मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २९)

अलिकतिमात्र ढिलो भएको भए म डुबेर सिद्धिसक्थेँ

दश वर्षजति हण्डर खाएपछि, १० जोर जुत्ता फटाएपछि, मोटरको धेरै टायर फेरेपछि प्राइभेटली गरेँ। कहाँ पुगिन म जग्गा खोज्दै? एक महिनाजति त केशव बडालजीले मलाई काभ्रेमा घुमाउनुभयो। सबै राम्रो हृदयले। काभ्रेमा जाउँ भनेर। अहिले जहाँ आइटी पार्क छ, त्यो जग्गा हामीले हेरेको पहिला। न्यूरोलोजिकल इन्स्टिच्यूट बनाउँछु भनेर। तर भएन।

यसरी सबतिर बिफल भएपछि अन्त्यमा बैंकबाट लोन लिएर ‘प्राइभेटली’ गर्न बाध्य भए। त्यसमा मिल्ने साथीहरु, सहयोग गर्ने साथीहरु सबैलाई समेटेर अन्तिममा मैले निर्णय गरेँ, सन् २००० सालतिर। अब सरकारी/गैरसरकारीबाट केही पनि हुँदैन। प्राइभेट नै जाने हो भनेर प्राइभेट हस्पिटल दर्ता गरेँ।

विज्ञापन

आखिर गैरसरकारी संस्थामा काम गरेको या ननप्रोफिट मेकिङ भनेर भन्‍नुको अर्थ के? कोही भोको बसेर काम गरेको छैन यहाँ। एनजिओ आइएनजिओमा मानिसलाई भोकै काम गर्दैनन् कसैले। सरकारी कर्मचारीको भन्दा राम्रो तलब पाइन्छ। त्यसै भएर एनजिओ, आइएनजिओ नेपालमा धेरै फस्टाएका छन्।

जनातालाई मूर्ख सम्झनुहुँदैन कसैले कहिल्यै पनि। त्यहाँ नभएपछि अब हामीसँग बाँकी रहेको क्षेत्र भनेको प्राइभेट, हामी पारदर्शी हिसाबले कमाउँछौँ, ट्याक्स तिर्छौ। सरकार पनि पाल्छौँ। जनताको सेवा पनि गर्छौ। त्यो बाटोमा आयौँ हामी। त्यसमा मलाई कति पनि रिग्रेट छैन। अरु प्रयत्न नगरीकन आएको भए अलिकति डाउट हुन्थ्यो होला मलाई। मलाई प्राइभेट बाहेक अन्य कुनै बाटो नै दिइएन। १० वर्षसम्म मेरो स्तरको मान्छे लड्दाखेरि मैले सकिन। म योग्यता नभएको मान्छे होइन।

वास्तवमा त्यो बेला म जत्तिको तालिम लिएको विशेषज्ञ कोही पनि थिएनन् मुलुकमा। पहिलो नम्बर। दोस्रो मैले के गर्ने भन्‍नेबारे क्लियर कन्सेप्ट भएको मान्छे म। प्रतिष्ठित विश्वस्तरीय इन्स्टिच्यूटमा काम गरेर आएको, इन्स्टिच्युट देखेको, कस्तो इन्स्टिच्युट बनाउनुपर्छ भन्‍ने बुझेको मान्छे। अरुको जस्तो बाहिरबाट आयातीत मान्छे नि थिइनँ म। तर मैले जे भोगेँ, त्यो मेडिकल सेक्टरमा भएका दुई चारओटा तल्लो या अति नीच लेबलको षड्यन्त्र मध्येको एउटा हो।

मैले चुपचाप सहेर केही नलेखिकन बस्नु चाहिँ अन्याय हुन्छ। म गएपछि वा भावी पुस्तामा कसैलाई पनि यो भ्रम नपरोस् मैले प्राइभेट इन्सिच्यूट खोलेकोमा। गर्न खोज्या मान्छेले गर्न पाउनु पर्‍यो। दुई चार जना मानिसको सरकारमा पहुँच छ भन्दैमा ठाडो तरिकाले आफ्नो व्यक्तिगत स्वार्थको लागि मनपरी गरेर राष्ट्रिय ढुकुटी उडाउनु या राष्ट्रका लागि एउटा ठूलो इन्स्टिच्यूट बनाउने प्रयत्‍नको हत्या गर्नु।

काठमाडौँमा राम्रो कार्डियाक सेन्टर छ, त्यसमा कुनै डाउट छैन। तर गंगालालमा त्यो बनिसकेपछि टिचिङ‌मा अर्को बनाउनुपर्ने कारण के? अथवा वीरको त्यो कामै नगर्ने अपांगतायुक्त सेन्टर राखिराख्‍न पर्ने के आवश्यकता छ? जहाँ कामै हुँदैन, सरकारी ढुकुटीबाट करोडौँ रुपैयाँ खर्च गरेर किन पाल्ने? कुनै औचित्य नभएको चीज पहुँच छ भन्दैमा राष्ट्रिय ढुकुटी रित्‍याउन, त्यो पनि एस्पिरिन नपाएर बसिरहेका जनताको मुलुकमा?

