनको पर्खाइमा बाँकी रहेका केही श्वास गन्दै बसिरहन्छ?

असार ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्