तर अर्कोतिरबाट हामीले जितिसकेका छौँ। मलाई जति रोक्ने प्रयास गरेपनि न्यूरो साइन्सको प्रोग्रेस चाहिँ ती षड्यन्त्रका बाबजुद अरु सेवाभन्दा माथि छ। आफ्नै स्तरमा, आफ्नै ठाउँमा हरेक न्यूरो सर्जरी, न्यूरोलोजीका डिपार्टमेन्टहरु खुल्दैछन् नेपालमा। काठमाडौँबाहिर त्यसको सेवाहरु खुल्दैछन्। हाम्रो भाग खोसेर डिभलप गरेको कार्डियो सर्जरी अहिले पनि काठमाडौँ बाहिर जान सकेको छैन। हाम्रो त विराटनगरमा सेन्टर खुलिसक्यो, भरतपुरमा गरिरहेका छन्। नेपालगञ्जमा गरिरहेका छन्, पोखरामा गरिराखेका छन् र अहिले झण्डै एक सय जना जति न्यूरो सर्जन पुग्न थालिसके मुलुकमा। असल नियतले गरेपछि षड्यन्त्र पराजित हुन्छ अन्तत। मैले पढेको, भोगेको पाठ त्यही हो।

मैले भनिसकेको छु यस अघि पनि, प्राइभेटली जानुको केही विकल्प नभएपछि निजी रुपमा नै न्यूरोलोजिकल इन्सिच्यूट बनाउने निर्णय गरियो। त्यो मैले १० वर्षको हण्डर खाएपछि श्रीमतीसँग सल्लाह गरेर, ‘ल अब अरु कुनै उपाय रहेन, १० वर्षपछि बेलायत फर्कने कुरा पनि भएन, इन्स्टिच्यूट बनाउनै पर्‍यो, भन्‍ने सल्लाह गर्‍यौँ। ल अब गहना निकाल, जग्गाको लालपुर्जा देऊ। बैंकमा गएर अब कोल्याटरल राखेर ऋण लिनुपर्छ’ भनेर श्रीमतीसँग गहना र लालपुर्जा मागेँ।

सरकारी र गैर सरकारी स्तरबाट न्यूरो साइन्स इन्स्टिच्यूट खोल्ने सपना चकनाचुर हुनुको पछाडि म धेरै मूल्यांकन गर्छु। कति मेरो दोष पनि होला। कति चाहिँ हाम्रो राष्ट्रिय चरित्र पनि दोषी छ त्यसमा। मेरो दोष सायद म आफ्नो देशको मान्छे भएर पनि यहाँको मानिसको मानसिकता, उहाँहरुको संस्कार, संस्कृति रितीरिवाज, सफलता र असफलतालाई ह्याण्डल गर्ने चरित्रसँग म परिचित नभएर होला, मैले सायद अलि धेरै नै रिजिड स्ट्याण्ड लिए कि? म उहाँहरुसँग डिल गर्दा अलि लचिलो भइन कि?

आफूप्रतिको आत्मलोचना पनि छ, जसलाई भन्‍न म हिच्किचाउँदिन। त्यो भन्दा पनि दुर्भाग्य मैले के देखेँ भने, यो देशमा एउटा यस्तो मिडियोकोरहरुको जालो रहेछ। जो चाँहि भर्टिकल होइन, क्रस सेक्सनल छ। त्यसले हरेक पार्टी र हरेक क्षेत्रलाई गाँजेको छ। नेपाली कांग्रेसभित्रको मिडियोकोर भनौँ, एमालेका मिडियोकोर भनौँ। कुनै फरक छैन। उनीहरु आफ्नै स्वार्थको लागि मिल्छन् र आफ्नै स्वार्थको लागि झगडा गर्छन्।

एमालेको वरिष्ठ नेतृत्व सधैँ मेरो पक्षमा रह्‍यो। किनभने प्रधानमन्त्री मनमोहनजीदेखि लिएर मदन भण्डारीसँग मेरो अत्यन्त राम्रो सम्बन्ध थियो। मनमोहनजीसँगै मलाई प्रदीप नेपालले गर्नु भएको सहयोग मैले बिर्सेको छैन। भण्डारीजी उमेरका हिसाबले म भन्दा एक, डेढ वर्षमात्र जेठो, एक हिसाबले समवयस्क। प्रखर नेता हुनुहुन्थ्यो, उहाँ जिउँदो छँदा पनि मेरो दुई चार पटक कुराकानी भएको। हामीले बहुदलीय जनवादको विषयमा पनि कुरा गरेका थियौँ।

एमालेभित्र चिकित्सा क्षेत्रमा मिडियोकोरहरुले अत्यन्त नराम्रो जालो रहेछ। त्यो जालो कसैले पनि तोड्न सक्दो रहेनछ, त्यहि जालो मेरो पछाडि लाग्यो। त्यहि जालोले मलाई बाँसबारी छालाजुत्ताको भूमिबाट हटायो। त्यही जालोले मलाई पनि न्यूरो सर्जरीलाई फाइदा पुग्ने सेवा लिने मौकाबाट रोकिदियो।

उहाँको र मेरो धेरै कुरा मिल्थ्यो। त्यो दस्तावेज लेख्दाखेरि धेरै मेहनत गरेर लेख्नुपर्ने भएकोले उहाँको हात दुख्ने, गर्धन दुख्ने समस्या भएर एकपटक मैले उहाँको घरमै हेरेँ। पछि एकदिन साँझमा लामो गफ गर्न भनेर मेरो घरमा पनि आउनुभयो। खाना पनि खानुभयो। उहाँलाई जाँचेर मैले एक्सरसाइज पनि सिकाएँ घरकै कौचमा सुताएर।

वर्तमान राष्ट्रपतिले पकाएको दाल र भात पनि मैले खाएको छु। मेरो दाई बाचस्पति पनि त्यो बेलामा केन्द्रीय कमिटीको राम्रै पदमा हुनुहुन्थ्यो। कसैको माया, ममता र गुटबन्दीबाट केही लाभ खोजेको थिइन मैले। त्यो समूहका माथिल्ला नेता पक्का राज्यप्रति उत्तरदायी थिए। स्पष्ट थिए भन्नेमा मलाई अहिले पनि शंका छैन।

तर दुर्भाग्यवश त्यो पार्टीमा के रहेछ भने, त्यो भन्दा तल विशेषगरी चिकित्सा क्षेत्रमा मिडियोकोरहरुले अत्यन्त नराम्रो जालो रहेछ। त्यो जालो कसैले पनि तोड्न सक्दो रहेनछ, त्यहि जालो मेरो पछाडि लाग्यो। त्यहि जालोले मलाई बाँसबारी छालाजुत्ताको भूमिबाट हटायो। त्यही जालोले मलाई पनि न्यूरो सर्जरीलाई फाइदा पुग्ने सेवा लिने मौकाबाट रोकिदियो। मैले लिन खोजेको सेवा व्यक्तिगत फाइदाका लागि थिएन। यताउता गर्‍यो, त्यो मन्त्रीको सल्लाहकार त्यही जालोको पकडमा। राजनीतिक व्यक्तित्वलाई त्यही जालो नभई हुँदैन फेरि।

यसले गर्दा सरकारी स्तरमा एउटा पनि न्यूरो सर्जरीको इन्स्टिच्यूट बनेन। कार्डियाकको तीनओटा बन्यो। अहिले पनि म भन्छु, यो मिडियोकोरहरुको जालोले नै हाम्रो देशलाई बिगारिराखेको छ। नेताहरु त्यसमा सचेत भएनन् भने नेताहरुलाई पनि खान्छन्। राजनीतिक दर्शनलाई पनि खान्छ र देश पनि खान्छ यो जालोले। म त पूरै भुक्तभोगी हो। उनीहरु प्रति मेरो कुनै पनि पूर्वाग्रह छैन, तर यो चरित्र राष्ट्रघाती छ।

तर म खुशी छु, यता हुँदा पनि न्‍यूरो सर्जरी, न्यूरो साइन्स अरुभन्दा पछाडि परेको छैन। किनभने हामीले वैकल्पिक रुपमा त्‍यसलाई डिभलप गर्‍यौँ। मेरो अन्दाजमा नेपालमा चाहिने १०० जना न्यूरो सर्जन हो। त्यस्तै न्यूरोलोजिस्ट ५०/६० जना चाहिएला।

विभिन्‍न तरिकाले हामीले जमातलाई न्यूरो साइन्सप्रति आकर्षित गरायौँ। राम्रो, चलाख विद्यार्थीहरु अहिले न्यूरो साइन्स पढ्न थालेका छन्। व्यक्तिगत रुपमा होस् या नेपालभित्रै भएका संस्थाहरुमा तालिम लिएर। सयको संख्यामा हामी पुग्न लागिसक्यौँ।

सरकारले देशभित्र अर्बौँ लगानी गरेको छ। अरु विशेषज्ञ सेवाहरुमा। तर न्यूरो सर्जरीभन्दा धेरै पछाडि छन् ती। ती हाम्रो उपत्यका बाहिर सुरु भइसक्यो न्यूरोलोजिकल सर्भिस। कतिपयमा म प्रत्यक्ष रुपमा संलग्न रहेँ। कतिमा अप्रत्यक्ष रुपले। तर ती हामीबाटै प्रोत्साहित भएका हुन्।

मैले सबैलाई प्रमोट गरेँ। मलाई के भन्‍न मन लाग्छ भने, नेपालजस्तो अविकसित र अल्पविकसित देशमा धेरै जना डाक्टर एउटा विषयमा माथि गयो भने अरुलाई सिकाउँदैन। उनीहरु अरुलाई प्रतिस्पर्धीको रुपमा हेर्छ। तर म सबैलाई सिकाउने।

एकदिन एक जना नाम चलेको डाक्टरसाबले भन्नुभयो, ‘ए देवकोटा, तिमी जुनियरलाई धेरै सिकाउछौँ रे, नसिकाऊ। भोलिपर्सि प्राक्टिसमा उनीहरुले दुख दिन्छन्, सबै बिरामी उनीहरुले लैजान्छन्। त्यसो भएर अड्कलेर सिकाऊ।’ अहिलेसम्म नेपालको हरेक विशेषज्ञ सेवामा हुने भनेको त्यही हो। आफूभन्दा जुनियरलाई गाल नपरोस् भनी सिकाउँछन् तर हृदयदेखि नसिकाउने। दुखसाथ भन्‍नुपर्छ यो। मैले हृदयदेखि सिकाए।

आफूले गरेको छँदै छ। आफूले नगरेकोमा पनि मैले प्रोत्साहित गरेँ। म लागिपरेको न्यूरोलोजिको सेवालाई फाइदा होस् भनेर न्यूरोसाइन्स, न्यूरोलोजीको सेवामा जान सक्‍नुको कारण यही हो सरकारी स्तरमा नभएपनि।

अस्पताल स्थापनाका लागि लालपुर्जा नेपाल इनभेष्टमेन्ट बैंकमा धितो राख्न पुग्दा बैंकले त्यो भन्दा पनि धेरै ग्यारेन्टी खोज्यो। मैले लेखेरै दिएको छु, ‘त्यो लोन नतिरेसम्म म यो जागिर छोड्दिन।’ त्यो चाहिँ मेरो व्यक्तिगत ग्यारेन्टी थियो। ‘जुन मेरो बन्ने अस्पताल हो, त्यो तपाईँको लोन नतिरेसम्म कागजमा जे भनेपनि, धरौटीले जे भनेपनि म छोड्दिन भनेर प्रतिज्ञा गरेर म नै कोल्याट्रल हो भनेँ। आश्‍वस्त गरे उहाँहरुलाई।

मेरो जग्‍गा खोजी अभियानबारे पनि मैले पहिला भनिसकेको छु। बनेपादेखि चोभारको सिमेन्ट फ्‍याक्ट्रीसम्‍म पुगेको थिएँ म। मैले नहेरेको जग्‍गा नै छैन।

त्यो बेलामा मेरो मित्रहरु, दुईजना डाक्टरसाब मसँगसँगै हिँड्नु हुन्थ्यो। अवनिभूषण उपाध्याय र भागवत नेपाल। उहाँहरुको साथ धेरै पाएँ मैले। तर भनेजस्तो नपाएकाले अभियान जारी थियो।

मलाई आइडिया थियो, कहाँनिर बनाउने भनेर। एकदिन जग्गा हेर्न श्रीमान र श्रीमती शनिबार निस्कियौ। त्यो दिन हामीले सायद ५ रोपनी जग्गा स्वयम्भूमा हेर्न जाने योजना थियो। घर नजिकैको पेट्रोल पम्पमा गाडीमा पेट्रोल हाल्दै थियौँ, त्यहाँतिर तलको खोल्सोमा हरियो धान थियो। वर्षाको बेला थियो। २०, ३० फिट तल थियो।

मैले पेट्रोल पम्पका मालिक अच्युत खड्कालाई भनेँ, ‘ए अच्युतजी, त्यो तलको जग्गा मिलाउन सकिन्छ?’

‘कति जति डाक्टरसाब?’

‘७ देखि १० रोपनी।’

‘विचार गरौँ, सकिन्छ कि!’

त्यसपछि हामी सदाझैँ जग्गा हेर्न यताउता गयौँ। साँझमा फर्केर आउँदा त अच्युतजी हाम्रो घर आइरहेका। उनले भने, ‘डाक्टरसाब् त्यो जग्गा मेरो भाइको हो।’ त्यहाँ अस्पताल बनाउने भनेपछि पेट्रोलको बिक्री पनि बढ्‍ने। धुनधान फाइदा हुने भो। उहाँले होमवर्क गर्नु भएछ। अनि साँझ हामी फर्किंदा अच्‍युतजी आइरहनु भएको थियो।

‘डाक्टरसाब् त्यो जग्गा हाम्रो बन्धुको हो, ५ रोपनी अहिल्यै लिन सकिन्छ। अरु बाँकीचाहिँ पछि मिलाउन सकिन्छ, १०/१२ रोपनी त्यहाँ पुग्छ भनेपछि उनलाई जग्गा बेच्न प्रोत्साहित गर्न त्यहाँ चलेको मूल्यभन्दा १/२ लाख बढी नै दिएँ।

सोझै बाटो थिएन। बुढानिलकण्ठको साइडमा। बाटो नपुगेको। तत्काल बाटो खुल्ने सम्भावना पनि नभएको जग्गा। बाटोमा अलिकति खर्च गर्नुपर्ने। त्यसैले प्लटिङ गर्ने मान्छेको दृष्टिबाट बचिरहेको।

हप्ता दश दिनभित्रै त्यो ५ रोपनी जग्गा मैले किनें। व्यक्तिगत नाममा। दुई चार महिनापछि ७ रोपनी बनाएँ थपेर। भ्यालीभित्र सात रापनी जग्गा भैसकेपछि अस्पताल बन्छ भनेर हामीले डिक्लियर गर्‍यौँ। अनि अस्पताल दर्ताको प्रक्रिया सुरु भयो। त्यहाँ पनि चक्कर धेरै। मलाई नेसनल इन्स्टिच्यूट नाम राख्न मरिगए नदिने उनीहरु। पहिलो कुरा इन्स्टिच्यूट राख्न नपाउने नियम भनेर कतै नभएको नियम लगाइदिए। दोस्रो नेसनल शब्द व्यक्तिगत प्रयोग गर्न पाइँदैन भने। म जाने बाटोको एउटा फेसन स्कुलको नाम, नेसनल फ्यासन इन्स्टिच्यूट छ। म देखिरहेको छु।

स्वास्थ्य मन्त्रालयमा पनि मिडियोकोरको जालो नपुग्ने कुरै भएन। केही मान्छेहरु हुन्छन्, कहिले स्वास्थ्य मन्त्रालयको टोपी लाउँछन् कहिले राजनीतिक दलका टोपी। काम गर्ने मान्छेहरुलाई रोक्न मज्जा लाग्छ यिनीहरुलाई। त्यो जालोले त्यहाँ पनि मलाई चाहेको नाम राख्न दिएन । पहिला न्यूरो हस्पिटल प्रालि दर्ता गरी काम सुरु गरियो ।

क्रमिक रुपमा आफू अनुकुल मान्छे मन्त्रालयमा गएको बेलामा तेस्रो पटकमा गएर मैले खोजेको नाम नेसनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड अलाइड साइन्सेज पाइयो। एक पटकमा गर्दा हुने कामका लागि मैले तीन पटक प्रयत्न गर्नु पर्‍यो। आफू सँगसँगै मैले मन मिलेका, मिसनमा समाहित हुन चाहने चिकित्सक साथीहरु र विशेषत वीर हस्पिटलमा मसँग काम गरेका नर्सिङ साथीहरुलाई पनि शेयर दिने र सामाजिक काम गरेको बिजनेस क्षेत्रका साथीहरुलाई पनि दिने गरेर कन्सेप्ट बनाएर हामी अगाडि बढ्यौं। धेरै पैसा थिएन हामीसँग।

मैले स्ट्राटेजी एकदम क्लियर बनाएँ। बिल्डिङ नयाँ बनाउने, आधुनिक बनाउने। उपकरण पहिलाचाहिँ सेकेन्ड ह्याण्डबाट सुरु गर्ने त्यो भए सस्तो हुन्छ। अनि आफूले कमाउँदै गएपछि बिस्तारै नयाँ उपकरणले विस्थापित गर्दै जाने।

पुराना उपकरणहरुको मसँग कमी पनि थिएन । माइक्रोस्कोपदेखि ड्रिलहरु सबै बेलायतबाट साथीहरुले पठाइदिएको मसँग थियो। स्टोर गरेर राखेको थिएँ। किनकि मलाई थाहा थियो, वीर हस्पिटलमा प्रशस्त मात्रामा पुग्ने सामानहरु लगिसकेको थिएँ। सरकारले केही पनि नकिने पनि वीर हस्पिटल चलाएँ मैले १५ वर्ष।

सरकारको लगानी शून्य थियो त्यसमा। केही बजेट दिँदैनथ्यो। अहिले त्यहाँ २२ करोडको त अप्रेसन थिएटरमा चाहिने सिटिस्क्यानका लागि खर्च भैरहेको छ। मेरो पालामा २२ पैसा दिएन। दुईटा माइक्रोस्कोप चन्दा दिलाएको थिएँ, वीर हस्पिटलमा। अमेरिका र जापानबाट। त्यसरी चलाएको हो वीर हस्पिटल। वीरमा सामान पर्याप्त भएपछि मलाई वेलायतबाट साथीहरुले पठाइदिएको सामानहरु घरमै स्टोर गरेर राखेको थिएँ।

मलाई थाहा थियो, त्यो सामानको भरमा केही समय चलाउन सकिन्छ। उपकरण पुराना चलाउने र विल्डिङ चाहिँ नयाँ आधुनिक बनाउने। विस्तारै कमाउँदै गएपछि रिफ्रेस गर्ने गरी सुरु गरिएको हो। मेरो ८ देखि १० वर्षमा यो पूरा गर्ने टार्गेट थियो। हामीलाई प्लानिङ र अर्गनाइजेसन बनाउन २ वर्ष लाग्यो। २ वर्ष कन्ट्रक्सनमा खर्च भयो। यो कन्सेप्ट आएको छैटौं वर्षमा हामीले सेवा सुरु गर्यौं। दुई महिना पनि सेवा सुरु गर्न ढिला भएको भए म त्यो बैंकको ब्याजको स्याज स्याजको स्याज,मा  डुबेर सिधिन्थें, अहिलेसम्म।

त्यस्तो हुँदो रहेछ बैंकको लोन भनेको। मैले त्यो बैंकको ऋण लिएको छु भन्ने थाहा पाएपछि छोरीहरु पनि निदाउन छाडेँ। उनीहरुलाई डर भएछ, अब अस्पताल चलेन भने घर पनि बैंकले लिन्छ। हामीलाई कता पठाउने हो, कता पठाउने हो। उनीहरुलाई थाहा नदिई अहिले घर भएको ठाउँनेरि मैले १ रोपनीको प्लट किनें।

मलाई पनि डर लाग्यो। त्योचाहिँ नाबालक छोरी मेघाको नाममा किनें । श्रीमती र मैले ऋण लिएपछि हाम्रो नामको सम्पत्ति त बैंकले लिने भयो। छोरीको नाममा बच्ला भनेर उसको नाममा एक रोपनी जग्गा किनें। भोलि केही भैहाल्यो भने सुकुम्बासी हुनु नपरोस्। त्यो व्यवस्था गरेर म बसेको थिएँ। त्यो भनेपछि बल्ल छोरीहरु निदाउन थाले।

त्यसमा सबैले भावनात्मक लगानी गरेका थिए। अन्तिममा उद्घाटन हुने ठूलो दिन आयो। भवन बन्यो। त्यो बेलामा ६२/६३ को आन्दोलन चरम उत्कर्षमा थियो। मैले वेलायतबाट प्रोफेसर टिज्डेललाई बोलाइसकेको थिएँ, उद्घाटनमा आउन। र भेलोरबाट प्रोफेसर मथाई पनि आइसक्नु भएको थियो। भव्य उद्घाटन गर्ने भनेको कर्फ्‍यू लागेको बेला पर्‍यो। उद्घाटन भयो। गेस्टहरुलाई हामीले सत्कार गर्‍यौँ। राम्रो कुरा बोल्नुभयो उहाँहरुले।

मिडियाको अटेन्सन अन्तै थियो। अलिअलि कभरेज पायो। हामी सन्तुष्ट भयौं, आउने मान्छे पनि सन्तुष्ट भए। प्रोफेसर टिज्डेलको भनाइ के थियो भने–जसले इन्स्टिच्यूटमा काम गरेको छ, उसले इन्स्टिच्यूट बनाउँछ। म इन्स्टिच्यूटमा मात्रै काम गरेको मान्छे परें, बेलायतमा। तीनवटै इन्स्टिच्यूट थियो। जे देखिन्छ, भोगिन्छ, त्यही सिकिन्छ, गरिन्छ। त्यस्तै जसले जनरल हस्पिटलको डिपार्टमेन्टमा काम गरेको छ, उसले जनरल हस्पिटलको डिपार्टमेन्ट नै बनाउँछ। जसले इन्स्टिच्यूटमा काम गरेको छ उसले इन्स्टिच्यूट नै बनाउँछ। उहाँले भन्नुभयो,  म खुशी छु।

ग्लास्गोको इन्सिच्युट जस्तो एउटा ब्रेन चाइल्ड तपाईंले तयार गर्नुभयो, यो सधैं रहोस्, भनेर शुभकामना दिनुभयो। उहाँदेखि श्रीमती र छोरीसहित आउनुभएको थियो। उहाँलाई पनि ठूलो गर्वको महसुस भएछ। मैले त याद पनि गरिंन, साँझमा कर्फ्यू लागेको। होटलमा बस्नु भएको थियो । म जान पाइन त्यो साँझ।

अरु पनि १०/१२ जना गेष्टहरु थिए त्यो बेलामा आएका। अनि खुशी भएर त्यो दिन प्रोफेसर टिज्डेलले स्याम्पेन खोल्नु भएछ। हाम्रो इन्स्टिच्यूट उद्घाटन गर्न पाएको खुशीयालीमा प्रोफेसर टिज्डेलले स्याम्पेन अफर गर्नु भएछ। त्यो भोलिपल्ट होटलको मालिकले हामीलाई भन्‍नुभयो। उहाँले यो मैले तिर्ने हो भन्नुभएको रहेछ। उहाँले व्यक्तिगत रुपमा सबैलाई स्याम्पेन खुवाउनु भएछ, पार्क भिलेजमा। उहाँको आशिर्वाद रहिरहेको छ अहिलेसम्म। असल गुरुले शिष्‍यलाई कहिल्‍यै छोड्‍दैनन्। त्यसपछि सेवा विस्तारको तेस्रो चरण सुरु भयो। नेपालमा इन्स्टिच्यूट सुरु भयो।

तर हामीलाई सजिलोसँग सञ्चालन गर्न दिइएन। हामीसँग विमति राख्ने डाक्टरहरुले विभिन्न प्रपन्चहरु रचे। कहिले जुनियरहरुलाई पनि फलानो ठाउँमा काम गर्न नजा, त्यो त बन्द हुन्छ चाँडै, हामी त्यसलाई चल्न दिँदैनौं भनेर थ्रेट दिने। त्यति गर्दागर्दै पनि चल्यो। अहिले हामी यी अवस्थामा आइपुगेका छौं। यो सजिलोसँग आइपुगेको हैन। मैले काम गरेवापत एउटा सामान्य इम्प्लोईका रुपमा जे जति पैसा पाउनु पर्ने हो, लोन नतिरेसम्म एक पैसा पनि लिन्‍न भने।

हाम्रो शेयरिङको भरमा परिवार पालें। अस्पतालबाट आउने आम्दानीको एक पैसा पनि नलिइकन आठ वर्षमा ऋण तिरिसकेपछि मात्र ‘ल अब मैले सेवा बापत यो लेवलको कन्सलटेन्‍सी गरेवापत बाहिरकाले यति लिने गर्छन्। अब मलाई पनि तपाईंहरुले भुक्तानी गर्न थाल्नुस्’ भनेपछि विस्तारै अस्पतालले दिन थाल्यो। आठ वर्षसम्म मैले एक पैसा पनि लिइन। त्यसैले त्यो त प्राइभेट हो भन्‍ने मित्रहरुलाई भन्छु, तपाईले पनि त्यस्तै प्राइभेट चलाउने प्रयास गर्नुस्, ८ वर्षसम्म एक पैसा नलिइकन। देश आफैँ बन्छ।

तपाईँ पनि सहीसलामत ट्याक्स तिर्नुस्। सबैभन्दा धनी डाक्टर हैन म। सबैभन्दा धेरै कमाउँदिन तर म व्यक्तिगत रुपमा धेरै ट्याक्स तिर्नेमा पर्छु। मेरो दोस्रो उदाहरण मात्र बनिदिनुस् । मेरो अफिसमा २/४ वटा फोटोहरु छन्। उत्कृष्ट करदाता भनेर। म बेलायतमा काम गर्दा आफ्नो तलबको ४० प्रतिशत ट्याक्स तिरेको मान्छे हुँ। यहाँ १५/२० प्रतिशत ट्याक्स तिर्न हात कमाउने लुकाउने छिपाउने कामा हामी पछि पर्दैनौँ। त्यस्तै म त आइएनजिओ एनजिओमा काम गर्ने फलानो प्राइभेट हो भन्ने साथीहरुलाई पनि त्यो टिप्न बिर्सेको घिरौंलोजत्रो नाक नबनाउनुस् भन्छु, तपाईहरु हामीभन्दा गरिब हुनुहुन्न।

म खुशी छु प्राइभेट सेक्टरले सर्भिस पनि दिएको छ। अनेस्टली ट्याक्स पनि तिरेको छ र सरकार सञ्चालनमा सहयोग गरेको छ। त्यसैले मलाई कतिपनि हिच्किचहाट छैन मलाई। कुनै पनि हिन र अपराध भाव प्राइभेट सेक्टरमा गरें भनेर।

मैले जे गरें ठिक गरें। यो अर्को उदाहरण हो। प्राइभेट सेक्टरबाट पनि जनतालाई सुलभ सेवा दिन सकिन्छ। स्तरीय सेवा दिन सकिन्छ। त्यो हामीले उदाहरण पेश गर्‍यौँ जस्तो लाग्छ। यसरी सय बेडको एक्स्क्लुसिभ न्यूरोलजिस्ट इन्सिच्युट, जसको आफ्नै रेडियोलोजिकल डिपार्टमेन्ट छ, आफ्नै आइसियु सिसियु छ, आफ्नै अप्रेसन थिएटरहरु छन्। र, अन्तत: पुनर्स्थापना केन्द्र पनि बनाउन हामीले जग्गा लिइसकेका छौं।

अहिले अस्पतालको २२ रोपनी जग्गा छ। र, त्यो २२ रोपनी जग्गाभित्र बिरामीको पुनर्स्थापना केन्द्र पनि बनाउँछौं। मेरो सपना हो। मेरो सपना पूरा नगर्दै मलाई केही भइहालेको खण्डमा, राज्यले त्यो दायित्व लियोस्। मेरो उदेश्य खेर नजाओस्। मेरो सपना पूरा होस्। एउटा हस्पिटल र त्यसको छेउमा पुनर्स्थापना केन्द्र सँगसँगै बसेर भएको यति क्लोज प्रोक्सिमिटी संसारमा कतै पनि छैन।

यति क्लोज प्रोक्सिमिटमा बेलायतमा पनि छैन, संसारमा कतै पनि छैन- मलाई थाहा छ। अस्पतालबाट पुनर्स्थापना केन्द्रमा जानको लागि दुई महिना, तीन महिना कुर्नु पर्छ बिरामीले। बेलायतमा नभएको फेसिलिटी नेपालमा प्रदान गर्न खोज्नु सजिलो त हुँदैन। तर गर्न चाहिँ सकिन्छ है। पुनर्स्थापना केन्द्र बनाइसकेपछि हामी स्थानीय रुपमा अरु संस्थाहरुसँग प्रतिस्पर्धा गर्दैनौँ। हामी अन्तर्राष्ट्रिय स्तरमा एक नम्बर हो कि दुई नम्बर भन्छौँ आफूले आफैँलाई। त्यो हाम्रो उद्देश्य हो। लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ नि, ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक।’

चन्द्रमा छुने उद्देश्य लिएको मान्छेले सगरमाथाको टुप्पोमा त टेक्ला नि, एभरेष्ट चढ्छु भन्या मान्छेले मकालु त टेक्ला नि। जसको लक्ष्य नै नागार्जुनको डाँडो छ, त्यो मान्छे त स्वयम्भू पनि पुग्दैन। त्यसकारण म ठूलो उद्देश्य लिएकोमा आफूलाई पागल भएको महसुस गर्दिन। हामी एक नम्बर हुन चाहन्छौँ। तपाईको सद्भाव र सहयोग भयो भने एक नम्बर हुन पनि सक्छौँ। किनभने हामी ’विचारमा अगाडि छौँ, कन्सेप्टमा अगाडि छौँ’ अरु भन्दा।

मेरो उद्देश्य चाहिँ यसलाई एक नम्बरको न्यूरोलोजिकल इन्स्टिच्यूट र रिह्याबिलिटेसन सेन्टरको रुपमा स्थापित गर्ने हो, जुन हामीले ९० प्रतिशत पूरा गरिसकेका छौँ। रियलाइजेसनको मात्र कमी हो। पोस्ट ग्राजुयट ट्रेनिङ्ग सुरु भइसकेको छ। अर्को एउटा विशेषता हाम्रो संस्थाको के छ भने, बिल्डिङ्ग मात्र अस्पताल होइन, त्यहाँ काम गर्ने जनशक्ति र तिनीहरुले काम गर्ने कल्चर। त्यो हामीले कति पनि इरोड हुन दिएका छैनौँ अहिलेसम्म।

बाँसबारी अस्पतालमा आधा घण्टामा हुने कुरा अरु अस्पतालमा दुई दिन लाग्छ। हामी इमर्जेन्सीमा आएको बिरामीलाई १५ मिनेटभित्र अप्रेसन थिएटरमा पुर्‍याउन सक्छौँ। त्यो बेलायतमा पनि सम्भव छैन। सफ्टवेयर पनि त्यही किसिमले हामीले डिभलप गरिसकेका छौँ। नयाँ अस्पताल खुल्ने बित्तिकै बाँसबारी अस्पतालका २० जना/२२ जना स्टाफहरु हामी गुमाउँछौ। चाहे त्यो ग्राण्डी होस् या मेडिसिटी।

सपना अरुले देखाएर देखिँदैन। सपना आफैँ देख्नुपर्छ। जस्तो मेरो गुरु टिज्डेलले भन्‍नुभएको थियो, ‘जसले इन्स्टिच्यूटमा काम गर्छ, उसले इन्स्टिच्यूट बनाउँछ।’ एउटा कुरा म के भन्छु भने, अर्काको आँखा सापट लिएर दूरदृष्टि राख्‍न सकिन्‍न। भिजनको लागि आफ्नै आँखाले देख्नुपर्छ।

नयाँ अस्पताल खुल्ने बित्तिकै उनीहरुको च्वाइस नै बाँसबारीमा काम गर्ने नर्सहरु, बाँसबारीमा काम गरेका टेक्निसियन हुन्छन्। किनभने त्यही किसिमले हामीले ट्रेनिङ्ग गरेका छौँ हामीले। हाम्रो सफ्टवेयर कडा छ, सफ्टवेयर स्तरीय छ। अर्को कुरा धेरैले नबुझेको, यति सानो अस्पतालमा हामीले ‘की की’ स्टाफहरुलाई बस्ने व्यवस्था गरेका छौँ, ‘स्टाफ क्वार्टर।’

१५ जना डाक्टरहरु यो अस्पतालमा आफ्नो रेजिडेन्सिभित्र बस्न सक्छन्। परिवार लिएर। बोलाएको खण्डमा डेढदेखि २ मिनेटभित्र आइसियुमा आइपुग्न सक्छन्, त्यति नजिक बस्छन्। त्यो हुने बित्तिकै सेवाको स्तर धेरै माथि जान्छ। इमर्जेन्सी बिरामीको हेरचाह एकदमै उपल्लो स्तरको हुन्छ। त्यसको १० मिनेट उतापट्टि म हुन्थेँ। परिहालेको खण्डमा १० मिनेटभित्र म पनि आइपुग्न सक्थेँ। यो पनि हामीले कन्सेप्चुअल्ली जितेको कुरा हो। जस्तो सुरुमा टिचिङ हस्पिटल खुल्दाखेरी उहाँहरुले रियलाइज गरेर स्टाफ क्वार्टर बनाउनुभएको थियो। अब अहिले यति धेरै स्टाफ भए कि सबैलाई स्टाफ क्वार्टर दिन सक्ने अवस्था छैन।

सुरुमा बनाउनुको मुख्य उद्देश्य के थियो भने महाबौद्धको वीर हस्पिटल, सहरको बीचमा थियो। त्यहाँ काम गर्ने मानिसलाई रेजिडेन्सी दिनुपर्दैनथ्यो। महाराजगञ्जमा कोही पनि नआउने, रेजिडेन्सल फेसिलिटी नभई कोही पनि काम नगर्ने, त्यस कारणले बनाइएको थियो।

अहिले रेजिडेन्सियल फेसिलिटी लिएर डाक्टर नर्स बस्ने ठाउँको साटो, त्यहाँ अरु अरु कुरामा डिभलपमेन्ट भइराखेको छ। त्यसमा अरु अरु कुराको टिप्पणी नगरौँ। हामीले त्यो देखेको भएर ‘की’ स्टाफहरुचाहिँ यहाँ पसेपछि यहिँबाट निस्किएर जाउन्, छोराछोरी यही हुर्काउँछन्, स्कूल पठाउँछन्। उनीहरुका छोराछोरीहरु डाक्टर इन्जिनियर के के बन्ने हो, यहीँबाट बनून्। दुईचारओटा कुरामा चाहिँ विशेष ध्यान दिएर व्यवस्था गरेका छौँ र आशा छ, यी कुराले समयमा यथोचित फल दिने छ।

सपना अरुले देखाएर देखिँदैन। सपना आफैँ देख्नुपर्छ। जस्तो मेरो गुरु टिज्डेलले भन्‍नुभएको थियो, ‘जसले इन्स्टिच्यूटमा काम गर्छ, उसले इन्स्टिच्यूट बनाउँछ।’ एउटा कुरा म के भन्छु भने, अर्काको आँखा सापट लिएर दूरदृष्टि राख्‍न सकिन्‍न। भिजनको लागि आफ्नै आँखाले देख्नुपर्छ। फलानोले यस्तो कपी गर्न सकिँदैन, आफैँले देखेको हुनुपर्छ। सापट लिएको आँखाले दूरदृष्टि राख्न सकिँदैन। मैले आँखा सापट लिएको होइन, मैले आफैँले देखेको हो।

(डा. देवकोटासँग युवराज घिमिरेले गरेको कुराकानी)

असार १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू